मेसीः सेक्स बम अफ् फुटबल

मेसीः सेक्स बम अफ् फुटबल

कवि नभएको भए ?
‘ओलम्पिक खेलकुद प्रतियोगिता हेर्नको लागि मात्र भए पनि चार वर्ष बढी बाँच्न मन लाग्छ,' डायरी लेख्ने बानी परेको कुनै एक रात मनबाट फुत्त निस्केको थियो यस्तो वाणी। अचानक लेखिएका थिए यी शब्द पानामा। हृदयको एक सङ्लो बोल थियो यो, एक अजीबको चाहना। अहिले थप्न मन लाग्छ, व्लर्ड कप फुटबल र व्लर्ड कप क्रिकेट हेर्न पनि थप चार वर्ष बाँच्ने रहर हुन्छ। रहरैरहरको माला लाउने रहर। अरू रहरहरू त झन कतिकति।

अरू रहरहरू एकैछिन वा सधैँभरिको लागि बिर्सिएर खेल प्रतियोगिता हेर्ने रहरको कुरा गर्ने हो भने पनि म अजम्बरी बन्नेछु, किनकि यी खेल प्रतियोगिताहरूको सिलसिला अटुट रहनेछ। तर, कुनै दिन चार वर्षको त कुरै टाढा एक सेकेण्ड समय थमौती गरिदिन पनि जीवनले ठाडै अस्वीकार गर्नेछ र म सदाको लागि समाप्त हुनेछु। जीवनले चुनीचुनी उमेरका बयालिस महत्वपूर्ण विकेट झारिसक्यो, तर जीवन बाँच्ने इच्छा यसरी थपिदै जाँदो छ।

खेलप्रतिको मेरो गहिरो अभिरुची प्रकट गर्न सायद यी शब्दहरू पनि कमजोर हुनसक्छन्। साहित्य प्राथमिक छनौट हुनुपूर्व मेरो लागि खेल नै जीवनको अभिन्न पाटो थियो। अविधामा जीवन खेलमय थियो। कतिसम्म भनेँ, लेखेर कमाएको सानोतिनो सम्मान कहिलेकाहीँ खेलेर गुमाउँथेँ। पातलो ज्यानमा खास तडी थिएन तसर्थ खेलमा अलि बढी नै ‘एग्रेसिव' थिएँ।

भिटामिन बी र पेनकिलर खाएर मरीमरी म्याच खेल्थेँ। राष्ट्रिय खेलमा पनि डोपिङ टेस्टको डर नहुने देशमा स्थानिय वा क्षेत्रीय खेलमा निषेधित औषधी सेवनबारे कसले चासो लिनु ? अहिले आत्मसमीक्षा गर्छु, त्यो बेला ‘किलर इन्स्टिङ्ट' हावी रहेछ, आवश्यकताभन्दा बढी उत्तेजनाको कारण धेरै खेलहरू हारिएको हुनुपर्छ।

टिमका साथीहरू मलाई हूरीबतास टिमको क्याप्टेन भन्थे। जहाँ जान्थ्यौँ आँधी लिएर जान्थ्यौँ, तर कहिलेकाहीँ शान्त भएर फर्किनु पथ्र्याे। घर पस्ने बेला बा–आमालाई हाम्रो अनुहार हेरेरै थाहा हुन्थ्यो, छोराहरू खेल हारेर फर्किए।

पछि बिस्तारै कविताको खेल मैदानमा उत्रिन थालेँ, शारीरिक खेलहरू छोड्दै गएँ। मनमा भने सदा खेलप्रतिको अगाध प्रेम छ, तसर्थ प्रत्यक्ष वा टिभीमा अरुको खेल हेरेर आनन्दित हुने प्रयत्न गर्छु। सोच्छु, मानौँ म त्यही बुढो गोरु हुँ जो कोरली गाइसँग बहर जिस्किएको देखेर आनन्द लिन्छ। अब सायद अरू कुनै उपाय बाँकि छैन।

