राजनीतिमुक्त त्रिविको परिकल्पना

राजनीतिमुक्त त्रिविको परिकल्पना

प्रा.डा. शीलु मानन्धर बज्राचार्य

 प्राकृतिक साधन सम्पदा न्यून हुँदाहुँदै पनि मानवीय संसाधन विकासमा उचित ध्यान दिएकाले सिंगापुर, हङकङ, ताइवान, दक्षिण कोरिया आदि देशको अभूतपूर्व प्रगति भयो । शिक्षा विकासमा जोड दिनुपर्छ भनिरहँदा पनि नेपालको शैक्षिक अवस्था, अस्तव्यस्त र दिशाहीन छ । यसलाई सम्बोधन गर्न आवश्यक छ ।

त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि नै उच्च शिक्षाको महत्त्वपूर्ण सुरुआत गरी राष्ट्र र देश विकासको लागि आवश्यक मानवीय संसाधनको परिपूर्ति गरी राष्ट्र निर्माणमा टेवा पुर्‌याउँदै आएको यथार्थ नकार्न सकिँदैन । आज राष्ट्र निर्माण र दिशानिर्देशनमा जुटेका अधिकांश जनशक्ति यही विश्वविद्यालयका उपज हुन् । शिक्षा र विश्वविद्यालयको अन्तरनिहित लक्षअनुरूप समयसापेक्ष यसको क्षमता स्तर र प्रभावकारितामा निरन्तर अभिवृद्धि गर्दै लैजानु अपरिहार्य छ ।

विश्वव्यापीकरण र बढ्दो प्रतिस्पर्धाको युगमा शिक्षा र शिक्षाप्रदायक संस्थाहरूले यहीअनुरूप विकास गर्दै लगेमा मात्र आफ्नो महत्त्व र परिचयलाई स्थायी बनाउन सक्छ । आजको भन्दा भोलिको आवश्यकता दृष्टिगत गरी त्यहीअनुरूपको नयाँ स्वरूप विकास गरी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।

त्रिभुवन विश्वविद्यालयको अवस्था के छ ? के यसले उपयुक्त लक्ष हासिल गर्नेतर्फ उचित कदम चाल्न सकेको छ त ? यसको उचित र तार्किक जवाफ कसैबाट आउने अवस्था छैन । त्रिविको लागि यो नै गम्भीर चुनौती हो । यो चुनौतीको समय छँदै सामना गर्न सकिएन भने राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्नेछ । भविष्यका सन्ततिले समेत सराप्नेछन् ।

उच्च शिक्षाको सूत्राधार त्रिविलाई आज गुणस्तरीय शिक्षाप्रदायक संस्थाका रूपमा नभई बेरोजगार उत्पादन गर्ने थलोका रूपमा हेर्ने गरिएको छ । यसले गर्दा त्रिविलाई साख गुमाउँदै गएको शैक्षिक संस्थाको रूपमा जनमानसले हेर्ने अवस्था आउनु भनेको सबैका लागि चिन्ताको विषय हो । त्रिविको गुम्दो साखप्रति सरकार पनि अन्योलग्रस्त छ । उच्च शिक्षाको उचित नीति नहुनु यसको उदाहरण हो ।

दलहरू त्रिविलाई आफ्ना कार्यकर्ता बनाउने र तिनीहरूले अनुभव हासिल गर्ने कारखानाका रूपमा लिने गर्छन् । सीमित तर प्रभावी विद्यार्थीहरूसमेत आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न आफ्नो नेतृत्व क्षमता विकास गर्ने प्रयोगशालाको रूपमा लिने गर्छन् त्रिविलाई । प्राध्यापक र कर्मचारीसमेत यही उद्देश्यमा लाग्ने गरेका प्रशस्त उदाहरण छन् । रोजगारदाताहरूले पनि त्रिविलाई कमजोर र काम नलाग्ने जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा परिभाषित गर्न लागेको दुःखदायी प्रवृत्ति झन् चिन्ताको विषय भएको छ । केही ‘उत्कृष्टताका टापुहरू' का आधारमा सम्पूर्ण संस्था र शिक्षा व्यवस्था अझै स्वस्थ छ भन्ने धारणामा नेतृत्व वर्ग रमाउने गरेकाले पनि त्रिविप्रति झन् ठूलो चुनौती थपिएको छ ।

