तमोरको बाढीले दोभानको पुल बगायो

तमोरको बाढीले दोभानको पुल बगायो

ताप्लेजुङ: ताप्लेजुङ जिल्लाको दोभानस्थित तमोर नदीमा बनिरहेको पक्की पुल बाढीले बगाएको छ । झण्डै ११ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको पुल शनिबार राति आएको बाढीले बगाएको हो ।

राति करिब २ बजे आएको बाढीले निर्माणाधिन उक्त पुल बगाएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । निर्माण अन्तिम चरणमा पुगेपछि बाढीले पुल बगाइदिँदा पुलको अभावमा सडकको पहुँच बाहिर रहेका जिल्लाका दुई दर्जन गाविसको भविष्य अन्योलमा परेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

९० प्रतिशत काम सकिएको निर्माणाधिन फलामे पुल बाढीले बगाएपछि ताप्लेजुङवासी निरास भएका छन् । तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान र विराटनगर पूर्वका प्रमुख शहरसँग ताप्लेजुङको सम्बन्ध जोड्ने यो पुललाई यहाँका बासिन्दाले जिल्लाको विकासको प्रमुख खुड्किलोको रुपमा लिएका थिए ।

२०६६ मंसिर २१ मा तत्कालिन सभामुख सुवासचन्द्र नेम्बाङले शिलान्यास गरेको यो पुल तीन वष भित्र निर्माण सम्पन्न गरिसक्ने ठेकेदार कम्पनीको सडक विभागसँग सम्झौता थियो । तर तीन वर्ष भित्रमा पुलको निर्माण कार्य सक्ने सम्झौता अनुसार काम सुरु गरेका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रालिले ठेक्का सम्झौता अनुसार काम गर्न नसक्दा पुल निर्माण कार्य अलपत्र परेको थियो ।

 

निर्माण कार्य सुरु भएको ६ वर्षपछि वल्ल आएर गत फागुन महिनाबाट कामले गति लिन थालेपनि वर्षा सुरु भएकोले काम गर्न वाधा उत्पन्न भएको भन्दै आगामी मंसिर महिनाबाट जसरी भए पनि पुल सञ्चालनमा ल्याउने भन्दै ठेकेदार कम्पनीले गत वैशाख महिनाबाट पुल निर्माणको काम स्थगित गरेका थिए ।

यसअघि ठेकेदार कम्पनीले निर्माण स्थलमा राखिएका पुल निर्माणको ल्याइएका सामान तमोरले बगाएको, पुल निर्माणको लागि चाहिने हुलास कम्पनीले सामान उत्पादनमा उदासिनता देखाएको नेपालमा भारतले लगाएको नाकाबन्दीका कारण हुलासले कच्चा पदार्थको अभावका कारण सामान उत्पादन गर्न नसकेको जस्ता वहाना बनाएर सडक विभागसँग पुल निर्माणको लागि म्याद थप गरिरहेका थिए ।

पुुलको नियमन गरिरहेको उत्तर दक्षिण लोकमार्ग आयोजनाका योजना प्रमुुख कुवेर नेपालका अनुसार निमार्ण कम्पनीले सम्झौता अनुसार काम नसक्दा हाल जरिवाना तिराएर पुल निर्माणको काम अघि बढाइएको थियो । सम्झौता अनुसार काम नसकेपछि निर्माण कम्पनीले दैनिक ०.०५ प्रतिशतका दरले सरकारलाई जरिवाना तिरिरहेको थियो ।

यसरी ठेकेदार कम्पनीको लापरवाहीका कारण ६ वर्षसम्म वेवारिसे अवस्थामा रहेको पुल निर्माण सम्पन्न हुन लाग्दा तमोरले बगाइदिए पछि विशेष गरी ताप्लेजुङको पश्चिमी दुई दर्जन गाविसको विकासको सपना अर्थहिन बन्न पुगेको जिल्ला विकास समिति ताप्लेजुङका शाखा अधिकृत दुर्गाप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार दोभान पुल समयमै निर्माण सम्पन्न नहुँदा ताप्लेजुङको निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, सावादिन, खेजेनिम, इखाबु, लेलेप र ओलाङ्चुङ गोलालगायतका गाविसमा खनिएका मोटरबाटो अलपत्र परिरहेका थिए । पुलको प्रतिक्षामा बसेका यि गाविस तमोरले निर्माणाधिन पुल नै बगाइदिएपछि विकासको दृष्टिले अझै ओझेलमा पर्ने सम्भावना बढेको उनको बुझाइ छ ।

तमोर तालको त्रास कायमै

निर्माणाधिन तमोर पुल बाढीले बगाएपछि एक साताअघि नाक्ला भिरबाट आएको पहिरोका कारण सावादिन र फुरुम्बुबीचमा तमोर नदी थुनिएर बनेको ताल फुटेर बाढी आएको भन्दै नदी किनारका बासिन्दा त्रसिद बनेका थिए । तर हाल सम्म यो ताल नफुटेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार साँझ परेको वर्षापछि नदीमा आएको बाढीले ताल बढेर फुरुम्बुतर्फको भाग कटान गर्दै नदी बगिरहेको स्थानीयले बताएका छन् । केही दिनअघि एक अध्ययन टोलीले ताल तत्काल फुटेर खतरा नहुने जनाए पनि बाढी आएको अवस्थामा ताल फुट्ने खतरा रहेको भन्दै तमोर किनारका बासिन्दा अझै पनि उच्च सतर्कतामा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.