हिन्दु राज्यबारे जनमतसंग्रहमा जानुपर्छ
२०४६ सालको प्रजातन्त्र बहालीपछिको झन्डै डेढदसक नेपाली राजनीतिको केन्द्रमा रहेका कांग्रेसका प्रभावशाली नेता खुमहादुर खड्का अहिले उनको दल र मुलुकको राजनीतिक एजेन्डाभन्दा अलि फरक विचार बोकेर हिँडेका छन् ।
पटकपटक गृह, भौतिक योजनालगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालेका खड्का कांग्रेसभित्र लोकप्रिय र कार्यकर्ताका प्रिय नेताका रूपमा पनि परिचित छन् । अदालतले भ्रष्टचारी ठहर गरी जेलसमेत बसेका खड्का चार महिनाअघि सम्पन्न कांग्रेसको तेह्रौँ महाधिवेशनमा अत्यधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी नेता हुन् । पछिल्लो समय उनी पार्टीको लाइनभन्दा फरक हिन्दु राज्य घोषणा गर्ने अभियानमा छन् । झन्डै ६ दसक राजनीतिमा सक्रिय रहेका खड्कासँग पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा अन्नपूर्णकर्मी गोविन्द परियारले गरेको वार्ताः
संविधान जारी भएपछिको राजनीतिक परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
संविधान कार्यान्वयन नहुने गरेर आयो । अहिले मुलुकमा विभिन्न आन्दोलन भइरहेका छन्,जनजातिका, मधेसका, हिन्दुराज्य कायम गर्नेलगायत । जुन संविधानले नेपालका सबै जनतालाई खुसी दिन सक्दैन, त्यो संविधान कसरी लागू हुन्छ ? यो संविधान अपूरो छ । यसलाई कसरी पूर्ण बनाउने भन्ने पहिलो काम हो । सबै जनताले अपनत्व महसुस गर्ने स्थिति बनेपछि मात्र संविधानप्रति लागू हुन सक्छ ।
संविधानलाई कसरी पूर्ण बनाउने त ?
म लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति भएकाले यही संविधानसभाबाट विभिन्न समुदाय र समूहले गरेका माग समावेश गरी संशोधन गरेर जाँदा राम्रो हुन्छ । तर दुईतीनवटा विषय मिल्छजस्तो लाग्दैन । संविधान ल्याउँदा प्रमुख तीन पार्टी मिलेका हुन् । तीन पार्टी मिलेर पनि समस्याको समाधान हुँदो रहेनछ त । त्यसैले जनताले हृदयदेखि यो संविधान मेरो हो र हाम्रो हितको लागि आएको हो भन्ने अनुभूति गर्नुपर्छ ।
यो संविधानमा धेरै त्रुटि छन् । संघीयता नमान्नेहरू पनि छन्, म पनि संघीयताको पक्षपाती होइन । पार्टीले निर्णय गरेकाले मात्रै मैले संघीयता स्विकारेको हुँ । म सुरुदेखि नै हाम्रो देशमा संघीयताको अर्थ छैन भन्दै आएको व्यक्ति हुँ । बरु समावेशीकरण चाहिएको छ । सबै क्षेत्रमा विभिन्न जातिका लागि सिटकै आरक्षण गरौँ भन्दै आएको छु । दलित, महिला, जनजाति, मधेसीलगायत पछाडि परेका तथा पारिएका जाति तथा समुदायलाई कसरी अगाडि बढाउन सकिन्छ, त्यो हिसाबले सोच्नुपर्छ ।
तर यी सबै जल्दाबल्दा विषयलाई बेवास्ता गरेर दुनियाँमा नभएको संविधान यहाँ आयो । नेपाललाई प्रयोगशाला बनाइयो । त्यसैले यो संविधानले निकास दिन्छजस्तो लाग्दैन । त्यसैले जनताले उठाएका माग समावेश गरेर संविधान पूर्ण बनाउनुपर्छ ।
तपाईंले संविधान आउनुअघि हिन्दुराज्य बनाउनुपर्छ भनेर महाअभियान नै सुरु गर्नुभएको थियो, अब संविधान आएपछि धर्म निरपेक्षता स्वीकार गरेको हो ?
