सत्याग्रही चरित्र र अपेक्षा

सत्याग्रही चरित्र र अपेक्षा

आदरणीय डा. गोविन्द केसीज्यू,

सर्वप्रथम ‘अनशन' मा रहनुभएका तपाईंको सुस्वास्थ्यको कामना गर्दछु ।

तपाईंको आठौँ अनशनबारे मुलुकमा, संचारमा र सामाजिक सञ्जालमा व्यापक चर्चा छ । पक्ष–विपक्षमा जनमत विभाजित छ । स्वाभाविक हो । ‘अनशन' सत्याग्रहको एउटा साधन हो, समग्र पक्ष हैन । आफूलाई निषेध गरेर ठूलो या व्यापक स्वार्थको लागि प्राण उत्सर्ग गर्ने प्रतिबद्धता अनशनकारीमा निहित हुने हुनाले उनी सम्मानित हुन्छन् ।

त्यस अर्थमा तपाईं सम्मानित हुनुहुन्छ । सत्याग्रहीमा अर्को पक्षको हृदय परिवर्तन गर्ने क्षमता निहित हुन्छ भन्ने मान्यता पनि हुन्छ । गुफामा बस्ने ऋषिमुनीहरूबाट हुने/भएका ज्ञात–अज्ञात तप, जप र निराहारी अभ्यासबाहेक व्यापक परिवर्तनको लागि ‘सत्याग्रह' लाई आम आन्दोलनमा प्रयोग गर्ने श्रेय महात्मा गान्धीलाई जान्छ । उनले बुद्धबाट र पौल थोरोबाट प्रेरणा लिए । मौनता र अहिंसा निर्वलको अस्त्र या बाध्यता हो भन्ने मान्यतालाई चुनौती दिए उनले ।

गान्धीकै शैलीलाई तर आफ्नो मुलुक र समाजको प्रसंगलाई मार्टिन लुथर किङ जुनियरले अँगाले अमेरिकामा, गान्धीको हत्याको एक दसकपछि । उनी अनशनमा बसेनन्, तर सत्याग्रहका अन्य पक्षका सहारा लिए, समान नागरिक अधिकारका लागि अर्थात् गैरश्वेतहरूलाई ‘मतदान' लगायत ‘श्वेत' नागरिकसरहका सबै अधिकार उपलब्ध गराउनको लागि ।

अनशनबाहेक सत्याग्रहका अन्य पक्षमा सत्ता र शक्तिको अवज्ञाको प्रधानता हुन्छ । तर सत्याग्रहबाट अर्को पथको हृदय र मन परिवर्तन गराउन सकिन्छ भन्ने अदम्य विश्वास र धैर्य पनि हुनुपर्छ, सत्याग्रहीमा । ऊ फरक मत र धारणाप्रति पनि अत्यन्त सद्भावयुक्त र घृणामुक्त हुनुपर्छ ।

गान्धीले फरक मत राख्ने, उनका विरोधी र उनलाई दबाउने बेलायती सत्ताका हाकिमहरूप्रति आदर र सद्भाव देखाउन छोडेनन्, कहिल्यै । किङले उनको आन्दोलन दबाउन सरकारका तर्फबाट हिंसात्मक कुकुरहरू लगाउँदासमेत हिंसात्मक प्रतिरोधमा रोक लगाए, आफ्ना समर्थकहरूलाई ।

नौ वर्षको आन्दोलनमा उनले श्वेतहरूप्रति घृणा गर्ने छुट कसैलाई दिएनन् । उनको आन्दोलनमा सहभागी हुन जातीय या रङका आधारमा कसैले कसैप्रति घृणा गर्न नपाउने सर्त जस्तै थियो त्यहाँ । अर्थात् आन्दोलनका नाइकेले मात्र आन्दोलनको मूल्य, मान्यता र चरित्र बोक्नु पर्याप्त हुँदैनथ्यो ।

 

