पुष्पलालको त्यो बिदाइ

पुष्पलालको त्यो बिदाइ

मैले नेपालका तीन ठूला नेतालाई भारतमा भेटेँ। बीपी कोइरालालाई अमेरिकाबाट औषधि उपचार गरी स्वदेश फर्कन लाग्दा पटना विमानस्थलमा नजिकबाट देखेँ। मैले पत्रकारिता सुरु गर्दा उनको निधन भइसकेको थियो।

अध्ययनकै क्रम र केही हदसम्म पारिवारिक दायित्वका क्रममा बनारस जाँदा पुष्पलालसँग भेट भयो र दिल्लीमा गणेशमान सिंहसँग। गणेशमान सिंहसँग त पत्रकारका रूपमा काठमाडौं र अन्तिम अवस्थामा दिल्लीको अस्पतालमा पनि धेरैपल्ट भेट भयो।

पहिलो र अन्तिम अनि बीच प्रायःजसो सबै भेटमा पीएल सिंह साथै हुने गर्थे। यी तीनै व्यक्तिसँगको पहिलो भेट सन् १९७८ तिरको हो।

बीपी र गणेशमान सिंहको निधन नेपालमै भयो। तर, पुष्पलालको देहावसान दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा भयो, जनरल वार्डमा।

सायद उपयुक्त र पर्याप्त औषधि पनि भेट्टाएनन् कि ! बढी नै स्वाभिमानी लाग्थे, त्यसैले हुनसक्छ उनले आफ्नो व्यक्तिगत उपचारका लागि सरकार या मन्त्री गुहारेनन् भारतमा। 'आमव्यक्ति'कै उपचार र शैली रोजे, जीवन गुमाए। तर इज्जत बचाए, स्वाभिमान बचाए।

पुष्पलालसँग पहिलो भेट बनारसको दुग्ध विनायकमा भएको हो। जगदम्बा धर्मशाला अघिल्तिरको चिया स्टलमा सडकमै काठका बेन्चहरूमा चिया पिउनेको भीड हुन्थ्यो। धेरैजसो नेपाली हुन्थे। म नयाँ विद्यार्थी। तर, सबैले सम्मान र स्नेहपूर्वक व्यवहार गर्थे।

कहिलेकाहीँ त्यो बेन्चमा पुष्पलाल र उनका सहयोगी बलराम शर्मासँग बस्ने मौका पनि जुर्यो। पुष्पलाल अक्सर मेरो अगाडिको पढाइ, इच्छाबारे सोध्थे र सायद मेरो राजनीतिक समझदारी या चेतनाबारे केही जानकारी चाहन्थे। राजनीतिक दलहरू प्रतिबन्धित थिए नेपालमा।

कांग्रेस र कम्युनिस्ट पार्टीका नेता र ती आस्थाबाट प्रेरित युवाको संख्या ठूलै थियो बनारसमा। बीपी र पुष्पलाल आआफ्ना पक्षका ठूला नेता थिए। विद्यार्थीहरूमा आपसमा सम्बन्ध र प्रेम देखिए पनि अविश्वास र एकअर्काप्रति शंका रहेको पनि सहजै बुझ्न सकिन्थ्यो। उनीहरूका गतिविधिबारे निगरानी र 'रिपोर्ट' गर्न सरकारका तर्फबाट पनि 'विद्यार्थीहरू' हुने गर्थे।

बनारसको परिचय र भेटघाटपछि म दिल्ली पुगेँ आफ्नो असफल 'लक्ष्य'को सम्भावना खोज्न। बनारसमै परिचित विजय नारायणको माध्यमबाट एकजना प्रखर समाजवादी नेता तथा सांसद उग्रसेनको पाहुना बनेँ म एकदुई महिना। त्यहीँ उनको निवास '१७०-नर्थ एभेन्यू'मा फेरि पुष्पलालसँग भेट भयो, अचानक।

