‘भारतको डिजाइनमा सरकार परिवर्तन'
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन भारतको चाहनामा भएको बताएका छन् ।
बुधबार रफत सञ्चार क्लबको साक्षात्कारमा बोल्दै बिजुक्छेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको आरोप लगाए ।
मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाअनुसार वर्तमान सरकार परिवर्तन भएको उनको भनाइ छ ।
बिजुक्छेले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाए ।
उनले भ्रमणले सम्झौतालाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन तर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो बेफाइदा हुने बताए ।
वर्तमान सभामुख ओनसरी घर्ती निवासमा कांग्रेस र माओवादी केन्द्रका नेताको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्षमाथि प्रश्न उठेको समेत उनले बताए ।
सरकार परिवर्तनसँगै भुकम्पपीडित, बाढीपहिरोपीडित, मधेशको समस्या समाधानको पाटो र संविधान कार्यान्वयनको पाटोमा समस्या देखिने उनको भनाइ छ ।