मोर्डन टाइम्समा 'चार्ली च्याप्लिन'

यहाँ चार्लीको फिल्म 'मोर्डन टाइम्स' (१९३६) बारे चर्चा गरिन्छ। ‘मोर्डन टाइम्स' बनेको ८० वर्ष भइसक्दा पनि यो बूढो भएको छैन। अझै निकै वर्ष यो तन्नेरी रहिरहने सम्भावना छ।
चार्लीका जीवनी लेखक जेफ्रेई भान्सले भनेझैँ पहिलो प्रदर्शनका समयभन्दा सम्भवतः आजका लागि यो ज्यादा अर्थपूर्ण छ।
...ठूलो घडीमा ६ बज्छ। भेडाका पाठाहरूको बथान बाहिर आउँदै गरेको हामी माथिबाट देख्छौँ। बिस्तारै पाठाहरू धमिलो बन्दै जान्छन् र तिनका ठाउँमा उसैगरी निस्कँदै गरेका मजदुरहरू देखिन्छन्। मानौँ, भेडाका पाठा र कारखाना मजदुरहरू उस्तै हुन्।
प्रेसिडेन्ट इलेक्ट्रो स्टिल कर्पोरेसन नामको एउटा निजी कारखाना मजदुर लिटिल ट्र्याम्प (चार्ली च्याप्लिन) काम गर्दै हुन्छ। स्टिल कारखानामा तीव्र गतिले बगिरहेको प्लेटमा दुवै हातले हतार हतार नटबोल्ट कस्नु उसको काम हो।
यसै समयमा कर्मचारीले काम छोडेर खाना खानका लागि समय खर्चनु नपरोस् भनी बनाइएको खाना खाने मेसिनको मार्केटिङ गर्न अर्को कम्पनीको प्रतिनिधि आउँछ।
ट्र्याम्पमाथि उक्त मेसिनको परीक्षण गरिन्छ। मेसिनले राम्ररी काम नगरेकाले त्यो किनिँदैन तर प्रयोग सामग्री बनेको ट्र्याम्पले बिग्रिएको मेसिनबाट अनावश्यक यातना पाउँछ।
यसपछि चलचित्रको त्यो अद्भुत दृश्य आउँछ जहाँ रफ्तारमा चलिरहेको एसेम्बली लाइनमा ट्र्याम्प नटबोल्ट कस्न भ्याउँदैन र कस्न खोज्दाखोज्दै मेसिनकै भित्र पुग्छ।
मेसिनभित्रका विशाल आकारका चक्का र काँटाहरूका बीचमा उसको शरीर मेसिनकै एउटा अंशका रूपमा देखिन्छ जसले उसलाई निलिसकेको छ तर मरेको छैन। ऊ त्यहाँ पनि नटबोल्ट कसिराखेकै हुन्छ तर बेसुरा तालमा।
उसको दिमाग खुस्किन्छ र बाहिर आएपछि आफ्ना अगाडिका हरेक वस्तुलाई नटबोल्ट सम्झेर रिन्चले कस्न खोज्छ। यतिसम्म कि मालिककी सचिवको स्कर्टमा भएका टाँकलाई पनि कस्न खोज्छ र त्यो पनि लखेटी लखेटी।
यहाँ चार्लीको एउटा भनाइको सम्झना हुन्छ। संसारमा धनीमानी र हाकिमहरू थोरै छन् तर असाध्यै धेरै कामदार वा मजदुरहरू उनीहरूको डर मानेर बाँच्छन् र कुनै न कुनै तरिकाले बदला लिन चाहन्छन्।
धेरैलाई मनोरञ्जन दिनु छ भने ती थोरैहरूको मूर्खता र अमानवीयतालाई आपत्मा पारिदिनुपर्छ। आफूमाथि अनावश्यक खटनपटन र गालीसमेत गर्ने उच्च वर्गका मानिसलाई अत्याइएको दृश्य देख्दा उनीहरूलाई आनन्द लाग्छ।
ट्र्याम्पलाई पागल भनेर अस्पताल लगिन्छ। केही दिनपछि ऊ छुट्छ। बाहिर आउँदा कारखाना बन्द छ। कामको खोजीमा भौँतारिन्छ तर पाउँदैन। बेरोजगारीका कारण मानिसहरू आक्रोशित छन्। विरोधमा जुलुस निकाल्छन्। ट्र्याम्पलाई कम्युनिस्ट नेता ठानेर पुलिसले थुन्छ।
