नेपालमा संक्रमणकाल

नेपालमा संक्रमणकाल

नेपालमा एकपछि अर्को संक्रमणकालको ओइरो लागेको छ । पहिलो संक्रमणकाल सुरु भयो २०६३ सालमा जब २०४८ सालको संविधान खारेज गरियो । १० वर्षसम्म अन्तरिम संविधानअनुसार राज्य व्यवस्था चल्यो । त्यो पनि संक्रमणकालको व्यवस्था थियो । दोस्रो संविधानसभाले नयाँ संविधान पारित गरेपछि र राष्ट्रपतिले सो संविधान घोषणा गरेपछि नेपालको राष्ट्रिय संक्रमणकाल समाप्त भएको छ ।

विगत १० वर्षमा युद्धरत माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउने, लडाकु तथा हतियार व्यवस्थापन गर्ने, नयाँ संविधान बनाउने आदि कठिन काम गर्नुपर्ने भएकाले यसलाई संक्रमणकाल भनेर मान्नु सहज थियो । नयाँ संविधान आएपछि सो संक्रमणकाल स्वतः समाप्त हुने र एउटा स्थायी ठोस व्यवस्था कायम हुने आशा गरिएको थियो । नयाँ संविधान त घोषणा भयो, तर के संक्रमणकाल समाप्त भयो ? यो राष्ट्रिय संक्रमण थियो र विधिवत् यो समाप्त भएको मान्नुपर्छ ।

तैपनि, हाम्रा नेताहरू संक्रमणकालको चर्चा गर्छन् । नेपाली कांग्रेसले औपचारिक रूपमै नेपालमा संक्रमणकाल कायम रहेको घोषणा गर्‌यो । यसले के बुझेर गर्‌यो उसैले थाहा पाओस् । कुनचाहिँ संक्रमणकाल राष्ट्रिय या संवैधानिक ? नेपालमा संक्रमणकाल विद्यमान रहेको सत्य हो । त्यो हो संवैधानिक संक्रमणकाल । नयाँ संविधानले भाग ३३ मा संक्रमणकालीन व्यवस्था भनेर उल्लेख गरेको छ ।

यसमा संघीय आयोगको गठन, संविधानसभा व्यवस्थापिका—संसद्मा रूपान्तरण हुने, राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी व्यवस्था, मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था, सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था, न्यायपालिकासम्बन्धी व्यवस्था, संवैधानिक निकाय र पदाधिकारीसम्बन्धी व्यवस्था, प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन, स्थानीय निकायसम्बन्धी व्यवस्था, वर्तमान कानुन लागू रहने र वाधा–अड्काउ फुकाउने अधिकारबारे उल्लेख गरिएको छ ।

यस संविधानमा संघीयतासम्बन्धी दिइएका कुरा लागू हुन समय लाग्ने हुनाले खासगरी ती विषयको अन्तरिम व्यवस्था मिलाउने कुरा यस भागमा राखिएको छ । तर यसले संविधानमा दिइएका अरू विषय लागू गर्न कुनै वाधा–अड्चन खडा गरेको छैन । त्यस मानेमा संक्रमणकालको नाउँमा संविधानका अरू भागहरूको उल्लंघन गर्न पाइँदैन ।

तर मन्त्रिपरिषद्को गठनमै संविधानमा तोकिएको २५ जनाको ठाउँमा ४० जनाको परिषद् गठन गरेर संविधानको उल्लंघन गरियो । न यस उल्लंघनलाई राष्ट्रिय संक्रमणकालले छुट दिएको छ न संवैधानिक संक्रमणकालले नै अनुमति दिएको छ । तर जनतालाई संक्रमणकाल कायमै रहेकाले यस्तो काम गर्न सकिने भ्रम फैलाइएको छ ।

 

नेपालमा देखिएको तेस्रो प्रकारको राजनीतिक संक्रमण हो । नयाँ संविधानले राजनीतिक सहमतिलाई जोड दिएको छ । एकातिर यो सकारात्मक देखिन्छ तर वास्तवमा यो नकारात्मक सावित भएको छ । संसदीय सुनुवाइ समिति न्यायाधीशहरूको सुनुवाइ र नियुक्ति हुन सकेन । एउटा समिति गठन कसरी गर्ने भनेर संविधानमा नतोकिनु संविधानको कमजोरी हो ।

त्यस्तो समिति बनाउन हरेकपटक राजनीतिक सहमति जुट्नुपर्ने आवश्यक पर्नु राजनीतिक संक्रमणकालको परम्परा बसाल्नु हो । यस प्रकारको नियमित काम गर्न पनि राजनीतिक सहमति चाहिने हो भने आखिर संविधान नै किन चाहियो, विधिको शासन नै किन चाहियो र नियम–कानुन नै किन चाहियो भन्ने प्रश्न खडा हुन्छ । राजदूत नियुक्तिमा, न्यायाधीश नियुक्तिमा र भोलि गएर सचिव नियुक्तिमा सहमतिको नाउँमा प्रतिपक्षमा बसेका राजनीतिक दलहरूसित सोधपुछ गर्नुपर्ने, भागबन्डा गर्नुपर्ने र स्वीकृति लिनुपर्ने स्थिति रहने हो भने सरकार र प्रतिपक्षको के मतलब भयो ?

