लेखकलाई हेमिंग्वेका सात टिप्स
पेन्सिलले लेख्दा भने आफैंले लेखेको तीनपटक जाँच्न पाइन्छ— आफैंले पढ्दा, टाइप गर्दा र प्रुफ हेर्दा। बीसौं शताब्दीका महान् कथाकार अर्नेस्ट हेमिंग्वेले आख्यान लेखकहरूलाई लेखनबारे केही टिप्स दिएका छन्। हेरौं सात टिप्स:
१. सुरुमा एउटा सत्य वाक्य लेख
लेखनमा भर्खरै लागेकालाई हेमिंग्वेको सरल उपाय छ। संस्मरणात्मक लेख ‘द मुभेबल फिस्ट'मा उनी लेख्छन्:
कहिलेकाहीँ नयाँ कथा लेख्न बस्ता म सुरु नै गर्न सक्दिनथेँ। आगोअगाडि बसेर म त्यसको ज्वालामा सुन्तला निचोर्दै त्यसबाट निस्किरहेका नीला छिटाहरू हेरिरहन्थेँ। जुरुक्क उठेर छतमा जान्थेँ र आफैंलाई भन्थेँ, ‘धन्दा नमान्। तैंले पहिला पनि लेखिसकेको छस् अब पनि लेख्नेछस्। तैंले बस् एउटा सत्य वाक्य लेख्नुपर्छ। तैंले जानेको सबैभन्दा सत्य वाक्य लेख।' फलस्वरूप म एउटा सत्य वाक्य लेख्थेँ र त्यसैबाट आख्यान सुरु गर्थें।
२. अर्को दिनका लागि बाँकी राख
लेखनलाई अगाडि बढाउन हरेक दिन निश्चित शब्द लेख्नु हेमिंग्वेका लागि महत्वपूर्ण थिएन। अगाडि के हुन्छ भन्ने जान्दाजान्दै पनि अर्को दिनका लागि बाँकी राख्न उनी सुझाउँथे। ‘मोनोलग टु त मेयस्ट्रो: अ हाई सिज लेटर'मा उनी लेख्छन्:
अगाडि के हुनेछ भन्ने जान्दाजान्दै वा राम्रो लेख्दालेख्दै पनि रोकिनु निकै राम्रो हुन्छ। उपन्यास लेखिरहेको समयमा तिमीले त्यसो गर्यौ भने कहिल्यै धरमराउने छैनौ।
३. नलेखेको समयमा कथाबारे नसोच
‘अ मुभेबल फिस्ट'मा उनी लेख्छन्:
आख्यानमा काम गरिरहेको समयमा लेखेपछि पढ्नु मेरो निम्ति आवश्यक हुन्छ। तिमीले यसबारे सोचिरह्यौ भने अर्को दिन लेख्नुअघि पहिले लेखेको गुमाउनेछौ। शरीर थाक्ने गरी कसरत गरेको बरु राम्रो हुन्छ। यसले तिमीलाई, झन् मायालु बनाउँछ। खाली समयमा पढ्नु उपयुक्त हुन्छ।
४. पढेरमात्र काम सुरु गर
‘मोनोलग टु मेयस्ट्रो'मै उनी फेरि लेख्न सुरु गर्नुअघि पहिले आफैंले लेख्दै गरेको पढेर सुरु गर्ने सुझाव दिन्छन्:
लेख्नुअघि अघिल्लो दिन लेखेको विषय पढेर लेख्न सुरु गर्नुपर्छ। लेख्दै जाँदा हरेक दिन सुरुबाट नै पढ्न त सकिन्न। त्यति बेला हप्ताको एकपटक आफूले लेख्दै गरेको (मूलतः उपन्यास) सुरुदेखि नै पढ्नु राम्रो हुन्छ।
५. भावना लेख्ने होइन, सिर्जना गर्ने हो
जीवनलाई नजिकबाट हेर्नु र सुन्नुमात्र लेखनका लागि पर्याप्त हुँदैन। भावना सिर्जना गर्ने घटना नै उल्लेख गरिदिनुपर्छ। ‘डेथ इन द आफ्टरनुन'मा उनी लेख्छन् :
लेख्न प्रयास गर्दैगर्दा म चर्को समस्यामा परेँ। यस्तो अनुभूति हुन्छ भनेर अनुमान त गर्न सकिन्छ तर कस्तो हुन्छ भनेर कसरी बताउने ? मलाई लाग्यो, भावना उत्पत्ति गर्ने घटना पूरै लेखिदिनुपर्छ।
६. पेन्सिलले लेख
हेमिंग्वेले कमैमात्र टाइपराइटर प्रयोग गरे। चिठीपत्र लेख्दा वा पत्रिकाका लागि लेख लेख्दा मात्र उनी टाइपराइटर प्रयोग गर्थे। गम्भीर लेखनमा भने उनी पेन्सिलले नै लेख्थे। ‘इस्क्वायर'मा छापिएको लेखमा उनी लेख्छन् ः
लेख्न थालेपछि तिमी आफूसँग भएका सबै विषय लेख्न थाल्छौ जसले गर्दा पाठकले केही नपाउने सम्भावना पनि रहन्छ। पेन्सिलले लेख्दा भने आफैंले लेखेको तीनपटक जाँच्न पाइन्छ— आफैंले पढ्दा, टाइप गर्दा र प्रुफ हेर्दा। त्यसैले पेन्सिलले सच्याउने मौका एक तिहाईले बढाइदिन्छ।
७. छोटो लेख्ने गर
सन् १९४५ मा आफ्ना सम्पादक म्याक्सवेल पर्किन्सलाई लेखेको पत्रमा हेमिंग्वे लेख्छन्:
गेट्टिसबर्ग भाषण (सन् १८६३ नोभेम्बर १९ मा अब्राहम लिंकनले दिएको चर्चित भाषण) त्यसै छोटो भएको होइन। आख्यान लेखनका पनि गणित वा भौतिकशास्त्रका जस्तै अनुल्लंघनीय नियमहरू हुन्छन्। (एजेन्सीको सहयोगमा)