सूचनाको हकका मुद्दा

सूचनाको हकका मुद्दा

मुलुक राजनीतिक रूपमा तरल छ । जुनसुकै बखत राजनीतिक निकासको लागि संविधान संशोधन हुन सक्छ । सो बेला संविधानको धारा २७ मा रहेको सूचनाको हकमा पाँचवटा कुरा संशोधन हुनुपर्छ । पहिलो, सूचनामा नागरिकको सट्टा व्यक्तिको हक कायम हुनुपर्छ । यसबाट बाह्य लगानीकर्ता र पर्यटकले पनि आफूसँग सम्बन्धित सूचना माग गर्न पाउँछन् ।


दोस्रो, अन्तर्राष्ट्रिय अभ्यासअनुसार सूचना माग्ने र पाउने हकका साथै प्रवाह गर्ने हक पनि संविधानमा थप गर्नुपर्छ । तेस्रो, मुलुक संघीयतामा प्रवेश गरेकाले राष्ट्रिय सूचना आयोगलाई संघीय सूचना आयोगमा रूपान्तरण गर्ने र सबै प्रदेशमा प्रादेशिक सूचना आयोग गठन गर्नुपर्छ ।

चौथो, नेपालमा सूचनाको हकसम्बन्धी अभियानले औपचारिकता पाएको करिब २५ वर्ष मात्रै भएकाले एउटै छाता कानुनले संघीय र प्रादेशिक सूचना आयोगहरू सञ्चालनमा ल्याउनुपर्छ । पाँचौँ, संविधानको धारा २७ को दोस्रो वाक्यमा रहेको तर कानुनबमोजिम गोप्य राख्नुपर्ने सूचनाको जनकारी दिन कसैलाई बाध्य पारिने छैन भन्ने वाक्य अत्यन्तै आपत्तिजनक र पूर्णतः भ्रमयुक्त रहेकाले सो वाक्यको सट्टा तर सूचनाको हकसम्बन्धी कानुनले प्रवाह नगरिने भनिएका सूचना दिन बाध्य गरिने छैन भन्ने कुरा संविधानमा लेख्नुपर्छ ।

नेपालमा राणाकालीन जहानियाँ शासन र निर्दलीय पञ्चायती व्यवस्थाको धङधङी अझै पनि बाँकी भएको महसुस हुन्छ । २०६४ सालमा सूचनाको हकसम्बन्धी कानुन जारी भएपछि तत्कालै कर्मचारीको शपथ ग्रहणबाट ‘गोपनीय' शब्द हटाउनु पथ्र्यो । यसमा राष्ट्रिय सूचना आयोगले सरकारलाई औपचारिक रूपमा सो शब्द हटाउन आग्रह गरिसकेको अवस्था छ ।
साथै अबको सन्दर्भमा सूचना दिन इन्कार गर्ने कर्मचारीलई विभागीय कारबाही गरिने कुरा निजामती सेवा ऐनलगायतका कानुनमा समावेश गर्नुपर्छ । पञ्चायतकालमा सूचना चुहाउने कर्मचारीलाई पर्चा खडा गरेर हटाउने गरेकाले सरकारी कर्मचारीको सेवाको पूर्णतः सुरक्षाको प्रत्याभूति दिने गरी निजामती सेवा ऐनलगायतका कानुन निर्माण भए ।

हाल केही कर्मचारीले यही सेवाको सुरक्षाको कवचभित्र ढलीमली गरेर नागरिकको सूचना पाउने हकमा धावा बोल्ने गरेका छन् । यस्ता अप्रजातान्त्रिक क्रियाकलाप प्रदर्शन गर्ने सामन्ती चिन्तनबाट ग्रसित सार्वजनिक पदमा रहनेलाई कारबाही गर्ने गरी कानुनमा संशोधन हुनु जरुरी छ ।

