प्रयत्न परिवर्तनको, प्रश्न परिप्राप्तिको
बितेका सात दसकदेखि हाम्रो देशीय दिशा दृश्य हेर्दा लाग्छ, हामी निरन्तर परिवर्तनको प्रयत्नमा छौँ । सायद हामीले ठान्यौँ– जूनपछि घाम, दिनपछि रात भनेजस्तै परिवर्तनपछि परिवर्तनको प्रयत्न परिपाटी नै प्रगति पथको प्रणाली हो ।
घुमाइको दिनलाई जुनेली रात बनाउन खोज्नु र कालो कागको प्राकृत आकृतिलाई लोक टलक दिएर मयुरपंखी पार्नु नै परिवर्तनकारी प्रगति हो भन्ने भावनाले पनि सायद हामी बढ्दै गयौँ । वास्तवमा परिवर्तित प्रणाली मात्रै कुनै प्रगति होइन । न त बदल्दै र बदलिँदै जानु नै विकास हो ।
विकास र निकासका नाममा हाम्रा राजनीति र राज्य व्यवस्थाले थपभन्दा थप परिवर्तनका प्रहर उत्पन्न गर्दै जानुलाई नै आधारभूत तत्त्व र सिद्धान्त झैँ ठान्यो । तर यथार्थमा व्यवहारसिद्ध वास्तविकता त्यस्तो नभई अर्कै हो । अर्थात् विनामेसै गरिने कुनै पनि अपरिपक्क परिवर्तनको प्रपञ्चले परिपूर्ण परिप्रति उसै प्रकट भइहाल्दैन ।
गतिलो गन्तव्यको पहुँच र पूर्ण प्राप्तिको प्रहर त तब नै उघ्रन्छ, जब हामी सही, स्वाभाविक, मौलिक र मूल्यको ‘परिवर्तन प्रक्रिया' मा उद्यत् हुन्छौँ ।
परिवर्तन विकासको विषय अवश्य हो । यथास्थितिबाट माथि उठेर प्रगतिको परिप्राप्ति गर्न परिवर्तनको पथ पनि एक प्रस्थान माध्यम निश्चय पनि हो । तर शब्दान्तरको पथ र कोरा तरंग तर्क–वितर्क अपभंशको बाटोबाट विकासको विशाल फाँटमा उसै पुगिने होइन ।
घर होइन अब मकान बनाउने वा मकानको मचानले गुज्रान हुँदैन । अब बिल्डिङ बनाउने भनेर बस्ने बासको बनी बनाउ बन्ने होइन । घर, कुटी, काटेरो जे हो त्यो आफूअनुकूल, आफ्नो निम्ति, आफूले बनाउने, आफ्नो सौम्य, स्वच्छ, अठोट साधन हो– त्यो त्यस रूपमा हुनुपर्ने हो । तर प्रगतिशील क्रान्तिकारी आमूल र अग्रगामी भनेर गरिने परिवर्तनका हाम्रा यावत् परिवर्तन केवल शाब्दिक, केवल भौतिक, केवल सैद्धान्तिक मात्र भएका छन्, तात्विक बन्न सकेका छैनन् ।
दुइटा घोचो ठड्याएर र घोचोमाथि फर्सी अड्याएर यो हो मान्छे भन्दैमा त्यो खडीखडाउ मान्छे हुने हो र ? मान्छेमा प्राण, वायु, आत्मा, मन, चित्तवृत्ति र गति पो हुन्छ त । चित्रमा चित्रित घर र मूर्तिमा अर्मूत मान्छेको के काम ? त्यसैले परिप्राप्तिमा अपरिपूर्ण परिवर्तनको प्रयोजनहीन प्रयत्नको के काम ?
हो, नेपालमा विगत सात दसकयता हामीले हाम्रो राजनीति र राज्य प्रबन्ध गरिरहेछौँ त्यस्तै अमूर्त प्रयत्न र अनर्थ परिवर्तन । अदली–बदली, फेरका र प्रयोग परिपाटी प्रगति निम्ति चाल्दै जानुपर्ने गोटी हुन्–चल्ती फिर्तामा तिनलाई चलाउनुपर्छ । तर परिवर्तन त्यस्ता प्रयत्न विधिमा देश, काल, परिस्थिति र आफ्नोपन, पहिचान एवं परिवेशको झलक अवश्य पनि झुल्किनुपर्छ । तर सत्तरी वर्षदेखि भएका अनेक विधि, प्रयोगबाजी र परिवर्तनकारी गतिविधि के हाम्रो भूप्रकृति, समाज र आफ्नो स्थितिमुताविक स्वस्थ, यथायोग्य वा स्वाभाविक छ त ?
