यस्तो थियो बीपीको अटोग्राफ
म राजनीतिमा गहिरिएर लागेको व्यक्ति हुँ। म समाजका राम्रो संरचनामा दिलचस्पी लिन्छु । म राम्रो समाजोपयोगी नियमकानुनको व्यवस्थाको पक्षपाती छु। तर, कलाकार साहित्यकारहरू नियम कानुन नमान्ने जमात हो।
ऊ अत्यन्त व्यक्तिवादी असल अर्थमा हुन्छ। उसको निष्ठा आफ्नो अनुभव, आफ्नो अन्तस्करणको सानो मधुरो आदेशप्रति रहन्छ न कि समाज यो सरकारका आदेशप्रति।
यस कारण कलाकार विद्रोही हुन्छ र असामाजिक प्राणी-नयाँ दिशाको संधानमा रत नयाँ सत्यको खोजीमा लागेको प्राणी । म चाहन्छु कि तपाईं इमानदार हुनोस् आफ्नाप्रति। आफूभन्दा बाहिरको सत्य या मापदण्डलाई नखोज्नोस्।
विश्वेश्वरप्रसाद कोइराला
२/३/०३८
(कवि प्रमोद प्रधानलाई २०३८ साल असार २ गते विश्वेश्वरप्रसाद कोइरालाले दिएको यो अटोग्राफमा कोइरालाको साहित्यप्रतिको धारणा स्पष्ट देखिन्छ। प्रजातान्त्रिक समाजवादलाई नेपालमा स्थापित गराउने कोइराला राजनीतिक व्यक्तिको रूपमा राज्य संरचना र स्थापित कानुनी मान्यताहरू अवलम्बन गर्नुपर्ने बाध्यता स्वीकार गर्छन्। तर, बीपीको राजनीतिक दर्शनको मूल अभीष्ट व्यक्तिगत स्वतन्त्रता हो।
निरपेक्ष स्वतन्त्रताले राज्य संरचना र सामाजिक मान्यताहरूको गजबारलाई स्वीकार गर्दैन। स्वतन्त्रताको उच्चतालाई अराजकताले सुनिश्चित गर्छ। अराजकता फ्रान्सेली राज्यक्रान्तिसँगै जन्मिएको राजनीतिक दर्शन हो जसले निरपेक्ष स्वतन्त्रताको वकालत गर्छ।
माक्र्सेली दर्शनको साम्यवादी सिद्धान्तले गरेको राज्यको उन्मूलनको परिकल्पना बीपीको अराजकताको अभीष्ट हो जसलाई वर्तमान सन्दर्भमा साहित्यले सम्बोधन गर्नसक्ने बीपीको मान्यता यो अटोग्राफमा पाइन्छ।
थोरै शब्दमा भए पनि बीपीको स्वतन्त्रता चिन्तन पुष्टि हुने भएकाले पाठकहरूलाई बीपीको अराजकता चिन्तनबारे जानकारी मिलोस् भनी यो अटोग्राफ प्रकाशित गरिएको छ।
(बीपीको यो अटोग्राफ पहिलोपटक 'पाण्डुलिपि' साहित्यिक मासिकमा प्रकाशित भएको थियो।)