देउवाको निर्णयप्रति कांग्रेस नेताकै आपत्ति
काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताले सभापति शेरबहादुर देउवाले एकल निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।
पौडेल लगायतका नेताले देउवालाई केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर मात्र पार्टीका महत्वपूर्ण निर्णय लिन आइतबार ध्यानाकर्षण समेत गराएका छन्।
नेता पौडेलको नेतृत्वमा देउवा निवास बूढानिलकण्ड पुगेका कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले देउवालाई छलफलपछि मात्र महत्वपूर्ण निर्णय लिन सुझाव दिएका हुन् ।
बूढानिलकण्ठमा भएको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको विषयमा छलफल भएको छ । बैठकले वर्तमान समसामयिक राजनीतिक विषयमा अब कसरी बढ्ने भन्ने विषयमा छलफल गरेको नेता महतले जानकारी दिए ।
भेटमा नेताहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिएका छन् ।रासस