प्रोजेक्टरमा गेम सकिँदानसकिँदै ब्राजिल र फ्रान्सका स्थानिय समर्थकहरूबीच मुक्कामुक्की सुरू भै हाल्यो। हाम्रो भागाभाग। केही भाइहरू लाखापाखा भएकोले फर्किन समस्या भो। कुश्माको डिलमा भेट भएर कल्लेरीको ओरालो झर्दा अन्धमुस्टी अँध्यारो थियो।

खेललाई एक बलियो जीवन प्रवृत्ति मान्न मलाई मनोवैज्ञानिक स्टान्ले हलले सिकाउनु परेन। स्वअनुभवले सिकायो। मनोविश्लेषणको सिद्धान्तमा फ्रायडले खेललाई दमित इच्छाहरूको प्रकटिकरण गर्ने माध्यम मानेका छन्। जसरी पनि जित्नु मानिसको दमित इच्छा हो।

चेतनमा प्रत्यक्ष नभेटिए पनि मानिसको अचेतनभरि यही हुन्छ र छद्म रुपमा प्रकट भइरहन्छ। फ्रायड पढेर विश्लेषण गर्न सिकेपनि यो अनुभव मैले खेलेरै आर्जन गरेको हुँ। कतिपय विश्लेषकहरू खेलले बच्चाहरूको भविष्यको संकेत गर्ने कुरा गर्छन्। भन्छन्, ‘खेलमार्फत् बच्चाहरूले भविष्यको तैयारी गरिरहेका हुन्छन्। पूर्व अभिनयको सिद्धान्तले भन्छ, ‘खेलले बच्चाहरूलाई जीवनको लागि अत्यावश्यक अभिनय गर्न सिकाउँछ।'

म पनि सानोमा दिदी र दौँतरीसँग मिलेर भाँडाकुटी खेलेको छु। माटोको भात, माटोकै दाल र माटोकै मासु पकाएर केराको पातमा पस्केर खाएको अभिनय गरेको छु, खुवाएको छु। बेहुला पनि भएको छु। बाँसको लठ्ठी समाइ मास्टर भएर दौंतरीहरूलाई पढाएको पनि छु। बा भएर आफ्ना सन्तानहरूलाई सम्झाएको छु, जीवनका अभिनयहरू।

फुटबल लिजेण्ड पेले भन्छन्,'खेलाडी नभएको भए म अभिनेता बन्थेँ।' तर उनले बुझेका थिए, खेललाई धर्म मान्ने उनी फुटबल खेल्नको लागि नै जन्मेका थिए, जसरी बिथोविन संगीतका लागि र माइकलेन्जेलो पेन्टिङको लागि। यो उनको आफ्नै स्वीकारोक्ति। जब यावत कुराहरू स्मृतिमा आउँछन्, लाग्छ– सायद लेखक नभएको भए म खेलाडी बन्थेँ।

फुटबल लव अफेयर
भर्खरै कोपा अमेरिका र युरो कपका पछिल्ला संस्करण सकिएका छन्। कोपाले मेसीजस्तो महान् खेलाडीलाई निरास पारिदिएको छ। अर्जेन्टिनालाई ठूलो उपाधी दिलाउन चौथोपटक असफल भएपछि मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। उनीबिनाको अर्जेन्टाइन स्क्वाड धेरै खेल पारखीहरूको झैँ मेरो पनि कल्पनाबाहिर छ।

राष्ट्रपति र म्याराडोनालेसमेत उनलाई सन्यास फिर्ता लिन आग्रह गरेका छन्। मेसीको अहिलेको खेल तथ्यांकले बताउँछ– उनको खेल जीवनको ‘कर्भ' अझै उकालो चढिरहेछ। प्रदर्शनमा ‘पठार' नै भए पनि त्यो विश्व हल्लाउन काफी छ। र, यहीबेला उनको राष्ट्रको तर्फबाट नखेल्ने घोषणाले दुनियाँ स्तब्ध छ। म स्तब्ध छु।

