कश्मिर हमलामा ३२ को मृत्यु, ८०० घाइते
श्रीनगरः भारत प्रशासित काश्मिरमा गत शुक्रबार हिजबुल मुजाहिद्दिन समूहका नेता बुरहान बानीको मृत्युको विषयलाई लिएर सुरु भएको तनावले उग्र रुप लिएको छ ।
बानीको मृत्युलाई लिएर विरोधमा उत्रिएका करिब ३२ को मृत्यु भएको छ भने सोमबारसम्म आइपुग्दा स्थानीय नागरिक र सुरक्षाकर्मी गरी आठ सय घाइते भएका छन् ।
घाइतेको संख्या धेरै रहेको घाइते भएका एक उच्च सुरक्षा अधिकारीले नाम गोप्य राख्ने सर्तमा एएफपीलाई बताएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
आन्दोलनकारी थप आक्रोशित बन्दा सोमबार सयौँ मानिसको समूहले भारतीय सीमा सुरक्षार्थ स्थापना गरिएको एक सैन्य हवाई अड्डामा समेत आक्रमण प्रयास गरेका छन् ।
काश्मिरी इलाकाको ठाउँ–ठाउँमा निरन्तर झडपका घटना भएपछि भारतीय नेताहरुले उच्च स्तरको वार्ता सुरु गरेका छन् । यसै विषयलाई लिएर भारतीय गृहमन्त्री राजनाथ सिंहको अमेरिका भ्रमण रद्ध भएको छ । सिंह जुलाई १७ तारिख अमेरिका जाने तयारी थियो ।
कश्मीर आतंकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च स्तरको वार्ता गरेको छ । वार्तामा भारतीय गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, रक्षामन्त्री मनोहर पर्रिकर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए ।