भानुभक्त: खोस्टे प्रशंसाको 'हाई डोज'
साहित्य-डबली, चिया चुस्की, रमरम रमाइलो र विमर्शका टेबलमा प्रसंग-बेप्रसंग भानुभक्त आचार्यको नाम आउजाउ गरिरहन्छ। असारको उत्तरार्धमा स्कुल-कलेज, मिडिया-मञ्च र सरकार-प्रतिष्ठानका भित्ता भानुभक्तका फोटाले भरिन्छन्।
अनेक नक्कली पदवी, मान-सम्मान र विभूषणको फेटा गुथाउन म्याराथनमा सरिक हुन्छौं हामी। लाग्छ, हाम्रा खल्तीमा घोषणाका फूलगुच्छाबाहेक केही बाँकी छैन। 'कान नछामी कौवा पछ्याउने' शैलीमा परम्परा पछ्याइरहेका छौं हामी।
तर्क र विवेकको वेगवान पखेँटा झिकेर किनारामा थन्क्याउँछौं र मनगढन्ते किस्साहरूको प्रदूषित बाढीमा हेलिन्छौं। भानुभक्तलाई प्रदूषणको यही भुमरीमा पटकपटक डुबाइरहन्छौं। लाग्छ, इतिहासको अँध्यारो गर्तमा वास्तविक भानु कतै विलय भइसके।
जुन भानुभक्तलाई विश्वविद्यालयका उच्चाटलाग्दा कक्षाकोठामा पढिरहेका छौं, त्यो अतिशय प्रशंसाको फूलफलितोले छोपिएको र अन्धताको धूपधुँवारले निस्साएको भानुभक्तमात्र हो।
भानुभक्तको फोसिलबाट सालिक निर्माण गरी परिक्रमा गरिरहेका पण्डितबाट अब भानुभक्तको समालोचनाको अपेक्षा गर्नु पनि 'आकाशको फल' भइसक्यो। भानुभक्तलाई 'महानता'को सिंहासनबाट ओरालेर समाजशास्त्रीय पिर्कामा राखी हेर्दा हाम्रो समीक्षकको 'धर्म' बिटुलिन्छ कि ?
नेपाली भाषा-साहित्यमा सिन्को बराबर पनि भानुभक्तको योगदान छैन भन्नु तर्कको खेतीमा पोगटा उब्जाउनु नै हो। तर, मूल्यांकनको जमिनअनुसार भानुभक्तको भाउ आकाश-जमिन फरक पर्छ। सरकारी अमिनको फित्ताले नापेमा भानुको बजारभाउ आज पनि 'मोती' बराबर नै देखिन्छ।
भानुभक्त एक कवि हुन्। मात्र सरदर कवि। अतिरिक्त विभूषणको पगरीले कवि अग्लो हुने हो र ? संस्कृत भाषामा कविता लेख्न सक्थे कि सक्थेनन् भन्ने प्रश्नलाई पन्छाउँदा पनि उनी नेपाली भाषालाई माया गर्ने कवि हुन्।
जनबोलीमै कविता लेखेर जनसाधारणको आत्मविश्वास र खस्केको प्रतिष्ठालाई उचाइको यात्रामा हिँडाए उनले। यो चानचुने गफको विषयमात्रै होइन। सम्भ्रान्त र उच्च शिक्षितहरूको निजी चारपर्खालभित्र विराजमान भाषामा लेखिएको महाकाव्यलाई प्रशस्त मौलिकतासहित नेपालीमा अनुवाद गरे भानुभक्तले।
अनुवाद कर्ममा लाग्नेहरूका लागि पनि उनी एक असल अग्रज हुन्। एक प्रकारको आदर्श 'राम राज्य'को युटोपिया आफैंमा खराब सपना पनि होइन। आलोचना त आइडोलोजीको होला। लेखकहरू आफ्नै खालको आदर्श-निर्माणमा दत्तचित्त हुन्छन् भन्ने उदाहरण हुन्- भानुभक्त। लोभलालच त्याग्नु, उद्यम गर्नु, विद्यार्जनमा लाग्नुजस्ता अनेक लोकोपकारी अर्ती कविताबाट दिने भानुभक्तको अभिप्रायलाई सकरात्मक देख्दा कसैको क्रान्तिकारी कद घट्नेवाला पनि छैन।हो, भानुभक्त धार्मिक आदर्शका नामी कवि हुन्।
उहिल्यैदेखि नै सरकारी कार्यशैलीले 'दिव्य' पोसाकझैं पहिरिएर बसेको छ, भोलिवाद। त्यो पोसाकमाथि भानुभक्तले व्यंग्यको कैंची चलाएकै हुन्। तर, भोलिवाद नयाँ रफ्फु भर्दै उत्तरआधुनिक जामामा 'क्याटवाक' गर्न थालेपछि 'सब घर बितिजाने' डरले टेबुलमुनिबाट 'झोली' भर्नेहरूको कमी छैन।
यस्तो दृश्यले आफ्नो साम्राज्य फैलाएको समयमा भोलिविरोधी कविता झन् ताजा भएर स्मरण हुनु भानुभक्तको शक्ति हो। प्रकृति-चित्रण र विम्ब-चयनमा भानुभक्त कुशल रहेको तथ्य उनका फुटकर कविताहरूले देखाउँछन्।
प्राथमिककालीन नेपाली कविमध्ये यसै-उसै प्रख्यात कवि हुन् नै भानुभक्त। नेपाली भाषाको रूप र शैलीको स्तरोन्नतिमा भानुभक्तको महत्वपूर्ण भूमिकालाई मुक्तकण्ठले प्रशंसा गरे हुन्छ।तर, भानुभक्तलाई आलोचनाभन्दा धेरै माथि राखेर पूजा गर्नु बौद्धिक दरिद्रताको प्रतिविम्बनमात्र नभएर समग्र साहित्य र समाजबोधको अपमान हो।
भानुभक्त निःसन्देह हिन्दू संस्कारले ग्रस्त पुरुषवादी अन्धविश्वासी कवि हुन्। असल कविले भविष्यको दर्शन गर्छन् भन्ने उक्ति भानुभक्तमा कहीँ कतै लागू हुँदैन। भानुभक्तका काव्यमा समस्याको डंगुर नै रहेको कुरा अलिकति मात्र आलोचनात्मक हुनेबित्तिकै थाहा लागिहाल्छ। तर, भानुभक्तभन्दा धेरै समस्या हाम्रा स्वनामधन्य समालोचकमा देखिन्छ।
भानुभक्तलाई व्याख्या गर्ने लोकेसन दोषी भएपछि समाज र साहित्य अपव्याख्याको भासमा धकेलिने नै भयो। भानुभक्तको जपनाकार समालोचकहरू सामाजिक समस्या र वैचारिक गम्भीरतालाई मिल्काएर काव्यशैलीको पिङमा मच्चिनुमै आफ्नो बौद्धिक विकास देख्छन्।
उनीहरू अक्षरका दाना गन्छन्, ह्र्रस्वदीर्घको शास्त्रीय मन्त्र भट्याउँछन् र वर्णको जोडघटाउ हेरेर कविको बहिखाता मिलाउँछन्। समाजको गति र कविको चिन्तन-जरालाई जोडेर व्याख्या गर्नु समालोचकको दायित्व होइन ?
थाहा छैन, कविको विश्वदृष्टिमाथि आवश्यकताअनुसार रातो मसी चलाउन किन डराउँछन् हाम्रा समालोचक ? त्योभन्दा डरलाग्दो आत्मघाती यात्रा त्यहाँबाट सुरु हुन्छ जहाँ हाम्रा विद्वान् भानुको पाउमा घोप्टिएर भजन गाउँछन्।
नेपाल बहुभाषिक-बहुसांस्कृतिक राष्ट्र भएको सामान्यज्ञान सबैमा छ। तर तर्क गरिन्छ— भानुभक्तले भाषिक एकीकरण गरे। भानुभक्तलाई नेपाली राष्ट्रवादको प्रतीक मान्नुजस्तो डरलाग्दो अन्धजातिवाद अरू के हुनसक्ला?
अहिले पनि खस नेपाली भाषा नबुझ्ने र बोल्न नजान्ने नेपालीजन उल्लेख्य छन्। डेढ सय वर्षअघिको समाजमा सबै भाषाभाषीलाई एकताबद्ध गर्ने सूत्र भानुभक्त थिए भन्नु बडो हास्यास्पद लाग्छ।
भानुभक्त कहिल्यै पनि तराई खण्डमा लोकप्रिय भएनन्। त्यस बेलाको साक्षरता दर, पुस्तक प्रकाशनको बजारशास्त्र, पठन संस्कृति, कवितामाथि समुदायको धारणा आदिबारे तथ्यपरक विश्लेषण नगरी 'भानुभक्तीय रामायण घरघरमा लोकप्रिय थियो'को रटान लिनु हावाको दरबार बनाउनु हो। यसै पनि जनसाधारणको रुचि र ल्याकतको सहज विधा होइन, काव्य।
भानुलाई 'परमात्मा' मान्ने टोलीबाट सगर्व भन्ने गरिन्छ, 'शुद्ध नेपाली मौलिकता, नेपाली आत्मा र भाषाको स्वाभाविक सुमधुर प्रयोगका कारण भानुभक्त प्रथम जातीय कवि हुन्।' तर, भानुभक्तको काव्यले सबै जातिको मौलिकता, आत्मा र भाषाको प्रतिनिधि नगर्ने हुनाले उनी ब्राह्मण मात्रको जातीय कवि हुन् भनी ठोकुवा गरे हुन्छ।
तथ्य र तर्कहरूले साथ नदिए पनि सुगाशैलीमा भानुभक्तलाई 'आदिकवि'को फुर्का जोडेर पुकारिरहेका छन् विद्वत्जन। तथ्य भन्छ— भानुअघि पनि केही खस नेपाली भाषी उज्याला कवि थिए। विचारका दृष्टिले भानुभन्दा प्रगतिशील थिए, जोसमनी सन्त-परम्पराका कविहरू।
मैथिल महाकवि विद्यापति भानुभक्तभन्दा अघिका कवि हुन्। तुलसीदासले वाल्मीकीय रामायणलाई नै अवधिमा अनुवाद गरिसकेको तथ्य पनि इतिहासले देखाइसक्यो। तर, समालोचकहरू भानुभक्तलाई प्रथम अधिष्ठाता, भगीरथ र शुक्रतारा बनाउन घुँडा धसेर लागेका छन्।
मोतीरामको कलिलो उत्तेजनाले भानुलाई 'आदिकवि' देख्यो। महाराज जुद्धशमशेरको जंगी आदेशले समर्थन गर्यो मोतीरामलाई। महाराजपछि 'हुँइय्या' र ताली अनगिन्ती सुनिए। एउटा कमजोर हुँइय्या यस्तो छ, 'संस्कृत आदिकवि वाल्मीकिको रामायण अनुवाद गरेर भानुभक्त नेपालीका आदिकवि बन्न पुगे।' अनुवाद कर्मकै आधारमा उपाधि भिराउने हो भने खगेन्द्र संग्रौला, राजेन्द्र मास्केहरूलाई कुन-कुन विशेषणले सम्बोधन गर्लान् तिनले ?
भानुभक्त नारी-उत्पीडनका सांस्कृतिक राजदूत नै हुन्। तर, नारीमुक्तिका आजका अभियन्ताहरू नै भानुलाई देवत्वकरण गर्न पटुकी कस्दैछन्। उनीहरूको दाबी छ, 'वधूशिक्षा नारीलाई नैतिक आदर्श सिकाउन लेखिएको नेपाली साहित्यको पहिलो काव्य हो।
गृहनीतिपरक विषयमा आधारित वधूशिक्षाले तत्कालीन सामाजिक मूल्य र परिवारमा नारीको अस्तित्व, अस्मिता र पूर्ण साझेदारीको पक्षलाई प्रस्तुत गरेको छ।' भानुभक्तको बोलीको सार छ— 'हाँस्ने नारी वेश्या हुन्।
सती जानु नारीको उत्तम धर्म हो। पति नै ईश्वर हुन्। स्त्री सब पिशाच हुन्। नारी नरक-द्वार हुन्। नारीलाई त्याग्ने सुखी हुन्छन्।' पतिव्रता सती नारीको अपेक्षा गर्ने कवि सौता-सौता मिलेर बस्नुपर्ने उपदेश पनि बम्परमा दिन्छन्। प्रश्न उठ्छ— छोरी-बुहारी 'बिग्रने' भयको भारी बोकेका कविले छोरा-ज्वाइँ बिग्रनेबारे किन चिन्ता लिएनन् ?
उपदेश त आज पनि विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानमा निःशुल्क-सशुल्क पाइन्छन्। उपदेशको मजबुन यस्तो छ— 'भानुभक्तलाई वर्तमान युगका मापदण्डबाट मूल्यांकन गर्नु न्यायोचित नहुने भएकाले हिजैको इतिहासचेतले हेर्नू, भानुका रचना ऐतिहासिक आवश्यकता हो भन्ने बुझ्नू।'
भानुभक्तले गणतन्त्रकालीन जनताका मागलाई सम्बोधन गरेनन् भनिएको होइन। जिज्ञासा त सामान्य छ, तत्कालीन समाजका नागरिक र नारीलाई अन्याय गर्ने मन्त्रलाई आफ्नो कविताको प्राण किन बनाए भानुले ?
बधूशिक्षा भानुभक्तको समकालीन नारीहरूको पनि आवश्यकता थियो ? स्वयं भानुभक्तकै श्रीमतीको हितमा थियो वधूशिक्षा? उत्पीडन र विभेद जुनसुकै कालखण्डमा पनि हानिकर हुने सामान्य कुरा हाम्रा बुद्धिजीवीले बिर्सिदिए।
हिजैको सन्दर्भमा पनि भानु पछौटे लाग्छन्। सतीप्रथा १८९६ मा आंशिक रूपमा बन्द भएको देखिन्छ। र, १९१४ मा जातिवादका घोर समर्थक जंगबहादुर राणासमेतले सतीप्रथा कानुनविरोधी भएको घोषणा गरेका थिए। त्यस समयमा 'सतीप्रथा नै आम रूपमा लागू थियो÷थिएन'को बहस त जिउँदोजाग्दो छँदैछ।
राज्यले नै मृत घोषित गरेको सतीप्रथालाई १९१९ मा भानुभक्तले किन प्राणप्रतिष्ठा गरे बधूशिक्षामा? भानुको यो बिब्लेँटो पाइलालाई खुद्रा-मसिना ठानी पन्छाउन मिल्छ ? मान्न सकिन्छ, वधूशिक्षा 'कथाले मागेको' आवश्यकता थियो।
सेन्ट अगस्टिन भन्छन्, 'आवश्यकताले नैतिकताको कुरा बुझ्दैन।' सत्ताको आवश्यकतालाई जहिल्यै जहाँबाट हेरे पनि अगस्टिन सान्दर्भिक लाग्छन्। बधूशिक्षा भानुभक्तको समकालीन नारीहरूको पनि आवश्यकता थियो ? स्वयं भानुभक्तकै श्रीमतीको हितमा थियो वधूशिक्षा ? उत्पीडन र विभेद जुनसुकै कालखण्डमा पनि हानिकर हुने सामान्य कुरा हाम्रा बुद्धिजीवीले बिर्सिदिए।
असल कवि-लेखक र बौद्धिकको उचाइ भुइँमान्छेको पक्षधरताका आधारमै हुन्छ। भानुभक्तको समयमा वर्ग र जातिविभेदको अवस्था झन् विकराल थियो। यस्तै बेलामा कविहरूले एकातिर जनजागरण ल्याउन सक्छन् भने अर्कातिर सत्तासँग सिँगौरी पनि खेल्न सक्छन्। तर, भानुभक्त पूरापूर पलायनवादी र अन्धधार्मिक कविका रूपमा स्थापित भए।
जेलमा लेखिएको भनिएको कवितामा सत्ताको चाकरी नै गरेका छन् भानुले। उनले जंगबहादुरको कठोर नियन्त्रणमा रहेका निस्सासिएका नेपालीजन, राज्य-विप्लव, कोतपर्व, हत्याहिंसा, तुले रोहानी र लखन थापाका विद्रोह आदि देखेका थिए।
जनजीवनका धारिला आवश्यकतालाई बुटले कुल्चेर सत्ताखातिर रक्त-होलीमा मस्त थिए शासक। जनताको दैनिकी अन्योलको त्राहीत्राहीमा घिस्रिरहेको थियो। तर, भानुले कहीँ केही नबिग्रेजस्तै कान्तिपुरी नगरीलाई कुबेरको राजधानीका रूपमा चित्रण गरे।
अर्कातिर पाठकलाई भक्तिको पलायन-मार्गमा डोर्याइरहे उनले। यस्ता कविताको घुमाउरो हातले सत्ताको गोडामा अगरबत्ती सल्काउने गर्छ।
कोही भन्छन्— भानुभक्त नेपाली चसर हुन्। मध्ययुगीन विषयमा चाख राख्ने कवि चसरबाट नै आजको अंग्रेजी भाषाले काव्यिक जुनी पायो भनिन्छ।
स्मरणीय कुरा छ-चसरको धेरै मसी दरबारियाका लागि खर्च भएको थियो। तर, राजदरबारको प्रिय कवि भए पनि चसर विराट् प्रतिभा थिए। भानुको प्रतिभा चसरको स्केलको होइन। नेपाली भाषामा लेखेकै आधारमा चसर बनाउनु भानुको मात्र नभई समग्र नेपाली साहित्यकै अधिमूल्यन हो।