नयाँनयाँ नारा र लालित्ययुक्त लालसा दिएर हाम्रा नानाथरी नेता नायकहरूले विगतमा परिवर्तनका अनेकानेक कार्य कदम अघि सारे । नेपाललाई एसियाकै उच्च विश्वकै उत्कृष्ट बनाउने सपना देखाउँदै दिनदहाडै तिनले जनताका मनमगजलाई निकै लठ्याए पनि । तर विनामेसै भएगरेका त्यस्ता अनेक परिवर्तनका प्रक्रियाबाट हाम्रा व्यथा, वाधा र असुविधामा कुनै प्रकारको सहजता आयो कि झनै जटिलता बढ्यो ।
हाम्रो परिवर्तन निरुपणका निम्ति भएको छ कि त्यसले विरुपणको बीजारोपण गर्दै गएको छ, सोचनीय विषय बनेको छ । संस्थागत परिपाटी पद्धतिगत प्रणाली र सही शिष्ट समझदारीका आधारमै हामी हाम्रो प्रगति शिखरतर्फ जाने हो । त्यस्तो विषयमा हामीभित्र एउटा सामञ्जस्य र सुसमझ आवश्यक हुन्छ ।
तर क्रिया–प्रक्रिया, पद्धति र परिपाटीको त्यस्तो अहम् सवालमा हामीमा सधैँ बखेडाबाजी, सौदाबाजी र चरम मनमौजी प्रवृत्ति हावी हुँदै आइरहेछ । दलदलको दौडादौडी, बलबलको बलजफ्ती र चलखेलको चलनचल्नी जब चल्छ, तब देश समाजको समृद्धि कसरी बढ्छ ?
संक्रमणकाल धेरै लम्बियो, अस्थिरता र अन्योल धेरै बढ्यो– हामी बारम्बार भन्छौँ –अनि पद्धति बस्नुपर्यो, स्थायित्व हुनुपर्यो र संस्थागत विकासका हेतु सहमति बन्नुपर्यो, हामी सबै स्विकार्छौं । तर एकताको माला चुँडालेर न समन्वित हुन सक्छौँ न व्यक्तिवाद, जातिवाद, क्षेत्रवाद र वर्गवादको विल्ला बोकेर हामी संस्थागत समूहवादको शिखरमा पुग्न सक्छौँ ।
संख्या गनेर संस्थामा पुग्न सकिँदैन न त स्वायत्त स्वार्थ अँगालेर शान्ति, सुख, समृद्धिको सदस्यता नै पूर्ति हुन सक्छ । आशा धेरै जगाउने, अपेषा अनेक अनेक बढाउने तथा एकछिनको न्यानो डढेलो चर्काएर पूरै डाँडो सखाप पार्ने हाम्रो परिवर्तनकारी प्रविधि वास्तवमा आफैंभित्र आत्मनाशी, विनाशकारी र विस्मातवादी मात्र छ ।
हाम्रो राजनीति, राज्य प्रवृत्ति र दिलैदेखिको इच्छाशक्ति आम परिप्राप्तिमा केन्द्रित हुनुपर्दछ । हामीले के गर्दा हामी सबैको आवश्यकताको वञ्छित परिपूर्ति सम्भव होला भन्ने हाम्रो साझा संकल्प हुनुपर्दछ । चुनाव गरे हाम्राहरूको जित होला कि नहोला, गर्दा वेश होला कि नगर्दा ठीक पर्ला भन्ने जो मेसोमा जब हामी चल्न थाल्छौँ तब त्यहाँ पद्धतिमा धक्का पुग्छ ।
कतिखेर कुन कुराको केकति औचित्य हो भन्ने आम राष्ट्रिय चिन्तनमा भन्दा आआफ्नै दल, समूह र वर्गको साँघुरो दायरामा जब हामी सोच्न पुग्छौँ तब हामी हाम्रो मूलभूत गन्तव्यबाट विमुख बन्दै जान्छौँ । आकृतिपिच्छेकै थरीथरी नीति र मान्छेपिच्छेकै पृथक्–पृथक् प्रवृत्तिगत परिपाटी बोकेर कहाँ हामी संस्थागत र पद्धतिसम्मत विधि बन्दोबस्तमा पुग्न सक्छौँ ?
