अनुभुति: काँइला हजुरबासँगको पहिलो भेट

अनुभुति: काँइला हजुरबासँगको पहिलो भेट

म उमेरले ९/१० वर्षको हुँदासम्म प्रायः विद्यालय भन्दा अन्यत्र, चिनाजानी र भेटघाटमा, गएको थाहा छैन् । म यो उमेरसम्म बुवा आमाको एक्लो छोरो । म भन्दा मुनी बहिनीहरु थिए । भाइपछि जन्मेको हो । हजुर आमा, बुवा र आमाको निकै प्यारो थिएँ । मेरो हिड्डुल, भेटघाट र खानपानमा वहाँहरूले सारै ध्यान दिनुहुन्थ्यो । घर र विद्यालयको सेरोफेरोभन्दा बाहिर मैले कसैसँग पनि चिनाजानी र भेटघाट गरेको थिइन । खानपानको त कुरै भएन ।

एक दिन, म झण्डै १० वर्षको थिएँ, बुवाले मान्द्रेनी वरवोटे हजुरबुवाकोमा जाने भनेर मलाई पनि लिएर जानु भयो । अहिलेको कालोपत्रे बाटो थिएन । चुरेघाँटीको उकालो च्यानडांडो हुँदै विव्ल्याटेको ओरालो अनि कोदोवारीको डिलडिल हिंडेर वासघारी र खोल्साहरू काट्दै अंगुरको माच, हलुवावेद र सुन्तलाको बगैंचा, वरिपरी बाँसघारी भएको पुरानो च्यादरले छाएको ढुंगा माटोले बनाएको, आंगन र वरिपरी पनि ढुंगा बिछ्याएको, दलिन सिकुवा र पेटि भएको घरमा पुग्यौं । त्यो ठाँउलाई इलाम बरवोटेको मान्द्रेनी भनिदो रहेछ । घरको बलेंसीमै पानीको धारो धरङरङ झरिराखेको थियो ।

लगभग बिहानको ७.०० बजेको हुँदो हो । सिकुवाको खाटमा पुरानो घुर्मैलो रेडीको खास्टो ओडेका, लगभग ६ फिट उच्चाई, पातलो ठूलो दारको ज्यान, लाम्चो अनुहार, चौडा निधार र गहुँगोरो वर्ण, हँसिलो चेहेरा भएका ६०/६५ उमेरका लोग्ने मानिस र संगै अलिक कुप्रो ढाड भएको, उस्तै उमेर हुनुपर्छ, महिला हुनुहुन्थ्यो । बुवाले दुवैको खुट्टामा ढोग्नु भयो ।

बस ! बिहानै आईपुग्यौ । ठूलो स्वरमा भन्नुभयो । स्वर नै त्यस्तै रहेछ । तर मलाई चैं ठूलो स्वरमा बोले जस्तो लाग्यो । निकै धेरै ठूलो गन्य मान्य मान्छे जस्तो । पछि बुझ्दा पो थाहा भयो कि वहाँ त साँच्चै नै ठूलो र गन्य मान्य मान्छे नै हुनुहुँदो रहेछ । वहाँहरु मेरो काँईलो हजुरबुवा र काँहिली हजुरआमा हुनुहुँदोरहेछ । बुवाले मलाई चिनाइदिनु भयो ।

पहिलो पटक मैले उहाँहरूलाई चिने । मैले पनि उहाँहरू दुवै जनालाई ढोगें । मलाई निकै माया दिएर मेरो टाउकोमा हात राख्दै हजुरबुवाले बाबु यहाँ बस भन्दै आफ्नो काखको छेऊमा राख्नुभयो । हजुरआमाले ए नाती यत्रो भैसकेछ भन्नु भएको त्यो घरमा जाँदा अहिले पनि सम्झना आउँछ । त्यतिबेला मैले बढो आनन्द र अनौठो अनुभव गरें । त्यतिखेर मलाई त्यो घरमा धेरै मानिसहरू आवत जावत गरिरहने त्यसै फराकिलो ठाउँ भएको जस्तो लाग्यो । पछि बुझ्दा उहाँ सामाजिक र राजनैतिक व्यक्तित्व भएको व्यक्ति पो हुनुहुँदोरहेछ ।

कान्छो हजुरबुवा भने मैले पहिले नै चिनेको थिएँ । उहाँ बजार आउंदा र जाँदा प्राय जसो निस्कने गर्नुहुन्थ्यो । मलाई उहाँले गोली मिठाई र पिरे मिठाई ल्याईदिनु हुन्थ्यो । उहाँको पनि घर त्यही तलतिर रहेछ । मैले मेरो आफ्नै हजुरबुवालाई ता देख्न पाइन । तर उहाँहरूलाई देख्दा भेट्दा मैले आफ्नै हजुरबुवालाई भेटेको देखेको अनुभूति भयो ।

