आँसुले लेखेको किताब

आँसुले लेखेको किताब

डा. चित्रप्रसाद वाग्ले चर्चामा आउँदा उनीसँग अनेक दुर्दान्त कथा जोडिएका थिए। चित्रको चर्चा र सम्मान देश-देशान्तरमा एकसाथ फैलिए पनि त्यसको गहिरो सन्तोष भोग्न पाएनन् उनले।

चिकित्सा जीवनको झन्डै दुई दशकमा आफूले गरेको सेवा चारैतिर हावासरि फैलिँदै गर्दा डा. चित्र मृत्युको प्रतीक्षा गर्दै थिए। मृत्यु कुरेर बसेका उनका सामु थिए-एक अपांग छोरा, दुई छोरी र पत्नी पूजा। चारको जीवनको चिन्ता डा. चित्रलाई आफ्नो क्यान्सरको पीडाभन्दा कैयौं गुना बढी थियो।

डा. चित्र सेवाका क्रममा विभिन्न पहाडी जिल्ला पुगे। जहाँ पुगे, त्यहाँ मनदेखि गरिब-दु:खी नेपालीका घाउचोटमा मल्हम लगाउँदै हिँडे। त्यसको प्रतिफलस्वरूप पाएको दुर्गम भेकका सामान्यजनको असीम मायाले उनलाई थप नैतिकतावान् र आदर्शवान् बन्न प्रेरित गर्यो। त्यही आदर्शका बलले उनी चिकित्सा क्षेत्रमै एउटा असल दृष्टान्तका रूपमा दरिन थाले।

भौतिक सुखसुविधाभन्दा दु:खीजनको हाँसो-खुसीमा रमाउने उनले विलासी जीवनको मोह कहिल्यै पालेनन्। उनले चाहेको भए राजधानी वा देशका अन्य सहरमा बसेर राम्रै अर्थोपार्जन गर्न सक्थे।

डा. चित्र आफूलाई बिर्सिएर गरिबगुरुबाको सेवा गर्थे। एकलव्य साधनामा हुन्थे उनी। चिकित्सा सेवालाई उनले साधनामा परिणत गरेका थिए। स्वास्थ्य मन्त्रालयले दिएको पोखरा नियुक्तिको साटो उनले अर्घाखाँची रोजे।

पहिलोपटक अर्घाखाँची पुग्दा त्यो जिल्ला दुर्गम नै थियो। अर्घाखाँची पुग्ने बाटो कस्तो भने आधी बाटो मोटर ठेल्नुपथ्र्यो। उनको घर (रूपन्देहीको मुर्गिया) बाट टाढा त थिएन अर्घाखाँची तर यातायातको असुविधाका कारण कता हो कता विकट थियो।

 

अर्घाखाँची पञ्चायतकालदेखि नै राजनीतिक रूपमा अति सचेत थियो। समाज र जीवनभन्दा राजनीतिका कुरा बढी हुने गर्थे। सामान्य जिल्लावासी पनि राजनीतिका कुरा गर्न तम्सिहाल्थे। कुरा नमिले झम्टिहाल्थे। कसैले कसैलाई मान्छे गन्दैनथे।

अझ बहुदल आएपछि त पिट्नु, भिडन्त गर्नु र काट्नु नै जिन्दगी हो भने जस्तै भयो त्यहाँ। त्यसैले हत्तपत्त कुनै सरकारी कर्मचारी÷प्रशासक अर्घाखाँची जान मान्दैनन् भनिन्थ्यो उसबेला। दबाबले जानुपरे पनि चुपचाप गयो, मुसोजस्तो बनेर काम गर्यो, बस्। जिल्लामा विकास कस्तो थियो भन्ने त त्यहाँ पुग्ने बाटोले नै देखाउँथ्यो।