 

अहिलेदेखिएको सबैभन्दा ठूलो चुनौती त्रिविको भीमकाय स्वरूप हो । ६० आंगिक र १०७८ सम्बन्धन प्राप्त देशभर छरिएका क्याम्पस र नौ–नौ वटा विश्वविद्यालय र तीनवटा मानित विश्वविश्वविद्यालय स्थापना भइसक्दा पनि ८५ प्रतिशत विद्यार्थीको भार त्रिविले नै बहन गर्नुपरेको छ । यो भारलाई विकेन्द्रित गर्नेतर्फ चासो दिइएन भने त्रिवि बेरोजगार उत्पादन गर्ने थलोका रूपमा रहिरहनेछ ।

शिक्षामा बजेटको आकार विस्तृत हुँदैछ, तर उच्च शिक्षामा यसको माग घट्दो छ । शिक्षकहरूलाई उचित प्रशिक्षण र प्रदर्शनको अभाव र इनब्रिडिङले शिक्षकको क्षमता बढ्दो परिस्थितिअनुरूप अभिवृद्धि हुँदै जानुको सट्टा कमजोर हुँदै गएको छ । कुनै समय सबैभन्दा उत्कृष्ट जनशक्ति उत्पादन गर्ने प्रथम छनोटमा रहेको संस्था आज अन्य कुनै क्षेत्रमा नबिकेका नकारिएका मगजहरूको थलो हुँदै गएको धारणा धेरैले राख्न थालेका छन् । विश्वमा आएका परिवर्तनलाई आत्मसात गर्न नसक्नु पाठ्यक्रम, पाठ्सामग्री र पठनपाठन विधि धेरैजसो पुरातन नै रहिरहनु संस्था माथि उठ्न नसक्नुको कारक हो ।

चरम राजनीतीकरण त्रिविको प्रमुख समस्या हो । प्राध्यापक भनाउँदा बौद्धिक वर्ग, कर्मचारी, विद्यार्थी कोही पनि यसबाट अछूत छैनन् । हरेक पदाधिकारीको नियुक्ति राजनीतिक भागबन्डामा हुँदै जाँदा पदाधिकारीको समेत उत्तरदायित्व त्यही नियुक्ति गर्ने अथवा त्यसको वातावरण सहज बनाइदिने तत्त्वप्रति नै हुनु स्वाभाविकै भयो । अनि शिक्षाको चिन्ता कसले गर्ने, संस्थागत उत्तरदायित्व कसरी विकास गर्ने र शिक्षालाई देश विकासको वास्तविक आधार कसले बनाउने (? ) सबै प्रश्नमा सीमित हुने सम्भावना बढ्दै जानु स्वाभाविक देखिन्छ । उच्च शिक्षाको निमित्त योग्य र सक्षम विद्यार्थीलाई बिदेसिन बाध्य पार्नेहरूबाट षड्यन्त्र त भइरहेको छैन ?

नेपालमा आज लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिक कार्यशाला सडकदेखि सदनसम्म स्वतन्त्रतापूर्वक गर्न सकिने वातावरण बनिसकेकाले भविष्य बनाउने जिम्मा लिएका शैक्षिक संस्थालाई राजनीतिक कार्यशाला हुनबाट जोगाउनु सम्पूर्ण सरोकारवाला र राज्यको प्रथम दायित्व हो ।