गान्धीका सत्याग्रहका प्रवक्ताहरू सत्याग्रहको अर्थ, मर्म र मान्यताप्रति सम्पूर्ण रूपले प्रतिबद्ध रहन्थे । किङको नेतृत्वको आन्दोलनमा त्यही नै नियम थियो । गान्धीलाई त ‘बेलायती दलाल' भन्नेहरूको कमी थिएन भारतीय स्वतन्त्रता आन्दोलनमा आफ्नै ढंगले होमिएका क्रान्तिकारीहरूबीच ।

गान्धीकै अत्यधिक प्रभावमा रहेको भारतीय कांग्रेसभित्र अतिवादी या उग्र विचार राख्ने लाला लाजपत रायमाथि भएको राज्य आक्रमणबाट उनको मृत्यु भयो, सन् १९२८ मा बेलायत सरकारको विरोध गरेबापत । गान्धी अहिंस्रक सत्याग्रही हुनाले उनी मागमा विचारसँगै साधनको शुद्धताका पनि पक्षपाती थिए । लाजपत रायमाथिको आक्रमणको निन्दा गरेनन् उनले ।

मलाई विश्वास छ, डाक्टर सा'ब, तपाईं पनि सत्याग्रहको नियम, आचरण र मान्यताप्रति त्यत्तिकै समर्पित हुनुहुन्छ । आफ्नो नजिकको घेरामा रहनेहरूको व्यवहार, मान्यता चरित्र र समर्पण अनि सत्याग्रहको मूल्यप्रति उनीहरूको निष्ठाबारे पनि तपाईं त्यत्तिकै आश्वस्त हुनुहुन्छ ।

अनशनको ६ दिन बितिसकेको छ । सत्याग्रहीको साहस, आँट र ‘स्पिरिट' पो त बलियो हुन्छ । शरीरको धर्मबाट त को मुक्त हुन्छ र ? तपाईं कमजोर हुँदै जाँदा तपाईंका समर्थकबीच फरक मत आउनेछन् पक्कै पनि । एकथरीले तपाईंलाई जसरी पनि बचाउने चाहना राख्नेछन् र अनशन तोड्न या तोडाउने वातावरण बनाउन सबै प्रयास गर्नेछन् ।

अर्काथरी तपाईंले जस्तोसुकै नियति भोग्नुपरे पनि अनशन जारी राख्नुपर्ने अडानमा रहनेछन् । शरीर दुर्वल भए पनि निर्णय त तपाईंले नै लिनुपर्नेछ । तर तपाईं शारीरिक रूपमा दुर्बल हुँदै जाँदा तपाईंको आन्दोलनका प्रवक्ताहरू को हुन, कमसेकम चार÷पाँचजनाको नाम तपाईंले तोक्नु राम्रो हुनेछ ।

आन्दोलनको आधिकारिक धारणा र मान्यता उनीहरूबाट आउनुपर्छ । उनीहरूमा तपाईंको सत्याग्रही चरित्र र मान्यता झल्किनुपर्छ । तपाईंको शक्तिसँग आफूलाई जोडेर तपाईंको सामीप्यमा रहेकै आधारमा कसैले घृणा र ब्लाकमेलको अभ्यास गरे तपाईंको अनशनप्रति फरक मत राख्नेहरूप्रति भने त्यसमा तपाईंको धारणा के बन्ला ? वास्तवमा त्यो अहिल्यै भइरहेको छ ।

Gobinda-Kc

तपाईंको सत्याग्रहमा साधन र शैलीको शुद्धतामा तपाईं र तपाईंका ‘नजदिकी' हरूद्वारा ध्यान पुर्‌याइएन भने, सत्याग्रह र सत्याग्रही दुवै बद्नाम हुनेछन्। सत्याग्रहीको विश्वास अन्तरात्मा र परमात्मा दुवैमा हुन्छ । त्यसैले ऊ अरूभन्दा बढी शक्तिशाली हुन्छ । ऊ ईश्वरको अस्तित्वमा विश्वास राख्छ ।

उसले भगवान्लाई सृष्टिका हरेक कणमा देख्छ या हरेक प्राणीमा या हरके दीनदुःखीमा, यो अर्को विषय हो । के तपाईंले आफ्ना निकटहरूलाई तपाईंको सत्याग्रहका लक्ष र समर्थकहरूमा आवश्यक चरित्र र आचरणबारे कुरा गर्नुभएको छ ?
नन्दप्रसाद अधिकारीले प्राण तोडे अनशनमा ।

