शतकमा मिसवाहको कीर्तिमान

शतकमा मिसवाहको कीर्तिमान

एजेन्सीः पाकिस्तानका क्रिकेटर मिसवाह उलहक टेस्ट क्रिकेटमा शतक बनाउने सबैभन्दा बढी उमेरका कप्तान पनि बनेका छन्।

इङ्ल्यान्डविरुद्धको चार टेस्टको शृंखलाअन्तर्गत पहिलो खेलको पहिलो दिन मिसवाहले उक्त कीर्तिमान बनाएका हुन्। उनी एक सय १४ रन बनाएर आउट भए।

मिसवाहले ४२ वर्ष ४७ दिन उमेरमा टेस्ट शतक बनाएका हुन्। यसअघि उक्त कीर्तिमान अस्ट्रेलियाका बब सिम्पसनको नाममा थियो। सिम्पसनले ४१ वर्ष तीन सय ५९ दिन उमेरमा उक्त सफलता हात पारेका थिए।

मिसवाहले १० औं टेस्ट शतक बनाएका हुन्। ६२ औं टेस्ट खेलिरहेका मिसवाहले यसअघि ३२ अर्धशतक पनि बनाएका छन्। मिसवाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ६२ खेल खेले पनि शतक बनाउन सकेका छैनन्।

उनको नाममा ४२ एकदिवसीय अर्धशतक छ। उनले टेस्ट क्रिकेटमा अधिकतम एक सय ६१ रन (अविजित) को पालीसम्म खेलेका छन्।

मिसवाहले ४० वर्ष कटेयता मात्र चार टेस्ट शतक बनाएका छन्। कप्तानका रूपमा आठ टेस्ट शतक बनाइसकेका मिसवाहले राष्ट्रिय कीर्तिमान पनि तोडेका छन्।

यसअघि इन्जमाम उलहकले पाकिस्तानको टेस्ट कप्तान रहँदा सर्वाधिक सात शतक बनाएका थिए। यसैगरी क्रिकेटको मक्का मानिने लर्डसमा ९० वर्षपछि सबैभन्दा पाका उमेरका टेस्ट खेलाडीले शतक बनाएका हुन्। टेस्ट क्रिकेटमा मिसवाहभन्दा बढी उमेरका पाँचजना ब्याट्सम्यानले शतक बनाएका छन्।

अझ महत्वपूर्ण तथ्य त के छ भने मिसवाहले यसअघि इङ्ल्यान्डमा एउटा पनि टेस्टमा ब्याटिङ गरेका थिएनन्। पाकिस्तानले पहिलो पालीमा तीन सय ३९ रन बनाएको छ।

६ विकेटमा २८२ रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको पाकिस्तान पहिलो सेसनमै अलआउट भयो। मिसवाहबाहेक असाद सफिकले ७३, प्रारम्भिक ब्याट्सम्यान मोहम्मद हाफिजले ४० र पूर्वकप्तान युनिस खानले ३३ रन बनाए। मिसवाह र असादले पाँचौं विकेटका लागि शतकीय साझेदारी गरेपछि भ्रमणकारी टोली पाकिस्तान सम्हालिएको थियो।

यी दुईबीच एक सय ४८ रनको साझेदारी भयो। टेस्ट क्रिकेटमा मिसवाह र सफिकबीच सातौंपटक पाँचौं विकेटका लागि शतकीय साझेदारी भएको हो।

सफिक र मिसवाहको साझेदारीलाई क्रिस ओकेसले तोडेका थिए। पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको पाकिस्तान सान मसुद र अजहर अली समान सात रनमा पवेलियन फर्किएपछि केही समय दबाबमा देखिएको थियो। त्यसपछि युनिस र मिसवाहबीच पनि चौथो विकेटका लागि अर्धशतकीय साझेदारी भयो।

बलिङतर्फ इङ्ल्यान्डका ओकेस एक्लैले ६ विकेट लिए। स्टुवार्ट ब्रोडले तीन र पहिलो टेस्ट खेलिरहेका ज्याक बलले एक विकेट हात पारे।

पाकिस्तानका तेज बलर मोहम्मद आमिर यति बेला निकै चर्चामा छन्। सन् २०१० मा इङ्ल्यान्डमै भएको टेस्ट शृंखलामा स्पोट फिक्सिङ गरेको आरोपपछि आमिरले पाँच वर्षको प्रतिबन्ध भोग्नु परेको थियो।

यो अभियोग लाग्नुअघिसम्म आमिर विश्व क्रिकेटकै होनहार युवा बलर मानिन्थे। यसै वर्ष पाकिस्तान टोलीमा फर्किएका आमिरले प्रतिबन्धपछि इङ्ल्यान्डमा खेल्न लागेको यो पहिलो अवसर हो।

प्रतिबन्धपछि आमिर क्रिकेटमा फर्किएको विषय अझै पनि विवादित छ। उनलाई खेल्न दिन हुने र नहुने पक्षमा मतभिन्नता देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.