महिलाले बनाए झोलुंगे पुल निर्माण

महिलाले बनाए झोलुंगे पुल निर्माण

विर्तामोड: सरकारले टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीलाई निर्माणको काम जिम्मा दिएको भन्दा स्थानीय उपभोक्ता समितिलाई जिम्मा दिइएको निर्माणको काम छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न भएका छन् । पछिल्लो समयमा झापा बुधबारे १ मा रहेको दामा खोलामा महिला उपभोक्ता समितिले बनाएको झोलुंगे पुल यसको गतिलो उदाहरण बनेको छ ।

२०७१ साल फागुन महिनाबाट उक्त पुलको निर्माण सुरु गरेका बुधबारे १ का महिलाले चारमहिनाको अवधिमै पुल बनाइसके । पुल बनेपछि बुधबारे १ दामा खोला पारिपट्टिका सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।


महिला मात्रै रहेको उपभोक्ता समितिका अध्यक्ष यमुना चापागाईंका अनुसार समिति बनाउने बेलामा निकै समस्या भोग्नु पर्‌यो । उनले भनिन्, ‘पुरुष दाजुभाइले यिनीहरूले काम गर्न सक्दैन भन्थे । तर हामीले समयभन्दा अघि नै गुणस्तरीय काम गरेर देखायौं ।'

उनीहरुले ढुंगा पनि बोके, लट्ठा पनि ताने । आफ्नो मेहेनतका कारण गाउँले सबैले सेवा पाएकाले सन्तुष्टि मिलेको उनीहरूको भनाइ छ । पुल निर्माण समितिका सचिव गंगा आचार्यले पुल निर्माणले धेरै सुत्केरी महिलाको ज्यान बाँचेको बताइन् ।

उक्त पुलको लम्बाई ७५ मिटर छ । पुल निर्माणका लागि जिल्ला विकास समिति झापाले ८४ हजार ४ सय ८८ रुपैयाँ र बुधबारे गाविसले पनि सोही परिमाणको रकम उपलब्ध गराएको थियो । पुल निर्माणमा सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । विभिन्न दातृ संस्थाको सहयोग समेत जुटाएर २८ लाख १६ हजार रुपैयाँको लागतमा उक्त पुलको निर्माण सम्पन्न भएको समितिका कोषाध्यक्ष अनिता चापागाईंले बताइन् ।

स्थानीयवासीको सक्रियतामा बुधबारेमा झोलुंगे पुलको निर्माण समयमा भए पनि झापाको पुरानो नगरपालिकाअन्तर्गत मेची पारीको गाउँ जानका लागि बन्ने भनिएको पुलको निर्माण अत्तोपत्तो छैन । उक्त पुल नबन्नुको मुख्य कारण हो सरकारी ठेक्का प्रणाली । पूर्वी सीमाको मेची खोलापारीको यो गाउँका बासिन्दा झोलुंगे पुल बन्ने कुराले खुसी भएका थिए । तर त्यो खुशी स्थायी हुन सकेको छैन ।

झापा क्षेत्र नम्बर ३ का सांसद् कृष्णप्रसाद सिटौलाले मेची नदीमा झोलुंगे पुलको शिलान्यास गर्दा मेचीपारीका सबै घरबाट परिवारै किनारामा भेला भएका थिए । तर पुल शिलान्यास भएको यत्रो महिना बितिसक्दा पनि निर्माणको काम अलपत्र अवस्थामा छ । मेची नदी पारिको गाउँमा बसोबास गर्ने नागरिकको मागलाई सम्बोधन गर्दै सरकारले नदीमा झोलुंगे पुल बनाउने योजना अघि सारेको नौ महिना बितिसक्दा निर्माणस्थलमा ठेकेदारले एक बन्डल रड, बालुवा र गिट्टी थुपारेर पुल निर्माणको काम अलपत्र अवस्थामा छोडेको छ ।

१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल बनाउने सम्झौता गरेको ठेकेदार कम्पनीले नौ महिना उसै गुजारिसकेको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेका अनुसार हाल ठेकेदार कम्पनीले केही काम गरेको कारण समयमा काम सम्पन्न हुन्छ भन्ने आश गर्न सकिने ठाउँ भने अझै छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.