दार्जिलिङमा जिउँदा भानु
बर्खामा दार्जिलिङलाई भेल पहिरोले पिरोलिरहन्छ । यस वर्ष पनि मनमा शान्ति छैन । ढिस्कोले पुर्ने डरका बीच चौरस्ता भरिन्छ असार २९ अथवा भानु जयन्तीमा । यस पटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी उपस्थित भए । उनले भानुभक्तलाई प्रेरणाको स्रोत मान्दै प्रशंसा गरे । भानुभक्तको सालिकमा फूलमाला चढाएपछि राष्ट्रपति मुखर्जीले भने ‘कवि भानुभक्त नेपाली भाषालाई उन्नतिको शिखरमा पुर्याउने स्रष्टा थिए ।'
पश्चिम बंगालको सूचना एवं संस्कृति विभागले भानुको पूर्ण कदको सालिक अघि उभिएर उनकै लयमा लय थपे मुख्यमन्त्री ममताबेनर्जीर राज्य पालहरूले भानुप्रतिको सम्मान र उनको योगदानको चर्चा गरे । ‘आजको दिन कञ्चनजंघा पनि हाँसेको छ', ब्यानर्जीले भनिन् । नेपाली भाषी भारतीय भानुलाई साहित्यका सकल तीर्थ मान्छन् । पहिले चौरस्तमा मात्र मनाइने भानुजयन्ती अचेल गाउँ पुगेको छ । विद्यालय, संघसस्था र साहित्यिक प्रतिष्ठानले उनको सम्झनामा बहस चलाउँछन्, रामायण र उनका अन्य कृतिका श्लोक वाचन हुने गरेको छ ।
साहित्यकार र साहित्यानुरागिका लागि भानु जयन्तीलाई पर्वको रूपमा मनाउने गरेको बताउँछन् दार्जिलिङका साहित्यकार रोशन आदित्य राई । उमेर ७७ पुगेका अर्का साहित्यकार कर्ण थामीले भानुभक्तलाई चेत खुलेदेखि शिरमा राखेर हिँडेका छन् । नेपाली साहित्य सम्मेलनका अध्यक्ष थामीले भानु जयन्तीमा सरकारी कार्यक्रमको समानान्तर भव्य कार्यक्रमको आयोजना गरे । बिहानै दार्जिलिङ सहरमा शोभायात्रा, दिउँसो अन्तरसंवाद र कवितावाचनसहितको कार्यक्रम आयोजना गरे । उनले भने, ‘भानु विश्वभरका नेपालीका साझा कवि हुन् कसैले कम आँक्ने प्रयास नगर्नू ।'
दार्जिलिङका साहित्यिक गोष्ठीमा बाक्लै फेला पर्ने थामीले पछिल्लो समयमा भानुको सालिक सार्ने कुरा गर्नेसँग निक्कै रिसाएका छन् । उनले भने ‘चौरस्तको सालिक चलाउने प्रयासमात्र भयो भने कसैको सत्ता रहने छैन ।' दार्जिलिङमा कहिलेकाहीँ चौरस्तको सालिक सार्ने चर्चा हुने गरेको छ । थामीजस्ता सष्टाहरू त्यसको विपक्षमा रहेका छन् । ७७ को पोयामा दौडिरहँदा उनका २३ पुस्तक बजारमा आएका छन् । ‘जागिर खान खोजिएन, लेखेरै बित्यो', चोक नजिकको चिया पसलमा चियाको चुस्कीसँगै थामीले सुनाए, ‘भानुकै मेसोमा हिँड्ने प्रयास गर्दै छौ ।'
मनप्रसाद सुब्बा, मोहन थुलुङ, विन्दा सुब्बाका हारका सर्जक थामीले नेपालजस्तै सार्वभौम माटोमा साहित्य सिर्जना गर्ने चाहना पूरा नभएकोमा गुनासो गरे । ‘हामी त डोमिनेट छौ ।' थामीले सुनाए, ‘धन्य भन्नुपर्छ राम्रै कृति निकालेका छौ ।'
साहित्यले भूगोलको सीमा स्वीकार नगर्ने भएकाले नेपाल र भारतको साहित्यिक गतिविधिलाई जोड्नुपर्ने उनको चाहना छ । भूगोल बेग्लै भए पनि भाषा एउटै छ । वारिपारिलाई जोड्ने काम स्रष्टास्तरबाटै सम्भव हुने उनको तर्क छ । ‘सर्जकहरू सम्बन्धको सेतु बन्न सक्नुपर्छ', उनको भनाइ छ । भानु त्यही राजनीतिक भूगोलको सीमा तोडेर भाषिक, साहित्यिक र सांस्कृतिक चेतनाका सेतु बनेको उनको बुझाइ छ ।
रोशन आदित्य राई चाहिँ भानुभक्तलाई दार्जिलिङले चिनाएको ठान्छन् । सन् १९५० को दशकमा भानुको सालिक चौरस्तमा ठडिएपछि भानुको पुनर्जन्म भएको उनले बताए । रामायणले भाषिक, सांस्कृतिक र सामाजिक एकीकरण गरेकोले पनि उनलाई सम्मान गर्छन् भारतका नेपाली भाषी । ‘भानुको योगदानलाई सम्झेर सामाजिक, भाषिक सांस्कृतिक एकीकरण छ', कविता र कथाका पाँच पुस्तक प्रकाशन गरिसकेका राईले भने ।