अभियान शिथिल हुनुको मुख्य कारण म बिरामी परेकाले हो । जेल परेपछि मिर्गौलामा समस्या आयो । डेढ वर्ष जेल बस्दा मिर्गौलाको तीन प्वाइन्ट बिग्रिएको रहेछ । हिन्दु अभियानमा लाग्दा देश दौडाहामा जानुपर्यो, त्यसले गर्दा मिर्गौला बिग्रिसकेको रहेछ । त्यसपछि डाक्टरहरूको सुझावअनुसार भारतस्थित एपोलो अस्पतालमा गएर नातेदारको मिर्गौला प्रत्यारोपण गराएँ ।
कतिलाई भ्रम परेछ— खुमबहादुरले पैसा खाएर अभियान छोड्यो भन्ने । अब ठीक भएको छु । साउनमा दुईदिने बृहत् गोष्ठी आयोजना हुँदैछ, त्यसको लागि देशभरका हिन्दुवादीलाई गोलबन्द गर्दैछौँ । उक्त अभियानमा कांग्रेसको झन्डा पनि राख्दैनौँ । ओमकारको झन्डा राख्ने र हिन्दु राज्य घोषणा अभियान तीव्र बनाउने तयारीमा छौँ । उक्त गोष्ठीले आन्दोलनको खाका तयार गर्छ । हामी यसपटक वार या पारको आन्दोलन गर्छौं ।
कांग्रेसभित्र तपाईं क्रान्तिकारी देखिनुहुन्थ्यो, तर अहिले एक्कासि किन हिन्दुराज्य अभियानमा लाग्नुभयो त ?
धर्म निरपेक्षता हुनुपर्छ भनेर हाम्रो पार्टीमा औपचारिक रूपमा केही निर्णय भएको छैन । यो पार्टीभित्र कसैलाई थाहा पनि थिएन । एकाएक गिरिजाबाबुले एकलौटी निर्णय गर्नुभएको हो । त्यतिबेला पार्टीमा वितरण गरिएको दस्ताबेजमा धर्म निरपेक्षता भन्ने नै छैन । त्यसैले मैले सुरुदेखि नै पार्टी बैठकमा हिन्दु राज्य कायमै गर्नुपर्छ भनेर बोल्दै आएको हुँ । यो मेरो सुरुदेखिकै अडान हो ।
हिन्दु राज्य भनेपछि राजसंस्थाको पनि पक्षपाती होला नि तपाईं ?
मैले त्यतिबेलै सेरोमोनियल राजसंस्था हुनुपर्छ भनेको हुँ । भोलि कांग्रेस र राजसंस्था मिलेर जानुपर्ने अवस्था आउन सक्छ, त्यसैले हटाउन हुँदैन भनेर मैले बोलेको थिएँ, नाम मात्रैको भए पनि राजसंस्था राख्नुपर्छ । तर त्यतिबेला सबै क्रान्तिकारी भए । जो राजावादी थिए उनीहरू गणतन्त्रवादी भए ।
म कांग्रेसमा सबैभन्दा पहिला गणतन्त्रको प्रस्ताव राख्ने व्यक्ति हुँ । तर त्यतिबेला मैले राजनीति बुझेको रहेनछु । पछि राजसंस्था चाहिन्छ भन्ने कांग्रेसमै म एक्लो भएँ । लोकतन्त्र र कांग्रेस बलियो हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले राजसंस्थालाई पनि मिलाएर लैजाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा थियो त्यतिबेला । तर अहिले त भिन्नै अवस्था छ ।
असार २३ गते राजाको जन्मदिन मनाउन ३०/३५ हजारको भीड थियो भन्ने मैले सुनेँ । जुन जिल्लामा पूर्वराजा गएका छन्, त्यहाँको भीड हेर्नुस् त ? जनताले जुन आशा गरेका थिए, त्यो हामीले गर्न सकेनौँ । त्यसैले देशप्रति माया हुने, नेपाल रहनुपर्छ, नेपाली भएर बाँच्न पाउनुपर्छ भन्ने ‘सचेत वर्ग' राजसंस्था हुनुपर्छ भन्नेमा पुगेका हुन् ।
त्यसो भए अब राजसंस्थासम्म पुग्न हिन्दु राज्य फिर्ता गर्ने अभियान हो तपाईंहरूको ?
