राज्यको प्रणाली बन्न सकेन कर्णाली
राज्यको कुल क्षेत्रफलको करिब १५ प्रतिशत भूभाग ओगटेको कर्णाली अञ्चल एक विशाल सम्भावनाको सरोवर हो । प्राकृतिक स्रोत र साधनको दृष्टिले सबैभन्दा सम्पन्न कर्णाली क्षेत्र आर्थिक सम्भावनाको महत्त्वपूर्ण क्षेत्र हो । मानसरोवरको प्रेरणा र प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक सम्पदाको धरोहर हो । विशाल शक्तिशाली सिंजा जुम्ला खस राज्य १८४६ सालमा नेपालमा गाभिएको थियो ।
एघारौँदेखि उन्नाईसौँ शताब्दीसम्मको विशाल बाइसे राज्यको कर्णाली क्षेत्र (अञ्चल) त्यसयता अन्याय, उत्पीडन, उपेक्षा र दमनमा पर्दै आएको छ । प्राकृतिक स्रोत र साधनको उचित प्रयोग र सम्भावनाको सही ढंगले प्रस्फुटन गर्न सकेमा कर्णाली राज्यको एक महत्त्वपूर्ण प्रणाली बन्न सक्छ । जसरी एउटा स्वस्थ र पूर्ण जीवन जिउन शरीरका प्रत्येक प्रणाली स्वस्थ हुन जरुरी छ, त्यसैगरी देशको सर्वाङ्गीण विकासको लागि कर्णालीको विकास जरुरी हुन्छ । त्यसैले राज्यले पनि कर्णालीलाई आफ्नो एक महत्त्वपूर्ण प्रणाली सम्झनु आवश्यक छ ।
कर्णाली क्षेत्र (अञ्चल) नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा, से–फोक्सुन्डो ताल, सबैभन्दा लामो कर्णाली नदी, पाँचल र सुलिगाढ झरना, भाषा, संस्कृति र भेषभूषाको उद्गम थलो सिँजाबाट सुसज्जित छ । विश्वको सबैभन्दा उचाइमा रहेका बस्ती (छार्काभोट र तराप, डोल्पा) र विश्वको सबैभन्दा अग्लो ठाउँमा धान फल्ने ठाउँ (छुमचौर ज्युलो, जुम्ला) पर्यटकीय र अध्ययन–अनुसन्धानको लागि आकर्षक स्थलहरू हुन् । कर्णाली क्षेत्र पाँचवटै ‘ज' (जल, जंगल, जमिन, जडीबुटी र जनशक्ति) को अनुपम भण्डार हो ।
भूगर्भविद्का अनुसार कर्णाली क्षेत्र अथाह खनिज सम्पदाले भरिपूर्ण क्षेत्र हो । हालसम्म कर्णाली नदीमा सुन, तामा, जस्ता, सिसा तथा प्राकृतिक तेल र ग्यासको सम्भाव्यता अध्ययन भइसकेको छ । अझै कैयन् अन्य महत्त्वपूर्ण खनिज सम्पदाको अध्ययन–अनुसन्धान हुन बाँकी नै छ । ३२ हजार मेगावाट विद्युत् क्षमता बोकेको कर्णाली नदीलाई प्रयोगमा ल्याएमा सिंगो नेपाललाई झिलिमिली पारी विदेश निर्यात गर्न सकिन्छ ।
कर्णाली क्षेत्र सेतो सुन (जलस्रोत) को खानी हो । अथाह जलस्रोत प्रयोग गरेर सिंगो कर्णालीलाई हरित र उर्वर कर्णाली बनाउन सकिन्छ । त्यस्तै कर्णाली नदी र्याफ्टिङको लागि सुनकोसी नदीपछिको उत्कृष्ट गन्तव्य हो । कान्जीरोवा, जगदुल्ला, पत्रासी, कान्ति, चण्डी, चाङ्ला, नालाकांकर र सिस्ने हिमशृंखला साहसिक पर्वतारोहण र स्केटिङका लागि उपयुक्त छन् ।
पवित्र कैलाश मानसरोवर पदयात्राको लागि कर्णाली क्षेत्र प्रमुख गेट वे हो । रारा ताल र से–फोक्सुन्डो ताल पर्यटकीय हिसाबले प्रमुख गन्तव्य हुन् । समग्र कर्णाली क्षेत्रलाई पर्यटकीय गन्तव्य (हब) को रूपमा विकास गर्न सकेको खण्डमा कर्णाली क्षेत्रले राज्यको अर्थतन्त्रलाई मजबुत पार्न सक्छ ।
