ओलीको राजीनमा पर्खिराखेका छौँ: देउवा
काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गरेका छन् ।
नेका संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको मंगलबार बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उनले नेकाले प्रम ओलीको राजीनामा पर्खिरहेको सङ्क्षिप्त प्रतिक्रिया दिएका हुन् ।
नयाँ बानेश्वरस्थित संसद्भवनमा बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका सभापति देउवाले एमाले त तपार्इंलाई प्रम पदमा प्रस्ताव एवम् समर्थन गर्दैछ हो ? भन्ने जिज्ञासामा सो प्रस्ताव ढिलो भयो भन्ने जवाफ दिए ।
उनले संविधान कार्यान्वनका लागि दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिए । दोस्रो संविधानसभाको निर्वाचनमा नेका सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न नेका र केन्द्रका बीचमा सहमति भएको छ । रासस