तमोरलार्इ पहिरोले थुनेर बनाएको ताल बगेन

तमोरलार्इ पहिरोले थुनेर बनाएको ताल बगेन

ताप्लेजुङ: ताप्लेजुङको सावादिन गाविसस्थित नाक्ला भिरबाट झरेको पहिरोले थुनेको तमोर नदी बगिरहे पनि पहिरोले नदी थुनेर बनाएको कृतिम तालको पानी नबग्दा तमोर किनारका बासिन्दालाई अझै पनि विपत्ती निम्तिन सक्ने चिन्ताले छाडेको छैन ।

नदी फुरुम्वुतर्फको भाग कटान गरेर आफैं बाटो बनाउँदै बगिरहे पनि तालमा जमेको पानी नखुल्दा ठूलो पानी पर्‌यो भने नदीको बाँध एकैपटक खुलेर विपत्ति निम्त्याउने हो कि भन्ने चिन्ताले दक्षिणी क्षेत्रको नदी किनारका बासिन्दा उच्च सतर्कतामा छन् ।

शनिबार राति वर्षापछि झरेको पहिरोले तमोर नदी थुनिँदा मित्लुङ क्षेत्रमा करिब ६ सय मिटर लम्बाइ, ७० मिटर चौडा र १५ मिटर गहिरो ताल बनेको थियो । नदी थुनिएर बनेको तालमा फुरम्बु गाविस–९ का दिलबहादुर र जीवन लिम्बुको घर डुबेको थियो । ठूल ठूला चट्टान लिएर झरेको पहिरोले नदी थुनिएपछि बनेको तालमा सावादिन गाविसका जीवनको एक हल गोरु समेत बगेका थिए ।

अझै पनि तालको पानी पूर्णरुपले नखुल्दा मित्लुङ बजारका बासिन्दा निकै त्रसिद बनिरहेका छन् । १३ परिवारको बसोबास रहेको मित्लुङ बजार नदीभन्दा ५० मिटर बढी उचाइमा छ । ठूलो पानी आएमा बस्ती कटान हुने डरले यहाँका बासिन्दा रातमा पानी पर्‌र्यो भने रातभर टर्च बालेर खोला हेर्दै बस्ने गरेको मितलुङका पवन श्रेष्ठले बताए ।

तर नदी थुनिएको क्षेत्रका दायाँबायाँ दुवैतिर ठूल्ठूला ढुंगा बसेकाले ताल तत्काल फुट्ने जोखिम नरहेको कतिपयको अनुमान छ । तर प्रकृतिसँग कसैको केही नलाग्ने भएकोले कतिबेला के हुन्छ भन्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।

मानो खाएर मुरी उब्जाउने असार महिनामा तमोर नदी किनारका थुम्वा वेंसी, हान्द्रुङ र दोभान बजारका बासिन्दा दिनभर तमोर नदी थुनिएर बनेको ताल र यसले निम्त्याउन सक्ने खतराको अनुसन्धानका लागि मितलुङ पुग्ने गरेका छन् ।

 

तालको अवस्था अवलोकन गर्न र आफूहरूलाई यसले निम्त्याउन सक्ने जोखिम बारे बताउन कुनै विज्ञ आइनपुगेकोले आफैं विज्ञ हुनु परेको दोभानका सविन चुँडालले बताए । उनी ठूलो पानी परेर माथिबाट तमोरमा बाढी उर्लेर आएमा ताल भत्काउन सक्ने खतरा औंल्याउँछन् ।

तालमा धेरै पानी भएकाले तल्लो क्षेत्रमा यस्ले बिपत्ति निम्त्याउन सक्ने उनको बुझाइ छ । तालको बाँध एकै पटक फुटेमा ताप्लेजुङको दोभान, हान्द्रुङ, खोक्लिङको थुम्बा, पाँचथर, तेह्रथुमदेखि धनकुटासम्मका नदी किनार आसपासका क्षेत्रमा यसले असर पुर्‌याउने भएकोले स्थानीय बासिन्दा नदी खुलाउन आग्रह गरिरहेका छन् । तर प्रशासन भने नदीले आफैं विस्तारै ताल फुटाउने विश्वासमा छ ।

ताप्लेजुङका निमिक्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराई पहिरोले नदी थुनेर ताल बनाएको ठाउँमा प्रहरी टोली राखिएको र त्यहाँको अवस्थाबारे निरन्तर प्रहरीबाट आफूहरूलाई जानकारी आइरहेको बताउँछन् । मंगलबार बिहान नेपाली सेनाको टोलीसमेत केही दिनसम्म प्रभावित क्षेत्रमा रहने गरी पठाइएको उनले बताए ।

प्रभावित क्षेत्रमा रहेका प्रहरीबाट तत्काल त्यस्तो कुनै खतरा नदेखिएको भन्ने सूचना आइरहे पनि नदी किनारका बासिन्दालाई सचेत रहन आफूहरूले आग्रह गरिरहेको उनी बताउँछन् ।

तमोर नदी थुनिएर बनेको तालको अवस्थाबारे जिल्ला भुसंरक्षण कार्यालयबाट पनि अवलोकन गरिएको कार्यालय प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । आफूहरूको अध्ययनबाट तालको अवस्था खतरायुक्त र खतरामुक्त दुवै भन्न नसकिने अवस्था देखिएको उनी बताउँछन् ।

थुनिएको भाग सानो भएको साथै नदीको बेग र चाप बढी भएका कारण माथिल्लो भागबाट कुनै पनि समय बाढी आए ताल फुट्न सक्ने खतरा रहेकोले नदी किनारका बासिन्दाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको सुझाव छ ।

कार्यालय प्रमुख कुँवरका अनुसार नदी थुनिएर बनेको तालमा अहिले १५ लाख क्यूविक मिटर पानी जम्मा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.