खेल पत्रकार हिमेशका शब्दमा अर्जेन्टिनी फुटबल नेपाली समर्थकको ‘फस्र्ट लभ' हो। मेरो पनि पहिलो फुटबल प्रेम अर्जेन्टिना नै रह्यो। नेपालमा भर्खर भर्खर टिभी भित्रिएको समय विश्व फुटबलमा म्याराडोनाको दादागिरी थियो। दाइहरूबाट म्यारोडोना सुनेँ। उनको बारेमा पढेँ। सुनेको र पढेको आधारमा नै मेरो दिलदिमागमा उनको चित्र सम्मोहनकारी बनेर छापियो। टिभिमा पहुँच नभएकाले उनका चमत्कारहरू हेर्न भने पाइन। उनकै शब्दमा भगवानको हातले गरेको गोल र हाफ लाइनबाट एक्लै लगेर हानेको गोल पनि हेर्न पाइनँ।

फिल्म डाइरेक्टर एमिर कुस्तुरिका म्याराडोनालाई ‘सेक्स पिस्टल अफ् इन्टरन्यासनल फुटबल' मान्छन्। उनले पड्काएको पिस्तोलको सुट त के आवाजसमेत सुन्न पाइनँ। अलेली टिभिमा पहुँच हुँदै थियो, १९९४ को व्लर्ड कपमा उनी डोपिङमा परे, इफेड्राइन लिएको आरोपमा। म निरास भएँ। पछि बाटिस्टुटाको जुल्फी र स्कोरिङ क्षमताले तान्यो। ओर्टेगा मन परे। यसको अर्थ अरू फुटबलर मन परेनन् भन्ने होइन।

रोनाल्डो, जिदान, काका, फिगो, राहुल, कार्लोस, रोनाल्डिन्हो, वेकहम पनि मन परे। अहिले क्रिस्चियानो रोनाल्डो, नेइमार, इब्राहिमोविच, बाले, बुफोन आदिको जादु मन पर्छ तर सर्वाधिक मन पर्ने त मेसी नै हुन्। देशलाई ठूलो उपाधी दिलाउन नसक्नु, उनको दुर्भाग्य तर उनले फुटबलको इतिहासमा कायम गरेका उपलब्धि असामान्य छन्।

पेले र म्याराडोना आफू जितेर देशलाई जिताएका महान् फुटबलर थिए। पेलेले तिनपटक र म्याराडोनाले एकपटक देशलाई विश्वकप दिलाए। सबै महान् खेलाडीको भागमा यस्तो संयोग मिल्दोरहेनछ।

यदि २०१८ को व्लर्ड कप नखेल्ने नै हुन् भने मेसी एक उदाहरण बन्ने भए। यो उनको लागि र उनका फ्यानहरूको लागि दुर्भाग्यपूर्ण छ। तर देशलाई जिताउनु वा नजिताउनुले मात्र खेलाडीको महानता पुष्टि हुने समय होइन यो। पाँच पटकसम्म फिफा प्लेयर अफ् द इयर, उनको व्यवसायिक जीवनको गोल संख्या, उनले गोलको लागि रचना गरेका अवसर, उनको ड्रिवलिङ शैली, बायाँ खुट्टाको जादुयी फ्रि किक, फेयर प्ले र भद्रताले मेसीलाई महान् प्लेयर बनाइदिएको छ।

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाको लगातारको हारपछि मेसीको जमेर आलोचना भयो। देशलाई जिताउन नसकेकैले मेसी महान् होइनन् भन्ने निश्कर्षहरू आए। यस्तो निश्कर्ष ‘लियो टल्सटोय, गोर्की, चेखव, लु शुन, प्रेमचन्द, देवकोटा, पारिजात आदिले देशलाई नोवेल प्राइज जिताउन नसकेर महान् लेखक भएनन' टाइपको कुरा हो। उनी पेले र म्याराडोनाझैँ नै लिजेण्ड्री प्लेयर बन्नबाट उनले फाइनलमा ‘पेनाल्टी सुट आउटमा गरेको गल्ती' र उपाधी जिताउन नसकेको कुराले रोक्दैन। यस्ता गल्ती कैयौँ महान् खेलाडीहरूबाट अनगिन्ती भएका छन्। कुनै पनि ठूला प्रतियोगितामा तिन–तिन पटकसम्म देशलाई फाइनल यात्रा गराउनु पनि कहाँ चानचुने कुरा हो र ? ओलम्पिक जित्दा उनी अर्जेन्टिनाका सदस्य थिए नै।

