युरोपका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक
लन्डन: युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपको सर्वोत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा अन्तिम १० खेलाडीको नाम सार्वजनिक गरेको छ । पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनल मेसीसँगै वेल्सका प्रभावशाली खेलाडी गारेथ बेल पनि मनोनयनमा परेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले हालै पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाएका थिए । उनले आफ्नो क्लब रियललाई युरोपियन च्याम्पियन्स लिगको उपाधिसमेत चुमाएका थिए ।
यसैगरी बार्सिलोनाका स्टार खेलाडी मेसीले हालै सम्पन्न कोपा अमेरिका फुटबलमा आफ्नो टोलीलाई फाइनलसम्म पुर्याएका थिए । आफ्नो टोली फाइनलमा चिलीसँग पराजित भएपछि उनले अप्रत्याशित रूपमा राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरिसकेका छन् ।
उनले बार्सिलोनालाई भने स्पेनिस ला लिगासँगै अन्य महत्त्वपूर्ण उपाधि पनि जिताएका छन् । रियल म्याड्रिडका प्रभावशाली खेलाडी बेलले पनि हालै सम्पन्न युरोकपमा आफ्नो राष्ट्र वेल्सलाई सेमिफाइनलसम्म पुर्याएका थिए ।
मनोनयनमा पर्ने अन्य खेलाडीमा रियल म्याड्रिडका पोर्चुगिज खेलाडी पेपे, बार्सिलोनाबाट खेल्ने उरुग्वेका स्ट्राइकर लुइस स्वारेज र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यान रहेका छन् । यसैगरी युभेन्ट्सका इटालियन गोलरक्षक जियानलुइगी बुफोन, रियल म्याड्रिडका जर्मन स्ट्राइकर टोनी क्रुज र बायर्न म्युनिखका जर्मन गोलरक्षक मानुयल नेउर पनि मनोनयनमा परेका छन् ।
यसैगरी बार्यन म्युनिखका जर्मन खेलाडी थोमस मुल्लर पनि अन्तिम १० खेलाडीको सूचीमा अटाएका छन् । यूईएफएले ३७ खेलाडीमध्येबाट मतदानमार्फत अन्तिम १० खेलाडीको सूची तयार पारेको हो । आगामी अगस्ट २५ तारिखमा विजेताको घोषणा गरिनेछ । सन् २०१५÷१६ सिजनमा सर्वोेत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अवार्ड प्रदान गरिन्छ ।