पुष्पकमल दाहाल भन्छन– माइत आएँ अब मलाई समर्थन हुन्छ

पुष्पकमल दाहाल भन्छन– माइत आएँ अब मलाई समर्थन हुन्छ

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सरकारविरुद्ध कांग्रेससहितको आफ्नो गठबन्धन बनेकोमा चीन र भारत दुवै देश सन्तुष्ट भएको दाबी गरेका छन् । चीनले नेपाल–भारतबीच द्वन्द्व कायमै रहोस् भन्ने नचाहने उल्लेख गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रवृत्ति सरसल्लाहभन्दा पनि मनोगत रूपमा अघि बढ्ने रहेको बताए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावित भारत भ्रमण तीन दिनअघि रोक्नु र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु यसको प्रमाण हो', आफ्नै निवास लाजिम्पाटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने ।

राष्ट्रपतिको भ्रमण र राजदूतलाई बिनाकारण फिर्ता बोलाउनु कूटनीतिक मर्यादा नहुने र यस्तो कूटनीतिले मुलुक ठूलै संकटमा पर्ने दाहालको दाबी थियो । उनले नयाँ गठबन्धनबाट चीन रुष्ट भयो भन्दै गरिएका प्रचार झुटो र सत्ता टिकाउने ‘ग्र्यान्ड डिजाइन' मात्र भएको बताए ।

दाहालले भने, ‘प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा गरेको सम्झौता आफ्नो सहयोग र सद्भावका कारण भएको भन्दै आफूलाई चिनियाँ राजदूत ऊ चुन्ताईले धन्यवाद दिएको तथा मेरो अहिलेको सूचनाअनुसार पनि कांग्रेससँग मैले गरेको गठबन्धनबाट चीन खुसी छ ।' नेपाल र भारतबीच असल मित्रताका पक्षमा चीन रहेको दाहालले बताए ।

मुलुकमा १५ महिनाअघि गएको विनाशकारी महाभूकम्पले धर्तीमा मात्र नभएर राजनीतिमै तरंग ल्याउँदा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा मुलुकको राष्ट्रियता, एकता र सार्वभौमसत्ताका लागि सत्ता परिवर्तनभन्दा दलबीचको एकता गराउन सफल भएको दाबी दाहालले गरे ।

‘राष्ट्रिय सहमतिका लागि मेरो भूमिकाकै कारण जेठ २५ गते भएको १६ बुँदे सहमतिले सुशील कोइराला नेतृत्वको सरकार टिक्यो । असोज ३ गते मुलुकले संविधान पायो,' उनले भने ।

आफूलाई संसद्वादी भन्ने दलहरूले संविधान निर्माणका लागि सबैभन्दा ठूलो दलले राष्ट्रपति र त्यसपछिकाले प्रधानमन्त्रीको माग गरेर सहमति भएको उदाहरण सर्वविदितै रहेको दाहालले जिकिर गरे ।

 

आफूले पटकपटक संविधान कार्यान्वयन, शान्ति प्रक्रियाअन्तर्गत द्वन्द्व व्यवस्थापन, भूकम्पबाट प्रभावितको उद्धार र राहतका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको स्मरण गर्दै दाहालले गत चैतमा गोप्य लिखित माग राखे पनि कार्यान्वयन नभएको बताए ।

वैशाख २३ गते नौबुँदे सहमति र त्यसको कार्यान्वयनका लागि तीनबुँदे भद्र सहमति भएको र यो कार्यान्वयन हुनुपर्ने धारणा एमालेकै अन्य शीर्ष नेताहरूले अहिले बताइरहेको धारणा दाहालको थियो ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले भद्र सहमति तोडे पनि आफूहरूले उच्च सम्मान दिएकै कारण ओली प्रधानमन्त्री भएको दाबी उनको थियो । ‘सत्ता प्राप्तिपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा ओलीले संसदीय मूल्यमान्यतासमेत तोड्दै अगाडि बढेकाले हामी झक्झक्याउँदै अघि बढ्न बाध्य भएका हौं', दाहालले भने ।

नौबुँदे सहमतिविपरीत हुने गरी ओली सरकारले गोरखाको फुजेल, ओखलढुंगा काण्डमा मुद्दा बिउँत्याउने कार्य गरेको भन्दै दाहालले तीव्र विरोध गरे । ओलीले जति नै खण्डन गरे पनि एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत भद्र सहमतिका पक्षमा रहेको दाहालको दाबी थियो ।

ओलीले माओवादीलाई बिर्सेर भगवान्कै आशीर्वादले प्रधानमन्त्री भएको सोच राख्दै अगाडि बढेर आफ्नो पार्टीलाई सिध्याउने खेल खेलेको आरोप दाहालले लगाए । ‘माओवादीभन्दा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरोधी ओली निकट भएको परिणाम आजको दिन हो', उनले भने ।