अचेल युट्युबमा म्याराडोनाको खेल हेरेर चमत्कृत हुन्छु। मिचेल प्लाटिनी भन्छन्, ‘जिदानले बलसँग जे गर्न सक्छ, म्याराडोनाले त्यो सुन्तलाको गेडासँग गरिदिन्छ।' तर मलाई म्याराडोना मेसीजति असल लाग्दैनन्। एकपटक कोकिनको लती यी बिवादप्रेमी फुटबलरले पेलेसँग ‘प्लेयर अफ द सेन्चुरी' अवार्ड बाँड््न इन्कार गरिदिए। पब्लिक भोटिङमा पैह्रो जाने अन्तरले उनले पेलेलाई जितेको सत्य थियो तर म्याराडोनाका धेरै म्याचका भिडियो उपलब्ध भएको विश्वमा पेलेका म्याचका भिडियो हेर्न नपाएका दर्शकहरूको बर्चस्व छ। पब्लिकले पेलेलाई भोट नगर्नु स्वभाविक थियो।

सन्काहा म्याराडोनाले मतलाई बढी विश्वास गरे जबकि बाह्र सय एकासी गोल, तिन पटक व्लर्डकप टाइटल र १३६२ खेल खेलेर पनि ०.९४ स्कोरिङ रेट कायम गर्ने पेलेको तथ्याङ्क अनुपम छ। एक अग्रजको रुपमा पेलेलाई सम्मान त उनले गर्न सकेनन् नै उल्टै पेलेबिरुद्ध अप्रिय टिप्पणीहरू गरिरहे।

फुटबलका यी दुई बादशाहहरूले एकअर्काबिरुद्ध राखेका टिप्पणीहरू रोचक पनि छन्, कुण्ठाको वान्ताजस्ता पनि लाग्छन्। दुईमध्ये को महान् भन्ने जिज्ञासामा पेले म्याराडोनाको दायाँ खुट्टे र हेड गोलको संख्याप्रति व्यङग्य कस्छन्। उता म्याराडोना झोकिन्छन्, ‘तपाईँ किन मलाई पेलेसँग तुलना गर्नुहुन्छ ? मेरी आमा भन्छिन् कि म बढी बलियो छु र यो पनि कि ऊ ति खेलाडीहरूसँग खेल्यो जो चल्न समेत सक्दैनथे।'

म्याराडोनाका अभिव्यक्तिमा स्टन्ट पाउँछु, जबकि मेसी मलाई अत्यन्त भद्र लाग्छ। मेरो विश्लेषणमा मेसी समकालीन फुटबलको सेक्स पिस्तोल मात्र होइन सेक्स बम नै हो। ऊ ब्याड ट्याकलिङ नगर्ने, अरूलाई नहोच्याउने र फेयर प्लेमा विश्वास गर्ने खेलाडी पनि हो। यसकारण म उसलाई सबैभन्दा महान् समकालीन फुटबलर मान्छु।

मलाई थाहा छ, मेसीलाई माया गर्नुको अर्थ रोनाल्डोलाई घृणा गर्नु वा भाइस भर्सा होइन। खेलाडीको पर्फर्मेन्सलाई पर्गेल्न यस्तो एक्सट्रिमबाट विल्कुल मुक्त हुन जरुरी छ। रोनाल्डोलाई थाहा छ, मेसी उसको सबैभन्दा खतरनाक प्रतिस्पर्धी हो तर ऊ नै भन्छ, ‘म मेसीको आँसु देख्न सक्दिनँ।' जो सुकै होस्, मलाई मानिसको यस्तै असलपनले पगाल्छ।