यस क्षेत्रमा पाइने सल्ला, धुपी, द्यार र ओखरका जंगलको संरक्षण र संवद्र्धन गरेर वनपैदावारबाट मनग्य आम्दानी लिन सकिन्छ । सिलाजित, डालेचुक, द्यारको तेल, ओखर आरू, ढुटेलाको तेलको अन्तर्राष्ट्रिय मूल्य उच्च छ । यार्सागुम्बा, गुच्ची च्याउ, चिराइतो, पाँचऔँले, सुगन्धवाल जस्ता सयौँ प्रजातिका जडीबुटी उचित प्रशोधन, प्रयोग र निर्यात गरेमा राज्यको अर्थतन्त्रलाई ठूलो टेवा मिल्नेछ ।
जडीबुटीको उचित औद्योगीकरण र बजारीकरणलाई प्रोत्साहन गरी आफ्नै जडीबुटीबाट निर्मित औषधी महँगोमा किन्नुपर्ने बाध्यता हटाउन सकिन्छ । कर्णाली क्षेत्रमा फैलिने रोगको प्रकोप र महामारी दूर गर्न सकिन्छ । स्थानीय चिया घोडमच्चो पनि इलामको चियाभन्दा कम्ती छैन, जसको प्रवद्र्धन र बजारीकरणलाई व्यवस्थित गर्नु आवश्यक छ ।
त्यसैगरी पशुपालन र कृषिको लागि समेत कर्णाली क्षेत्र महत्त्वपूर्ण छ । पशुपालनको लागि यहाँ उपयुक्त घाँसे भूमि÷खर्कहरू प्रशस्त छन् । विशेषगरी कर्णाली क्षेत्रलाई याक, चौँरीगाई, घोडाघोडी, भेडाबाख्रा पालनको लागि प्रकृतिले उपयुक्त हावापानी प्रदान गरेको छ । कर्णाली क्षेत्रलाई जडीबुटी र स्याउको बगैँचा भन्दा फरक पर्दैन ।
एक घर ५० बोट स्याउको अवधारणा ल्याई त्यसको राष्ट्रिय स्तरबाटै प्रभावकारी कार्यान्वयन गर्न सकेमा यहाँ खाद्यान्न अभाव दूर भई स्थानीय जनताको जीवनपद्धति सम्पन्न भएका समाचार पत्रपत्रिकामा पढ्न पाइनेछ । व्यावसायिक सीप र घरेलु उद्योग प्रोत्साहन र प्रवद्र्धन गर्र्नु अर्को महत्त्वपूर्ण पाटो हो ।
स्थानीय ज्ञान र सीपलाई घरेलु उद्योगमा लगाई राडी, पाखी, गलैँचा र अन्य ऊनी कपडा उत्पादन गर्न सकेमा आयातलाई केही हदसम्म घटाई राष्ट्रिय पुँजी बिदेसिनबाट बचाउन सकिन्छ ।
कर्णाली क्षेत्र स्याउ, सिमी, कालीमार्सी धान, कोदो, फापर, चिनो र कागुनो खेतीको लागि पनि वरदानयुक्त उर्वरभूमि हो । आधुनिक तथा वैज्ञानिक कृषि प्रणाली, उन्नत बीउविजन, कृषि औजार र कृषि प्रचार–प्रसारलाई कृषकसामु पुर्याउन जरुरी छ । कृषकको परम्परागत ज्ञान, सीप, अनुभव र आधुनिक कृषि प्रणालीको सम्मि श्रणबाटै कृषि क्रान्ति सम्भव छ । प्रत्येक कृषकलाई जेटिए र प्रत्येक जेटिएलाई कृषक बनाउने नीति कार्यान्वयन गर्न सके कृषि क्रान्ति द्रूत गतिमा बढ्छ ।
अनि कर्णालीको फापरको लगड (रोटी) ले काठमाडौँको पाँचतारे होटेलमा पाइने फापरको केकसरह महत्त्व पाउनेछ । स्याउ, सिमी, कालीमर्सी चामलको माग काठमाडौँले प्रशस्त गर्नेछ । कर्णालीको चिया घोडमच्चोले पनि इलामको चियासरह बजार पाउनेछ । कर्णालीको रोग, भोक र शोक निर्मूल पार्न सकिन्छ । रोजगारका प्रशस्त अवसर सिर्जना भई हजारौँ युवा भारतलगायत अन्य खाडी मुलुकमा धाउनुपर्ने बाध्यता हट्नेछ । स्थानीय श्रम र सीपको स्थानीय क्षेत्रमै प्रयोग गरी स्वावलम्बी र स्वाभिमानी कर्णालीवासीको पहिचान बनाउन सकिन्छ ।
कर्णालीका सपना र सम्भावना साकार पार्न राजनेता र नीति निर्मातासँग कर्णाली विकासको स्पष्ट नीति तथा कार्यक्रमको खाका र कार्यान्वयनमा दृढ इच्छाशक्ति हुनुपर्छ । राज्यले कर्णालीलाई सिंहदरबारको आँखाले हेरेर कर्णालीको विकास कदापि हुन्न । कर्णाली विकासको लागि राज्यले कर्णालीलाई कर्णालीकै आँखाले हेर्न सक्नुपर्छ ।
