नाटो, रूस र अमेरिकी सकस
अमेरिकी राष्ट्रपति बाराक ओबामा वार्सामा हुँदै गरेको उत्तर अट्लान्टिक सन्धि संगठन (नाटो) को शिखर सम्मेलनमा रूसविरुद्ध सैन्य किल्लाबन्दीको औचित्यसहित युरोपको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धता व्यक्त गरिरहँदा डलासमा गोरा अमेरिकी र खास गरेर गोरा प्रहरी अधिकारीहरूको हत्या गर्नमा आफ्नो अभिरुचि रहेको बताउने एक अश्वेत पूर्व अमेरिकी सैनिक अधिकारीले पाँच अमेरिकी गोरा प्रहरी अधिकृतको हत्या र अन्य सातजनालाई गम्भीर रूपमा घाइते हुने गरी गोली हानिरहेका थिए ।
हत्याराको घरमा खानतलासी गर्ने क्रममा विस्फोटक पदार्थ बनाउने सामग्री, बम तथा गोला–बारुदका असरविरुद्धको सुरक्षा ज्याकेटहरू, गोलीगट्ठा र आक्रमणका विधि तथा तरिकासम्बन्धी लिखित सामग्रीसमेत पाइएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
अमेरिकी महान्यायाधिवक्ता लोरेट्टा लिन्चले उक्त हत्या र त्यसअघि र पछिका हिंसात्मक घटनाले स्वाभाविक रूपमा अमेरिकीहरूमा एक किसिमको डरलाग्दो असहायपन र असुरक्षाको भावना गढेर बसेको बताइन् ।
आफ्नो समाज जातीय र वैचारिक आधारमा परस्पर क्रूद्ध दुई समूहमा विभाजित भइरहेको सन्दर्भमा अमेरिकीहरूले प्रश्न गर्न थालेका छन्— हामी काला, गोरा, प्रहरी, नागरिक, प्रदर्शनकारी ककसको पक्षमा लाग्ने र हत्याको शोक मनाइरहने हो ? अमेरिकी प्रहरीहरूको राष्ट्रिय संगठनको कार्यकारी निर्देशकले त स्वयं राष्ट्रपति ओबामाले नै प्रहरीविरुद्ध युद्ध छेडेको आरोप एउटा टेलिभिजन अन्तर्वार्तामा लगाएको बारे जुलाई ९ मा न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
वार्सामा नाटो राष्ट्रहरूको शिखर सम्मेलनबाट फर्कने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने— अमेरिकाको एकता संकटमा छ ।
अमेरिकी लेखक, चिन्तक र प्राज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्– अमेरिकी सरकार र राजनीतिज्ञहरू मुलुकको लागि पर्याप्त समय, साधन र स्रोत जुटाउन सकिरहेका छैनन्, अमेरिकी शासन प्रणाली अक्षम हुँदै गइरहेको छ, राज्य सञ्चालनमा विवेक पराजित भइरहेको छ । आन्तरिक एकता कमजोर र संकटग्रस्त छ, अर्थतन्त्र सबल छैन । त्यस अवस्थामा अमेरिकाले आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्वहरूमा किन सन्तुलन खोजिरहेको छैन ?
