किशोरीले किन छाड्छन् विद्यालय ?

किशोरीले किन छाड्छन् विद्यालय ?

काठमाडौं: आफ्ना साथीहरू महिनावारी हुँदा विद्यालय आएमा कक्षाका सहकर्मी छात्रले जिस्क्याउने गरेका कपनस्थित ग्रामशिक्षा उमाविकी सुजाता विकले बताइन् । उनकै जस्तो अनुभव छ पुरानो गुह्येश्वरी माविकी देवी तामाङको । ‘बाटो हिँड्दा होस् या कक्षाकोठामा बस्दा पेट दुखेर सहनै नसक्ने भएका बेला पनि केटा साथीहरूले यसलाई नहेर, नछोऊ भनेर जिस्क्याउन थाल्छन् । त्यसैले विद्यालय जानै मन लाग्दैन', उनले भनिन् ।

शारदा उमाविमा कक्षा १० मा पढ्ने अम्बिका कार्कीले शिक्षकले कक्षामा जिस्क्याउने र शरीरमा जता पायो उतै छुने गर्नाले पनि साथीहरूले विद्यालय आउन नमान्ने गरेको गुनासो पोखिन् ।

अर्काको घरको सबै काम भ्याएर विद्यालय जानुपर्ने र त्यसमा पनि गृहकार्य नगर्दा शिक्षकशिक्षिकालाई दिनहुँ भ्याइन भन्दा आफूलाई हुने लज्जाबोधले विद्यालय जान मन नलाग्ने गरेको आरती श्रेष्ठले बताइन् । उनी महेन्द्र बौद्ध उमाविमा कक्षा ९ मा पढ्छिन् ।

बिहान विद्यालय जाँदा घरभरिको सबै काम सकाएर जानुपर्ने र नसकिएको दिन बेलुका घर आएपछि आमाले नै बेस्सरी पिट्ने गरेपछि आफ्नो एउटा साथी विद्यालय आउनै छाडेको गुह्येश्वरी उमावि, सिनामंगलकी कक्षा ९ की छात्रा दीपा थापाले बताइन् । उनकै कक्षाकी रुबि आचार्यले भने विद्यालयबाट घर फर्कंदा एकैछिन ढिला भए पनि परिवारकै सदस्यले नानाथरी भन्ने गरेको र आफ्नै परिवारमा दाजुभाइमाथि कहिले त्यस्ता प्रश्न उठ्ने नगरेको यथार्थ सुनाइन् ।

किशोरावस्थामा पुगेका छात्राले विद्यालय शिक्षामा निरन्तरता दिन नसक्नुको बाध्यता यसरी पोखेका हुन् विभिन्न विद्यालयका छात्राले । किशोरीका यस्तै अनुभव र समस्या संकलन गरी नीति निर्माण तहसम्म पुर्‌याएर किशोरीमैत्री शिक्षा र विद्यालय बनाउने पहलमा जुटेको छ दिदीबहिनी । जिउनका लागि आवश्यक सीप शिक्षाबाट पाउनुपर्ने बताउँदै संस्थाकी अध्यक्ष सलोनी सिंहले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यले पनि शिक्षामा समता हुनुपर्छ भन्नेमा जोड दिएको प्रस्ट पारिन् ।

 

सुदूरपश्चिमका जिल्लामा किशोरी महिनावारी हुँदा विद्यालय जाँदैनन् । जान चाहने विद्यार्थीलाई पनि शिक्षकशिक्षिका स्वयंले आउनुपर्दैन भन्ने गरेको आफूले विभिन्न जिल्लाको भ्रमणका क्रममा देखेको अधिकारकर्मी डा. अरुणा उप्रेतीले बताइन् । उनका अनुसार शिक्षालाई निरन्तरता दिन नसक्नुमा मोबाइललगायतका आधुनिक प्रविधिको पनि भूमिका उत्तिकै रहेको छ ।

१० कक्षा पास गरेकी एक किशोरीले अभिभावकसँग फोनको माग गरेपछि आमाबाबुले आफ्नो हैसियतअनुसारको सानो फोन दिनु स्वाभाविक हो । तर किशोरीले आफ्नो चाहनाअनुसारको स्मार्ट फोन लिन देह व्यापारमा लागेको सत्य घटना पनि डा. उप्रेतीले सुनाइन् । हिजोआज विद्यार्थीलाई पिट्नु हुँदैन भन्ने चेतना प्रायः सबै ठाउँमा पुगेको पाइन्छ ।

यद्यपि पिटाइभन्दा पनि चोट पर्ने शब्दहरूले गाली गर्दा पनि छात्राको विद्यालयप्रति वितृष्णा जाग्ने गरेको छ । त्यसैगरी किशोरीको भावना विद्यालय र शिक्षकले नबुझ्दा उनी बेहोस हुन्छिन् । उनलाई देखेर अन्य छात्रा पनि बेहोस हुन्छन् । मेडिकल भाषामा ‘कन्भर्सन डिसअर्डर' भनिने यस्तो मनोवैज्ञानिक समस्याका कारण कतिपय ठाउँमा त विद्यालय नै बन्द हुने अवस्था आउने डा.उप्रेतीले बताइन् ।

सबैभन्दा उत्पादनशील समय किशोरावस्था भए तापनि यस्तो बेलामा करिब १६ प्रतिशत किशोरी विद्यालयबाहिर रहने गरेको युनेस्कोले गरेको एक अध्ययनले जनाएको छ । यस्ता किशोरीलाई विद्यालयमै टिकिरहन प्रेरित गर्न देशभरका करिब दुई सय विद्यालयमा शिक्षिकालाई तालिम दिइ छात्रालाई मनोपरामर्श गर्ने जिम्मा लगाइएको युनेस्कोका प्रतिनिधि तपराज पन्तले बताए ।

शिक्षकले यौन दुव्र्यवहार गरेर विद्यालय छाड्न बाध्य भएकी टोखाकी एक किशोरीले दिएको उजुरीका आधारमा उनी पढ्ने विद्यालयका गणित शिक्षकमाथि मुद्दा चलाई हाल उनलाई थुनामा राख्नसमेत सफल भएको सिबिनकी सुम्निमा तुलाधारले बताइन् ।

आफूमाथि यस्ता दुव्र्यवहार भएमा सहेर बस्न नहुने बताउँदै संस्थाले चलाएको बाल हेल्पलाइनमा उजुरी दिन उनले सुझाव दिइन् । शिक्षा, स्वास्थ्य, महिलालगायतका मन्त्रालयले किशोरी शिक्षाका लागि बजेट छुट्याए तापनि बजेट छरिएको अवस्थामा त्यति प्रभावकारी नभएकाले अन्तरमन्त्रालयका कामलाई कसरी एकद्वार प्रणालीबाट लैजाने भन्नेमा आफूहरू लागिपरेको संसद्को महिला बालबालिका समितिकी सभापति रञ्जु झाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.