सर्पले डसेका बिरामीलाई झारफुक !

सर्पले डसेका बिरामीलाई झारफुक !

चारआली (झापा): फावाखोला १ ताप्लेजुङका पूर्णबहादुर बिस्टलाई गुर्वे भनिने सर्पले असार १५ गते खुट्टामा डस्यो । तर उनी असार १८ गतेमात्र चारआलीस्थित नेपाली सेनाको ब्यारेकको हाताभित्र रहेको सर्पदंश उपचार केन्द्रमा आइपुगे ।

त्यतिन्जेल उनी गाउँकै झारफुके धामीझाँक्रीको भरमा परे । चारआली आइपुग्दा उनको खुट्टा अत्यधिक सुन्निएको थियो । बिस्टले भने, ‘दिनदिनै झन्झन् पोल्न र घोच्न थाल्यो । अब बाँच्दिनँजस्तो लाग्न थाल्यो । तर गाउँघरमा किन जानुपर्यो सर्पदंश उपचार केन्द्रमा ? हाम्रै गाउँमा झारफुक गर्ने मान्छे छन् भनेर त्यतै अलमल्याए ।'

इलाम शान्तिडाँडाकी कोपिला थापालाई पनि केही दिनअघि घाँस काट्दा गुर्वे जातकै सर्पले हातको औंलामा डस्यो । उनी पनि धामीको भर परिन् । तर त्यसले उपचार सम्भव नभएपछि चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा आइपुगिन् । उनले भनिन्, ‘दुई दिनसम्म गाउँमै विष झार्न लगाएँ धामीलाई । सबैले कराए अनि यहाँ आएँ ।'

गाउँघरतिर सर्पले डसेका बिरामी अझै पनि धामीझाँक्रीको भरमा परेर अन्तिम स्थितिमा मात्र सर्पदंश उपचारकेन्द्रमा आइपुग्ने गरेका छन् ।

खासगरी पहाडी इलाकामा त्यति विषालु सर्प नपाइए पनि सर्पले डसेपछि डसेको भागमा रबर तथा डोरीले रक्त सञ्चालन नै नहुने किसिमले धेरै दिनसम्म बाँधिराख्ने र लामो समयसम्म उपचार नगरी बस्ने गरेका कारण कतिपयको अंगभंग नै हुने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार रक्तनलीलाई धेर बाधा नपुर्याई सामान्य पट्टी बाँधेर त्यस्ता बिरामीलाई चाँडो उपचार केन्द्रमा पुर्याउनुपर्छ ।

पहाडी क्षेत्रमा विषालु सर्पको बिगबिगी उति पाइँदैन । जस्तोसुकै सर्पले डसे पनि टोकेको भागभन्दा केही माथि बेस्कन डोरी तथा रबरले बाँध्ने गरेका कारण कतिपयको बाँधेको भाग नै काम नलाग्ने गरेको सर्पदंशका बिरामीको उपचारमा संलग्नहरू बताउँछन् ।

 

सर्पदंश उपचार केन्द्र चारआलीका प्राविधिक दिनेश खड्काले भने, ‘अझै पनि गाउँतिर झारफुक गर्न लगाउनेहरू छन् । तर जसरी पनि उपचार केन्द्रमा नआए अंग नै काम नलाग्ने हुनसक्छ ।'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार सर्पले डसेको भागको केही माथि बाँधे पनि बेलाबेला रक्त सञ्चालनका लागि बाँधेको भाग खुकुलो गर्दै चाँडोभन्दा चाँडो उपचार केन्द्रमा पुर्याउनुपर्छ ।

तराईमा त झन् धेरै प्रकारका विषालु सर्प पाइने भएकाले त्यस्ता सर्पले डसेको खण्डमा मानिसको ज्यान जाने सम्भावना धेरै भए पनि रक्तनलीलाई धेरै असर नपर्ने गरी पट्टी बाँधेर समयमा उपचार केन्द्रमा पुगे ज्यान बाँच्ने मरासिनी बताउँछन् ।

उनले अब दुई महिनाका लागि सर्पदंशमा प्रयोग हुने एन्टी स्नेक भेनम सञ्चित रहेको जानकारी पनि दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.