भानु जयन्तीका अवसरमा दार्जिलिङमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै भारतीय राष्ट्रपति प्रणव मुखर्जीलगायत ।
एक करोड ५० लाख भारतीयले भानुलाई पलपलमा सम्मान गरिरहने राईको भनाइ छ । ‘हामी भारतको राष्ट्रियता भएका नेपाली हौ । हामी सबै भानुलाई शिरमा राखेर हिँड्ने गरेका छौ', उनले भने । सिक्किम, आसाम, मनिपुर, नागाल्यान, बिजोरम, दिल्लीलगायत विभिन्न स्थानमा भानुजयन्ती मनाएको पाइन्छ । साहित्यकार लेखकको जात धर्म हुँदैन भन्ने विचार उनीहरूको छ । दार्जिलिङ भानुलाई भूगोलको सिमानाबाट उठाएर अन्तर्राष्ट्रियकरण गर्न चाहेको बताउँदै राईले रामायण भावानुवादमात्र नभएर मौलिक रचनामा भएको भारतीय नेपालीको बुझाइ रहेको बताए ।
दुई वर्षदेखि राज्य सरकारले समेत भानुजयन्ती मनाउन थालेको छ । यस पटक चौरस्तमा सरकारले कार्यक्रम नै आयोजना गरेको थियो । गोर्खा टेरिटोरियल एड मिनिस्टेटिभले आउँदो २२ तारिक मनाउने योजना रहेको छ । भानुजयन्ती यस वर्ष पनि पर्वकै रुपमा सम्पन्न भएको उल्लेख गर्दै राईले भने ‘नेपाली जातिको जातीय पर्वको रूपमा मनाइन्छ यहाँ ।'
सालिक फिर्ता देऊ
नेपाली साहित्य सम्मेलनले निक्कै मेहनत गरेर चौरस्तमा स्थापना गरेको भानुको अर्ध कदको सालिक २४ वर्षअघि टाउको काटेर बेपत्ता पारिएको थियो । यो घटनाले नेपाली भाषीलाई चोट पुर्यायो । सम्मेलनका अध्यक्ष कर्ण थामी अहिले पनि त्यही सालिक खोजिरहेका छन् ।
पहिलेको सालिक सूर्यविक्रम ज्ञवालीको प्रयासमा १७ जुलाई १९४९ निर्माण भएको थियो । थामीका अनुसार ज्ञवालीले मेहनत गरेर आठ÷आठ फुटको जग्गा सरकारसँग मागेर सालिक बनाउने चाँजो मिलाएका थिए । नर्वेली कलाकारले सालिक बनाइदिएका थिए । समय बित्दै गयो । यही समयदेखि भानुजयन्ती पर्वकै रूपमा मनाउन थालिएको हो । नेपाली भाषालाई माया गर्नेहरूका लागि चौरस्त तीर्थजस्तै बनेको छ ।
थामीले गुनासो सुनाए ‘हामी नेपाली गार्खा भन्छौ । हामी अरूबाट शासित छौं अहिले पनि । हामी माटोसँगै आएका हो । हामी शरणार्थी होइनौं । पृथ्वीनारायण शाहले जितेको भूमि हो । बेलायतको जालझेलले भारतमा गाभियो ।' सरकारको विभेदले पहाडमा भाषा, साहित्य र जागरणको चेतना थप्यो । एक्लो ठान्ने भारतीय नेपालीलाई भानुका सरल र मर्मस्पर्सी काव्यहरू साथी बन्न थाले । ‘हाम्रो साहित्य , भाषाले पनि भारतका अन्य जात र समुदायले पाएको जस्तै सम्मान पाउनुपर्छ भनेर मान्न थाल्यौ', थामीले भने ।
अपहरणको आभास
स्वर्णभूमि दैनिकका पत्रकार मोहन लामाले सरकारले चौरस्तमा गरेको कार्यक्रम बंगाली पारामा आयोजना गरेको आरोप लगाए । उनका अनुसार कामी, दमाई, सार्कीलाई बेग्लाबेग्लै विकास बोड दिने काम पनि त्यही मञ्चबाट भयो । विमल गुरुङले एकताका प्रतिक भानुको जन्मजयन्ती मनाउने कार्यक्रममा जातको नाममा विभाजन गरेको आरोप लगाएको छ । गोजमुमोले यसको विरोध गरेको छ । गोजमुमोको युवा मोर्चाले सो कदमको विरोधमा पोस्टरिङ थालेको छ ।
कार्यक्रममा कार्यक्रम सञ्चालकबाहेक सबैले हिन्दीमा बोलेका थिए । जीटीए चिफ विमल गुरुङलाई पनि एक शब्द बोल्ने मौका नदिएकोमा नेपाली भाषिको मन भाँचिएको छ । यसलाई जातीय विभाजनको खेल भनेर मुख्य मन्त्री ममता ब्यनर्जीको आलोचना सरु भएको छ । मुख्यमन्त्री ब्यनर्जीले भानु जयन्तीलाई अपहरण गर्ने प्रयास गरेको नेपाली भाषीको आरोप छ । बंगाल सरकारले भानुलाई टेकेर राजनीति गरेको लामाले बताए । विमल गुरुङले जसले एकताको सूत्रमा बाँधेका थिए उनकै जन्मदिनमा फुटाउने काम भएको भन्दै विरोध गरेका छन् ।