कान्छो हजुरबुवा अलिक लामो उमेर सम्म बाँच्नु भयो । उहाँसँग मेरो अलिक बढी अन्तरंग उठबस चल्यो । भलै यी मेरा नीजि कुरा ।

उहाँहरूले निकै लामो समयसम्म कुराकानी गर्नु भयो । मैले घर वरिपरी घुमेर हेर्ने मौका पाएँ । घरको पछाडि बाहिर बाँसको भाटाले र भित्र निवाको चित्राले बारेको भुँईमा गोबरले लिपेको जस्तो छानो भएको चर्पी, चर्पीको छेउमा पानीको धारो । ठूला ठूला आँपका बोटहरू, भुँईकटर, लिची, सुन्तला, अँगुर र हलुवाबेदका बोटहरू अनि ठूल्ठुला राता कैला रंगका गाईहरू ।

गाईको गोबरमाथी रहर लाग्दो साग । जग्गाको किनारामा बार बारे जस्तो वरिपरी घाँसले झुम्म परेका बाँसका झाँगहरू । मैले पहिलो पटक लिची र हलुवाबेदको बोटहरू त्यही देखेको । घरको भित्र एक छेऊमा भान्सा, भान्साको छेऊमा पानीको धारो । अहिले सम्झदा सुविधा सम्पन्न र सभ्य बसाई । त्यसै त्यसै रमाइलो लाग्ने । मैले त्यहाँ बसुञ्जेल बढो आनन्दको अनुभव गरें ।

बिहान बित्नै लागेको थियो । हजुरबुवाले खाना खाएर जाओ भन्नुभयो । मैले पहिलो पटक आफ्नो घरभन्दा बाहिर खाना खाएँ । अंगुर, हलुवावेद, लिची र सुन्तलाको कुरा गर्नु भयो । शायद बिरुवा रोप्ने कुरा हुनसक्छ । मैले अहिले बिर्सें ।

स्वभावैले त्यसपछि मेरो पनि काँहिलो हजुरबुवा र काँहिली हजुरआमा भए ठाउँमा आउने जाने र भेटघाट गर्ने क्रम बढेर गयो । घरको सीधा माथि सडक किनारामा चाँपै चाँपको काठ लगाएर बनाएको ठूलो घर । पछि बुझ्दा वहाँले नै बनाउनु भएको गाउँ पञ्चायतको भवन रहेछ । छेऊमा हुलाक घर ।

उहाँका दुई भाई छोरा, जेठो टंककुमार भट्टराई र कान्छो गोपाल प्रसाद भट्टराई, र पाँच बहिनी छोरीहरू । टंककुमार ठ्याक्कै बोलिचाली र लवज हजुरबुवाकै जस्तो हक्कि खालको र कान्छो गोपाल बनारस बसेर पढ्नु भएको विद्वान् । उहाँहरू दुवै जना मेरो काकाहरू ।

नित्यानन्द भट्टराई उहाँको नाम । अग्लो कदको, ठूलो स्वर भएको, ठीक बेठिक छुट्याउन सक्ने नेतृत्वदायी व्यक्तित्व भएको मानिस । वहाँ धर्ममा प्रगाढ आस्था राख्नु हुन्थ्यो । उहाँमा सामाजिक सोच पनि त्यत्ति नै धेरै पाइन्थ्यो । गाउँमा आफुले मान्ने व्यक्तिको घरमा फलफूल बोकेर फलफूलको खेती गर्ने कुरा गर्दै पुग्नुहुन्थ्यो । आफु भन्दा तलका व्यक्तिसंग पनि असल व्यवहार गर्नु हुन्थ्यो ।

अर्काको सित्तैमा खानुहुन्न र खाए समयमा तिरोभारो गर्नुपर्छ भन्नुहुन्थ्यो । शिक्षाको प्रचार प्रसारमा अगुवाई गर्नु भएका कुराहरू अहिले सम्म गाउँका बुढापाकाहरू, ज–जसले उहाँले लगाउनु भएको हैसियत अनुसारको चन्दा तिर्नु भएको छ, टंकनाथ भूर्तेल लगायत धेरैले बताउनु हुन्छ ।

अहिलेको अमर मा.वि. उहाँ कै संरक्षणमा अगि बढेको हो र वहाँका दाजुहरू र भाई समेत धेरै जना मिलेर चुरेघाँटीमा संस्कृत पाठशाला सञ्चालन गर्ने कुरामा महत्वपूर्ण योगदान पुर्‌याएको कुरा वरवोटे ५ का बिष्णुकुमार घिमिरे बताउनु हुन्छ । गुरु नारदमुनि निरौलाको हात समातेर सानोमा म पनि पुगेको छु ।