हाम्रो मौलिक रोग छ, कि अति-निन्दा कि अति-प्रशंसा। लाग्छ, खोस्टे प्रशंसाको 'हाई डोज'ले कुपोषित भए भानु।दार्जिलिङमा 'सुधपा'ले भानुको मानमनितो गरे।
भारतीय केन्द्रीय सत्तासँगको शक्ति-सम्बन्धले मदानी घुमाएपछि उता मानको नौनी बढ्यो होला। तर, यता नेपालमा गैरखसभाषी समुदाय, महिला, गैरब्राह्मण र गैरहिन्दू आँखाले हेर्दा भानुभक्त निकै अँध्यारो विम्ब नै हुन्।
भानुले पृथ्वीनारायणको 'असली हिन्दुस्थान' र जंगबहादुरको मुलुकी ऐनले डिजाइन गरेको समीभवनमा प्रशस्त बलिया इँटा मात्र दिएनन्, काव्यिक कुची लिएर मेहनतपूर्वक रङरोगन पनि गरे। भानुका भाष्यलाई आलोचनाले उधिन्नु जरुरी छ।
भानुमाथि आलोचनात्मक अनुसन्धान गर्नुपर्ने अनेक आयाम छन्। भानुका भनिएका रचनामा मोतीरामीय पसिनाको बाछिटा छैन ? घाँसी प्रसंगलाई समाजशास्त्रीय ऐना देखाउनु पर्दैन ? भानुका मुद्दा, जेल, नजरबन्द आदिको वास्तविकता, कारण र परिणामबारे थप खोजी गर्दा कसैको कुल÷नाक काटिँदैन होला त ! हामी पूजा र गाली गर्नमात्र तयार छौं। विमर्श र आलोचनासँग भागीभागी हिँडिरहेका छौं।
भानुभक्तका रचना अहिले 'डेट एक्सपायर्ड' मात्र होइन, असंवैधानिक भइसके। असंवैधानिक शिक्षा दिने रचनाहरू पढाउने व्यक्ति÷संस्थालाई कठघरामा उभ्याउनु पर्दैन ? विश्वविद्यालय स्वतन्त्रताको मुहान हुनुपर्ने हो। तर, हाम्रो विश्वविद्यालयका तलबी 'स्कलर' बधूशिक्षामा नारी अस्तित्वको पक्षधरता देख्छन्।
बहसका फोरममा उनैको हुँकार हुन्छ, 'हाम्रो समाज पुरुष मानसिकताले ग्रसित छ। नारीलाई हेर्ने दृष्टि फेरिनुपर्छ। सोचौं, नारीमुक्ति कहाँबाट थाल्ने ? ' नारीलाई शोषण गर्न पाउने सामाजिक संरचनाले पुरुषलाई फाइदा दिएकै छ।
बधूशिक्षावाला पुरानो 'परिवार' भत्काउने आँट साधारण महिलासँग छैन। पीएचडी होल्डर नारीहरू भानु-भजनमा ताली बजाउनमा दत्तचित्त छन्। अनि, महिला-मुक्तिका सूत्र कसले दिने ?
भानु रामभक्त थिए। महेन्द्रीय राष्ट्रवादका उपासकहरू भानुको भक्त हुनुमा नै गर्व गर्दैछन्। र, सामाजिक सञ्जालका भित्तामा लेख्दैछन्, 'भानुभक्त अद्भुत राष्ट्रवादी कवि हुन्।' भित्ते राष्ट्रवादीमा 'सो कल्ड' प्रगतिशीलको स्वर झन् उच्च हुँदो छ।
भानुका भक्तहरूको विश्वदृष्टिले चिन्तनको असहिष्णुता सतहमै देखाएको छ। प्रगतिशील मोर्चाका कतिपय बहालवाला र भूपू अभियन्ताहरू पृथ्वीनारायण, भानुभक्त, हिन्दू धर्म, माधव घिमिरे आदिको जयगानमा व्यस्त छन्।
दाबीसाथ भन्न सकिन्छ, भानुभक्तले स्थापित गरेको 'डिस्कोर्स'को फेदमै प्रहार गर्नुचाहिँ संघीयता र पहिचान-यात्राको मूलढोका हो।