'हाई' पावर चस्मा, हातमा सधैं केही अंग्रेजी पत्रिका र एउटा ब्याग उनका नियमित साथी हुन्थे। उनी नर्थ एभेन्यूनजिकै कुनै सांसदको अतिथि बनेर बसेका थिए। विजय नारायण त्यस बेलाका चर्चित समाजवादी नेता तथा मन्त्री जर्ज फर्नान्डिजका निकटतम सहयोगी र अनुयायी थिए।

सन् १९७५ जुनमा भारतमा संकटकाल लाग्यो, इन्दिरा गान्धीले अधिनायकवादतर्फ कदम उठाएपछि। जर्ज कलकत्ताबाट गिरफ्तार भए। उनी र अन्य २२ जनामाथि अभियोग लाग्यो 'वडोदा डाइनामाइट' केसका योजनाकारका रूपमा।

रेल्वे ट्र्याकहरू विस्फोट गरी हत्याहिंसाको राजनीतिबाट इन्दिरा गान्धीलाई सताउन लागेको आरोप थियो त्यो। विजय नारायण ती २२ मध्ये एक थिए। र, दिल्ली आएका बेला पुष्पलालसँग नियमित भेट गर्थे उनी।

पुष्पलालका दुई अन्य व्यक्तिसँग निकट सम्बन्ध थियो। लखनउका पूर्वमेयर दाउजी गुप्ता र दार्जिलिङबाट सीपीएम सांसद आनन्द पाठक। दिल्ली बसाइको त्यो क्रममा नै उनी केही अशक्त बने।

 

सम्भवतः आनन्द पाठक र जर्ज फर्नान्डिजले उनको उपचारमा चासो लिए पनि उनी एम्स या अन्यत्र गएनन्। गोविन्द बल्लभ पन्त अस्पतालमा भर्ती भए। एक दिन उनलाई भेट्न जाँदा फोक्सोबाट पानी झिकिएको अवस्था थियो उनको।


व्यक्तिगत उपचारका लागि पुष्पलालले सरकार या मन्त्री गुहारेनन्। 'आम व्यक्ति'कै उपचार र शैली रोजे, जीवन गुमाए। तर इज्जत बचाए, स्वाभिमान बचाए।


अवस्था गम्भीर बन्दै गएपछि उनका परिवार-श्रीमती सहाना प्रधान र छोरा उमेश श्रेष्ठलाई काठमाडौंबाट बोलाइए पनि उनीहरू पुग्दा ढिलो भइसकेको थियो। पुष्पलालको शवलाई अस्पताल 'मोर्चुअरी' (शवगृह)मा राखियो। त्यस बेलाको परिस्थितिमा 'शव' काठमाडौं लैजान सम्भव थिएन।

दिल्लीमा यमुना नदीको किनारमा अवस्थित 'निगमबोध घाट'मा अन्त्येष्टि गरियो। सहानाले रातो अबिर छर्दै खुट्टामा ढोगेर अन्तिम बिदाइ दिइन्। उमेश दागबत्ती दिएपछि रुन थाले, बलराम शर्माले उनलाई अँगालो हालेर केही पर लगे।

बलराम शर्माले यमुनाको पानी हातमा लिएर संकल्प गरे सबैले सुन्ने गरी— 'नेपालमा गणतन्त्र हाम्रो संघर्षको गन्तव्य हुनेछ।' त्यो सिद्धान्त या भावनाबाट प्रेरित अभिव्यक्ति थियो भन्न सकिन्न तर ०४६ साल (१९९०) को परिवर्तनपछि एमाले र उनी स्वयंले संसदीय व्यवस्था तथा संवैधानिक राजतन्त्र अँगाले।

सहाना मन्त्री बनिन् पहिलोपल्ट कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा, पुष्पलालको इहलीला समाप्तको १२ वर्षपछि।तर अबको राजनीतिमा या एमालेमा पुष्पलाल र उनको स्वाभिमानको के अर्थ होला, नहोला ? भन्न कठिन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.