कैलालीमा गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन्

कैलालीमा गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन्

धनगढी: कैलालीका नदीमा जेसीबीको प्रयोग गरी गैरकानुनी रूपमा नदीजन्य पदार्थ उत्खनन् भईरहेको छ । कैलाली जिल्ला सदरमुकाम धनगढी, अत्तरिया नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका सम्म खुटिया खोलामा एकै पटक गैरकानुनी रूपमा पाँचवटा जेसीबी हप्तौदेखि प्रयोग भएका छन् ।

धनगढीदेखि झण्डै १२ किलोमिटरको दुरीमा रहेको खुटिया नदीमा एक हप्तादेखि चार/पाँचवटा जेसीबीले उत्खनन् गरिरहेका नदी छेउका बासिन्दा गणेश बोगटीले जानकारी दिए । उनले भने,‘हामीले तीनचार दिनअघि खोलामा अनुमति लिएर हालेको हो कि भनेर बुझ्दा सबैले अनुमति लिएको तर अनुमतिपत्र आफ्ना मालिकसँग रहेको प्रतिक्रिया दिए ।'

केही स्थानीय युवालाई जेसीबी र टिपर चालकले झपारेर पठाउने गरेको पनि बोगटीले बताए । नदीबाट नदीजन्य पदार्थ संकलनको काम साउन १ गतेदेखि भदौ मसान्तसम्मका लागि बन्द गरिन्छ । जिल्ला परिषद्ले पनि कैलालीका सबै नदीमा साउन र भदौमा कुनै पनि नदीजन्य पदार्थ उत्खनन् नगर्ने निर्णय नै गरेको छ ।

तर, असार सकिन हप्ता दिन पनि बाँकी नरहेका बेला निर्माण व्यवसायी र नदी आसपासमा रहेका क्रसर उद्योगले नदीमा जेसीबी हालेर उत्खनन् गरेका हुन् । निर्माण व्यवसायी भीमबहादुर साउदको दुईवटा, एसके निर्माण सेवाका खड्गसिंह ढाँटको एउटा र नदी छेउमै रहेको श्रीपुर क्रसर उद्योगले एउटा गरी मंगलबार चारवटा जेसीबी खोलामै भेटिएका छन ।

दर्जनौं टिप्पर र ट्र्याक्टरमा ग्राभेल, ढुंगा र बालुवा उत्खनन् गरिरहेकाले नदीले बस्तीतिर पनि कटान गरिरहेको अत्तरिया नगरपालिका ७ स्याउलेका नरेश अधिकारीले बताए ।

‘खोलामा नखन्ने स्थानमा पोखरी जस्तै खाल्डा बनाइ दिएको छ । नदीभित्र जथाभाबी उत्खनन् गरेमा नदीको धार कता जाने हो ठेगान हुँदैन', उनले भने । खुटिया आसपासका जनताले नदी बढेका बेला रातभरी सुत्न नसक्ने बताए ।

 

खुटियाको कटान र डुबानले त्राही मच्चिरहेका बेला, जेसीबीले उत्खनन् भएको खबर जिल्ला विकास समिति कैलालीमा पटक पटक गराए पनि कुनै सुनवाइ नभएको अधिकारीले गुनासो गरे ।

‘जिल्ला विकास समितिमा वैशाख १८ गते दुई सय स्थानीयवासीको हस्ताक्षरसहित जेसीबी रोक्न लिखित निवेदन दिएका छौं, असार १८ गते पनि स्थानीय विकास अधिकारी केशव विमलीलाई १२/१४ जनाको टोली गएर जेसीबीका बारेमा जानकारी गराएका छौं तर कसैले सुनवाइ नै गरेनन्' , अधीकारीले भने ।

जेसीबी नियन्त्रण गर्ने निकाय जिल्ला विकास समिति रहेको र जिल्ला विकास समितिले नै स्थानीयवासीको पिरमर्का नबुझेपछि उनीहरूले मंगलबार पत्रकारलाई खबर गरेका थिए । पत्रकारको टोली खुटिया पुगेपछि, नदीमा सञ्चालन रहेका पाँचवटा जेसीबी एकाएक भागेका थिए ।

पत्रकार पुगेको थाहा पाएपछि, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहितको सुरक्षामा कैलालीका स्थानीय विकास अधिकारी केशव विमली पनि खुटिया पुगेका थिए । खुटिया पुगेका स्थानीय विकास अधिकारीले तीनवटा जेसीबी भागेका र दुई वटालाई एक/एक हजार जरिबाना गरिएको बताए ।

‘लाखौंको उत्खनन् गरेर एक हजार जरिबाना गरिएर जेसीबी छोडिएका छन', यसले के नियन्त्रण होला' अर्का स्थानीयबासी उद्धव श्रीमालले भने । उनले पनि जिल्ला विकास समितिका राजस्व फाँटका प्रमुख योगेन्द्र चन्दलाई पटकपटक खबर गरे पनि यसबारेमा कुनै चासो नदिएको आरोप लगाए ।

खुटियाको अप्राकृतिक रूपमा दोहन भइरहेको छ । त्यसको अनियन्त्रित दोहनले आसपासको क्षेत्र मात्रै होइन, कैलाली जिल्ला सदरमुकाम धनगढी पनि जोखिममा परेको छ ।

राष्ट्रिय गौरवका योजनाका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा बाहेक, नदी नालामा जेसिबी प्रयोग गर्न नपाइने प्रावधान छ । नगरपालिकाको परिषद्को निर्णय भएमा नगर क्षेत्रभित्र ग्राभेलका लागि मात्रै नगरपालिकाले नदीमा जेसीबी हाल्न पाइने प्रावधान रहेको स्थानीय विकास अधिकारी विमलीले बताए ।

उनले जिल्ला विकास समितिले ठेक्का दिएको नदीमा जेसीबीको प्रयोग गर्न नपाइने र यसपछि पनि भेटिए कडा कारबाही गरिने बताए । जेसीबीका अपरेटर मदन एसकेले तीन दिनदेखि खोलामा हालेर चलाइरहेको स्वीकार गरेका छन् ।

जिल्ला सदरमुकाम नजिक भएकाले खुटिया नदीको उत्खनन् सार्वजनिक भए पनि यसबाहेकका कर्णाली, खैराना, शिवगंगा, गौरीगंगालगायतका नदीमा पनि गैरकानुनी रूपमा जेसीबीको प्रयोग भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.