हो, अहिले यही भइरहेछ । ओलीको बोली बढी भयो उनलाई हटाएर अर्कोलाई ल्याउनुपर्यो भन्ने खालको खेल अहिलेको राजनीतिमा चलिरहेछ, तर वास्तवमा कुरा ओलीको अनुहार फेर्ने र कसैको गलामा माला भिराउने विषयमा भन्दा समग्रमा शैली बसाल्ने कुरामा हाम्रो प्रयत्न हुनुपर्ने ।
आज देशको राजनीति, राज्य प्रणाली, राज्यका अंग सरकार संसद् र राजनीतिक अवयवमा मात्र हैन, शिक्षा स्वास्थ्य सामाजिक आर्थिक प्राविधिक सबै संयन्त्रमा लहडी परिवर्तनका नौटंकी प्रयत्नहरू चलिरहेका छन् । मौजुदा व्यवस्थालाई बिगार्ने र नयाँ नीति र नौलो प्रगतिका नाममा बेथिति तथा विकृति बटुल्ने हाम्रो प्रवृत्ति एकपछि अर्को थपिँदै गएको छ ।
कलेजलाई क्याम्पस बनाउने, प्रवीणतालाई प्लस टु भन्ने भनेर भएगरेको परिवर्तनको तात्विक आशय के ? यो थियो अब यसलाई यो नभनी त्यो भन्ने भनेर गरिने रुपान्तरले सारमा के कुन प्रकारको स्तर प्राप्ति हुने हो त्यो नै नीतिका प्रतिपादकहरूमा स्पष्टता छ न त्यो क्षेत्रका हर्ताकर्ताहरूमा नै त्यसको कुनै लाभप्रद खुलासा खुल्छ ।
परिवर्तनको प्रभावपूर्व प्रयत्न भन्दै हामी अनपेक्षित झीनामसिना झारपात बटुलेर बेकारमा बारबेला बियाँलिरहेछौँ ।
देख्न, देखिन, देखाउन र गरे झैँ गर्न गरिने यस्ता खालका खाल्टो खन्ने अनि पुर्ने प्रपञ्च परिवर्तनको कुनै प्रयोजन पाइन्न । केही नेता, नायक, केही पदिक प्रमुख पात्र र केही नक्कलबाज लट्ठकहरू बसेर अहडवश ल्याइने फेरबदलका नानाभाँती भाउँटोमा अहिले हाम्रो मुलुक र समाज भौँतारिरहेको छ ।
यो बेला नेपाल र नेपालीले न कुनै शेरबहादुर खोजिरहेछ न कुनै प्रचण्ड पात्रको तिलस्वी प्रविधिको अपेक्षा नै राखेको छ । देश र समाजले यतिखेर समग्रको साझा हिट र राष्ट्रको अविच्छिन्न आस्तित्व खोजिरहेको छ । हिमाल, पहाड र तराईको यो स्वर्णिम सम्मिलन भएको अनि आफ्नै नेपाली मूल्यको मौलिक महत्त्व बोकेको हाम्रो देश र समाजले यतिखेर आफ्नै स्वत्व, एकत्व एवम् प्रभुत्वको आत्मपोषण तथा परिपूर्ण पद्धति खोजिरहेछ । तर परिवर्तनको प्रभावपूर्व प्रयत्न भन्दै हामी अनपेक्षित झीनामसिना झारपात बटुलेर बेकारमा बारबेला बियाँलिरहेछौँ ।
जनताले उठाएको प्रश्न परिवर्तनको होइन न कसैको आग्रह परिवर्तनकारी प्रयत्नका । निम्ति नै हो । यतिखेरको प्रसंग त परिप्राप्तिको हो समाप्तिको होइन । आफ्नो श्रीशोभालाई इति श्री गरेर विनाशोभाको पलासे प्रविधि र प्रवृत्ति भित्त्याउनु हामी कसैका निम्ति पनि प्रियकर विषय हुँदैन । त्यस्तो हेरफेर फेर बदली सही सक्कली हुन सक्दैन ।
आकृति मूर्ति र जोडजाडले जडिएको चित्रकारी शैलीको परिवर्तनभन्दा पनि यो हाम्रो आफ्नो सम्पूर्णपनबाट परिप्राप्त यो हाम्रो पूर्ण उपलब्धि भन्ने खालको पूर्णत्व अपनत्व र आत्म अस्तित्वको आत्मोन्नति हामीले यतिखेर खोजेचाहेको विषय हो । खण्डन मण्डन गठन विघटन वा विखण्डन विभाजन विचलन आम जनचिन्तनको कुरा होइन । त्यसका निम्ति भएगरेका एक दसकयताका अनेक विधि विधान, संशोधन प्रशोधन पनि मुलुकको मूल्य र मुलुकवासीको मनले मानेको कुरा होइन ।
यिनै कुरा बुझेर नीतिनियन्ता नेताहरू नेपाल अनुकूलको नेपाली शैलीको नवनिर्माणको प्रयत्नमा प्रवृत्त होइन, अन्यथा ती किनारा लागून्, सही, सक्कलीको लागि मार्गप्रशस्त गरिदिऊन् । ओलीकालीन विद्यमान नेपाली शैलीको जनबोली यही हो ।