आदित्य प्रतिष्ठानलाई सरकारले एक करोड दिने
काठमाडौँ: मन्त्रिपरिषद् बैठकले ‘गुगल ब्वाई'को नामले चर्चाका आदित्य दाहलको संरक्षणका लागि गठन भएको प्रतिष्ठानलाई एक करोड दिने निर्णय गरेको छ ।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।
अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले भने, ‘आदित्य संरक्षण प्रतिष्ठानलाई आदित्यको आवास र यातायात सुविधाका लागि केही रकम दिने निर्णय गरेको छ ।'
सरकारले चमत्कारिक बालक मानिएका आदित्यको संरक्षणमा जुटेको प्रतिष्ठानका नाममा उनको सवारी साधन, आवास, दैनिक क्रियाकलापमा असर नपरोस भनेर एक करोड रुपैयाँ दिने निर्णय गरेको सिंहले बताए ।
चमत्कारीक बाल योगीको परिचय बनाएका आदित्यकै नाममा उनको संरक्षणका लागि गठन भएको आदित्य संरक्षण प्रतिष्ठानले उनको सम्पूर्ण हेरचाह गर्दै आएको छ ।