अर्कातिर केरा चोर्ने युवती छ, आमा नभएकी टुहरी। बाबु छ तर बेरोजगार छ। चोरेको केरा लगेर ऊ आफ्ना साना बहिनीहरूलाई खुवाउँछे।
मजदुरहरूको आन्दोलनमा सहभागी हुँदा बाबु मारिएपछि साना उमेरका दुई बहिनीलाई सरकारी अनाथालयमा छाडेर ऊ भाग्छे। न घर, न काम, न त कुनै योजना नै उससँग बाँकी छ।
यता जेलमा लागूपदार्थ कोकिन व्यापारी पनि थुनिएको हुन्छ। ट्र्याम्पले उसैसँग बस्नुपर्छ। उसलाई खोस्न आएको एउटा सानो समूहलाई कोकिन खाएको ट्र्याम्पले महानायकीय शैलीमा बन्दी बनाउँछ र पुलिसलाई उनीहरूको कब्जाबाट मुक्त गर्छ।
यसैको पुरस्कारस्वरूप उसको कैद माफ हुन्छ। तर, ऊ थप केही दिन जेलमा बस्न चाहन्थ्यो, खान पाइन्छ भनेर। तर दिइँदैन। बरु ट्र्याम्प इमानदार भएको भन्ने बेहोराको चिठी दिएर उसलाई निकालिन्छ।
केरा चोर्ने युवती बेकरीबाट रोटी चोरेर भाग्छे। ट्र्याम्पसँग ठोकिन्छे, रोटी ट्र्याम्पको हातमा पर्छ। केटीको दया लागेर ट्र्याम्पले रोटी आफूले चोरेको बताउँछ। पुलिसले ट्र्याम्पलाई लैजान्छ तर तत्कालै उसले नभई केटीले चोरेको भने बुझेपछि ऊ छुट्छ, केटी पक्राउ पर्छे।
जेलमा बसेर आनन्दले खाने विचार गरेको ट्र्याम्पले क्याप्mटेरियामा पसेर मज्जाले खान्छ र बिल तिर्ने बेलामा पुलिस बोलाएर उसैलाई तिर्न लाउँछ। ऊ फेरि पक्राउ पर्छ।
केरा चोर्ने केटी र ऊ दुवै एउटै भ्यानमा पर्छन्। तर युवती जेल जान चाहन्न। चढेको गाडी दुर्घटना हुन लाग्दा उनीहरू सडकमा खस्छन्। युवतीको मायाले चार्ली पनि उसैसँग भाग्छ। दुवै मिलेर आफ्नो पनि एउटा सानो घर भएको सपना देख्छन्।
घुम्दै जाँदा उनीहरू डिपार्टमेन्ट स्टोरको गेटनेर पुग्छन्। भर्खरै त्यहाँको पालेको खुट्टा भाँचिएको हुन्छ। जेलमा पाएको पत्र देखाएपछि ट्र्याम्पलाई पालेको काम मिल्छ। राति उक्त विशाल व्यापारिक केन्द्रमा उनीहरूको सपनाको संसार बर्सिन्छ।
कुनै तलामा खेलौनै खेलौना, त्यही खेल्छन्। कुनैमा असाध्यै सुविधादायक फर्निचर, कुनै तलामा रक्सीका ड्रम नै छन्। तर भोलिपल्ट बिहान स्टोर खुलेर ग्राहकहरू आउँदा ट्र्याम्प पसलको लुगाभित्र निदाइरहेको अवस्थामा फेला पर्छ। ऊ फेरि पक्राउ पर्छ र १० दिनपछि छुट्छ।
यस १० दिनका बीचमा युवतीले एउटा थोत्रो काठको घर फेला पारेकी हुन्छे। बकिङ्घम दरबार नभए पनि उनीहरूले त्यसलाई आफ्नो स्वर्ग नै भन्छन्। बिहान पाउरोटी खान लाग्दा पत्रिकामा ट्र्याम्पले कारखाना फेरि चालू भएको र कामदार मागेको विज्ञापन देख्छ।
वास्तविक घर बनाउने सपनाले ऊ पाउरोटी नै नखाई कुद्छ। जसरीतसरी काममा लाग्छ। खिया परेका मेसिनहरूको मर्मत चल्छ। झुक्किएर उसको साथी मेसिनमा पर्छ। तर मर्दैन।
