स्थायित्वको चाहना

स्थायित्वको चाहना

वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले २०७२ साल असोज २४ गते आफ्नो पदभार सम्हालेका हुन् । सत्ता घटकमा साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्तावसमेत दर्ता गराइसकेकाले देशको राजनीतिमा पुनः एकपटक अस्थिरता सिर्जना भएको छ ।

स्रमणीय पक्ष के छ भने अविश्वासको प्रस्तावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन् । यस विषयले संसद्मा छलफलको लागि गत बिहीबारबाट एक साताभित्र प्रवेश पाउनेछ ।

प्रधानमन्त्री गणितीय हिसाबले अल्पमतमा परे पनि उनले पदबाट राजीनामा नदिई परिस्थितिको सामना गर्ने निर्णय लिएका छन् । समय र परिस्थितिले गर्ने निर्णय सबैलाई स्वीकार्य हुने नै छ । वर्तमान समयमा यो अवस्था किन सिर्जना भयो यसबारे प्रत्यक्ष–परोक्ष ककसको संलग्नता रह्यो भन्ने विषय पनि यथासमयमा उजागर हुने नै छ ।

राजनीतिलाई सर्व श्रेष्ठ नीतिको संज्ञा दिइएको छ । राजनीतिज्ञले जस्तो कुनै निर्णय पनि गर्न सक्छन्, राजनीतिमा स्थायी मित्र वा शत्रु कोही हुन्न भन्ने उक्तिसमेत निर्माण गरिएको छ । अर्काे धु्रवमा राजनीतिलाई फोहोरी खेलको संज्ञासमेत दिइएको छ । पछिल्ला समयमा आएर राजनीतिज्ञले जोगी हुन राजनीति गरिएको होइन, सत्ता प्राप्ति आफ्नो अन्तिम अभीष्ट हो भन्ने गरेको पनि सुनिन्छ ।

 

राजनीतिलाई जेजसरी परिभाषित गरिए पनि यसको सञ्चालनमा कुनै मूल्य मान्यता नै हुँदैन, यसले कानुन मान्नु पर्दैन भन्ने पक्कै होइन । तर व्यवहारमा हाम्रो देशका राजनीतिज्ञले आफैँ निर्माण गरेको संविधान, कानुनको पालना गरेजस्तो लाग्दैन ।

विभिन्न बुँदे एक आपसी सम्झौता र भद्र सहमति रटेरै उनीहरू सरकार गिराउने र निर्माण गर्ने खेलमा अभ्यस्त हुन पुगेका छन् । राजनीतिज्ञको यस्तै लहडले गर्दा देशमा विकास निर्माण कार्य प्रभावित भइरहेछन्, राजनीतिप्रति जनताको वितृष्णा क्रमिक बढ्दो छ ।

कांग्रेस र माओवादी केन्द्रले हालै गरेको सातबुँदे लिखित सम्झौता र भद्र (? ) सहमतिअनुसार नौ÷नौ महिना सरकार सञ्चालन गर्ने र पहिलो सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नेबारेको समाचार छापामार्फत सार्वजनिक गरिएका छन् ।

संविधानसभा २०७० को मतपरिणामअनुसार कांग्रेसले १९६, नेकपा एमालेले १७५, एमाओवादीले ८० सिट र बाँकी सिट अन्य राजनीतिक दलले प्राप्त गरेका हुन् । संसदीय अभ्यास हेर्ने हो भने त्यसबेला कांग्रेसले सरकार गठन गर्नुपर्ने हो ।

तर विभिन्न कारणवश सो हुन सकेन र नेकपा एमालेले माओवादीसहितको बहुमतीय सरकार निर्माण गर्‌यो । सबभन्दा ठूलो पार्टी कांग्रेस प्रतिपक्षमा बसेजस्तो गरे पनि त्यसै दिनदेखि ऊ सत्ता प्राप्त गर्ने जोडघटाउ गरिरहेको बुझ्न कठिन छैन ।

नेपाली राजनीतिको चरित्र हेर्ने हो भने उपरोक्त तीन राजनीतिक दलमध्ये कांग्रेस सुदूर दाहिनेमा पर्दछ भने माओवादी केन्द्र सुदूर देब्रेमा देखिन्छ । बीचमा रहेको राजनीति दल भनेको नेकपा एमाले हो ।

