प्रहरीमा पहुँचवालालाई मात्र विशेष तालिम

प्रहरीमा पहुँचवालालाई मात्र विशेष तालिम

काठमाडौं: प्रहरी संगठनमा जनशक्तिको ७७ प्रतिशत हिस्सा दर्जा प्रशिक्षण (तालिम) को दायराभन्दा बाहिर रहेको खुलेको छ । प्रशिक्षणको नेतृत्व तहले अपारदर्शी ढंगले पहुँचका आधारमा कोटा वितरण गर्दै आएकाले यो हिस्सा प्राविधिकबाहेक अन्य तालिमबाट वञ्चित भएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जले गरेको एक अध्ययनले प्रशिक्षण वितरणमा धेरै त्रुटि फेला पारेको हो । प्रतिष्ठानले यो आर्थिक वर्षमा करिब ३७ हजार प्रहरी कर्मचारीलाई विभिन्न विधामा प्रशिक्षण दिने योजना बनाएको छ । प्रशिक्षण विकास कार्ययोजना–२०७३ अन्तर्गत प्रहरी जवानदेखि डीआईजी तहसम्मकालाई विभिन्न सातवटा विधामा तालिम दिन लागिएको हो ।

प्रतिष्ठानका अनुसार कुल प्रहरी संख्या ७२ हजार सात सय नौमध्ये ५५ हजार नौ सय २९ जनाले भर्ना भएलगत्तै लिएको अधारभूत तालिमबाहेक अन्य तालिम लिन पाएका छैनन् । यो संख्या प्रहरी हबल्दार र जवानको हो । प्रहरी निरीक्षकदेखि डीआईजीसम्मकाले बढुवामा नम्बर चाहिने भएपछि पहुँचका आधारमा तालिम लिँदै आएका छन् ।

प्रतिष्ठानका अनुसार हालको अवस्था विद्यमान रहेमा जुनियर प्रहरी अधिकृतलाई तोकेको तालिम प्राप्त गर्न २० वर्षदेखि ५० वर्ष लाग्ने र हबल्दार तथा जवानलाई सय वर्ष लाग्नेछ ।

 

प्रतिष्ठानले प्रहरी मुख्यालय, उपत्यकाका आयुक्त कार्यालयदेखि पाँचवटै क्षेत्रीय प्रहरी कार्यालय, गण र गुल्ममा खटिएका प्रहरीको अभिलेख रेकर्ड अध्ययन गरेको थियो । ‘अध्ययनपश्चात् भयावह तथ्य खुल्यो, संगठनले दिने तालिम त बढुवाका लागि पहुँच र ओहोदाका आधारमा मात्रै दिइँदै आएको रहेछ । अब यसरी हुँदैन, तालिमको ढाँचा परिवर्तन गर्नुपर्छ भन्ने निचोडमा पुगियो,' प्रतिष्ठानका प्रमुख एआईजी सुरेन्द्रबहादुर शाहले अन्नपूर्णसँग भने । २०४९ सालदेखि हालसम्म प्रतिष्ठानबाट तालिम लिएका जनशक्तिको संख्या जम्मा ३० हजार दुई सय ५४ जनामात्रै छन् ।

प्रतिष्ठान र मातहतका तालिम केन्द्रले मुख्यगरी सातवटा विधामा तालिम दिँदै आएका छन् । जसमा आधारभूत, प्रहरी कार्य, सुरक्षा, अपराध अनुसन्धान, प्रहरी प्रशासन र व्यवस्थापन, शारीरिक विकास र प्रहरी प्रबोधक पर्छन् । यीमध्ये प्रहरी कार्य, सुरक्षा र अपराध अनुसन्धान तालिम बढी महत्तवपूर्ण मानिन्छन् । यी तालिम लिएका जनशक्ति जम्मा सात हजार सात सय २२ छ ।

‘प्रहरीको बर्दी लगाएर मात्रै हुँदैन, आवश्यक तालिम नै छैन, यसरी संगठनको हित हुँदैन, यसले दूरगामी असर राख्छ,' एआईजी शाहले भने । उनका अनुसार सातवटा तालिमका विधामध्ये कुल प्रहरीको सात प्रतिशत (वरिष्ठ प्रहरी अधिकृतमात्रै) ले ७२ प्रतिशत तालिम लिएका छन् । त्यस्तै बाँकी (जुनियर प्रहरी अधिकृत, हबल्दार र जवान) ले २८ प्रतिशत तालिम लिएका छन् ।

‘तालिम लिनेले पनि काम गरेर क्षमता अभिवृद्धिका लागिभन्दा पनि मूल्यांकनको नम्बर बढाउनमात्रै लिएको पाइयो,’ शाहले भने । गत वर्ष मधेसमा भएको आन्दोलनमा केन्द्रदेखि प्रहरी लैजानुपरेको अवस्था र कार्यस्थलमा खटिने सुरक्षाकर्मीमा भीड नियन्त्रणको अभ्याससमेत नभएकाले धेरै समस्या बेहोर्नुपरेको विश्लेषण प्रतिष्ठानको छ ।

प्रतिष्ठानले तालिममा सेवा विशिष्टीकरणलाई ध्यानमा राखेर डीआईजीदेखि जवानसम्मलाई विभिन्न चरणमा तालिम दिने भएको छ । तालिम प्रतिष्ठानसँगै अन्य तालिम केन्द्र र गणमा समेत हुनेछ । तीनवर्षे कार्ययोजनाअन्तर्गत प्रतिष्ठानले यस आथिक वर्षमा ३७ हजार ३३ जना हबल्दार र जवानलाई भीड नियन्त्रण, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, बल प्रयोग तथा हातहतियार र नागरिकमैत्री प्रहरी सेवा विषयमा तालिम दिने लक्ष्य लिएको छ ।

शान्तिसुरक्षा कायम गर्न आवश्यक योजना बनाई प्रहरी परिचालन गर्न सक्षम बनाउने, अपराध विश्लेषण गरी योजना बनाउने, अपराध रोकथाम र अनुसन्धानमा सक्षम बनाउने, कार्यालय सञ्चालन र मानवस्रोतको व्यवस्थापनमा सक्षम बनाउने, नागरिकमैत्री सम्बन्ध प्रगाढ बनाई शान्तिसुरक्षामा नागरिक सहभागिता अभिवृद्धि गर्न सक्षम बनाउने र मानवअधिकार संरक्षण र संवद्र्धनसम्बन्धी ज्ञान दिने उद्देश्य प्रतिष्ठानको छ । प्रशिक्षणका लागि प्रतिष्ठानले घुम्तीसेवासमेत दिने भएको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिकको आवश्यकता र प्रहरीले दिने सुविधामा ‘अन्तर' रहेको बताए । ‘सिक्ने र सिकाउनेमा कहीं कमजोरी हुनुपर्छ, केही हाम्रा व्याख्या र व्यवहार, प्रहरीका काम गराइ र भनाइमा पनि अन्तर छ कि भन्ने आभास हुन थाल्यो, हामी जे भनिरहेका छौं । त्यो गरिरहेका पो छैनौ कि भन्नेतर्फ पनि समीक्षा जरुरी छ,' अर्यालले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.