एउटा मजदुरले हडतालको कुरा गरेपछि स्थिति तनावपूर्ण बन्छ। बाहिर पुलिसहरू आउँछन्। एउटा ढुंगो उछिट्टिएर पुलिसको टाउकामा लागेपछि आन्दोलनकारीको आशंकामा ट्र्याम्प फेरि जेल पुग्छ।
युवतीले एउटा होटेलमा नाच्ने केटीको काम पाउँछे। हप्ता दिनपछि चार्ली छुट्छ। दुवै होटेलमै काम गर्न थाल्छन् तर युवतीलाई एउटा ग्राहकले आफ्नी बनाउन खोजेपछि चार्ली र ऊ कामै छोडेर भाग्छन्।
बेरोजगारी र मानिसहरूको व्यवहारले आजित भएकी केटीले मर्ने कुरा गर्छे। ट्र्याम्पले मर्छु नभन, बरु हामी यो ठाउँ नै छोडेर जाऔँ भन्छ। अनिश्चित नै भए पनि नयाँ जीवनको खोजीमा उनीहरू टाढातिर जाँदै गरेको रमाइलो दृश्यबाट चलचित्र सकिन्छ।
चलचित्रमा त्यस्ता धेरै दृश्यहरू छन् जसलाई दर्शकले भुल्न सक्दैन। कारखानामा चार्ली चेपिएको मेसिनको दृश्य जति त्रासदीपूर्ण छ, डिपार्टमेन्ट स्टोरमा स्केटिङमा रमाएको दृश्य उत्तिकै रोमाञ्चक छ।
भान्सामा भित्रैबाट लम्किएर बोटको अंगुर खाएको दृश्य होस् वा खाना खुवाउने मेसिनमा उसलाई प्रयोग गरिएको दृश्य। सबैमा चार्लीको उच्च कल्पनाशीलता देखिन्छ।
खाना खुवाउने स्वचालित मेसिनबाट चार्लीलाई खाना खुवाउँदै गर्दा रेकर्ड गरिएको सन्देश यस्तो सुनिन्छ, ‘यो एक व्यावहारिक डिभाइस हो जसले तपाईंका कर्मचारीहरूलाई काम गर्दागर्दै खाना खुवाइसक्छ।
अब खानाका लागि काम रोक्ने आवश्यकता छैन। यस डिभाइसको प्रयोग गरेर तपाईंले उत्पादन बढाउन र लागत घटाउन सक्नुहुन्छ। तलाईंले आफ्ना प्रतिस्पर्धीलाई जित्न सक्नुहुन्छ।'
‘सिटी लाइट' चलचित्रको व्यापार प्रवद्र्धनका लागि युरोपको यात्रामा निस्कँदा त्यहाँ देखिएको डरलाग्दो आर्थिक मन्दी र महात्मा गान्धीसँगको संवादको प्रभाव चार्लीको यस चलचित्रमा परेको छ भनिन्छ।
गान्धी र चार्लीका बीच आधुनिक प्रविधिका बारेमा १९३१ मा संवाद लन्डनमा भएको थियो। गान्धीले चार्लीलाई भनेका थिए, ‘मेसिनकै कारण हामीले अंग्रेजमाथि आश्रlत हुनुपरेको थियो।
र यो आश्रित अवस्थालाई त्यसबेला मात्रै समाप्त पार्न सकिन्छ जति बेला हामी मेसिनले बनाइएका हरेक उत्पादनहरूलाई बहिष्कार गर्न सक्नेछौँ। आफूलाई चाहिने कपास आफैँ कात्ने र कपडा पनि आफैँ बनाउने गरेर मात्रै हामीले अंग्रेजलाई हराउन सक्छौँ।'
‘द ग्रेट डिक्टेटर' चलचित्रमा यान्त्रिकताको विरोध गर्दै चार्लीले भनेका छन्, मेसिनभन्दा बढी हामीलाई मानवताको, चलाखीभन्दा ज्यादा हामीलाई सज्जनताको आवश्यकता छ। यी गुण भएनन् भने जीवन भयावह हुन्छ र सबै कुरा सिद्धिएर जान्छन्।'
चार्लीका विचारमा त्यो गान्धीको दूरदृष्टि थियो। मेसिन भएको मानिससँगै त्यसको स्वामित्व पनि हुन्छ र श्रम गर्नेहरू दोयम दर्जाका बन्न पुग्छन् भन्ने विचारबाट निर्देशित थियो फिल्म। यही सोचका कारण 'मोर्डन टाइम्स' जन्मियो।
प्रतिक्रिया दिनुहोस !