मैले राजसंस्था पुनस्र्थापित गर्नुपर्छ भनेको छैन । मैले हिन्दु राज्यको एजेन्डा मात्रै अघि सारेको छु । केहीले हिन्दु राज्य भन्नेबित्तिकै स्वाभाविक राजसंस्था आउँछ भन्ने अर्थ लगाए, तर मेरो फरक दृष्टिकोण छ । हिन्दु राज्य हँुदैमा ‘अटोमेटिक' राजसंस्था आउँदैन । इरानमा राजा हटे, तर इस्लामिक राज्य त छ, अफगानिस्तानमा पनि राजा हटे तर इस्लामिक राज्य छ । त्यसले हिन्दु हुनेबित्तिकै राजा आउँछ भन्ने होइन । जनताले राजसंस्था चाहे भने हामीले रोक्न सक्छौँ र ?
तपाईंहरूको अभियान हिन्दु राज्य कायम गर्ने मात्रै हो ?
जो राजावादी छ, उनीहरू पनि मेरो अभियानमा आउनुपर्छ, यदी उनीहरू हिन्दुवादी हुन् भने । उनीहरूले नै यो अभियानको नेतृत्व गर्न सक्छन् । मेरै नेतृत्वमा आउनुपर्छ भन्ने होइन, उनीहरूको नेतृत्वमा म पनि जान सक्छु । तर नेतृत्व सफल हुनुपर्छ । हिन्दु राज्य कायम गर्न चाहेमा एमाले, माओवादी, राप्रपा, राजावादी, मधेसवादी, सन्त, महात्मा एक ठाउँमा आउन सक्छन् ।
त्यसैले त मैले पार्टी झन्डा नबोकी अघि बढ्नुपर्छ भनेको हुँ । राजसंस्था फर्कन्छ भनेर मैले हिन्दु राज्यको एजेन्डा बोक्न छोड्दिनँ । अहिले पनि हिन्दु राज्यको पक्षमा जनमतसंग्रह गर्ने हो भने ८० प्रतिशतभन्दा बढी मत आउँछ, निष्पक्ष रूपमा भयो भने । यति धेरै संख्या हिन्दु भएको देशमा जनताको मत नबुझीकन निर्णय गर्न मिल्छ ? जबर्जस्ती तीन दलका नेताले लादेको निर्णय हामीलाई मान्य छैन ।
हिन्दु राज्य कायम गर्ने वा नगर्ने भन्ने विषयमा जनमत संग्रह गर्नुपर्छ भन्ने तपाईंहरूको माग हो ?
तत्काल संविधान संशोधन गरेर पनि हिन्दु राज्य कायम गर्न सकिन्छ, तर नेताहरूलाई आफ्नो पार्टीमा आन्तरिक दबाब छ भने जनमतसंग्रह उत्तम विकल्प हुन सक्छ । भर्खरै बेलायतमा भएको छ । नेपालमा हिन्दु राज्य चाहिन्छ कि चाहिँदैन भनेर जनमत संग्रह गर्न किन नमान्ने ? कांग्रेस, एमाले र माओवादीले ठूला पार्टी भन्ने अनि जनताको मत लिन नखोज्ने ? यी तीन दलका नेताको कार्यशैली त हिटलरको भन्दा पनि बढी भयो ।
जनमत संग्रहमा जान हामी तयार छौँ । मंसिरतिर जनमतसंग्रह गरौँ, धर्म निरपेक्षवादीले जिते भने त्यसलाई सहर्ष स्वीकार गर्छौं । हिन्दु राज्य पक्षधरले जिते भने पनि उहाँहरूले मान्नुपर्यो ।
हिन्दु राज्यका विषयमा तीन दलको नेतृत्वसँग तपाईंको छलफल भएको छ ?