मलाई सम्झना छ, ठूला ठूला पटाई ओछ्याएको खरको छानो भएको बाँसको भाटाले बारेको त्यो संस्कृत पाठशालामा ठूलठूला विद्यार्थीले उभिएर प्रार्थना गरेको । अहिले बुझ्दा त मेरै काँइलो हजुरबुवाको अगुवाईमा बनेको पो रहेछ । सामाजिक काममा उत्साहका साथ सबैलाई लगाउन सक्ने हिम्मत राख्नु हुन्थ्यो । धेरै मानिसहरू वहाँ माथी आडभरोसा राख्दथे । सामाजिक, राजनैतिक र प्रशासनिक कार्यमा धेरै मानिसले वहाँबाट सहयोग पाएको चर्चा अहिले पनि सुनिन्छ ।

वहाँको राजनीतितर्फ पनि त्यत्ति नै धेरै झुकाव रहेको थियो । २०१८ सालमा पञ्चायती व्यवस्था अन्तर्गत वरवोटे गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा सर्वसम्मत तवरबाट निर्वाचित हुनुभयो । २०१५ सालबाट नै नगरपालिका बनेको इलाम सदरमुकामको नजिक रहेर पनि वरवोटेका बासिन्दाले समय सापेक्ष सबै किसिमका सुविधाबाट बञ्चित भएर बस्नु परेको अवस्था थियो । उहाँले प्रधानपञ्च बनेर निकै महत्वपूर्ण कामहरूको थालनी गर्नु भयो ।

तत्कालीन स्थितिमा वरवोटेमा पञ्चायतको भवन थिएन । उहाँले जिल्ला कै हिसाबमा ठूलो र नमुना भवनको २०२१ सालमा निर्माण गर्नु भयो । सदरमुकामको नजिक रहेको भए पनि वरवोटे वासीलाई सानातिना न्याय र प्रशासनका काम पञ्चायत भवनबाट नै प्रदान गर्न सक्ने वातावरणको निर्माण गर्न सफल हुनुभयो । स्थानीय विद्यालयहरू, बाटाघाटाहरू, पानी धारा र कूलोहरू निर्माण र संरक्षणमा त्यति नै ध्यान दिनु भएको पाईन्छ । उहाँका क्रियाकलापको कारण नै वरवोटे गाउँ पञ्चायत नमुना गाउँ पञ्चायतको रुपमा स्थापित भयो । उहाँले झण्डै दुई पदावधि प्रधानपञ्च भएर काम गर्नुभयो ।

जीवनको लामो अवधी सामाजिक र राजनीतिक काममा लगाउनु भएको उहाँले समाजको निमित्त निकै महत्वपूर्ण कामहरू गर्नु भएको अनुभव त्यो समयका सबैले गरेकाछन् । उहाँ गाउँ कै एउटा दरिलो अभिभावकको रुपमा चिनिनु हुँदो रहेछ ।

निर्माण र ध्वंश शायद प्रकृति कै नियम भित्र पर्छ । त्यसैले होला उहाँलाई मन नपरेका सन्दर्भहरूप्रति उहाँ बौद्धिक र तर्कशील पनि देखिनु हुन्थ्यो । त्यतिखेर नाम चलेका खरिदार जनकलाल भट्टराईका पाँच भाई छोराहरू सबै बुद्धि विवेक र आँटिला, समाजको अगुवाई गर्न सक्ने, प्रशासनिक दक्षता भएका, पढे लेखेका थिए भन्ने चर्चा अहिले पनि रहेको पाइन्छ । तत्कालीन निरंकुश राणा प्रसाशकहरूसंग पौंठे जोरी खेल्न सक्ने तागत स्थानीयस्तरमा उहाँहरूले मात्र राख्नुहुन्थ्योे भन्ने गरिन्छ ।

तर जति गर्नु भयो त्यो भन्दा बढि वहाँहरूमा भएको दक्षतालाई सामाजिक र राजनैतिक रुपमा बाहिर ल्याउन आवश्यक परामर्श दिने व्यक्तिको ठूलो अभाव रहेको महशुस सबैले गरेको पाइन्छ । तरपनि उहाँहरूले सामाजिक, आर्थिक र राजनैतिक अर्थ राख्ने धेरै कामहरू गर्नु भएकोछ ।

समाजमा उहाँहरूले गरेका कामहरूको सकारात्मक पक्ष र नकारात्मक पक्षलाई चिरफार गरेर अगाडि ल्याईदिने परिस्थिति पनि नबनी राखेको स्थिति हालसम्म पनि छ । त्यो परिस्थिति निर्माण गर्न अहिले पनि त्यत्ति नै जरुरी छ । उहाँहरूका राम्रा र सकारात्मक कामहरूको बारे समाजले व्याख्या विश्लेशण गरी राखेकै भए पनि अरु व्यवस्थित र दस्तावेजीय रुपमा बाहिर आउन सकेको भने छैन् ।

–भट्टराई इलामलाई कर्मथलो बनाएर काम गर्ने सामाजिक अभियन्ता हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.