यो प्रश्न नाटो सन्दर्भमा टड्कारोसँग उठिरहेको छ । नेसनल रिभ्युमा भिक्टर डभिस हान्सन भन्छन्– एकातिर युरोपेली राष्ट्रहरू अमेरिकालाई अति सैनिकीकृत हैकमी महाशक्ति भनेर उल्लेख गर्ने गर्दछन्, अर्कोतिर आफ्नो सुरक्षा खर्चमा निरन्तर कटौती गरेर सो रकम आफ्ना मुलुकका लोकरिझाइका कार्यक्रमहरूमा खर्च गरेर आफ्नो सुरक्षाको भारचाहिँ अमेरिकालाई बोकाएर अमेरिकाको आन्तरिक व्यवस्थापन जटिल र गह्रौँ बनाइरहेका छन् ।
राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले नाटोलाई म्याद नाघेको संगठन बताएर अमेरिकाले त्यस्तो संस्थाको कुल बजेटमध्ये अरू सबै मुलुकहरूको तुलनामा तीन गुणा बढी खर्च गरिरहेकोमा उनको कडा विरोध रहिआएको छ ।
अमेरिकाको एउटा विश्व प्रसिद्ध थिंकट्यांकका रक्षा र विदेश मामिलासम्बन्धी वरिष्ठ विज्ञ टेड गालेन कार्पेन्टरले नेसनल इन्ट्रेस्ट नामक पत्रिकामा कुनै शत्रु नै नभएको र सुरक्षामाथि कतैबाट कुनै संकट नै नरहेको १३ हजार वर्ग किलोमिटर क्षेत्रफल र सात लाख जनसंख्या भएको पूर्व युगोस्लाभियाको एउटा सानो राज्य मोन्टेनेग्रो जस्तो मुलुकलाई समेत सदस्यको रूपमा भित्र्याएर नाटोले आफ्नो लक्ष र प्राथमिकता हराउँदै गइरहेको बताएका छन् ।
मोन्टेनेग्रो जस्तो मुलुकको त्यस्तो सदस्यतालाई प्रसिद्ध अमेरिकी थिंकट्यांक क्याटो प्रतिष्ठानका डौग बान्डो फेसबुक फ्रेन्ड जस्तो मात्रै भनेर टिप्पणी गर्दछन् ।
यस्तो परिवेशमा नाटोबाट अमेरिका हट्नुपर्ने कार्पेन्टरको मत छ । चर्चित युवा अमेरिकी राजनीतिशास्त्री इयान ब्रेम्मरले त टाइम साप्ताहिकको अघिल्लो महिनाको अन्त्यमा प्रकाशित एक लेखमा नाटोलाई एउटा खोक्रो गठबन्धन भन्न पुगेका छन् ।
नाटोका पूर्व सर्वोच्च कमान्डर फिलिप ब्रिडलभका अनुसार मुलुकको सुरक्षा घरभित्रबाट सुरु हुने भएकाले सबै सदस्य राष्ट्रहरूले सामूहिक सुरक्षाको लागि आफ्नो सामथ्र्यको योगदान गर्नुपर्छ र आफ्नो मुलुकको सुरक्षाको दायित्व निर्वाह गर्नुपर्छ, तर नाटो राष्ट्रहरूले त्यो नगरिरहेकोमा उनको गुनासो छ ।
रूसबारे नाटो राष्ट्रहरूको अन्तरविरोध
जुन १८ मा विल्ड एम सोन्ट्याग नामक एउटा जर्मन पत्रिकासँगको अन्तर्वार्तामा जर्मनीका विदेशमन्त्री फ्रयांक वाल्टर स्टेनमिएरले पूर्वीयुरोपमा नाटोले गर्ने गरेका सैनिक अभ्यासहरूले क्षेत्रमा असुरक्षाको वातावरण निर्माण गर्ने मात्रै होइन, त्यसले रूससँगको सम्बन्धमा तनाव थपिरहेको उल्लेख गरे ।
नाटो शिखर सम्मेलनको एक महिनाअघि मात्र अर्थात् जुन ७ देखि पोल्यान्डमा रूसको सम्भावित आक्रमणविरुद्ध नाटो र पोल्यान्डको संयुक्त सैनिक अभ्यासलाई संकेत गर्दै स्टेनमिएरले भने— यस्ता गतिविधिले स्थितिलाई झन् जटिल र उत्तेजनापूर्ण बनाउने, एकअर्काबीच रणनीतिक घोचपेच गर्ने र युद्ध उन्माद फैलाउने मात्र गर्दछ । रूससँग अर्थपूर्ण संवाद र सहयोगको वातावरण निर्माण गर्न आह्वान गर्दै उनले भने— सैनिक सामथ्र्य र समाधानमा मात्र ध्यान केन्द्रित गर्नु एउटा घातक कार्य मात्र हुनेछ ।
