चिटिक्क परेर हिँड्ने रुषाको रहर
अशोकप्यासी रार्इ
टेलिभिजनमा सौन्दर्य प्रतियोगिता एवं फेसन शो हेर्दा रुषा मानन्धरलाई भाग लिन पाए हुन्थ्यो भन्ने हुटहुटी चल्थ्यो । उनको त्यो चाहना र सपनालाई साथ दिएका थिए आमा गीता मानन्धर र दाइ निरञ्जन मानन्धरले । छोरीको शिरमा ताज सजिएको हेर्न चाहन्थिन् आमा गीता पनि ।
रुषाले आफ्नोमात्रै होइन आमाको पनि सपना साकार त पारिन् तर दुर्भाग्य त्यो खुसीको क्षणमा आमाको साथ पाइनन् । ‘मिस इन्डिजेनियस हेरिटेज नेपाल २०१६' को उपाधि जितेर शिरमा ताज लगाउँदा तीन महिनाअघि चीरनिद्रामा लीन भएकी आमालाई सम्झेर रुषा रोएकी थिइन् । ‘ममीको यो क्षेत्रमा रुचि थियो तर उहाँको समयमा यस्ता अवसर थिएनन्', आमालाई सम्झिँदै रुषाले भनिन, ‘छोरीमार्फत म मेरो चाहना पूरा गर्छु भन्नुहुन्थ्यो । मैले ममीको चाहना त पूरा गरेँ तर उहाँले देख्न पाउनुभएन ।'
ग्रामीण विकासमा स्नातक गरेकी रुषा स्नातकोत्तरको तयारीमा छिन् । तर मिस इन्डिजेनियस हेरिटेज नेपालको उपाधि जितेपछि उनमा जिम्मेवारी थपिएको छ । जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । ‘मैले नचिनेका मान्छेले पनि चिन्न थालेका छन । नपुगेको ठाउँ, नचिनेका संस्थाहरूले सम्मान गर्न थालेका छन्', उनी कारण खोल्छिन्, ‘अभिभावकको साथ र सहयोगले यो सम्भव भएको हो । अब मैले इन्डिजिनियस पिपल्सका लागि केही न केही गर्नै पर्छ ।'
रुषाको अनुभवमा यस्तो प्रतियोगिता जित्नु चानचुने कुरा होइन । ‘कतिपय प्रतियोगी केही सिकौं, भाग लिई हेरौं के हुन्छ भनेर केवल भाग लिनमात्रै आएका हुन्छन् । तर म जित्नुपर्छ, जित्नकै लागि म यहाँ आएको हुँ भनेर आत्मविश्वासका साथ मेहनत गरेँ', जितको कारण खुलाउँदै उनले भनिन्, ‘सबैभन्दा पहिला आफ्नो मनलाई जित्नुपर्छ । मन नै हारेको छ भने कुनै पनि प्रतियोगिता जित्न सकिँदैन ।' तेस्रो प्रयासमा शीर्ष उपाधि जितेकी रुषाले यसअघि मिस टिन नेपाल २०११ र रिलिल फ्रेस फेस २०१२ मा पनि भाग लिएकी थिइन् ।
काठमाडौंको कुलेश्वरमा जन्मेकी २२ वर्षीया रुषा ५ फिट ३ इन्च अग्ली छिन् । ग्ल्यामर क्षेत्र अहिले व्यवसाय बन्दै गएकोमा उनी उत्साहित छिन् । यस क्षेत्रका बारेमा केही नकारात्मक सोच रहे पनि ‘आफू ठीकमा छ भने सबै ठीक' भन्ने सूत्र उनलाई आत्मसात् गरेकी छन । मोडलिङमा मन भए पनि चलचित्रप्रति उनको मोह छैन ।
शक्ति रिनको टीभीसी, रिलिल साबुन एवं बीबी एयरवेजको क्लालेन्डर सुट गराइसकेकी उनी व्यावसायिक रूपमा एअर होस्टेसका रूपमा काम गर्ने सोच राखेकी छन् । बीबी एअरलाइन्समा चार महिना एअर होस्टेजकै रूपमा काम पनि गरिन् तर सो एअर लाइन्स नै बन्द भएपछि उनले पनि विकल्प खोज्नुपर्ने भएको छ ।
एअर होस्टेस नै किन त ? ‘चिटिक्क परेर, सुटकेस बोकेर हिँड्नुको मजै बेग्लै हुन्छ', उनी कारण खोल्छिन्, ‘देशविदेश घुम्न पाइने, कमाइ राम्रो हुने र ग्ल्यामर क्षेत्र पनि मानिने भएकाले म यो पेसाप्रति आकर्षित भएकी हुँ ।'