बजेटमा फेरि राजनीतिक खिचातानी

बजेटमा फेरि राजनीतिक खिचातानी

काठमाडौं: राजनीतिक खिचातानीका कारण बजेटसँग सम्बन्धित तीनवटा विधेयक संसद्बाट पारित नहुँदा बजेट पुनः राजनीतिक लेनदेनको औजार भएको छ । व्यवस्थापिका संसद्ले विनियोजन विधेयक पारित गरे पनि आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित भएको छैन ।

सरकारले बजेटमा घोषणा भएको खर्च गर्ने अधिकार पाए पनि आम्दानी हुने स्रोतहरू आर्थिक विधेयक तथा ऋण उठाउने विधेयक पारित भएको छैन । सरकारलाई खर्च गर्न समस्या नभए पनि संविधानमै उल्लेख भएको विषय भने व्यावहारिक रूपमा कार्यान्वयनमा आउन सकेन ।

आर्थिक विश्लेषक अच्युत वाग्लेले बजेटसँग सम्बन्धित तीनवटा विधेयक पारित नहुँदा पुनः बजेट राजनीतिक लेनदेनको औजार भएको बताए । ‘विगत १० वर्षमा बजेट सत्तापक्ष र विपक्षीबीच राजनीतिक खिचातानी भएपछि संविधानमा बजेट सार्वजनिक हुने मिति तोकिएको हो । सरकारलाई तीनवटा विधेयक पारित नहुँदैमा खर्च गर्न समस्या नभए पनि राजनीतिक दलहरूले बजेटमा खिचातानी गर्न नछोड्ने प्रस्ट भएको छ', उनले भने ।

व्यवस्थापिका संसद्बाट आन्तरिक ऋण उठाउने विधेयक पारित भएको छैन । यस्तै आर्थिक विधेयक पनि पारित भएको छैन । यद्यपि, भन्सार र अन्तःशुल्क बजेट आएको अर्को दिनदेखि कार्यान्वयनमा आउँछ । बाँकी राजस्व संकलन गर्न पनि समसामयिक कर असुली ऐन २०१२ अनुसार नयाँ आर्थिक वर्षको पहिलो तीन महिना कुनै समस्या हुँदैन ।

 

तीनवटा विधेयक पारित नहुँदा सरकारलाई आवश्यक परेमा आन्तरिक ऋण उठाउन भने समस्या पर्छ । अर्थात् सरकारलाई अत्यावश्यक परेर आन्तरिक ऋण उठाउनुपरेमा यसका लागि चाहिने कानुनी आधार छैन । आन्तरिक ऋण सरकारले आर्थिक वर्षको अन्तिममा उठाउने गर्छ ।

सरकारले आन्तरिक ऋण नउठाउँदा त्यसको असर बैंकिङ क्षेत्रमा पर्छ । बैंक तथा वित्तीय संस्थासँग बढी भएको रकम (तरलता) व्यवस्थापन गर्न राष्ट्रबैंकलाई कठिन हुन सक्छ । अर्थविद् केशव आचार्य विनियोजन विधेयक पारित भएको हुँदा सरकारलाई खर्च गर्न कुनै समस्या नभए पनि आन्तरिक ऋण उठाउन नपाउने हुँदा यसको असर वित्तीय प्रणालीमा पर्न सक्ने बताउँछन् ।

‘राष्ट्रबैंकले सरकारको ट्रेजरी बिल्स (ऋणपत्र) खरिद गरेर बजारमा तरलताको व्यवस्थापन गर्छ । अहिले पनि राष्ट्रबैंकसँग पर्याप्त ट्रेजरी बिल्स छैन । तरलता व्यवस्थापनमा यसको असर देखिन्छ', उनले भने ।

सरकारलाई काम गर्न असर नगरे पनि बजारलाई भने बजेटसँग सम्बन्धित विधेयक पारित नहुँदा मनोवैज्ञानिक असर पर्न सक्ने अर्थविद् आचार्यले बताए ।

शनिबारदेखि आर्थिक वर्ष २०७३/७४ सुरु भएको छ । सरकारसँग शुक्रबार सकिएको आर्थिक वर्ष २०७२/७३ को खर्चको आधारमा करिब एक खर्ब रुपैयाँ सरकारी खातामा मौज्दात छ । राष्ट्रबैंकका ऋण व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठ सरकारसँग करिब एक खर्ब रुपैयाँ रहेको बताउँछन् ।

‘ऋण सम्बन्धित विधेयक पारित नहुँदा अहिले असर भने पर्दैन । तत्काल सरकारलाई ऋण उठाउनुपर्ने अवस्था आएमा भने समस्या पर्छ, जुन लगभग असम्भवजस्तै छ', उनले भने । मौज्दात रकम खर्च गर्ने अधिकार सरकारले संसद्बाट प्राप्त गरिसकेको छ ।

एमाले नेतृत्व सरकारले ल्याएको बजेटको कर्मचारीको तलबभत्ता तथा सामाजिक सुरक्षा भत्ताबाहेक अन्य राजनीतिक कार्यक्रम भने अब बन्ने सरकारले कार्यान्वयन गर्ने सम्भावना कम छ । ‘बजेटमा एमाले सरकारको रङ देखिने कार्यक्रम नयाँ सरकारले अगाडि नबढाउन सक्छ । यसले बजेटमा घोषणा भएका पपुलर कार्यक्रम कार्यान्वयनमा नआउन सक्छन्', अर्थ मन्त्रालयका एक अधिकारीले भने । बाँकी कार्यक्रम कार्यान्वयनलाई भने तीनवटा विधेयक पारित नभए पनि र सरकार परिवर्तन भए पनि कुनै असर गर्दैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.