ब्रिटिस दैनिक गार्जियनमा अन्तर्राष्ट्रिय मामिलाका विख्यात विज्ञ मेरी देजेभस्कीले जर्मन विदेशमन्त्री स्टेनमिएर अत्यन्त सावधान र चतुर राजनेता भएकाले चान्सलर एन्जिला मार्केलसँग परामर्श नगरी उनले त्यसो भनेको हुन नसक्ने बताउँछिन् । पश्चिम युरोपका राजधानीहरूमा महिनौँदेखि गुम्सिएर बसेको विचार नाटोको वार्सा शिखर सम्मेलनभन्दा तीन साताअघि मात्र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रको स्वामी र शक्तिशाली मुलुकको विदेशमन्त्रीको स्तरबाट अभिव्यक्त हुनु भनेको रूसको सवाललाई लिएर अमेरिका र युरोपेली राष्ट्रहरूमाझ कडा विमति रहेको प्रमाण हो ।
आज संसारका हरेक स्थान र क्षेत्रमा सुरक्षाका रिक्त क्षेत्र निर्माण भइरहेका छन् । अफगानिस्तान र पाकिस्तानमा जन्माइएको आतंकवाद आज मध्यपूर्व, एसिया, युरोप, अफ्रिका, अमेरिका सबैतिर विस्तार भइरहेको छ । संसारको सर्वशक्तिमान र अत्याधुनिक हातहतियारले सुसज्जित राष्ट्र इराक र अफगानिस्तानमा युद्धरत रहेको डेढ—दुई दसक भइसक्यो, तर स्थिति नियन्त्रणमा देखिँदैन ।
आजको रूस नाटोको चुनौती बन्नै सक्दैन । सोभियत युनियनको समयमा उसको पश्चिमी सीमामा मात्र जति सेना तैनाथ थियो, त्यति सेना अहिले रूसभरि छैन । ऊसँग आणविक हतियारको ठूलो भण्डार छ, तर त्यसलाई प्रहार गर्ने अत्याधुनिक प्रणाली ऊसँग छैन । हिजोको सोभियत संघका कतिपय राष्ट्रहरू आज नाटोका सदस्य राष्ट्र बनेका छन् । रूसको सीमासम्मै नाटो र ईयूको वर्चस्व स्थापना भइसकेको छ ।
ठीक–बेठीक मूल्यांकन गर्ने फरक मानदण्ड हुन सक्लान्, तर क्रिमिया सोभियत युगको एउटा ऐतिहासिक गल्ती थियो र युक्रेनको आन्तरिक राजनीतिक सवालमा र रूसको युक्रेनसँगको सम्बन्धको रणनीतिक संवेदनशीलतालाई नाटो र ईयू राष्ट्रहरूले तिरस्कार गर्दै युक्रेनमाथि आफ्नो राजनीतिक र रणनीतिक महत्त्वाकांक्षा थोपर्दा नै प्रकारान्तरले क्रिमियामाथि रूसी आधिपत्य स्थापना भएको हो ।
विख्यात अन्तर्राष्ट्रिय थिंकट्यांक र्यान्डका डेभिड ए साल्पकका अनुसार आज पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र जर्मनीले रूसलाई लक्ष गरेर तैनाथ गरेको सेनाको संख्या मात्रै पनि रूसको सम्पूर्ण पश्चिमी सीमामा तैनाथ सेनाभन्दा ठूलो छ । त्यसमाथि अन्य युरोपीय नाटो राष्ट्रहरू र अमेरिकी सेना पनि त्यहाँ तैनाथ छ । १९८० को दसकमै आएर सोभियत संघको तुलनामा नाटो उक्त क्षेत्रमा विशिष्ट र उच्चस्तरीय सैन्य क्षमतासहित उपस्थित थियो र झन् आजको मितिमा त त्यसको कुनै तुलना नै हुन सक्दैन ।
त्यसकारण चुनौती रूस होइन, हुन सक्दैन । ईयूको राजनीतिक महत्त्वाकांक्षा र नाटोको सैनिक महत्त्वाकांक्षाले रूसलाई पर धकेलेको, बढी आक्रामक बनाएको र त्यहाँ अति राष्ट्रवादलाई जन्म दिन सहयोग गरेको भने हो ।
प्रश्न त नाटोको औचित्यबारे नै सघन रूपमा उठिरहेको छ– एउटा त नाटोको स्थापनाकालमा युरोप राजनीतिक, आर्थिक र सैनिक रूपमा जति कमजोर र असुरक्षित थियो, आज छैन मात्रै होइन, नाटोमा आबद्ध युरोपीय राष्ट्रहरू अमेरिकाको भन्दा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्छन् ।
