सुरक्षा सतर्कताको खाँचो
सन् १९४५ पछि विश्वले थुप्रै समस्या र चुनौतीको सामना गर्नुपर्यो, चाहे त्यो चाइनाको ग्रेट लिप फोर्वार्ड होस् या भियतनाम युद्ध वा बियफ्रन क्राइसिस, खुमेर रोग, रुवान्डन जेनोसाइड् र अफगान र इराक युद्धले गर्दा असंख्य मानिसले ज्यान गुमाए । ७० वर्षको इतिहास मूल्यांकन गर्ने हो भने के अहिले विश्व साँच्चिकै सुरक्षित भएको हो त ? अपसोच होइन । अहिले विभिन्न आतंककारी समूह त्यसमाथि पनि इस्लामिक स्टेटका गतिविधिले गर्दा मानिसमा त्रास फैलाइरहेको छ । यो समूहले विभिन्न मुलुकमा आततायी घटना गराएर अमानवीय पराकाष्ठाको प्रदर्शन गरिरहेको छ ।
इस्लामिक स्टेटले एकपछि अर्को गर्दै आतंककारी हमला गरिरहेको छ । विडम्बना यसको सिकार निर्दोष जनता हुने गरेका छन् । रसियाको प्लेन सिनाइमा खसालेर २२४ निर्दोष जनताको हत्या, पेरिसमा १२९ निर्दोषको हत्या वा अंकरामा बम खसालेर १०२ जना मानिसको हत्या होस्, यी क्रूर र अमानवीय क्रियाकलापको पछाडि इस्लामिक स्टेटको हात छ ।
९७ प्रतिशत मुस्लिम बसोवास भएको इराक कम्तीमा ७९ जना हताहती हुने गरी भएको कार बम विस्फोटले पूरै इराक र विश्वलाई नै डर, त्रासको सिकार बनायो । धार्मिक अतिवादी संगठन इस्लामिक स्टेट (आईएस) ले बंगलादेशको राजधानी ढाकास्थित होली आर्टिसन बेकरी क्याफेमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म बन्धक बनाई २० जनाको क्रूरतापूर्वक हत्या गरेर सिंगो मुलुकलाई शोकमग्न बनायो ।
आईएसले टर्कीको इस्तानबुलस्थित अतातुर्क विमानस्थलमा आक्रमण गर्दा १३ विदेशीसहित ४१ जनाको निर्मम हत्या भएको थियो । इस्तानबुल, ढाका बंगलादेशमा भएका यी घटना हेर्दा इस्लामिक स्टेटले क्रूर आतंकको सीमा र पहुँच युरोप, नर्थ अफ्रिका, मिडल इस्ट र एसियासम्म पुर्याएको छ ।
इस्लामिक स्टेटको उदयको पछाडि पश्चिमा मुलुक विशेष त अमेरिकाको ठूलो हात छ । सन् १९७९ मा अमेरिकाको खुफिया एजेन्सी सीआईएले अफगानिस्तानमा सोभियत युनियनविरुद्ध लड्न त्यहाँ बेरोजगार र गरिबीसँग जुधिरहेका सुन्नी युवालाई प्रयोग गर्यो र उनीहरूलाई सशस्त्र तालिम दियो । सीआईएले अधिकांश मुस्लिमलाई तालिम दियो र सशस्त्र समूह मुजाहिद्दिन खडा गर्यो ।
बिन लादेन, धनी परिवारका व्यक्ति भएकाले उनलाई यस अपरेसनमा आर्थिक रूपमा सहयोग गर्न लगाइयो । यो खुफिया एजेन्सीले जिहादको सिद्धान्त र भिजनलाई बढवा दिएर इस्लामलाई बाहिरी तत्त्वबाट बचाउने नाममा गरिबी, बेरोजगार र अशिक्षाबाट आक्रान्त युवा प्रयोग गरेर एक शक्तिशाली जत्था बनायो । यही सिद्धान्तमा आज पनि इस्लामिक स्टेटजस्ता संगठन प्रेरित छन् ।
सन् १९८० मा मुजाहिद्दिन अल काइदामा परिवर्तन भयो र यसको नेतृत्व ओसमा बिन लादेन र सीआईएले गरे । पछि सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गर्यो । पछि अमेरिका आफैँले सिर्जना गरेको अलकाइदा अमेरिकाको विरुद्ध लाग्यो । फलस्वरूप यसले अमेरिकाको पेन्टागनमा पनि आक्रमण गर्यो ।
त्यस्तै अमेरिकाले बेलायत र फ्रान्ससँग मिलेर लिबियाबाट महमद गद्दाफीलाई बहिर्गमन गरायो । अहिले सिरिया पनि अशान्त छ । रसिया र अमेरिकाको प्रोक्सी युद्धको सिकार बनेको छ । रसिया र उसका केही सहयोगी राष्ट्र सिरियाका राष्ट्रपति असादलाई सहयोग र समर्थन गर्छन् भने अमेरिका र उसका सहयोगी मुलुक असादको विरोधमा लडिरहेका विद्रोहीलाई समर्थन गर्छन् ।