अति रुखो राजनीति भएको अर्घाखाँची जिल्ला अस्पतालमा डा. चित्र आफ्नै रहरले पुगेका थिए। शालीनता र त्यागले मान्छेलाई सजिलै पगाल्न सक्छ भन्ने उनले चरितार्थ गरिदिए। कुनै शौचालयजस्तो अस्पताललाई आधुनिकीकरण गर्नु, चौबीसै घन्टा सेवासुविधा दिने अवस्थामा पुर्याउनु असामान्य कुरा थियो।

पहाडी क्षेत्रका मान्छेहरू बढी काम, थोरै पौष्टिक आहार र रोगका कारण हाडछाला भएका हुन्छन्। त्यही हाडछाला बोकेर आएका मान्छेको प्रेमपूर्वक औषधि-उपचार गर्नु सजिलो थिएन।

उनले त्यही असजिलो काम गरे र सबैको मन जित्दै गए। मान्छेप्रति प्रेम जागेपछि एउटा मान्छेले के मात्र गर्न सक्दैन भन्ने उदाहरण बन्दै गए। छिमेकी जिल्लाहरूमा पनि उनको सुनाम सुनिन थाल्यो।

जिल्ला अस्पतालमा निकै भीड हुन थालेपछि डा. चित्रले सन्धिखर्कमै क्लिनिक खोलेका थिए, आफ्नो ड्युटी आवरबाहेक पनि बिरामीको सेवा गर्न पाइयोस् भनेर। तर, त्यो क्लिनिक कमाउनका लागि थिएन।

जाँच फिस ५० रुपैयाँ थियो, त्यो पनि सक्नेले मात्र तिरे हुन्थ्यो। त्यसरी जम्मा भएको पैसा उनी औषधि किन्न नसक्ने, बाटो खर्च नहुनेलाई दिने गर्थे। यो डेढ दशकअगाडिको मात्रै प्रसंग हो, जुनबेला अधिकांश चिकित्सक सहरबजारमा धमाधम निजी क्लिनिक र अस्पताल खोल्दै थिए र रातारात धनी बन्दै थिए। त्यही समयमा एउटा अर्को चिकित्सक विकट पहाडी जिल्लामा मिथकीय कर्म गर्दै थिए।

डा. चित्र अल्पायुमै हामीबाट बिदा भए। राम्रा मान्छे यस धरतीमा धेरै बस्न पाउँदैनन् भनेजस्तै भयो। उनी सक्रिय हुने बेलासम्म जजसले उनीबाट सेवा पाएका थिए, तिनले उनको महत्व कति बुझे÷बुझेनन् यो भिन्न कुरा भयो।

जब उनी दुर्बोध्य रोगसँग लड्दै छन् र आर्थिक अभाव झेल्दैछन् भन्ने खबर आउन थाल्यो, उनका विगतका सत्कर्म एकएक गर्दै आँखामा आउन थाले। त्यसपछि महत्व चुलिन थाल्यो।

आफूलाई मृत्युले अँगाल्दै गर्दा आफूले गरेका काम सकेसम्म लिपिबद्ध गर्ने काम पनि गर्दै थिए उनी। आफ्ना दु:ख, काम र सपनाबारे उनी सक्दो टिप्दै थिए। आफ्नो डायरी पुस्तकाकारमा आए हुन्थ्यो भन्ने उनको अचाक्ली चाहना थियो।

'डाक्टर चित्र' उनको त्यही इच्छाको प्रकटीकरण हो जसमा उनका तिनै टिपोट श्रीमती पूजाका स्मृति र लोकको उनीप्रतिको दृष्टिकोण समेटिएका छन्। पुस्तक पढ्दा लाग्छ डा. चित्र र पूजा संसारकै सबैभन्दा भाग्यमानी र सबैभन्दा अभागी जोडी हुन्। उनीहरूका भोगाइ अर्कै लोककाझैं लाग्छन्।

पुस्तकमा डा. चित्रका सुखभन्दा दु:ख र पीडा धेरै भेटिन्छन्। सन्तोषी मान्छे दु:खमै सुख खोज्न लालायित हुन्छ भनेझैं सुखका स-साना कुरामा उनी रमाएका छन्। चिकित्सक बनेर मानवसेवा गर्ने एउटा किशोरको हुटहुटीदेखि एउटा परोपकारी चिकित्सकका अनेक कथा पुस्तकमा भेटिन्छन्।