अहिले कांग्रेसको नेतृत्व परिवर्तन भएको छ । प्रधानमन्त्री केपी ओलीसँग पनि मेरो कुराकानी भएको छ । प्रचण्डकहाँ म जान सकिनँ, साथीहरू जानुभएको छ । मुखले ठीक पार्ने तर व्यवहारमा उल्टो गर्ने नेतृत्वको शैली छ । त्यसैले त अब आन्दोलनको विकल्प भएन ।
तपाईंहरूको हिन्दु राज्य कायम गर्ने अभियानमा भारतको कट्टरपन्थी आरएसएसको समर्थन छ र ?
सहानुभूति होला उसको, तर मलाई त्यस विषयमा थाहा छैन । आरएसएससँग मेरो सम्पर्क छैन ।
वर्तमान सरकारको कार्यशैलीलाई कसरी हेर्नुभएको छ ?
केपी ओलीले जुन सपना देखाउनुभएको छ, त्यसलाई म नराम्रो भन्दिनँ । सपना वा सोचाइ त राख्नुपर्यो नि । हिजो मैले राख्न सकिनँ भनेर अहिले ओलीले राख्दा किन विरोध गर्ने ? उहाँले बोलेका कुरा कार्यान्वयन कसरी गर्नुहुन्छ, त्यो आफ्नो ठाउँमा छ, तर सपना देख्न त पाउनुपर्यो नि ।
वर्तमान सत्ता गठबन्धनमा रहेका दलले संविधान कार्यान्वयन गर्न सक्लान् ?
यो सरकार नै अपवित्र गठबन्धन हो । यहाँ कोही संघीयताविरोधी, कोही राजावादी, कोही क्रान्तिकारी, कोही संघीयता पक्षधर, कोही बन्दुक उठाउने कुरा गर्छन् । त्यसरी हेर्दा यो अजीवको सरकार हो । यस्तो सरकार यसअघि नेपालमा कहिल्यै थिएन । यस्तो गठबन्धनको सरकार कति दिनसम्म अघि बढ्छ भन्ने पनि हो ।
सरकार जान्छ, जान्छ भन्ने पनि सुन्छु । चित्रबहादुर केसी देखेर मलाई अचम्म लागेको छ । केसीलाई म व्यक्तिगत रूपमा सम्मान गर्छु । संघीयताको मामलामा उहाँको र मेरो कुरा मिलेको पनि थियो । उहाँ किन यो सरकारमा जानुभयो, म अचम्ममा परेको छु । उहाँलाई संसद्मा बोल्दा सांसदहरू कुरेर बस्थे, जनताले सुन्न खोज्थे ।
तर उपप्रधानमन्त्री भएपछि उहाँको बोली बन्द भयो । सत्ता त पाउनुभयो, तर उहाँलाई केही फाइदा भएजस्तो लाग्दैन । राजसंस्था र हिन्दु राज्य भनेर जनमत लिने, अनि सत्ताका लागि कम्युनिस्टहरूको सरकारमा गएर बस्ने कमल थापाको निर्णय पनि मलाई उचित लागेको छैन ।
मधेस आन्दोलनले संविधान संशोधनको माग गरेको छ, मधेसकेन्द्रित दलसँग तपाईंहरूको सहकार्य हुन सक्छ ?