त्यसैले बेलायत, फ्रान्स, जर्मनी जस्ता मुलुकहरू तुलनात्मक रूपमा रूसप्रति कूटनीतिक रूपमा संयमित देखिन्छन् तर मध्य र पूर्वीयुरोपका राष्ट्रहरू सोभियत युगको रूससँगको कटुता र आग्रहलाई अझै प्रबल रूपमा बोकिरहेका देखिन्छन् । स्वभावतः यसले रूसमा पनि त्यस्तै असर निर्माण गर्ने नै भयो । नाटोका महासचिव आफ्नो पदको कारण पनि रूसप्रति बढी आक्रामक देखिने नै भए । त्यसैकारण सम्मेलनले पोल्यान्ड र पूर्व सोभियत संघबाट छुट्टिएका अन्य तीन राज्यमा चार हजार नाटो सेना तैनाथ गर्ने निर्णय गरेको देखिन्छ ।
नाटोको विगतको सफलता र भविष्यको अनिश्चितता
दोस्रो विश्वयुद्धपछिको अत्यन्त असुरक्षित र अस्तव्यस्त पश्चिम युरोपका मुलुकहरूको राष्ट्रिय विश्वासलाई संगठित गरेर प्रजातन्त्र र स्वतन्त्रताका मूल्यहरूको संवद्र्धन गर्दै कुनै पनि सैनिक अतिवादविरुद्ध र सोभियत संघको साम्यवादी सत्ताको सैन्य विस्तार र राजनीतिक हस्तक्षेप रोक्ने उद्देश्यले सन् १९४९ मा स्थापित नाटो आफ्ना लक्ष र भविष्य दृष्टिमा अत्यन्त सफल संस्था रहेको हो ।
वर्तमान विश्वको प्रजातन्त्र, मानव अधिकार, व्यक्तिगत स्वतन्त्रता र आर्थिक समृद्धि पछाडि नाटो राष्ट्रहरूको सामूहिक प्रयास र प्रतिबद्धताको योगदान असाधारण रूपमा उल्लेखनीय छ । तर शीतयुद्धको समाप्तिपछिको विश्वमा नयाँ र गतिशील लक्ष निर्धारण गर्न नसकेर यो महान् संगठन पश्चिमा राष्ट्रका राजनीतिक र सैनिक नेतृत्वहरूको सामान्य भेटघाट र कर्मकाण्डीय संगठनको रूपमा त सीमित हुँदै छैन, प्रश्न उठ्ने ठाउँ पनि नभएको होइन ।
नाटोका प्रथम महासचिव लर्ड इस्मेका अनुसार नाटोको स्थापना पश्चिम युरोपबाट सोभियत संघलाई बाहिर्याउन, अमेरिकालाई भित्त्याउन र जर्मनीको सैन्यवादी चिन्तन दबाउनको लागि भएको थियो । अब अमेरिकीहरू प्रश्न गर्न थालेका छन्– सोभियत संघ छैन, जर्मनी युरोपियन युनियनमा छ र युरोपियन युनियनको जनसंख्या र आय अमेरिकाको भन्दा ठूलो छ, त्यस अवस्थामा नाटोको वार्षिक नौ सय अर्ब डलरको खर्चमध्ये झन्डै तीनचौथाइको दायित्व अमेरिकाले लिनुपर्ने दायित्वको औचित्य के हो ?
शीतयुद्धको समाप्तिपछिको विश्वमा नयाँ र गतिशील लक्ष निर्धारण गर्न नसकेर यो महान् संगठन पश्चिमा राष्ट्रका राजनीतिक र सैनिक नेतृत्वहरूको सामान्य भेटघाट र कर्मकाण्डीय संगठनको रूपमा त सीमित हुँदै छैन, प्रश्न उठ्ने ठाउँ पनि नभएको होइन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको गुनासो पनि त्यही छ— युरोपका सम्पन्न नाटो राष्ट्रहरू सहमतिअनुसार दुई प्रतिशतको सुरक्षा खर्च बेहोर्न इच्छुक छैनन् । वाल स्ट्रिट जर्नलमा जुलियन बार्नेस र क्यारोल ली अमेरिका नाटोको लागि अमेरिकी राजदूत डग्लस ल्युटलाई उद्धृत गर्दै लेख्छन्– रक्षासम्बन्धी नयाँ–नयाँ प्रविधि र उपकरणको लागि निरन्तर लगानीविना नाटो राष्ट्रहरूले आफ्ना सीमाको सुरक्षा गरिरहन सक्दैनन् ।
