वर्षाले पहिरोको जोखिम उस्तै
काठमाडौं: गत वर्षको विनाशकारी भूकम्पका कारण चिरा परेको जमिनमा ठूलो पानी पर्दा पहिरो जाने खतरा कायमै रहेको विज्ञले औंल्याएका छन् । विनाशकारी भूकम्पपछि देशभरि चार हजार तीन सय १२ वटा पहिरो गएका थिए । छोटो समयमा हुने ठूलो वर्षाले अहिले पनि पहिरो जाने खतरा झन् बढाएको छ ।
विश्वभरिका ६० जना अनुसन्धानकर्ताले संयुक्त रूपमा अध्ययन गरी पहिरोबाट जोगिन तत्काल सचेतनाका उपाय अपनाउन सरकारलाई सुझाव दिएका थिए । तर त्यसयता पहिरोबारे कुनै अध्ययन तथा अनुगमन भएको छैन ।
पहिरो विशेषज्ञ डा. वसन्तराज अधिकारीले भूकम्पले चिरिएको जमिनबाट पानी पस्ने क्रम बढेकाले ठूलो विपत्तिको खतरा रहेको बताए । उनले भने, ‘पोहोर भूकम्पले बनाएका पहिरोको अवस्था जस्ताको तस्तै छ । पानी पसिरहेको छ । डाँडा पुरिएका छैनन् ।' पहिरोबारे अध्ययन गरिरहेको इसिमोडले उच्च क्षमता भएका भूउपग्रह तस्बिर तथा अन्य प्रविधिको प्रयोग गरी भूकम्प प्रभावित जिल्लामा पाँच हजार एक सय ५९ पहिरो पहिचान गरेको थियो । तीमध्ये करिब एक हजार पहिरोमात्रै भूकम्पभन्दा अघिका हुन् ।
प्रभावित १७ जिल्लामा देखिएका चार हजार तीन सय १२ पहिरो गत वर्षको वैशाखपछिका छन् । यीमध्ये सबैभन्दा धेरै गोरखा, धादिङ, रसुवा तथा सिन्धुपाल्चोकमा छन् । ‘डाँडामा भएका चिरा नपुरिएसम्म यो खतरा रहिरहन्छन्,' अधिकारीले भने, ‘वैज्ञानिक रूपमा डाँडा पुरिनुपर्छ ।' यस वर्ष मनसुनमा समेत औसतभन्दा बढी वर्षा हुने भएकाले पहिरोको खतरा भएका बस्ती आसपासका बासिन्दालाई सचेत बनाउनुपर्ने विज्ञको सुझाव छ ।
कतिपय डाँडापाखा भूकम्पले थर्काएका कारण कमजोर भएको र पहिरो गइहाल्ने खतरा रहेको पनि अध्ययनका क्रममा विज्ञले फेला पारेका छन् । अहिले भइरहेका पहिरोमध्ये अधिकांश नयाँ हुन् । ‘पुरानोमै थप पहिरो गएका थोरै मात्रै घटना छन्,' अध्ययन प्रतिवेदनमा लेखिएको छ, ‘गत वर्षका पाँच मिटरभन्दा छोटा पहिरो अझै खतरनाक छन्, ठूला ढुंगा र गेग्रान खस्ने समस्या छ ।'
विज्ञले गत वर्ष नै यस्ता पहिरोको खतरा लामो समयसम्म रहनसक्ने चेतावनी दिएका थिए । हालै तातोपानीस्थित लिपिङ बजारमा गएको पहिरो त्यसैको परिणाम भएको विज्ञले बताए । गत वर्षका दुई ठूला भूकम्पका धक्काका कारण नेपालमा थोरै क्षेत्रफलमा इतिहासमै बढी पहिरो गएको इसिमोडको निष्कर्ष छ । ६० वैज्ञानिकले गरेको अध्ययनपछि भूकम्प प्रभावित जिल्लामा विशेष भौगर्भिक र वातावरणीय अनुसन्धान गर्न सुझाएका थिए ।
विज्ञले पहिरो आसपासका बासिन्दा अझै खतरामा रहेको निष्कर्ष निकालेका छन् । चार हजार पहिरोमध्ये प्रतिनिधिमूलक रूपमा अध्ययन गरिएको धादिङको गल्छी, दोलखाको मैलुङ, गोरखाको कुलगाउँ, नुवाकोटको झर्लाङ, रामेछापको ग्याप्चे र सिन्धुपाल्चोकको मार्मिङको पहिरोबाट अझै ६ सयजना जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।