उपरोक्त समस्या सम्बोधन गर्न र उच्च शिक्षालाई सही दिशामा डोर्‌याउन त्रिविलाई राजनीतिबाट मुक्त बनाउनुपर्छ । हुन त प्रत्येक व्यक्ति एउटा राजनीतिक व्यक्ति पनि हो, उसको स्वतन्त्र राजनीतिक सोचाइ हुनु र त्यहीअनुरूप काम गर्न पाउनुपर्ने लोकतन्त्रको पहिलो सिद्धान्त पनि हो । तर नेपालमा आज लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिक कार्यशाला सडकदेखि सदनसम्म स्वतन्त्रतापूर्वक गर्न सकिने वातावरण बनिसकेकाले भविष्य बनाउने जिम्मा लिएका शैक्षिक संस्थालाई राजनीतिक कार्यशाला हुनबाट जोगाउनु सम्पूर्ण सरोकारवाला र राज्यको प्रथम दायित्व हो ।

यसलाई सक्षम, गतिशील र उपयुक्त संस्थाको विकासको निमित्त यसका पदाधिकारी र पठनपाठन गर्ने व्यक्ति र अन्य सहयोगी जनशक्ति सक्षमताका आधारमा चयन गरिनुपर्छ । यस्तो नेतृत्वले जिम्मा लिएपछि संस्थागत उद्देश्यतर्फ निरन्तर समर्पित हुने व्यक्तिहरूबाट मात्र राजनीतिमुक्त शिक्षा व्यवस्था विकास हुनेछ । फलस्वरूप सक्षम र दूरदृष्टिपूर्ण नेतृत्वको विकल्प हुन सक्दैन । यही सोच र कार्यदिशाको परिवर्तनले मात्रै राष्ट्रको अग्रगामी विकासमा लाग्ने उपयुक्त, सक्षम र उत्प्रेरित जनशक्ति उत्पादन गर्ने सक्षम संस्थाका रूपमा त्रिविलाई विकास गर्न सकिन्छ ।

शिक्षा र ज्ञानको उचित आर्जन र विकासबाट मात्रै राष्ट्रलाई गतिशील बनाउन सकिन्छ । देशको आर्थिक, सामाजिक र बहुआयामिक विकासको लागि पनि हामीले शैक्षिक संस्थालाई गतिशील बनाउनैपर्छ । यस्तो लक्ष्य हासिल गर्न उच्च शिक्षाको आजसम्मको पर्यायवाची त्रिवि जोगाउनुबाहेकको विकल्प छैन । यसको अवसान भएमा राष्ट्रमा भयंकर दुर्घटना हुनेछ ।

सरोकारवाला निकाय, बौद्धिक जगत् र दलहरूको यसमा ध्यान जानु आवश्यक छ । समयानुकूल जनशक्ति उत्पादन गर्ने विश्वसनीय थलो बनाउनेतर्फ लाग्नुपर्छ त्रिविलाई । यसको पहिलो सर्त ‘राजनीतिमुक्त शिक्षाको लागि शैक्षिक क्रान्ति' को सुरुआत गर्नु हो । हामीले राजनीतिक क्रान्तिबाट समयानुकूल परिवर्तन गर्‌यौँ । आर्थिक र सामाजिक क्रान्ति अझै गर्नु छ । यो शैक्षिक क्रान्तिबाट मात्र सम्भव छ ।

यसको लक्ष्य हुनुपर्छ— गुणस्तरीयता र बजार, समाज र राष्ट्रको आवश्यकता परिपूर्ति हुने मानवीय पुँजीको निर्माण । यसैमा केन्द्रित हुनसक्ने र वर्तमान अवस्थाबाट परिवर्तन गर्नसक्ने नेतृत्व क्षमता आजको पहिलो आवश्यकता हो । यसैलाई केन्द्रित गरी काम गर्न सकेमा शिक्षामा देखिएका विकृति मात्र नभई शिक्षालाई उपयुक्त वातावरण र दिशामा डोर्‌याउन सकिन्छ ।

प्राध्यापक बज्राचार्य शंकरदेव क्याम्पसकी अध्यापिका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.