यो व्यवस्थाले राणाकालीन शासन व्यवस्थाको सम्झना दिलाउँछ जुनबखत श्री ३ र चार कमान्डिङ जनरलहरू बसेर राजकाज चलाउँथे । उनीहरूलाई पनि संविधानको आवश्यकता थिएन । उनीहरूको सहमति नै संवैधानिक, कानुनी र विधिवत् ठहरिन्थ्यो । राज्यका हरेक निर्णय दलका नेताहरूको सहमतिमा हुने भएपछि के यसैलाई संवैधानिक, कानुनी र विधिवत् ठानिनु परेन ?

नेपालमा अर्को चर्को संक्रमणकाल देखिएको न्याय क्षेत्रमा हो । यसलाई संक्रमणकालीन न्याय भनिएको छ । यसअन्तर्गत दस वर्षसम्म चलेको युद्धमा भएगरेका अमानवीय अन्याय, अत्याचार पर्छन् र त्यसको निराकरण सत्य निरूपण तथा मेलमिलाप आयोगले गर्ने र हराएका व्यक्तिहरूको खोजतलास र निराकरण बेपत्ता आयोगले गर्ने भनेर ती आयोगहरू गठन गरिएका छन् ।

ती आयोगहरूले पीडितहरूबाट सिकायतहरू संकलन पनि गरिरहेका छन् । त्यस कालखण्डमा भएका केही हत्या, हिंसाका मुद्दाहरूमा नेपालको न्यायालयबाट फैसला भएका छन्, तर तिनीहरूबारे विवाद खडा भएकाले कार्यान्वयन हुन सकेको छैन । त्यस्ता मुद्दाहरू न्यायालयले हेर्न पाउने कि आयोगहरूले हेर्ने भन्ने विवाद यथावत् छ । यस विवादमा विद्रोही पक्ष, सुरक्षा पक्ष, पीडित पक्ष, न्यायालय आदि मुछिएका छन् ।

संविधान, कानुन आदि कतै उल्लेख नगरिएको भए पनि जनताले दैनिक जीवनमा भोगिरहेको संक्रमण र त्यसबाट उत्पन्न भएको संकटको पनि कुनै अन्त्य देखिन्न । के नयाँ नेपालमा नेपाली जनताले पाएको उपहार यही हो ?

त्योभन्दा पनि चर्को रूपले अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूले यस प्रक्रिया र कार्यमा रुचि राखेका छन् । उनीहरूले युद्धकालका पीडितहरूलाई मर्का पर्ने गरी मेलमिलाप गरिएमा मान्य हुने छैन भनेर जानकारी दिएका छन् । यसको माने नेपालमा बनेका आयोगहरूको कामकारबाही भोलि विवादास्पद हुने संकेत देखिएको छ । फलस्वरूप विभिन्न देशहरूले कर्नल लामामाथि कारबाही गरेजस्तो पीडकहरूमाथि कारबाही गर्ने खतरा रहन्छ ।

त्यही खतराबाट बच्न माओवादी नेता प्रचण्डले हालै अस्ट्रेलियाको यात्रा रद्द गरेको खुलासा भएको थियो । आयोगहरूको फैसला राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सन्तोषजनक भएन भने संक्रमणकालीन न्यायको मुद्दा कति समय कायम रहने हो भन्न सकिन्न । त्यस हिसाबले नेपालमा युद्धकालीन न्यायको संक्रमणकालको अन्त्य नै देखिन्न ।

नेपाली जनतालाई दैनिक रूपमा भोग्नुपर्ने संक्रमणको कथा बेग्लै छ । दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति सुचारु हुन नसक्नु र बजार भाउ चर्किंदै जानु जनताको लागि सबभन्दा ठूलो संक्रमण र संकटकाल हो । भारतले लगाएको नाकाबन्दी खुलिसके पनि महिनौँ दिनसम्म खाना पकाउने ग्यास र पेट्रोलको आपूर्ति सुचारु हुन सकेन । कालोबजार, महँगीको मारमा जनता परे । त्यसबाट आजसम्म पनि त्राण पाउन सकेका छैनन् ।

प्रश्न उठ्छ– यो कुनचाहिँ संक्रमणको परिणाम हो ? राष्ट्रिय संक्रमण हो भने त्यो समाप्त भइसक्यो । संवैधानिक संक्रमणको परिणाम हो भने यी विषयहरू त्यससम्बन्धी भागमा लेखिएको छैन । न्यायसम्बन्धी संक्रमण यो होइन । यो त शासकीय, प्रशासकीय र सरकारी संक्रमण हो ।

विधिवत् सरकार खडा भइसके पनि जनताले दैनिक जीवनमा भोग्नुपर्ने संक्रमण र संकटको जिम्मेवार सरकारलाई नै ठहर्‌याउनुपर्छ । तर यसको निराकरण कुनै सरकारले दक्षतापूर्कक गरेको देखिँदैन । यसकारण संविधान, कानुन आदि कतै उल्लेख नगरिएको भए पनि जनताले दैनिक जीवनमा भोगिरहेको संक्रमण र त्यसबाट उत्पन्न भएको संकटको पनि कुनै अन्त्य देखिन्न । के नयाँ नेपालमा नेपाली जनताले पाएको उपहार यही हो ? यसको उत्तर कसले दिने ? संविधानमा यो कुरा लेखिएको देखिन्न । यसकारण यसको उपाय जनताले आफैँ खोज्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.