एउटै ल्याबबाट फरकफरक रिपोर्ट

एउटै ल्याबबाट फरकफरक रिपोर्ट

विराटनगर: मोरङको टंकीसिनवारीमा रहेको विराट नर्सिङहोम टिचिङ अस्पताल एन्ड रिसर्च सेन्टरले एउटै बिरामीको रगत परीक्षणको रिपोर्ट फरकफरक दिएको छ । विराटनगर ५ सखुवारेकी ५० वर्षीया सीता पुरीको रगत परीक्षणको रिपोर्ट सुरुमा अस्पतालले गलत दिएपछि बिरामी र आफन्तले एक महिनासम्म निक्कै मानसिक तनाव बेहोर्नुपर्यो ।

अस्पतालको ल्याबले सुरुमा दिएको रिपोर्ट गलत रहेको पुष्टि गर्दै एक महिनापछि फेरि अर्को रिपोर्ट दिएपछि ल्याब परीक्षणका क्रममा त्यहाँ हुने गरेको चरम लापरबाही बाहिर आएको छ । अस्पतालले सुरुमा सीतालाई हेपाटाइटिस ‘सी' को संक्रमण भएको रिपोर्ट दिए पनि त्यसपछि दुईपटकसम्म रगत परीक्षण गराउँदा यो रोग नभएको पुष्टि भयो ।

परिवारका अनुसार पुरीलाई पित्तथैलीमा भएको पत्थरीको शल्यक्रियाका लागि गत जेठ १६ गते विराटनगरमै रहेको विराटनगर अस्पताल लगिएको थियो । त्यहाँबाट डा. आरके सिंहले उनलाई टंकीसिनवारीको नर्सिङ होममा पठाए ।

‘नर्सिङहोमले पत्थरीको शल्यक्रिया गर्नुअघि रगत परीक्षण गर्नुपर्ने सल्लाह दियो', सीताका बहिनीज्वाइँ मोहनचन्द्र गिरीले भने, ‘त्यतिबेला अस्पतालले हेपाटाइटिस ‘सी' छ भनेर रिपोर्ट दिएपछि परिवार र बिरामीमा निराशा पैदा गर्यो ।'

गिरीका अनुसार अस्पतालका प्याथोलोजिस्ट डा. सन्तोष काफ्लेले सीतालाई यो रोगको संक्रमण रहेका कारण कसैले छुन र चलाउन नहुने सुझावसहितको रिपोर्ट आफन्तलाई बुझाए । उनले रगत परीक्षणको रिपोर्ट दिएर दुई दिनपछि पत्थरीको शल्यक्रियाका लागि बोलाएका थिए । सीताको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया आफन्तले ३५ हजार रुपैयाँ खर्च गरेर जेठ १९ गते गराए ।

रगतको रिपोर्टका बारेमा जानकारी दिंदा डा. काफ्लेले सीतालाई यो सर्ने रोग भएका कारण परिवारका अन्य सदस्यसँगै नबस्न सल्लाह दिएको गिरीले बताए । ‘तपाईंलाई त समस्या भयो नै फेरि अरूलाई पनि रोग सरेर समस्या निम्त्याउँछ', काफ्लेको भनाइ उद्धृत गर्दै गिरीले भने, ‘त्यही भएर रोग नसरोस् भनी अरूसँग अलग्गै बस्नु राम्रो हुन्छ ।'

‘पत्थरीको शल्यक्रिया गरेपछि मात्र हेपाटाइटिस ‘सी' को उपचार सुरु गर्नुपर्छ भनेर सुरुमा हामीले पत्थरीको शल्यक्रिया गरायौं', गिरीले भने, ‘त्यसपछि हेपाटाइटिस ‘सी' को उपचार गराउन भनेर दुईपटकसम्म रगत परीक्षण गराउँदा यो रोग नै नभएको पुष्टि भयो ।' सीतालाई जेठ २४ गते पुनः रगत परीक्षण गर्न विराटनगर अस्पताल लगियो । तर अस्पतालले यो रोग नभएको पुष्टि गर्दै रिपोर्ट दियो ।

त्यसपछि तेस्रोपटक यही असार २४ गते पत्थरीको शल्यक्रिया गरिएको विराट नर्सिङहोम टिचिङ अस्पताल एन्ड रिसर्च सेन्टरमै लगेर पनि रगत परीक्षण गराइएको थियो । गिरीका अनुसार त्यही नर्सिङहोमले त्यतिबेला भने हेपाटाइटिस ‘सी' नभएको पुष्टि गर्दै सीतालाई रगत परीक्षणको रिपोर्ट उपलब्ध गरायो ।

रगत परीक्षणका तीनवटै रिपोर्ट देखाउँदै उनले भने, ‘सर्वसाधारणको स्वास्थ्य उपचारका नाममा यो पूरै ठगी हो । चरम लापरबाही हो ।' उनले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्दै थप पीडा तथा बिरामी र आफन्तलाई मानसिक तनाव उत्पन्न हुने खालको गलत रिपोर्ट दिने चिकित्सकमाथि कारबाही हुनुपर्ने माग पनि गरे । पीडित परिवारले दोषीमाथि कारबाही र पीडितलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै सोमबार विराटनगरमा पत्रकारसम्मेलनसमेत गरेको छ ।

परिवारका सदस्यले स्वास्थ्य संस्थाले घृणित व्यवहार गर्दै बिरामीलाई हतोत्साही बनाउने वातावरण बनाएको लापरबाहीपूर्ण तरिकाले रगत परीक्षण गरिएका कारण गलत रिपोर्ट प्राप्त हुँदा परिवारले नै तनाव बेहोर्नु परेको बताउँदै पीडित सीताले भनिन्, ‘मलाई त तनाव भयो नै परिवारका सबै सदस्यले तनावमा बस्नुपर्यो ।

लामो समयसम्म सबैबाट टाढा भएर बस्नुपर्ने अवस्था आयो ।' रुँदै उनले भनिन्, ‘यो कुराले मलाई धेरै ठूलो पीडा दिएको छ । अन्यायमा परेका कारण मैले न्याय पाउनुपर्छ ।' उनले पत्थरीको शल्यक्रिया नै लापरबाहीपूर्ण तरिकाले गरिएको हुनसक्ने आशंका व्यक्त गरिन् ।

सुरुमा गलत रिपोर्ट दिएको स्वीकार गर्दै नर्सिङहोमका प्याथोलोजिस्ट डा. काफ्लेले भने, ‘प्राविधिक समस्याका कारण यस्तो हुन गयो । मेसिनले गर्ने काम भएकाले कहिलेकहीं यस्तो हुनु स्वाभाविक हो ।' यसमा कुनै मानवीय त्रुटि नरहेको दाबी उनको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.