उनका नजिकका नागरिक समाज अगुवाहरूले त्यसबेलाको सरकार या प्रधानमन्त्रीलाई आलोचनासम्म गरेनन् । सायद दलीय नाता थियो कि ? सत्याग्रहीको ज्यान जाँदा केही जवाफदेही नबन्नु, नबनाइनु आश्चर्य हैन र ? अधिकारीको माग एकदम जायज थियो । उनले उठाउनै नपर्ने माग उठाउनुपर्‌यो । उनका छोरा अर्थात् यो मुलुकको एउटा नागरकको हत्याका दोषीलाई पक्रने र सजाय दिने काम त सरकारको हो नै । त्यो उसले गरेन ।

अधिकारी अनशनमा गए, ज्यान गुमाए, तर अधिकारीको माग जायज हुँदाहुँदै पनि उनले सत्याग्रही शक्ति आफ्ना ‘छोरा' को पक्षमा मात्र प्रयोग गरे । ‘जनयुद्ध' मा ज्यान गुमाएका १७ हजारकै मामिला या सबैलाई न्याय दिन सरकारलाई दबाब दिएको भए त्यसले फरक र व्यापक अर्थ राख्यो होला सायद।

त्यस अर्थमा डा. सा'ब तपाईं एकदम फरक देखिनुभएको छ । तपाईंले मुलुककै लागि र चिकित्सा सेवाको स्तरीयता अनि त्यससम्बन्धी अध्ययन र सेवालाई भ्रष्टाचार तथा दलीय स्वार्थबाट मुक्त राख्नुपर्ने मागका साथ आफ्नो अमूल्य जीवनलाई आठ÷आठपल्ट दाउमा राख्नुभएको छ ।

सरकारलाई बाध्य पार्नुभएको छ, तपाईंका केही माग मान्न सत्याग्रहीको नैतिक शक्तिसमक्ष सरकार झुक्छन् भन्ने प्रमाण हो यो । त्यति हुँदाहुँदै पनि तपाईंका केही मागसँग पहिला पनि विमती राखेको छु मैले । त्यो मेरो अधिकार हो । नेपालका हरेक क्षेत्र (विकास क्षेत्र) मा कमसेकम एकएकवटा सरकारी मेडिक कलेज हुनैपर्छ र तिनीहरूको ‘कनसन्ट्रेसन' राजधानी या ठूला सहरमा मात्र हुनु हुँदैन ।

तर मानौँ भोलि कुनै उत्कृष्ट अन्तर्राष्ट्रिय संस्थाले काठमाडौँमा विश्वस्तरको कुनै ‘मेडिकल कलेज' सबै नियम पूरा गरेर पारदर्शी रूपमा खोल्न चाहेमा के त्यसमा विचार नगर्ने ? त्यस्ता संस्थाले ग्रामीण तथा विकट क्षेत्रमा जनस्वास्थ्यसँग सम्बन्धित के–के सेवा, भौतिक पूर्वाधार दिन सक्छन्, त्यसबारे खुला दिमाग राख्नु नराम्रो होला र ?

डाक्टर सा'बसँग फरक मत राखेकै आधारमा ऊ कतैको ‘हुन्डी' मा पालिएको पत्रकार या नागरिक घोषित हुने सम्भावना देख्दादेख्दै पनि म यो कुरा लेख्दैछु । आशा छ, यसमा डा. सा'बले एउटा सत्याग्रहीको विवेक र निष्कर्ष निकाल्नु हुनेछ ।
डा. सा'बको यसपल्टको अनशनका अन्य दुई पक्ष पनि छन् ।

एउटा त पहिलादेखिकै आन्दोलनसँग जोडिएको छ, जसमा ‘मेडिकल शिक्षामा भ्रष्टाचार' को कुरा छ । अर्को अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगको माग छ । भ्रष्टाचारले अहिले व्यापक आकार लिएको छ । अर्को शब्दमा नेपालमा भ्रष्टाचारजति पारदर्शी केही छैन ।

