‘न सहिद भए, न सालिक नै बने

‘न सहिद भए, न सालिक नै बने

सुर्खेत: वीरेन्द्रनगर–३ निवासी टीकाराम गौतम न कुनै पार्टीका नेता थिए न त कुनै दलको सक्रिय सदस्य । उनी सामान्य मजदुरी गर्थे । अघिल्लो वर्ष साउनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनमा सहभागी भए ।

सोही क्रममा साउन २५ गते उनको छातीमा प्रहरीको गोली लाग्यो । परिवारसँग साँझ घर फर्कने बाचा गरेका उनी घर फर्कन पाएनन् । मध्यपश्चिम टुत्र्याएको मन नपराएका उनले प्रदेशको राजधानी सुर्खेत हुनुपर्छ भन्ने माग पूरा गराउन आफ्नो ज्यान नै दिए ।

अघिल्लो वर्ष साउनमा मध्यपश्चिमका जिल्लाहरू टुत्र्याइएको विरोध गर्दा वीरेन्द्रनगर– ७ का युवा यामबहादुर विसीले पनि ज्यान गुमाए । सुदूरपश्चिममा गाभिएका जिल्लाहरू फिर्ता हुनुपर्ने र प्रदेशको राजधानी सुर्खेतनै हुनुपर्ने आवाज बुलन्द गरेकै कारण उनको पनि छातीमा गोली हानियो ।

उनी घटनास्थलमै ढले । गुमेका १० जिल्लाहरू त फिर्ता भए, तर उनी कहिल्यै नफर्कने गरी बिदा भए । सुर्खेती जनता र यस क्षेत्रले आफ्नो गुमेको पहिचान र भूभाग त फिर्ता पायो तर विसी परिवारले भने असल छोरा सदाका लागि गुमाउन पुग्यो । प्रहरीले आन्दोलनमाथि दमन गर्दै गोली प्रहार गर्दा दुईजना र मंगलगढीनजिकको भागदौडमा परेर वीरेन्द्रनगर–३ का गोपालसिंह रजवारको पनि मृत्यु भयो ।

आन्दोलनमा ज्यान गुमाएका तीनैजनाको कुनै व्यक्तिगत स्वार्थ थिएन । उनीहरू मध्यपश्चिम अखण्ड भएको र त्यसको राजधानी सुर्खेत कायम भएको हेर्न चाहान्थे तर जसको रगतसँग साटेर छैठौं प्रदेश स्थापना भयो, आज उनीहरू नै ओझेलमा परेका छन् । प्रदेश घोषणा भएपछि विजय जुलुस निस्के, सबैले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गराउने प्रतिवद्धता जनाए । सालिक निर्माण र चोक नामाकरण गर्ने उद्घोष पनि भयो ।

 

तर एक वर्ष पुग्नै लाग्दा आन्दोलनमा ज्यान गुमाएकाहरू न सहिद भए, न त उनीहरूका सालिक नै बने । बरू मृतकका आफन्तहरू आफूहरूलाई उपेक्षा गरिएको गुनासो गर्न थालेका छन् । आन्दोलनको नेतृत्वकर्ता र राज्य दुवै पक्षबाट आफूहरूलाई बेवास्ता गरिएको उनीहरूको दुखेसो छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएका टीकाराम गौतमकी पत्नी दुर्गादेवी गौतम भन्छिन्, ‘आन्दोलमा हामीले घरको मूली गुमायौं, श्रीमान्को रगतले नै यो क्षेत्रले छैटौं प्रदेश पायो तर जसको रगतले नयाँ प्रदेश स्थापना भयो, आज उनीहरूलाई नै अपमान गरिँदैछ ।' ‘आन्दोलन सफल नहुँदासम्म घरमै आएर धेरै आश्वासन दिए, जब हामीले मृतकको दाहसंस्कार गर्‌यौं त्यसपछि कोही फर्केर आएका छैनन्', आन्दोलनमा मारिएका गौतमका छोरा अमृत गौतमले भने, ‘अहिलेसम्म सहिद घोषणा गरिएको छैन, सालिक बनाउँछौ भन्थे त्यो पनि छैन ।'

राज्य र दलहरूबाट आफूहरूलाई उपेक्षा गरिएको यो परिवारको गुनासो छ । दुर्गादेवीले थपिन्, ‘हाम्रो चाहाना सुर्खेत राजधानी होस् भन्ने हो तर अहिलेकै अवस्थामा त हामीलाई आशंका छ । अरू कुरा जेसुकै होस्, कुनै पनि हालतमा सुर्खेत राजधानी बन्नुपर्छ ।' गौतमको परिवारलाई मात्र होइन, विसी परिवारलाई यतिबेला दोहोरो पीडा छ । सरकारले राहत स्वरूप दिएको १० लाख रुपैयाँ लिएर बुहारी (मृतक यामबहादुरकी श्रीमती) घरबाट निस्किएपछि उनीहरू पीडित बनेका हुन् ।

मृतक विसीका बुबा शेरबहादुर बुढा भन्छन्, ‘मेरो छोरो रहरले सडकमा गएको थिएन, सुर्खेत राजधानी हुनुपर्छ भन्थ्यो । उसको रगत खेर नजाओस्, यहाँका पार्टी र जनताले यो कुरा नबिर्सुन् ।' हालसम्म सहिद घोषणा नगरिएको र राजधानी पनि नबनेको भन्दै उनले दुःख पोखे ।

‘मेरो एउटा छोरो गुम्यो, अब यस क्षेत्रका अरू हजारौं छोराछोरीले दुःख नपाउन्', मृतक विसीकी आमा इन्द्रमाया बुढाले भनिन्, ‘उतिबेला सहिद बनाउँछौं, सालिक बनाउँछौ भने तर अहिलेसम्म हामीलाई भेट्नसमेत कोही आएका छैनन् । हामी त छाती फुलाएर हिँड्न सक्नुपर्ने हो तर शिर झुकाउनु परेको छ ।'

छोरा गुमाउनुको पीडा हुँदाहुँदै सुर्खेत राजधानी बनेको खण्डमा सबैभन्दा ठूलो खुसी प्राप्त हुने यो परिवार बताउँछ । इन्द्रमाया भन्छिन्, ‘हाम्रा आफन्तको रगत खेर नजाओस्, तत्काल मृतकलाई सहिद घोषणा गरियोस् ।' आन्दोलनमै ज्यान गुमाएका रजवारको परिवार पनि यतिबेला निराश बनेको छ । मृतक रजवारकी बुहारी अञ्जुले भनिन्, ‘रगतको अबमूल्यन भयो, अहिले सबै मौन बसेका छन् । सामूहिक मुद्दामा उहाँहरूको ज्यान गएको हो, तर हामी अहिले एक्लै भयौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.