आइतबार नेप्से २७ अङ्कले बढ्यो
काठमाडौँ: धितोपत्र बजारमा आइतबार नेप्से परिसूचक २७ अङ्कले वृद्धि भई एक हजार सात सय ४५ विन्दुमा पुगेको छ।
कुल एक सय ३६ कम्पनीको एक अर्ब ३६ करोड २८ लाख २८ हजार चार सय ६९ मूल्य बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
दैनिक तीन घन्टा मात्रै कारोबार हुँदै आएको बजार आइतबारदेखि एक घन्टा थप गरी चार घन्टा बनाइएको छ। बिहान ११ बजेदेखि सुरु भएको बजार सदाझै ३ बजे बन्द हुँदा कुल २२ लाख ७२ हजार ४५ कित्ता सेयर बिक्री भएको छ।
विभिन्न चार समूहको सेयर उकालो लागेकामा अर्का चारवटै समूहको सेयर भने ओरालो लागेको छ।
बैैंकिङ समूह ३.१८, फाइनान्स ०.७१, उत्पादन समूह १.५७ र अन्य समूहको सेयर २.९३ प्रतिशतले बढेको छ। होटल ०.४५, विकास बैंक १.८, जलविद्युत् ०.९४ र बिमा समूहको सेयर ०.५५ प्रतिशतले झरेको छ।
एक घन्टा कारोबारको समय बढाइएको भए पनि बजारमा आइतबार खासै प्रभाव नपरेको स्टकका सहायक प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए।
उनका अनुसार थपिएको समयको प्रभाव बजारमा विस्तारै पर्दै जाने छ।
नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै स्टकले कारोबारको समय एक घन्टा थप गरेको हो। जलविद्युत् लगानी तथा विकास कम्पनीको मात्रै आज १२ करोड ७२ लाख ६३ हजार २९७ को कारोबार भएको छ। कम्पनीको सेयर प्रतिकित्ता रु ४७६ मा कारोबार भएको हो। रासस