महत्त्वपूर्ण राजनीतिक नियुक्तिहरू, संवैधानिक अंगका नियुक्तिहरू, कूटनीनिक नियुक्तिहरू र सर्वोच्चमा न्यायाधीश नियुक्ति पनि योग्यता, पात्रता र चरित्र अनि मुलुकप्रतिको बफादारीका आधारमा नभएर ‘दलीय कोटा' का आधारमा भएका छन् । सुटेकेसले पनि भूमिका खेलेका होलान् ।

भ्रष्टाचार व्याप्त र त्यसबाट आक्रान्त ५६ हजार वर्ग मिलको यो मुलुकमा तपाईंले त्यसबाट मुक्त सानो एउटा टापु निर्माण गर्ने प्रयास गर्नुभएको छ ‘मेडिकल वल्र्ड' । मेरो शुभकामनाको केही अर्थ राख्छ भने त्यो तपाईंसँग सधैँ छ डाक्टर सा'ब यसमा पनि । तर, भ्रष्टाचारको वागद्वार सफा नगरी बागमती सफाइ कति सफल होला ? तपाईं सामान्य अवस्थामा फर्केपछि छलफल गरौँला ।

भ्रष्टाचारको व्यापकता र परचालित हाम्रो राजनीतिबीच प्रत्यक्ष सम्बन्ध छ । त्यसले नेतृत्व वर्गको जवाफदेहिता समाप्त पारेको छ र भ्रष्टाचारलाई मलजल गरेको छ । सरकारको बजेटको दुरुपयोग मात्र हैन, भ्रष्टाचारका विविध तह र संस्था मौलाएका छन् । ठूला वैदेशिक दाताहरूले नेपालका बौद्धिक र मानव अधिकारवादीसहित नागरिक जमातका प्रमुख भन्नेहरूलाई केही अपवादबाहेक ‘हायर' गरेका छन् ।

यस्ता अगुवा एनजीओमा मात्र हैन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र अन्य नीतिनिर्धारण तहमा स्थापित छन् । रामवरण यादव या विद्यादेवी भण्डारी, झलनाथ खनाल, माधव नेपाल, सुशील कोइराला कोही अपवाद बन्न चाहेनन् । बाह्य शक्तिका प्रतिनिधिहरूमाथि विदेशी लगानी नेपालमा पहुँच किन्न र सत्ता र नीतिमाथि नियन्त्रण तथा प्रभाव जमाउन यसो गरिएको हो ।

डा. गोविन्द केसीज्यू, तपाईंले भ्रष्टाचारविरोधी आन्दोलनलाई शिक्षा र स्वास्थ्यबाट केही बाहिर र संसद्कै अधिकार क्षेत्रमा प्रवेश गर्ने नगारिक हकको उपभोग गरिसक्नु भएकाले मैले यसलाई अझ व्यापकता दिन आग्रह गरेको हुँ ।

अर्को अर्थमा नेपालको नीतिनिर्धारक तह नेपाली जनताभन्दा विदेशी दातृ निकायहरूप्रति जवाफदेही बनून् भन्ने उनीहरूको चाहनामा नेपालको ‘बौद्धिक मर्सिनरी' या ‘बौद्धिक लठैत' हरू गोटी बनेका छन् । नीतिगत तहमा भएको यो भ्रष्टाचारलाई हामीले छानबिन गरेनौँ र सतही रूपमा भ्रष्टाचारको मामिला उठायौँ भने त्यसले तपाईंले चाहेको परिणाम ल्याउने छैन ।

२०६३ यता नेपालको राजनीति र सत्ताका नाइकेहरू कहाँबाट निर्देशित भए ? मन्त्रीदेखि राजदूत र संवैधानिक आयोगको बहालीमा नेपालीको स्वार्थले निर्णायक भूमिका खेल्यो कि विदेशीको हैकम बढ्यो ? लोकमानसिंह कार्कीको नियुक्तिलाई पनि अलि फराकिलो र तथ्यगत हिसाबले हेरौँ । नीतिसँगै नीति कार्यान्वयनमा प्रभाव राख्न रुचाउँछन् दाताहरू ।