यसरी मेरो अर्जेन्टिनासँगको फस्र्ट लव अफेयर जारी छ। मेसी रहने समयसम्म त्यसको अन्त हुने छैन।

खाँदैन बाघले घाँस
कति गजब हुँदो हो, जब एक प्रतिष्ठित खेलाडीको रुपमा कोही पत्रकार मसँग सोध्दो हो, तपाईंको फुटबल प्रेम कसरी सुरू भयो ? म भन्दो हुँ, ‘आम ग्रामिण बालकझैँ बाको मोजाको बल र चाउरिएका भोगटेबाट मेरो फुटबल करिअर सुरू भएको हो।' स्थानिय स्तरको समेत राम्रो फुटबल खेलाडी बन्न नसकेकाले अब कोही पत्रकार मसँग यस्तो प्रश्न सोध्ने छैन। तसर्थ लेखिरहेछु।

गाउँमा छालाको आकर्षक भकुण्डोसँग भेटघाट गर्ने अवसर धेरै ढिला प्राप्त भयो। त्यतिबेलासम्म खुट्टाका जोर्नी लचकदार हुन छोडेर सुपरग्लु टाँसिएको जुत्ताझैँ दरा र अररा भैसकेका थिए। लाबरको बल समेत उपलब्ध नहुने उमेर, बाका मोजामा टालाटुली वा कागज कोचेर बल बनाउँथ्यौँ।

कसकास गरेर त्यसको मुख मसिनोसँग सिएपछि केटीचौर वा कुकुरगाडे गएर सिधै प्रतिस्पर्धामा भिडिन्थ्यो। खेलाडी सबै स्ट्राइकर। डिफेन्स त कोही खेल्नै नमान्ने। गोलकिपर हुनु त महान् बेइज्यती भै हाल्यो। चप्पलको गोलपोष्ट बनाएर ‘खेल सुरू' भनेपछि भाकभुक सुरू हुन्थ्यो। खेलाडीहरू माहुरी झैँ बल वरिपरि डल्लो पर्थे। हात धेरै र खुट्टा कम चल्ने भएकोले एकैछिनमा मैदानभरि पाहाझैँ पछारिने खेलाडीको संख्या खडा हुने खेलाडीको भन्दा धेरै हुन्थ्यो। न्वारनदेखिको बल खिचेर झुम्राको बललाई गरेको किक ठाउँमा नलागेर साथीको हड्डीमा जोतिन्थ्यो। हड्डी नै टङ्टङ् बज्थ्यो। अनि सुनिन्थ्यो घाइतेको चित्कार र रुवाबासी– ऐया बा, मा¥यो नी सालाले।

बिचरा ऊ रुदैँ साइड लाग्थ्यो तर भोक प्यासले आलसतालस भकुण्डोबाजहरूको खेल भने साँझसम्म जारी नै रहन्थ्यो। बर्खायाममा भने चाउरिएको भोगटे उपलब्ध हुन्थ्यो, जुन झुम्राको बलभन्दा ठूलो र गरुंगो हुनुको कारण खेल्न कर मिल्ने।

साथीलाई झुक्किएर पास दिन वा गोल हान्न बल नामको भोगटेलाई जोडले किक गर्दा खुट्टा जमिनमा जोतिएर हप्तादिनभरि हल न चल भइन्थ्यो। अझैसम्म गहिरो सम्झना छ, जब टिकिन इण्डिया गएर गोल सेलिब्रेट गर्ने ‘वाइल्ड' तरिका सिकेर आयो, केटीचौरमा ठूलो समस्या सुरू भयो। गोल ठोक्यो कि ह्यायायाया.... गर्दै भुईँमा घुँडा जोत्नुपर्ने। कि साथी किक्लीकिक्ली हुनेगरि उसको काँधमाथि उफ्रिनुपर्ने। यस्तो सेलिब्रेसनले जख्मी बढाउन थालेपछि चराले पखेँटा फिजाएजस्तो पूरै मैदान दगुरेर खुसी मनाउन पनि सिकियो।