कारण प्रस्ट छ— सैन्य खर्च र सुरक्षा क्षमता परस्पर निर्भर छन् । ल्युटको कडा टिप्पणी छ– दसकौँसम्म सुरक्षा खर्च गर्न लोभ गरिरहने अनि बलियो सुरक्षा खोज्ने कुरा सम्भव हुन सक्दैन, किनकि संसारमा कुनै पनि वस्तु निःशुल्क पाइँदैन ।
नाटोले मूलतः रूसको उपस्थितिलाई आफ्नो अस्तित्वको औचित्य सावित गर्न खोजेको देखियो, तर युरोपका जर्मनीलगायतका मुलुकहरू मध्यपूर्वमा इस्लामिक आतंकवादको वर्तमान स्थितिमा रूसको तेल र ग्यासप्रति आकर्षित हुँदै गएका छन् । रूसबाट हुने त्यस्तो आयात बढी सजिलो र सुरक्षित पनि छ । रूसबाट प्राप्त हुने ठूला रक्षा ठेक्काहरूले फ्रान्सलाई पनि तानिरहेको छ ।
चर्चित अमेरिकी थिंकट्यांक हेरिटेज फाउन्डेसनका डेनियल कोचिस र ल्युक कोफ्फेले दिएको जानकारीअनुसार सन् २०१५ मा नाटोको प्रतिरक्षा खर्चमध्ये ७२.२ प्रतिशत व्ययभार एक्लो अमेरिकाको काँधमा थियो । उनीहरूका अनुसार न्युयोर्क सहरले आफ्नो सुरक्षामा जति रकम खर्च गर्दछ, नाटोका १३ सदस्य राष्ट्रहरूले त्योभन्दा कम खर्च गर्छन् ।
नाटोका सबै युरोपीय राष्ट्रहरूका कुल सैनिकमध्ये पाँच प्रतिशत मात्र आफ्नो राष्ट्रिय सीमाबाहिरका सुरक्षा दायित्व निर्वाह गर्ने क्षमताका छन् ।
साँच्चै भन्ने हो भने युरोप र अमेरिकाले शीतयुद्धको अवधिमा जस्तो साझा शत्रु पहिचान गर्न सकिरहेका छैनन् । चीनमा पश्चिमको जस्तो प्रजातन्त्र छैन, तर चिनियाँ र युरोप तथा अमेरिकी अर्थतन्त्र आपसमा घनिष्ट रूपमा आबद्ध छन् । यसलाई टुटाउँदा हुने आर्थिक र राजनीतिक जोखिमको मूल्य चुक्ता गर्ने स्थितिमा उनीहरू कोही छैनन् । रूसविरुद्धको अमेरिकी आर्थिक नाकाबन्दीप्रति युरोपमा त्यति ठूलो उत्साह छैन ।
रूससँग सोभियत संघको जस्तो बलियो राजनीतिक र सामाजिक अपिलको बल पनि छैन । स्वयं रूसलाई हेर्ने दृष्टिकोणमा पनि चर्चित रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको समेत ठूलो विमति देखिन्छ । अमेरिका र बेलायतको कुरै छोडौँ, पोल्यान्ड, इस्टोनियाजस्ता मध्यमस्तरको अर्थतन्त्र भएको राष्ट्र र आर्थिक संकटग्रस्त ग्रिस जस्तो मुलुकले निर्धारित दुई प्रतिशतको लगानी गरिरहँदा जर्मनी, फ्रान्स, नर्वे, नेदरल्यान्ड जस्ता सम्पन्न र उच्च आर्थिक स्तरका मुलुकले त्यस्तो लगानी नगरिरहेको र आफ्नो सुरक्षाको दायित्व ग्रहण नगरिरहेको अवस्थाले अमेरिकीहरूमा असन्तोष बढाएको बुझ्न सकिन्छ ।
आफ्नो मुलुकको सुरक्षाको जिम्मा अमेरिकालाई लगाएर आफ्नो उच्च जीवनस्तरको लाभ उठाइरहने र नाटोको बलमा क्षेत्रमा रणनीतिक र सैनिक शक्तिको अहं प्रदर्शन गरिरहने नीतिलाई निरन्तरता दिएर आफ्ना मुलुकहरूको बहुआयामिक सुरक्षा सवालमा दीर्घकालीन रणनीतिक आश्वस्तता प्राप्त गर्न सकिँदैन भन्ने सत्यलाई युरोपका नाटो सदस्य राष्ट्रहरूले बुझ्न ढिलो गरेकोमा विज्ञहरू झन्डै एकमत छन् ।
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिजसँग आबद्ध छन् ।