त्यसमा उनीहरूको स्वार्थमा प्रधानता हुन्छ । उनीहरूको प्रभाव सञ्चार, नागरिक समाजसँगै नीतिनिर्धारक तह र उनीहरूप्रति समर्पित राजनीतिज्ञहरूमाथि हुने हुनाले ‘अग्रगामी' र ‘प्रतिगामी' को बिल्ला पनि उनीहरूले नै भिराउँछन् । मलाई थाहा छैन, राजनीतिक हिसाबले तपाईंलाई कुनै बिल्ला भिराइएको छ कि छैन, तर जवाफदेही शून्य राजनीतिका पक्षधर सावित भएका छन्, ती ‘अग्रगामी' हरू । भ्रष्टाचारविरोधी देखिन तर त्यसको जरोमा नगई डा. गोविन्द केसीरूपी गंगाको नजिक रहेर काया सफा गर्न पनि त लागेका होलान् नि कोही त ।

लोकमानसिंह कार्की श्री ५ को सरकारमा मुख्य सचिव थिए । अग्रगामी सरकार र व्यवस्थामा ‘दूधको दूध' र ‘पानीको पानी' गर्ने दायित्व बोकेका प्रधानन्यायाधीश विदेशी योजनामा प्रधानमन्त्री बने खिलराज रेग्मी । उनले कांग्रेस, माओवादी, एमाले र मधेस दलका नेतृत्वको सहमतिमा आधारित सिफारिसका आधारमा कार्कीलाई अख्तियार प्रमुख बनाए । राष्ट्रपति रामवरण यादवले पद र गोपनीयताको शपथ दिलाए उनलाई ।

भ्रष्टाचारविरुद्धको आन्दोलनका अगुवाहरूले सिफारिसकर्ता, नियुक्तिकर्ता र शपथ खुवाउने कसैलाई विरोध नगरी लोकमान सिंहको मात्र विरोध गर्नुमा मेरो सहमति छैन । उनको नियुक्तिका समस्त प्रकरण र त्यसमा सामेल सबैलाई छानबिनको दायरामा ल्याउन नागरिक समिति बनाऔँ, त्यसको नेतृत्व तपाईं स्वयंको रहोस्, मेरो पूर्ण समर्थन रहनेछ । तर सतही हिसाबले यो विषय उठाइँदा या महाभियोग तपार्इंको मागको सूचीमा पर्दा कार्कीलाई रोक्न सडकमा उत्रेकाहरूसँग सत्याग्रही डा. केसीको के सम्बन्ध भन्ने प्रश्न उठ्दैन र ?

तपाईंले भ्रष्टाचारविरोधी आन्दोलनलाई शिक्षा र स्वास्थ्यबाट केही बाहिर र संसद्कै अधिकार क्षेत्रमा प्रवेश गर्ने नगारिक हकको उपभोग गरिसक्नुभएकाले मैले यसलाई अझ व्यापकता दिन आग्रह गरेको हुँ । दाताहरूको रकम नेपाली हित र नियमअनुसार अनि पारदर्शी तरिकाले आउनुपर्छ भन्न सकिन्छ । त्यसका सर्तहरू निर्धारण गर्न सक्छ संसद्ले । यो व्यापक विषयमा आज हामी प्रवेश गरेनौँ भने तपाईंको यो अनशनले समस्याको सानो अंशलाई पनि सम्बोधन गर्न सक्ने छैन ।

र तपाईंले आफ्नो आन्दोलनमा कस्ता व्यक्ति सरिक हुन मिल्छ, मिल्दैन या कसको समर्थन तपाईं अपेक्षा राख्नुहुन्छ, त्यसको पात्रता र सर्त तोक्नुपर्छ । सत्याग्रहीले गर्नैपर्ने ती कठिन कामहरू हुन्, जुन तपाईंले गर्नुभएको छैन ।

अन्त्यमा, फेरि पनि मेरो शुभकामना तपाईंको सुस्वास्थ्यको लागि । तपाईंले आफ्नो अभियानलाई व्यापकता दिन त्यसको समीक्षा गर्नुहुनेछ भन्ने आशासहित !

युवराज घिमिरे, पत्रकार ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.