रसियाले संयुक्त राष्ट्रसंघमा असादको सरकार रहनुपर्छ भन्ने पक्षमा चारपटक भिटोसमेत प्रयोग गरिसकेको छ । यी दुई देशबीचको शीतयुद्धले सिरियामा लाखौँ जनताले अनाहकमा ज्यान गुमाइसकेका छन् ।
यसरी सिरिया, लिबिया, इराकमा जसरी शक्तिशाली राष्ट्र विशेषगरी अमेरिका र अन्य सहयोगी राष्ट्रले आफ्नो स्वार्थपूर्तिका निम्ति प्रयोग गरे, यसले गर्दा त्यहाँको सरकार र आर्थिक अवस्था कमजोर र तहसनहस बनाइयो । आफूलाई अझ शक्तिशाली देखाउन इराक, सिरिया, लिबियालाई एकपछि अर्को तरिकाले प्रयोग गरे ।
अमेरिकाले नै आतंककारीविरुद्ध लड्न अरू देशभन्दा बढी रकम खर्च गर्छ । एक अध्ययनअनुसार बर्सेनि अमेरिकाले १६ बिलियन डलर खर्च गर्छ, जुन यसको २००१ को बजेटको भन्दा दोब्बर हो । जसरी अमेरिकाले विभिन्न देशजस्तै इराक, लिबियामा आक्रमण गर्यो र आफ्नो शक्तिशाली पहुँचको घेरा बढाउन खोज्यो ।
इस्लामिक स्टेटजस्ता क्रूर आतंककारी समूहलाई समयमै निस्तेज नपारे यसले निश्चय नै भविष्यमा भयावह स्थिति निम्त्याउने देखिन्छ । शक्तिशाली राष्ट्र एकजुट भएर आतंककारीविरुद्ध लड्नुपर्छ ।
यसले आतंककारी समूहको जन्म भयो । यही धारातल र पृष्ठभूमिमा इस्लामिक स्टेटको जन्म भयो । ती देशमा भएका कमजोर सरकार, अस्थिरता, तरलताबीच आफ्नो संगठनलाई थप मजबुत पार्दै लग्यो ।
यसलाई रोक्नुपर्छ । निर्दोष र निहत्था जनताले जसरी आफ्नो ज्यान गुमाइरहेका छन्, यो विल्कुल गलत हो । अमेरिका, रसिया, युरोपियन युनियनले आफ्नो विदेश नीतिमा परिवर्तन गर्न जरुरी छ । अमेरिकाको नीति क्रमशः असफल बन्दो छ सबैतिर ।
यसको उदाहरण लिबिया र सिरियालाई लिन सकिन्छ । इस्लामिक स्टेटजस्ता क्रूर आतंककारी समूहलाई समयमै निस्तेज नपारे यसले निश्चय नै भविष्यमा भयावह स्थिति निम्त्याउने देखिन्छ । शक्तिशाली राष्ट्र एकजुट भएर आतंककारीविरुद्ध लड्नुपर्छ ।
इस्लामिक स्टेटले आफ्नो पकड बढाउँदै छ । पछिलो समय बंगलादेशमा आक्रमण गर्यो । यसको पकड एसियामा बढ्दै गएको प्रतिबिम्बित हुन्छ । आईएसजस्तो सशक्त प्रोपगन्डा प्रविधि र संयन्त्रसहित क्षमताले सुसज्जित अतिवादी समूहले धार्मिक आस्थाको नाममा भर्खरका नौजवानलाई सजिलै आकर्षण गर्न सक्छन् र सफलसमेत भइरहेका छन् ।
दक्षिण एसियामा सबैभन्दा बढी संवैधानिक अस्थिरता र तरलता खेपेको नेपालले ६८ वर्षको इतिहासमा संविधानसभाबाट संविधान पाएको छ । तर देशमा व्याप्त अस्थिरता, कमजोर सरकार, बेथिति, बेरोजगार कायमै छ । देशले विकासको गति लिन सकिरहेको छैन । हरेक दिन यहाँको युवा बेरोजगारले बिदेसिन बाध्य छन् । यस्तो पृष्ठभूमिमा नेपालका युवालाई पनि आफ्नो पकडमा पार्ने सम्भावना धेरै छ ।
पीडाले मानिसलाई अपराध गर्न प्रेरित गर्छ । त्यसमाथि यहाँको सुरक्षा सन्यन्त्र पनि चुस्त दुरुस्त छन् । यसलाई अझै मजबूत गर्नुपर्ने जरुरी छ । यसलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनुपर्छ । राजनीतिक हस्तेक्षपबाट मुक्त गराई यसलाई स्वतन्त्र र सबल संगठन बनाउनुपर्छ ।
नेपालको अनुसन्धान आयोग, जो सबभन्दा बढी शक्तिशाली हुनुपर्ने तर यो केवल राजनीतिक भर्तीकेन्द्र भएको छ । हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि सुरक्षित छैन । यसलाई इस्लामिक स्टेट जस्ता संगठनले सजिलै प्रयोग गर्न सक्छन् किनकि यस्ता समूहमा कुनै दया र करुणा हुँदैन । आफ्नो स्वार्थपूर्तिको लागि जुन देश र जुन देशका नागरिकलाई पनि निशाना बनाउन् सक्छन् । त्यसैले हामी समयमै सतर्क हुन जरुरी छ ।