अचम्म लाग्छ, हाम्रो फुटबलको नियममा ब्याक पास भन्ने कुनै सीप हुँदैनथ्यो। बरू बिपक्षीको खुट्टामा पुगोस, तर ‘खाँदैन घाँस बाघले' भनेजस्तो जुन काइदाले भनेपनि भोगटे अगाडी नै ठोक्नुपर्ने। टिभिमा पहिलापहिला फुटबल हेर्दा ब्याक पास दिने खेलाडीहरू एकदम लाछी लाग्थे।


व्लर्ड कप र पागलपन
आवाजको जादुगर ओशोले ‘बुक्सः आइ हाभ लब्ड'मा भन्छ, ‘यदि तिमी थोरै पागल छौ भने तिमीले निश्चित रुपमा जीवनबारे थोरै बुझ्ने छौ, तर यो केही नबुझ्नुभन्दा बढी राम्रो हुन्छ।'

मैले हेरेको पहिलो व्लर्ड कप १९९८ मा फ्रान्समा सम्पन्न सोह्रौँ व्लर्ड कप थियो। पोखरामा कवि मित्र ध्रुब श्रेष्ठजीले केही समय मेरो कोठामा थन्काउनुभएको ब्ल्याक एण्ड ह्वाइट टिभीमा प्रायः खेलहरू हे¥यौं। क्वाटर फाइनलमा मस्ट फेवरेट बाटिस्टुटाको अर्जेन्टिना इंग्लण्डसँग हारेपछि निरासजस्तो भयौँ र ब्राजिलको पक्षमा लाग्यौँ। त्यसपछि खेत रोपाईँको लागि गाउँ जानुप¥यो।

दिनभरि धारिला मकैका डाँठसँग हात–खुट्टा जोगाउँदै खेतको छेउकुना खन्थ्यौँ, आली लगाउँथ्यौँ, समाहा काट्थ्यौँ। मुखमा हिलो पर्ने गरी खनजोतको काम गर्दा पनि दिपिन र मबीच जारी व्लर्डकप र खेलाडीहरूको गफ चल्थ्यो। त्यसले साँच्चै थकाई बिर्सन मद्दत गथ्र्यो।

फुटबलको ज्वरोले सिकिस्त हाम्रो लागि फाइनल खेल हेर्नु नै अचुक औषधी थियो। दुर्भाग्य, खेतको काम छोडेर न पोखरा जानु, न गाउँमा टिभी। टिभीको त कुरै टाढा, गाउँमा बिजुली समेत थिएन। उपाय निकाल्यौँ, कुश्मा गएर फाइनल हेर्ने। दिनभरि कुमालटारीमा हिलोसँग जुधेर दीपिन, टिकिन, डोलिन, किसान, धने र मेखेसँग एक घण्टा उकालो ओरालो गरी कुश्मा पुग्यौं, मध्यरातको म्याच हेर्न। बसन्त फोटो स्टुडियोले प्रोजेक्टरमा म्याच देखाउने भएपछि हाम्रा हड्डी हाँसे। सिमसिम परिरहेको पानीको पर्वाह नगरि सडकमा उभिएरै म्याच हर्र्र्यौंँ।

सेन्ट डेनिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा पचहत्तर हजार दर्शकको भीडबीच भएको उक्त म्याचको पहिलो हाफमा तक्लु जिनेदान जिदानले दुई आकर्षक हेड गोल गरे। ब्राजिलले गोल फर्काउने प्रतीक्षा गरिरहेका समर्थकहरूको आसा त्यतिबेला समाप्त भयो जब अन्तिम मिनेटमा इम्यानुअल पेटिटले तेस्रो गोल थपिदिए। डिफेन्डिङ च्याम्पियन ब्राजिललाई निरास पार्दै फ्रान्सले पहिलोपटक व्लर्ड कप उचाल्यो। जिदान हिरो भए।