गणतन्त्रविरोधी कमल थापासँगको तत्कालीन एकताको उद्देश्यबारे दाहालले प्रस्ट पारे, ‘संविधान जारी गर्नुको विकल्प नभएको हुँदा ।'

विद्यमान राष्ट्रिय चुनौतीका लागि कांग्रेससँग मुद्दा मिलेको हुँदा एकतामा पुगेको जानकारी दाहालले दिए । उनले भने, ‘कांग्रेससँगको सहमतिअनुसार बाँकी रहेको १८ महिने कार्यकालमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन सके छुट्टाछुट्टै अन्यथा स्थानीय र प्रान्तीय एकैपटक, संसद् छुट्टै वा स्थानीय र प्रान्तीय र संसद् एकपटक गरेर निर्वाचन हुनेछ ।'

कांग्रेससँगको सहमति पार्टी हेटक्र्वाटरको निर्देशनमा गरेको दाबी गर्दै दाहालले निर्देशनअनुसार काम भएपछि नारायणकाजी श्रेष्ठलगायतलाई जानकारी दिएको बताए । अर्को एक प्रश्नको उत्तरमा दाहालले भने, ‘संविधानअनुसार सरकार ढालेपछि गठन गर्ने प्रावधान छैन भन्नु गलत हो । संविधानसम्म जानै पर्दैन, संसदीय नियमावली पर्याप्त छ ।'

संसदीय व्यवस्थाको मर्म र भावना भनेकै संसद्मा सरकारको बहुमत छ, छैन हेर्नु रहेको भनाइ दाहालको थियो । आन्दोलनरत मधेसी मोर्चा आफ्नो सरकारमा आउने बताउँदै उनले भने, ‘उनीहरूको माग सम्बोधन हुन्छ ।'


माइत आएँ, मोर्चाले समर्थन गर्छ

रिले अनशन बसेको मधेसी मोर्चासहितको संघीय गठबन्धनको आन्दोलनलाई समर्थन जनाउन खुलामञ्च पुगेका दाहालले भने, ‘म माइत आएँ, अब गठबन्धनले मेरो सरकारलाई समर्थन गर्छ ।'

मधेसीले उठाएको पहिचानको एजेन्डा आफ्नै भएकाले आज मलाई रिले अनशनमा आउँदा माइतमा रहेको अनुभव भएको उनले बताए । माइत आएकी छोरीलाई पाउँदा हर्षले गदगद् भएको अनुभव राख्दै गठबन्धनका संयोजक उपेन्द्र यादवले भने, ‘कांग्रेस–माओवादी गठबन्धनको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय हुन बाँकी भए पनि ओली सरकार ढाल्न हामी अविश्वास प्रस्तावका पक्षमा मतदान गर्नेछौं ।' मधेसी मोर्चाले अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

जीवनकै महत्त्वपूर्ण रिस्क

माओवादी केन्द्रका अध्यक्ष दाहालले आफूले जीवनकै सबैभन्दा महत्त्वपूर्ण रिस्क लिँदै वर्तमान सरकारविरुद्ध कांग्रेससँग गठबन्धन गरी अविश्वास प्रस्ताव दर्ता गराएको बताए । आफ्नो निवासमा शुक्रबार बिहान बसेको हेडक्वार्टर बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म ठूलै जोखिम उठाएर वर्तमान सरकार ढाल्न अग्रसर भएको हुँ ।'

कुनै पनि राष्ट्र, पार्टीको नेतृत्वले खास समयमा जोखिमपूर्ण निर्णय गर्नुपर्नेमा उनले जोड दिए । दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस निर्णयले आफू कहिल्यै उठ्न नसक्ने गरी पछारिने सम्भावना पनि उत्तिकै रहेकाले आम माओवादी नेताकार्यकर्ताले यो चुनौतीको सामना एक भएर गर्नैपर्छ । मैले ठिक रिस्क लिएको छु । गलत भए यो निर्णयले कहिल्यै उठ्न नसक्ने गरी पछारिनेछु ।'

संघीयता कार्यान्वयन र मधेसीका मुद्दालाई सम्बोधन गर्न सकेमा वर्तमान सरकार गिराउनुको औचित्य रहनेमा उनले जोड दिएका थिए ।

माओवादीका पूर्वमन्त्रीद्वारा दाहालको कटाक्ष

ओली नेतृत्वमा सरकारमा माओवादीका तर्फबाट सहभागी भएका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफूहरू पार्टी र सरकारमा नेतृत्वमै रहँदासमेत सरकारबाट फिर्ता हुने निर्णय कार्यान्वयन भएपछि मात्र थाहा पाउनु राम्रो नभएको बताएका थिए ।

उनीहरूले ओली सरकारका कामकारबाही ‘छि' भन्ने नरहेको दाबी गरेका थिए । पार्टीका कुनै पनि नीति र निर्णयबाट नेतृत्वलाई छायामा नपार्न उनीहरूले दाहाललाई आग्रहसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.