हाल सरकारी र सार्वजनिक निकायहरूले आफूसँग उपलब्ध कर्मचारीलाई नै सूचना अधिकारी तोकेको अवस्था छ । यसमा अधिकांशले नागरिकमैत्री भएर सूचना प्रवाह गर्न थालेका छन । तर कही सूचना अधिकारीले आफूसँग सूचना नभएको बहान बनाउने, सूचना माग गर्नेलाई हतोत्साही गर्ने, समयमा सूचना नदिने, संविधान र कानुनको खिल्ली उडाउने, सूचना नदिएर सरकारको चाकडी गरेको नाटक गरी गैरकानुनी चरित्र देखाउनेमाथि कडा निगरानी र कारबाही हुनुपर्छ ।

यसको जिम्मेवारी सार्वजनिक निकायका राजनीतिक र प्रशासनिक नेतृत्वले लिनुपर्छ । साथै सूचना प्रवाहका अवरोधकहरूलाई पाखा लगाउँदै यसै क्षेत्रमा अध्ययन गरेका व्यावसायिक व्यक्तिलाई छुट्टै सेवा खडा गरी जिम्मेवारी दिने सोचलाई मूर्तरूप दिनुपर्छ । नागरिक समाजका अगुवा, समाजमा राम्रो उचाइ लिएका, वरिष्ठ पत्रकार, सूचनाको हकका अभियन्ता र मुलुकको समग्र परिस्थितिको विश्लेषण गर्ने क्षमता राख्ने विद्वान् वर्गले मुलुकको विकृति–विसंगतिसँग सरोकार राख्ने सूचना माग गर्ने अभ्यास आरम्भ गर्नुपर्छ ।

वास्तविक सूचना, तथ्य तथ्यांकका प्रतिवेदन हात नपारी टिप्पणी गर्दा हल्का भइनु स्वाभाविकै हो । समाजमा निश्चित पहिचान बनाएका व्यक्तिहरूले सूचना माग गर्दा सूचना दिनुपर्ने पदाधिकारीमा स्वाभाविक रूपमा दबाब पैदा हुन्छ । कैयन् क्षेत्रमा सूचना माग गर्नेबित्तिकै गलत हर्कत रोकिन्छ । कैयन् क्षेत्रमा सूचना प्राप्त गरी गलत कामकारबाही सार्वजनिक भएपछि भविष्यमा त्यसको गलत काम गर्ने हिम्मत कसैमा रहँदैन । यसर्थ आम सर्वसाधारणले सूचना माग गर्न अभ्यास नगरुन्जेल मुलुकका विशिष्ट महानुभावले सूचना माग्ने र प्राप्त गरी जनतामा पुर्‌याई योगदान गर्न अधि सर्नु पर्छ ।

सूचनाको हकसम्बन्धी कानुनबमोजिम सूचनाको वर्गीकरण गर्नुपर्छ । लामो समयदेखि यो काम भइरहेको छैन । तर समाज मौन छ । बुझेका मानिस मूकदर्शक भएका छन् । यस्मा सघाउनेको अभाव देखिएको छ । मन्त्रालयका सचिवहरू सूचना वर्गीकरणको सट्ट दैनिक काम र दिनहुँ आउने नयाँ–नयाँ समस्याभित्र जकडिएका छन् । यसरी जनताको सूचनाको हकलाई राज्य प्रणालीले प्राथमिकतामा राख्न नचाहेको र राख्त नसकेको जस्तो प्रतीत हुन्छ ।

 

जनतामाथि शासन गर्न माहिर राजनीतिक र प्रशासनिक नेतृत्व सूचनाको वर्गीकरण नभएकाले सूचना दिन नसकेको भनी अरूमाथि दोष थोपरेर आफू पानीमाथिको आभानो भइरहेको छ । यथार्थमा सूचनाको वर्गीकरण नहुन्जेल नागरिकले माग गरेका सबै सूचना खुला हुन्छन् । तर नागरिकले माग गरेको बखत पाउँछन् भनी बोलिदिने, लेखिदिने, बहस गरिदिने र सम्बन्धित पदाधिकारीलाई सम्झाइदिनेको अभाव खट्किरहेको छ । सन् २००२ को २८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय थाहा दिवसको रूपमा मनाउने परम्परा सोफियाबाट आरम्भ भएको हो ।

तर नेपालका थाहा अभियानका नेतालाई हामीले विश्व बजारमा पुर्‌याउन सकेनौँ । हाल विकसित मुलुकमा खुला सरकारी तथ्यांक–ओजीडीको अवधारणा विकास भएको छ । ५ मार्चलाई खुला तथ्यांक दिवसका रूपमा मनाउन थालिएको छ । नेपालमा राष्ट्रिय सूचना आयोगले संयुक्त राष्ट्रसंघीय निकायसँग मिलेर यससम्बन्धी कार्यक्रम अघि बढाएको छ । तर यसमा थोरैको मात्रै चासो छ । यसैगरी सन् २०११ मा आरम्भ भएको खुला सरकार साझेदारी– ओपीजीको अभियानमा नेपाललाई सदस्यता लिन आमन्त्रण पत्र प्राप्त भएको छ ।

सूचनाको हकको प्रभावकारी प्रचलनले भ्रष्टाचार नियन्त्रणमा प्रत्यक्ष सघाउँछ, तर हामीले यसलाई उपयुक्त रूपमा प्रयोग गर्न सकिरहेको छैनौँ ।

चारवटा मुख्य विषयमा अंक दिइने र १०० पूर्णांकमा ७५ भन्दा कम अंक ल्याउनेले यस अभियानको सदस्य नपाउने यस अभियानमा नेपालले हाल ८२ अंक हासिल गरेको अवस्था छ । तर धेरै बुद्धिजीवी नेपालीहरू यी कुराबाट बेखबर छन् । यसैगरी क्यानडामा मुख्यालय रहेको सेन्टर फर ल एन्ड डेमोक्रेसी नामक संस्थाले संसारमा जारी भएका सूचनाको हकसम्बन्धी कानुनलाई ६१ बटा सूचकांकका आधारमा तुलनात्मक अध्ययन गरी नेपाली कानुनलाई १५० पूर्णांकमा १०४ अंक दिएको छ । विश्व वरीयातामा नेपाललाई २३ नम्बरमा राखेको छ । दक्षिण एसियामा हामीभन्दा अगाडि भारत, माल्दिभ्स र बंगालादेश छन् । ती मुलुक कसरी नेपालभन्दा राम्रा ठहरिए, साह्रै थोरैले मात्रै चासो र ध्यान दिएका छन् । यस्ता कुरामा बुद्धिजीवीहरूले गहन अध्ययन गर्न जरुरी छ ।

सूचनाको हकको प्रभावकारी प्रचलनले भ्रष्टाचार नियन्त्रणमा प्रत्यक्ष सघाउँछ, तर हामीले यसलाई उपयुक्त रूपमा प्रयोग गर्न सकिरहेको छैनौँ । सुशासनका आधारहरू भनेको उत्तरदायित्व, जिम्मेवारीपना र पारदर्शिता नै हो । तर यी कुरामा लगानी नै नगरी हामीले सुशासन भेट्टाउन खोजिरहेका छौँ । विधिको शासन लागू गर्न, समानताको कानुन प्रयोग गर्न र नागरिकलाई पालैपालो सेवा दिन पहिला जनता सुसूचित हुनपर्छ । यसमा पनि हामी बेखबर छौँ ।

लोकतन्त्रको संस्थागत विकास गर्नुपर्छ भन्न जान्ने भएका छौँ, तर लोकतन्त्रको प्राणवायुको रूपमा रहेको सूचनाको हकको प्रवर्धन नगरी कसरी उपयुक्त नतिजा आउला भन्ने कुराको हेक्का नगरी राजनीति गरिरहेका छौँ । यसर्थ सबै क्षेत्र र पक्ष समयमै सजग होऔँ । सूचनाको हकलाई प्रत्येक नागरिकको दैनिक जीवनको अभिन्न पक्ष बनाऔँ । यसैमा सबैको हित लुकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.