प्रोजेक्टरमा गेम सकिँदा नसकिँदै ब्राजिल र फ्रान्सका स्थानिय समर्थकहरूबीच मुक्कामुक्की सुरू भै हाल्यो। हाम्रो भागाभाग। केही भाइहरू लाखापाखा भएकोले फर्किन समस्या भो। कुश्माको डिलमा भेट भएर कल्लेरीको ओरालो झर्दा अन्धमुस्टी अँध्यारो थियो। फाइनल हेर्न पाएको खुसी त गहिरो थियो, तर थकानले उकालोमा नराम्ररी गाँज्यो। घरमा आइ ओछ्यानमा पल्टेका मात्रै के थियौँ, बिहान भैसकेको जानकारी दिन धोबिनी र चिबे चरा कराउन सुरू गरिहाले। यस्तो अनिँद्रा र थकानमा खेतमा हाजिर हुनु बडो तनावको कुरा। मगर मामाले खेत जोतिसक्दा हामी बाउसे कतै ओभानो आलीमा आँखा बटार्दै झुलिरहेका भेटियौँ कतिपटक।

अहिले सम्झिन्छु, फुटबलप्रतिको आशक्ति पागलपनकै हदमा हुर्किएको रहेछ। त्यो पागलपनप्रति गर्व लाग्छ।

फुटबल वा खेलबारे म अर्धपागल नै छु। सौभाग्य वा दुर्भाग्य म पूर्ण पागल भने हुन सकिनँ।

इटहरीमा कवि भर्सेस पत्रकार
दुई वर्षअघि कवि हेमन यात्रीले दुई दिवसिय एक महत्वपूर्ण साहित्यिक कार्यक्रमको निम्ति इटहरी आउन निम्तो दिए। यो कुनै अचम्मलाग्दो विषय थिएन। अचम्म त्यतीबेला लाग्यो जब उनले फुटबल बुट पनि बोकेर आउन अनुरोध गरे।

‘अरे यावा, कविताको कार्यक्रममा कविता त ठिक छ। फुटबल बुट चैँ किन ?' सोधेँ।

‘कवि र पत्रकारको मैत्रीपूर्ण फुटबल प्रतियोगिता'बाट साहित्यिक कार्यक्रम सुरू गर्ने योजना रहेको कुरा पो गर्छन् बा हेमन यावाले ! कविहरूलाई खेल मैदानमै उतार्ने पहिलो निम्तो पाएको थिएँ जीवनमा। कलरवले कवितासँग खेल मिलाएको मलाई अत्यन्त मनप¥यो। एरिष्टोटल बिल्कुल ठिक भन्छन्, साउण्ड माइण्ड इन् साउण्ड बडी। स्वस्थता, कविहरूलाई पनि त चाहिने जिनिस हो। विवससँग मागेको फुटबल बुट कवितासँगै झोलामा कोचेर उत्साहित हुँदै इटहरी पुगेँ।

कविको ‘टिम एघार'मा भूपाल राइ, मनु मञ्जिल, देवान किराँती, केवल बिनावी, अनिल किराँती, जेनन नेपाल, पुरुषोत्तम आचार्य, सुमनराज श्रेष्ठ, छबी अनित्य, हेमन यात्री र म थियौँ। प्राक्टिस गरिरहने पत्रकार साथीहरूको टिम बलियो रहेछ। पहिलो सन्सनीपूर्ण गोल हामीले छिराए पनि पत्रकार साथीहरूको बलियो तालमेलको कारण कविहरूलाई निथ्रुक्क रुझाउने गरि गोलको वर्षा नै हुन थाल्यो।

हामी ‘एण्टी फुटबल' खेल्न बाध्य भयौँ। पत्रकार साथीहरूले आठ गोल गरे, जवाफमा हामीले बढो मुस्किलले तिन गोल छिरायौँ। तीमध्ये कवि केवल बिनावीको सुन्दर पासमा गरेका दुई गोल मेरा थिए। मेरै एसिस्टमा जेननले एक गोल ठोक्यो। केही समय त पैँया छोडेर कुदे कविहरू पनि। तर मध्यान्तर नहुँदै केही कविहरू साइड लागिहाले। प्राक्टिस नास्ती भएकाले मेरो पनि लेघ्रा निस्कन सुरू गयो। धन्न खेलको अन्तसम्म नै टिक्यो ज्यान।