यस विश्लेषणअनुरूप अब सुदूर दाहिने र सुदूर देब्रेमा रहेका राजनीतिक दलको संगम भोलिका दिनमा कस्तो रहला, वैचारिक धारणा मिल्ने एमालेलाई छक्याएर हिँडेको एमाओवादी केन्द्रले भिन्न दर्शन रहेको कांग्रेससित कसरी गला मिलाउला यो विषय पनि प्रतीक्षारत नै छ । संविधानसभा २०७० को परिणामले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने जनादेश छैन ।

यसविपरीत कार्य भएमा जनताले उनीहरूलाई भोलिका दिनमा कस्तो मूल्यांकन गर्लान्, दसबर्से युद्धको घानमा परी न्याय नपाएका जनताको रोदन कहाँ गएर टुंगिएला, यी विषय पनि अनुत्तरित नै छन् ।

०६२÷६३ मा सम्पन्न दोस्रो जनआन्दोलनपश्चात्का दस वर्षमा नेपालले आठजना प्रधानमन्त्री पाइसक्यो र नवौँ प्रधानमन्त्रीको प्रतीक्षामा छ । प्रत्येक नयाँ बन्ने सरकारले जनतालाई सपना मात्र बाँड्ने र काम न्यून गर्ने गरेकाले सरकारप्रति आम नागरिकको वितृष्णा बढिरहेछ ।

नेपाल कतै छिटो–छिटो प्रधानमन्त्री निर्माण गर्ने राष्ट्र भनी गिनिज बुकमा त दर्ज हुन गइरहेको छैन भन्ने चिन्तासमेत जाहेर गरिएको पाइन्छ । देशमा स्थिर सरकार नभई विकास निर्माणले गति लिन सक्दैन, विकासले गति नलिई नागरिकले राहत प्राप्त गर्न सक्दैनन् ।

यस विषयमा सामान्य हेक्का राख्न नसक्ने राजनीतिज्ञले देशको नेतृत्व गर्छु, देशमा विकास गर्छु भनी गुड्डी नहाँके हुन्छ । सत्तामा पुगेको नेतृत्वलाई सही ढंगले परिचालन गर्ने कार्य प्रतिपक्षको हो । हाम्रो देशमा यस्तो अवस्था पनि देखिएन । अतः सत्तामा पुगेकै दिनदेखि सरकार ढाल्ने खेलमा सत्ताकै साझेदार र प्रतिपक्षले खेल्ने खेलको सदा अन्त्य गरिनु जरुरी छ ।

संविधान निर्माणपश्चात् देश अहिले अर्को संक्रमण अवस्थाबाट गुज्रिरहेछ । गत वर्ष गएको विनाशकारी भूकम्पमा परेका जनताले दुई बर्खा र एक हिउँदको कष्टकर जीवन बिताइसके । पुनर्निर्माण कार्यलाई द्रूत गतिमा अगाडि बढाई उनीहरूलाई राहत दिनु अत्यावश्यक छ ।

वर्तमान व्यवस्थापिका–संसद्को कार्यकाल संवत् २०७४ साल माघ ७ गते सम्ममात्र रहेकाले सो समयअगावै करिब १३०÷३५ नयाँ कानुन निर्माण गर्नुपर्ने, स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने, उच्च अदालतको गठन, नयाँ संवैधानिक निकाय गठन, कर्मचारीहरूको समायोजन आदि कार्य यथासमयमा सम्पन्न गर्न नसके अर्काे राजनीतिक संकट उत्पन्न हुन सक्छ । यो अवस्था सिर्जना नहोस् भन्नका लागि पनि देशमा स्थिर सरकारको आवश्यकता देखिन्छ ।

राजनीतिज्ञको उत्तेजित भाषणले देश विकास सम्भव छैन । यसको लागि सबैको प्रतिबद्धता र समर्पण आवश्यक रहन्छ ।

सरकारमा नेतृत्व फेरबदल हुनासाथ नेपालको सार्वजनिक प्रशासनमा अनेकन तरंग सिर्जना हुन्छ । आधा दर्जन ट्रेड युनियनमा विभाजित निजामती कर्मचारीको जोडघटाउ प्रारम्भ हुन्छ । सचिव, निर्देशकका साथै प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, न्यायाधीश वा प्रहरीको सामूहिक सरुवा, पदस्थापनाको लर्को चल्न प्रारम्भ हुन्छ । यसरी राजनीतिक आस्थामा विभाजित कर्मचारीबाट विकास निर्माणको काम सर्वथा प्रभावित हुन पुग्छ ।