मधेस आन्दोलन जायज छ । पहिलो मधेस आन्दोलन हुँदा ५४ जना साथीहरू सहिद भएका छन् । संघीयताले गर्दा मधेस आन्दोलन भएको हो । सुरुमै पाँच विकास क्षेत्रलाई पाँचवटा संघ बनाएको भए सबैले मान्थे । पछि घूसपैठ भयो । विभिन्न राष्ट्रहरूको इन्ट्रेस्ट भयो । उनीहरूका नेपाल बनाउनेभन्दा पनि आफ्नो रणनीतिक इन्ट्रेस्टहरू भए । त्यसले पहिलो मधेस आन्दोलनमा जुन सहमति भएको थियो, त्यहीअनुसार गएको भए यो आन्दोलन हुने थिएन ।
त्यतिबेला हाम्रै पार्टीका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले र माओवादीको नेतृत्वपंक्ति बसेर मधेस स्वायत्त प्रदेश भनेर हस्ताक्षर गरेको हो । त्यतिबेला सहमति गर्ने अनि अहिले उनीहरू अलि कमजोर भएको बेला हेपेर कार्यान्वयन नगर्न पाइन्छ ? अहिले मधेसका जनता, नेतालाई पहाडीले हेपे भन्ने मनस्थिति विकसित भएको छ ।
यो देशका लागि दुर्भाग्य हो । त्यसो हुनै दिनु हुँदैनथ्यो नेताहरूले । उहाँहरूले भनेजस्तै मधेस दुई प्रदेश बनाएको भए के बिग्रिन्थ्यो ? निकास दिन कसैले पनि चाहेनन् । मधेसमा ४९ जना सहिद भइसकेका छन् । उनीहरू त सच्चा नेपाली हुन् । यस्तो स्थिति बढ्दै गयो भने श्रीलंकामा लिट्टेले जस्तै हतियार उठ्यो भने के हुन्छ ? पहाडमा विप्लवको हतियार र मधेसमा सिके राउतको हतियार उठ्यो भने के हुन्छ ? त्यस्तो अवस्था भोलि नआउला भन्न सकिँदैन । त्यसैले मधेसलाई गहिरो अध्ययन गरेर समस्याको समाधान खोज्नुपर्छ ।
प्रसंग बदलौँ, पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध केही बिग्रिएको भनिन्छ नि ?
नेपाल र भारतको सम्बन्ध बिग्रनु भनेको दुवैको लागि दुर्भाग्यपूर्ण हो । कसरी बिग्रियो भन्ने विषयमा मलाई जानकारी छैन । अन्धराष्ट्रवादको नाममा भारतको विरोध गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यसको मतलब हाम्रो राष्ट्रिय स्वार्थ छोड्ने भनेको होइन । भारत र हामी नमिल्ने हो भने भोलि अर्कैले खेल्छ ।
भारतसँग सम्बन्ध बिग्रिएको त्यही मधेसको आन्दोलनले होइन र ? त्यसको जिम्मेवार को हो ? संविधान बनाउने दलका नेताहरू होइनन् ? आन्दोलन पहाडीले गरेको भए भारतलाई दोष लाग्दैनथ्यो, तर मधेसीले गरेकाले भारतलाई दोष लगाइयो । कुनै पनि सच्चा नेपाली भारतको विरोधी हुन सक्दैन । नेपाल र भारतबीच कताकता तालमेल नमिलेको र असमझदारी भएको अवस्था हो अहिले ।
भारतसँग दूरी बढ्नुमा छिमेकी चीनको पनि भूमिका छ भन्छन् नि ?
नेपालको विकासमा जुन मुलुकले सहयोग गरे पनि त्यसलाई स्वीकार गर्नुपर्छ । नाकाबन्दीको बेला सामान पठायो भनेर चीनसँग यो सरकार मिल्यो भन्नु उपयुक्त होइन । जनताले ग्यास बाल्न भएका छैन, गाडी चढ्न पाएका छैन त्यस्तो बेला के गर्ने ? जो प्रधानमन्त्री भए पनि त्यही गथ्र्यो । त्यसलाई भारतविरोधीको रूपमा लिनु गलत हो ।
कांग्रेसको नयाँ नेतृत्वसँगै अबको भूमिका के हुन्छ ?
