‘किरिया बसेको दाजु देख्दा नि डराउँछन् कृष्ण’

‘किरिया बसेको दाजु देख्दा नि डराउँछन् कृष्ण’

बाग्दुला (प्युठान): १४ वर्षका दाजु वसन्त मल्ल सेतो कपडा लगाएर किरिया बसेका छन् । शरीरमा सेता लुगा लगाएको आफ्नै दाजुलाई देख्दा ५ वर्षका कृष्ण मल्ल डराउँछन् । दिदी सरस्वतीको हात समाएर पछाडि लुक्छन् । घरमा के भइरहेको छ भन्ने कृष्णलाई थाहा छैन । सरस्वतीले भाइलाई दाइहरूको नजिक पर्न दिन्नन्, आफूसँगै राख्छिन् । ‘राति पनि डराउँछ । मैसँग सुत्छ । सधैं सँगै हुन्छ’, सरस्वती भन्छिन्, ‘मलाई नि त्यो राति धेरै डर लाग्याथ्यो । अहिले पनि लाग्छ ।’

कहिले डरले आमा, भन्दै चिच्याउँछन् । ११ वर्षीया सरस्वती मल्ललाई पनि त्यो दिनले झस्काइरहन्छ । अब उनीहरूको सहारा केही पनि छैन । न बस्ने बास, न कोही आफन्त अनि अभिभावक । प्युठान रजवारा गाविस ३ मा बनिरहेको बाटो भास्सिएर गएको पहिराले बुधबार बिहान आँखैअगाडि उनीहरूका आमा, बुबा अनि तीन बहिनी पहिरोले लग्यो । रातभर ११ वर्षीया सरस्वतीले पहिरोसँग संघर्ष गरिन् । कान्छो भाइलाई बचाइन् तर आमा, बा अनि तीन बहिनीलाई जोगाउन सकिनन् । उनीहरू सबै पहिरोमा भासिए ।

‘आफ्नो घरबार सबै बग्यो । बाआमा, बहिनीहरू सबै पहिरोले खायो । बचेका चार सन्तान, तीन छोरा र एउटी छोरी अब साहाराविहीन भएका छन् । उनीहरू सबै आफ्नी हजुरआमा (बुबाकी आमा) को घरमा बसेका छन् । जेठो छोरा १४ वर्षका वसन्त मल्लले बाआमा अनि तीन बहिनीको किरिया गरिरहेका छन् । ‘अहिले त उनीहरूका अंकल, आफन्त सबै जुटेका छन् । गाउँलेहरू पनि जुटेका छन्’, उनीहरूकी भाउजू नाता पर्ने पार्वती मल्लले भनिन्, ‘अब उत्रिएपछि (तेह्र दिनपछि) उनीहरूको हालत के होला भन्ने चिन्ताले सताएको छ ।’ जे लगाएका थिए, शरीरमा त्यही छ । भएका लत्ताकपडा अनि घरका सबै सामानसहित पाँचजनाको ज्यानसमेत पहिरोले लग्यो ।

 

किरिया बसिरहेका वसन्त गाउँकै सरकारी स्कुलमा कक्षा आठमा पढ्छन् । उनका अर्का भाइ धनबहादुर ३ कक्षामा पढ्छन् । कान्छो भाइ कृष्ण कक्षा एकमा भर्खरै भर्ना भएका छन् । रातभरि पहिरोसँग संघर्ष गरेकी सरस्वती कक्षा ३ मै पढ्छिन् । उनीहरूका बाबु त्यही गाउँको स्कुलमा पियनको काम गर्थे । यो परिवारमा ९ जना थिए । चार दिदीबहिनी, ३ जना दाजु भाइ, । बुबाआमा र तीनजना बहिनीलाई पहिरोले पुरेपछि अब यी नाबालक मात्रै छन् । उनीहरू सबै एकदुई वर्षको अन्तरमा जन्मिएका हुन् । शनिबार दिउँसो पनि उनी आफ्नै भाइसँगै थिइन् । उनले भनिन्, ‘ऐले त बोई (हजुरआमा) को घरमा बस्छम्, पछि काँ जाने था छैन ।’

प्युठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ती बच्चाबच्चीलाई पुनस्र्थापना तथा शिक्षादीक्षाका लागि गैरसरकारी संघसंस्थासँग समन्वय गरिरहेको बताए । ‘हामीले पनि पहल गरिरहेका छौं । तपाईंहरू पनि सहयोग गर्नुस्’, उनले भने, ‘बालबालिका बेसहारा बनेका छन् ।’

शनिबार एमालेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मेटमणि चौधरीले उनीहरू किरिया बसेको घरमा पुगेर ५ हजार रुपैयाँ नगद तथा १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.