राष्ट्रिय महत्त्वका ठूला आयोजना र अन्य परियोजनामा समेत प्रमुखको फेरबदलले ती आयोजना प्रभावित हुन्छन् । नेपालको राजनीतिमा अमूक दलले प्रारम्भ गरेको कामलाई समर्थन नगर्ने, त्यसको कार्य सञ्चालनमा अवरोध खडा गर्ने, विरोध गर्ने प्रवृत्ति विगतदेखि चल्दै आएको हो ।

यस्ता आयोजना/परियोजनालाई राजनीतिक दलको स्वार्थभन्दा माथि राखेर जनताको हितको लागि समयमै सम्पन्न गरिनुपर्छ । अपितु अहिलेको जस्तै नौ–नौ महिनामा सरकार परिवर्तन गर्ने गोप्य सहमति गर्दै गएमा यो कदापि सम्भव देखिन्न ।

राजनीतिज्ञको उत्तेजित भाषणले देश विकास सम्भव छैन । यसको लागि सबैको प्रतिबद्धता र समर्पण आवश्यक रहन्छ । देश विकास नगरी जनताले राहत प्राप्त गर्न सक्दैनन् । राजनीतिक दलले सत्ताकै लागि लुछाचुँडी गर्दै जाने हो भने निर्वाचनका बेलामा उनीहरूलाई जनताले दण्डित गर्न सक्छन् । यस पक्षमा समेत राजनीतिज्ञको ध्यान जानु जरुरी छ । आजका जनता धेरै विवेकी भइसकेका छन् ।

नयाँ संविधानको अहं विषय संघीयताको कार्यान्वयनसमेत हो । यसको कार्यान्वयनमा स्वयं वर्तमान प्रधानमन्त्रीको धारणा प्रस्ट छैन, उनकै मन्त्री संघीयताको विरोधमा प्रचार गरिरहेछन् भन्ने तर्क कांग्रेसका नेताहरूबाट नआएको पनि होइन । विडम्बना कांग्रेसकै एक नेता यस कार्यक्रमको कार्यान्वयन असम्भव रहेको अभिव्यक्ति विश्व सञ्चारमाध्यममा पस्कन पछि परेका छैनन् ।

ती नेताले यो विषय हाम्रो आर्थिक क्षमताले नभ्याउने मात्र होइन कि छिमेकी राष्ट्र भारत र चीनसमेत यसको कार्यान्वयनबाट सशंकित छन् भनी बोलिरहेछन् । यस्तो हो भने संघीयता विषयमा किन हामी यति अगाडि बढ्यौँ, यसको विकल्प के आदिबारेमा समेत समयमै गहन विचार–विमर्श गरिनु उपयुक्त देखिन्छ ।

सारमा लेख्दा २००७ सालपश्चात् हामीले संसदीय व्यवस्था निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय पञ्चायती व्यवस्था हुँदै लोकतन्त्र र गणतन्त्रको अनुभव गरिसकेका छौँ ।

आज गणतन्त्रमा प्रवेश गरेको दस वर्ष बितिसक्दा पनि आम नागरिकले परिवर्तनको न्यून अनुभूति गर्न सकेका छैनन्, अपितु दैनिक दुई हजारको हाराहारीमा कोरा युवायुवती कामको खोजीमा बिदेसिन बाध्य छन् । उनीहरूले पठाएको विप्रेषणले अहिले देश चलिरहेछ । तर अर्को पाटोमा हाम्रा राजनीतिज्ञ सत्ता हत्याउने अभीष्ट पूरा गर्न फोहोरी खेलमा रमाइरहेछन् ।

राजनीतिज्ञले जनतालाई सार्वभौम मान्ने हो भने सर्वप्रथम उनीहरूले जनताका हितमा कार्य गर्नुपर्छ । सत्ता प्राप्तिको लागि होइन । यस मर्मलाई बोध गरी सम्पूर्ण राजनीतिज्ञले (१) वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति जनाउनुपर्छ । सो नभएमा (२) कांग्रेसको नेतृत्वमा सरकार गठन गरी उसलाई २०७४ साल माघ ७ गतेसम्म कार्य गर्न दिइनुपर्छ ।

संसद्मा ठूलो पार्टीको नाताले उसलाई अन्य पार्टीको वैशाखीमा हिँड्न सुहाउँदैन । यसैगरी (३) केपी ओली सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमअनुरूप उसले प्रारम्भ गरेका विकास निर्माणका कार्यलाई निरन्तरता दिई उसको मन पनि जित्न सक्नुपर्छ, उसलाई बिच्काउने होइन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.