दुर्घटनापछि भाग्दा सावधान ! ट्राफिक घरसम्मै पुग्छ

दुर्घटनापछि भाग्दा सावधान ! ट्राफिक घरसम्मै पुग्छ

काठमाडौं: तपाईं उपत्यकाका भित्री सडकमा दुर्घटना गराएर भाग्दै हुनुहुन्छ भने सावधान ! चोकचोकमा राखिएका सीसीटभीले तपाईंका क्रियाकलापलाई नियालिरहेका छन् । तपाईंको सवारीसाधनको रङमात्रै पत्ता लागेमा पनि ट्राफिक प्रहरीले समात्नेछ ।

राजधानीको घन्टाघर नजिकै गत असार १८ मा दुर्घटना गराएर नम्बरसमेत नखुलेको मोटरसाइकललाई सीसीटीभीकै अधारमा ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । अचम्म कुरा त मोटरसाइकल चालकले अर्को मोटरसाइकलपछाडि बसेकी महिलाको ब्यागसमेत लतारेर लगेका थिए । सुरुमा सीसीटीभीमा रातो रङको डबल साइलेन्सर भएको मोटरसाइकल मात्रै देखिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गले यातायात व्यवस्था कार्यालयमा गएर रेकर्ड हेर्दा १८ गतेमात्रै ब्रिटिस एज कम्पनीको तीनवटा कम्पनीको मोटरसाइकल दर्ता भएको पत्ता लगायो । तीनवटै मोटरसाइकल धनीका बारेमा अनुसन्धान गर्दा बा ७५ प ७१८३ नम्बरको मोटरसाइकल दुर्घटनामा संलग्न भएको रहस्य खुल्यो ।

वृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार मोटरसाइकल धनी डिल्लीबजार बस्ने मोहम्मद रमिज नामका व्यक्ति रहेको रहस्य खुले पनि उनको सम्पर्क गर्ने आधार खोज्न थाल्यो प्रहरीले । सम्पर्क नम्बर खोज्न ट्राफिक प्रहरी रमिजको नाम लिएर नेपाल टेलिकमको कार्यालय पुग्यो ।

रमिजले सिमकार्ड लिएको नम्बर फेला परेपछि उनको मोबाइलमा ‘तपाईंले दुर्घटना गराएको घटना प्रहरीमा दर्ता भएको छ, सम्पर्क गर्नुहोला होइन भने कानुनी प्रक्रियामा जानुपर्छ', सन्देश पठायो ट्राफिक प्रहरीले । त्यति गर्दा पनि रमिज प्रहरी सम्पर्कमा आएनन् । बरु उनले फोन कल डाइभर्ट सिस्टममा राखे ।

 

फोन नम्बरको लोकेसनका आधारमा प्रहरी रमिजको घरमै पुग्यो । अभिभावकलाई भेटेर रमिजलाई प्रभाग दरबारमार्गमा पठाउन ट्राफिक प्रहरीले आग्रह गरे । रमिज ट्राफिक कार्यालय पुगेर कसुर स्वीकार गरे । घटना थियो, रमिजले हाँकेको मोटरसाइकलले भक्तपुर दुवाकोटका रविन खड्काले हाँकेको मोटरसाइकललाई ठक्कर दिएर पछाडि बसेकी उनकी पत्नीको ब्याग लतारेर लगेको ।

उक्त ब्यागमा सुनको सिक्री, औंठी र दुईवटा आइफोन थिए । ‘प्रहरी बयानमा रमिजले उक्त ब्याग आफूले पनि नलगेको जनाए पनि उनले गल्ती स्वीकार्दै तीन लाख क्षतिपूर्ति तिरे । यो घटनाको उठान र अनुसन्धान सबै सीसीटीभीकै आधारमा भएको हो', निरीक्षक शाहले भने ।

प्रहरीले यो घटना अनुसन्धानका लागि घन्टाघर, भोटाहिटी र जमलको सीसीटीभी फुटेको विश्लेषण गरेको थियो ।
सीसीटभीकै आधारमा पैदलयात्रीको ज्यान लिएर फरार कार चालकसमेत नियन्त्रणमा लिएको जानकारी शाहले दिए । उनका अनुसार गत वैशाख ३ मा खानी विभागबाट महाराजगन्जतर्फ गइरहेको बा २ च ३८१८ नम्बरको कारले भारतीय दूतावासनजिकै लाजिम्पाटमा पैदलयात्री काठमाडौं महानगरपालिका–२९ का राजु खड्कालाई ठक्कर दिएर भागेका थिए ।
प्रहरीले उक्त कार ठम्याउन लाजिम्पाटदेखि पानीपोखरी, नारायणगोपाल चोकमा राखिएका सीसीटीभी हेरेको थियो । गाडी नारायणगोपाल चोकबाट बूढानीलकण्ठतर्फ लागेको देखिएपछि गाडी नम्बरका आधारमा तीन दिनपछि होटलमा बसिरहेका कारचालक रोशन मगरलाई पक्राउ गरेको थियो । प्रभागले घटना अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे प्रहरीको सहयोग लिएको थियो ।

अर्को घटना गत जेठ ३ मा लैनचौरबाट केशरमहलतर्फ आइरहेको मोटरसाइकलले स्कुटी चालकलाई ठक्कर दिएको थियो । स्कुटी चालक तीन बल्ड्याङ खाएकी थिइन् । त्यति बेला रातो रङको दुई सय २० सीसीको रातो पल्सर र ९६४० नम्बर मात्रै भएको खुलेको थियो । ट्राफिक प्रहरी वृत्त दरबारमार्गले घटना अनुसन्धानका लागि केशरमहलको सीसीटीभी हेर्दा बा ५७ प लटको मोटरसाइकल रहेको खुल्यो । अल्फाबेट र नम्बर खुलेपछि प्रहरीले सोह्रखुटेबाट मोटरसाइकल चालक समीर थापालाई पक्राउ गर्‌यो । पीडित महिला ट्राफिक प्रहरीमा उजुरी गर्न हालसम्म आएकी छैनन् ।

वृत्तका प्रमुख शाह भन्छन्, ‘अब चालकले दुर्घटना गराएर भाग्छु भन्ने नसोचे पनि हुन्छ । सीसीटीभीका माध्यमबाट गाडीको रंगमात्रै थाहा पाए पनि समाउन सजिलो भएको छ ।'

दरबारमार्ग वृत्तले महिनामा पाँचवटा ट्याक्सीमा समान छुटेका घटनाको अनुसन्धान गरेर सीसीटीभीकै आधारमा पत्ता लगाउँदै आएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी नरेशमान श्रेष्ठले उपत्यकामा सीसीटीभीको प्रभावकारिता बढेको बताउँछन् । उपत्यकाका कुल दुई सय ४१ वटा सीसीटीभी छन् । ‘सवारी दुर्घटनाका लागि बढी सहयोगी बनेको छ सीसीटीभी । यसका साथसाथै चोरी, लुटपाट, भीआईपीको सुरक्षा निगरानी, राजनीतिक गतिविधिको निगरानीलाई समेत सीसीटीभी बढी सहयोगी बनेको छ', एसपी श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.