सभापतिले पहिला पार्टीभित्र मनोनयन र विभाग गठन छिटो सम्पन्न गर्नुपर्छ । सभापति शेरबहादुर देउवासँग भेटेर पनि मैले भनिसकेको छु । उहाँले भ्रातृ संस्थाको अधिवेशनपछि सबै मनोनयन गर्छु भन्नुभएको छ । तर बाहिर टीकाटिप्पणी भएको छ, छिटो गर्नुस् भन्ने सुझाव मैले दिएको छु ।
महाधिवेशनअघि तपाईंलाई उपसभापति बनाउने सहमति भएको हो ?
यो प्रश्नको उत्तर सभापति देउवालाई नै सोध्नुस् । पार्टीमा विगतमा गरेको योगदान र वरिष्ठता हेर्ने हो भने म शेरबहादुरजी र रामचन्द्र पौडेलजीपछि वरिष्ठ हुँ । मलाई मुद्दा लागेर यो अवस्था आयो । शेरबहादुरजी र रामचन्द्रजी मभन्दा सिनियर हुनुहुन्छ, उहाँहरूलाई मैले मानेकै छु । त्योभन्दा तलकालाई मान्न मलाई गाह्रो हुन्छ ।
पछिल्लो समय अदालतमा बढी राजनीतीकरण भयो भन्ने कुरा आएको छ, तपाईं अदालतले सजाय पनि दिएको व्यक्तिले यसलाई कसरी हेर्नुभएको छ ?
अदालतले मलाई सजाय गरे पनि नगरे पनि कुनै दलबाट सांसद भइसकेको व्यक्तिलाई न्यायाधीशमा नियुक्ति गर्नु गलत हो । यसले पद्धति बिगार्न खोजेको आभास हुन्छ । वरिष्ठलाई पन्छाएर आफ्ना मान्छे ल्याउने जुन काम गरियो, त्यो राम्रो भएन । म त पुनरावेदन अदालतमा पनि राजनीतिक नियुक्तिबाट न्यायाधीश लैजान हुँदैन भन्छु ।
यसले धेरै राजनीतीकरण भएको छ अदालतमा । सर्वोच्चमा चाहिन्छ, तर पुनरावेदनमा हुँदैन । क्यारियर न्यायाधीशबाट मात्रै पुनरावेदनमा न्यायाधीश बनाउने व्यवस्था गर्नुपर्छ । अनि मात्रै न्यायालय निष्पक्ष हुन्छ ।
अदालतले भ्रष्टाचारी ठहर गर्यो तपाईंलाई, के त्यहाँ पनि राजनीतिक घूसपैठ थियो ?
म अहिले त्यस्तो घूसपैठ भएको भन्दिनँ, आफ्नै भाग्य खराब भन्छु । कसैलाई दोष दिन्न । न्यायाधीशले मलाई न्याय नदिएकै हो, तर पनि म त्यसमा कुनै प्रतिक्रिया दिन्न । मैले तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठका जेठानलाई सडकको महानिर्देशक बनाएको थिएँ, उहाँलाई गएर सोधे हुन्छ, मैले कति पैसा खाएँ भनेर ? न्यायाधीश वैद्यनाथका आफ्नै दाइलाई मैले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक बनाएको हुँ, उहाँलाई पनि सोधे हुन्छ, मैले कति पैसा खाएँ ?
प्रहरी अधिकृतहरूलाई सोध्नस् । कसले हरायो, कसले कहाँ गएर के भन्यो भन्नेबारेमा विस्तृत रूपमा पुस्तकमा आउनेछ ।