देशको राजनीतिले कुनै पनि क्षेत्रको विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । मूलतः कर्णाली विकसित नुहुनको पछाडि राजनीतिक पहुँचको अभाव र राजनीतिक उपेक्षा हो । कर्णालीका सपना र सम्भावना साकार पार्न सबैभन्दा पहिले राजनेता र नीतिनिर्मातासँग कर्णाली विकासको स्पष्ट नीति तथा कार्यक्रमको खाका र कार्यान्वयनमा दृढ इच्छाशक्ति हुनुपर्छ । राज्यले कर्णालीलाई सिंहदरबारको आँखाले हेरेर कर्णालीको विकास कदापि हुन्न ।
कर्णाली विकासको लागि राज्यले कर्णालीलाई कर्णालीकै आँखाले हेर्न सक्नुपर्छ । अर्को तीतो यथार्थ, कर्णालीलाई सौतेनी व्यवहार गर्ने शासकहरूको अझै अवशान भइसकेको छैन । आफ्नो स्वार्थ, शक्ति र सत्ता खेलमा लाग्ने र आफूले जितेर गएको क्षेत्रलाई बेवास्ता गर्ने कुसंस्कार अझै हावी छ ।
यस्तो कुसंस्कार नहटाएसम्म कर्णाली राज्यको प्रणाली बन्ने पथमा निश्चय पनि लगाम लाग्छ । ‘दूध दिने गाईलाई हरियो घाँस पनि प्रशस्त दिनुपर्छ' भन्ने मान्यता प्रत्येक नीतिनिर्माता, नेतागण र सम्बन्धित सरोकारवालासँग हुनैपर्छ अनि मात्र कर्णालीका प्रचुर सम्भावनालाई विस्फोट गराई कर्णालीलाई राज्यको सक्षम, सबल र सम्पन्न प्रणाली बनाउन सकिन्छ ।
हाम्रो गौरवमय अतीत छ, विस्मयकारी वर्तमान छ, अब चमत्कारी भविष्यको सुन्दर खाका कोर्ने युगीन समय आएको छ । अबको समय भनेको युगान्तकारी युग निर्माण हो, कर्णाली विकासको हो । कर्णाली राजमार्गको स्तरोन्नति, हिल्सा—हुम्ला र नाक्चेलांना—मुगु सडकको विस्तार कर्णालीवासीको माग हो । कर्णालीलाई कृषि, पशुपालन र जडीबुटीको मुख्य केन्द्र (हब) का रूपमा विकास गर्ने सुन्दर संगीन समय हो ।
केपी शर्मा ओली सरकारले भर्खरै प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटले कर्णालीलाई चरम बेवास्ता गरेको देखिन्छ । कर्णाली विकासको बजेट केवल विद्यार्थी दिवा खाजामै सीमित राखेको देखिन्छ । कर्णाली विकासको नाममा कनिका छर्ने प्रवृत्ति अझै हाबी छ । त्यसैले कर्णालीका अथाह सम्भावनाहरूलाई साकार पार्न पुनः कर्णाली विकास आयोग गठन गरी सरकारलार्ई प्रभावकारी नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न लगाउनुपर्छ ।
देश संघीयतामा गएको सन्दर्भमा कर्णाली स्वायत्त प्रदेशको माग भइरहेको वर्तमान परिप्रेक्षमा राज्यले कर्णालीलाई विशेष अधिकारसहितको स्वायत्त क्षेत्र घोषणा गर्नुपर्छ । जसबाट कर्णाली राज्यको प्रणाली बन्नलाई सुनिश्चितता प्रदान हुनेछ । कर्णाली विकसित भए राष्ट्र समृद्धशाली हुन्छ । असम्भव के नै छ र ? गर्न सके बनाउन सके कर्णाली भारतको सिम्ला, नैनीताल, जम्मु–कश्मीर र स्विट्जरल्यान्डभन्दा कम्ती हुन सक्दैन ।
विशेष अग्राधिकार र नयाँ नीति तथा कार्यक्रमले कर्णालीलाई साँच्चै विकसित कर्णाली बनाउनेछ, राज्यको प्रणाली बनाउनेछ । तसर्थ कर्णालीलाई हेर्ने नजर परिवर्तन गरी कर्णालीका प्रचुर सम्भावना र अथाह प्राकृतिक स्रोत र साधनहरूलाई देश विकासमा समेट्नु आजको टड्कारो आवश्यकता हो, जसबाट कर्णालीको बृहत्तर विकास भई कर्णाली राज्यको एक सशक्त प्रणाली बन्नेछ ।
वन प्राविधिक हमाल कर्णाली विकासमा संलग्न छन् ।