'काला पहाड' बन्दै मनाङका हिमाल (फोटो फिचर)
खाङ्सार (मनाङ): मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन्। यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ।
सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए।'पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो', उनले भने,'हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ।' जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए।
विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन्।'हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो। आजभोलि त खै हिमालमा समेत हिउँ छैन? ' अपर पिसाङका याङ्डुङ गुरुङले भने,'६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ। आजभोलि किन यस्तो भएको होला? '
पहिले आठ फिटसम्म हिउँ पर्ने गरेको जानकारी गराउँदै खाङ्सारका कुमेर गुरुङ अचेल मुस्किलले एक फिट हिउँ पनि नपर्ने गरेको बताउँछन्। मनाङका गंगापूर्ण हिमाल, लमजुङ हिमाल, पिसाङपिकलगायत हिमालका आधाभन्दा बढी भाग कालो पहाडमा रूपान्तरण भइसकेका छन्।