सम्पत्तिलाई सामान्य सम्झिएर काम गर्नेहरू समाजमा कसरी पुजिन्छन् ? समाजको सम्मानले मात्र जिन्दगी चल्छ ? जीवन र आदर्शसँग जोडिएका अनेकानेक प्रश्न पुस्तकमा भेटिन्छन्। असल चिकित्सकको असल नियत, असल पिताको सन्तानप्रति असल कामना र असल पतिको असल व्यवहार पनि पुस्तकमा पढ्न सकिन्छ।

मुटु निचोरेर आँसुले लेखेको प्रतीत हुन्छ, ‘डाक्टर चित्र'। प्रत्येक प्रसंग पीडाले भरिएका छन्। माया, प्रेम र सपनाका कुरा यसमा छँदै छैनन् भन्ने होइन, छन् तर ती पनि आँसुले नै पढ्नुपर्छ।

डायरी लेख्दै गर्दा डा. चित्र मृत्यु पर्खिंदै थिए, भयंकर क्यान्सरको पीडा सहँदै थिए। फेरि पनि आफ्ना कुरा लेखिछाडे। यो पुस्तकमा भएका विषय चित्र र पूजाका भोगाइ त पक्कै हुन्, तर यी आम असल नागरिकले भोग्दै आएका या भोग्नुपर्ने कुरा पनि हुन सक्छन्।

डा. चित्र आफ्नो अध्ययनपछिको जीवनमा समाजका लागि जसरी समर्पित भए त्यसले उनलाई अर्थिक समृद्धि पक्कै पनि दिएन। तर जसले उनको नाम र काम थाहा पाए ती सबै उनीप्रति नतमस्तक भए र भइरहनेछन्। एउटा असल र सादगीपूर्ण मान्छेले आर्थिक अभावमा कस्ता पीडा भोग्नुपर्छ, उसलाई राज्य र समाजले कस्तो व्यवहार गर्छन् भन्ने कुरा पनि समेटिएको छ पुस्तकमा।

डा. चित्रले पुस्तकमा प्रायः कसैप्रति गुनासो गरेका छैनन्। अझ अर्घाखाँचीको असहयोगी र अविवेकी राजनीतिलाई पनि उनले हृदयदेखि सराहना गरेका छन्। उनी कामभन्दा अरू सोच्दैनथे, अरूप्रति पूर्वाग्रही बन्न उनलाई फुर्सदै थिएन।

पुस्तकभित्रको हरेक शब्दले कुनै न कुनै किसिमबाट आँसु र पीडा बोकेको छ। केही पाना पढेपछि आँखा वर्षिन थालिहाल्छन्। सरल भाषाशैलीका कारण पुस्तक पढ्न थालेपछि छोड्न मन लाग्दैन।

रुँदैरुँदै आँसुले पढ्नुपर्ने यो पुस्तक कुनै साहित्यिक उपन्यास या कथा होइन, जहाँ काल्पनिक रोमान्स र पीडा पढ्नुपरोस्। यसमा जे कुरा छन् ती सत्य र मान्छेको जीवन-मरणसँग गाँसिएका छन्। पुस्तकले मान्छेलाई असल बन्न प्रेरित गर्छ, जीवन र मृत्युबारे गम्भीर भएर सोच्न सिकाउँछ।

डा. चित्र भौतिक रूपमा हामीमाझ नरहेपनि उनका सत्कर्म चिरकालसम्म हाम्रा सामु रहनेछन्। ‘डाक्टर चित्र' तिनै असल कामको दस्तावेज हो।

पुस्तक : डाक्टर चित्र
लेखक : चित्रप्रसाद वाग्ले, पूजा पराजुली वाग्ले
सम्पादन : पारसप्रकाश नेपाल
प्रकाशक : फिनिक्स बुक्स
पृष्ठ : २९२+१६
मूल्य : रु. ३९९।-


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.