इटहरीमा एकातिर कवि बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सिमान्तिकृत साहित्य र समकालीन कविताबारे बहस चल्यो अर्कोतिर कवितासँग फुटबल जोडियो। फर्कनेबेला सोचिरहेँ, यस्ता अभियानहरू निरन्तर चलिरहनु जरुरी छ।

बहसमा एकले अर्कोलाई सत्तो सराप गरेपनि वा आफूलाई गुलिभर र अरूलाई लिलिपुट देखेपनि यस्ता टिम वर्कले कविहरूको फाटेको मन जोड्न सहयोग गर्छ। प्राचिनकालमा देश बिस्तारको लागि राष्ट्रहरू लडेका लडै गर्थे तर ओलम्पिक खेलको समयमा युद्धबिराम नै गरिन्थ्यो। विचारले विभाजित मानिसलाई सिर्जना र खेलले जोडेकै इतिहास छ।

मेरो विचारमा साहित्य या कविता एक्लो प्रतिस्पर्धा हो, आफ्नैले खडा गरेको पुरानो मानकसँगको। हारजितको जिम्मेदार वा भागिदार कवि आफैँ हुन्छ। कविताको पनि त स्पोर्ट्सम्यानसिप हुन्छ। केही विचारकहरू यसलाई शब्दबिम्वसँगको खेल भन्छन्।

अनुभूति र विचारलाई व्यक्त गर्न शब्द विम्वहरूको खेल खेल्दा सीप शैलीको महत्वपूर्ण भूमिका त हुन्छ नै। कवितालाई ठ्याक्कै फुटबलसँग तुलना गर्नु कठिन छ, तर कविले पनि गोल हान्छ समयको पोष्टमा। एक्लो कवि एकसाथ डिफेन्डर, प्ले मेकर र स्ट्राइकर हो। मेरो विश्लेषणमा गोपालप्रसाद रिमाल नेपाली कविताका पेले र भूपी शेरचन म्याराडोना हुन्। रोनाल्डो, जिदान, फिगो, मेसी को को हुन् ? विश्लेषण आ–आफ्ना होलान्। तर नेपाली कवितामा क्रिस्चियानो, स्वारेज, रोविन, मुलर, ग्रेइजमन आदि पनि छन्। यसकारण नेपाली कविताको खेल विविधताले युक्त छ र उन्नतीको दिशामा छ।

कवि विनोदविक्रम केसीले एक लेख वा वार्तामा भनेको विचार–भाव सम्झना हुन्छ, ‘कवि घरका इट्टाहरू हुन्। एक कवि बलियो भएर कविताको घर बलियो हुँदैन।' जबरजस्त तानेको थियो त्यसले मलाई। सामान्य पाठकले पनि बुझ्छ, कविताको बलियो टिम बनाउन कविहरूको क्षमतालाई निषेध गर्नु हुँदैन।

कसैले निषेध गरिहाले पनि समयले त्यसलाई फेरी सतहमा ल्याएरै छोड्छ। कविता भिडियो रेकर्ड नगरिएका तिनै महान् पेलेका म्याच होइनन्, जो भन्थे, ‘तपाईं जहाँ जानस, सबैले चिन्ने तिन आइकन छन्, जिसस क्राइस्ट, पेले र कोकोकोला।' यसैको सादृष्यमा सिर्जना र फुटबललाई जोडेर हेर्छु, सर्जकले समयको पोष्टमा गरेका आकर्षक गोलहरूलाई कुनै पनि आस्थाको अन्धताभित्र फसेर गोल मान्न इन्कार गरिदिँदा नेपाली सिर्जनाको फुटबल कहाँ मजबुत हुन्छ र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.