‘रुटिन' र ‘रिदम' मिले बजेट कार्यान्वयन

‘रुटिन' र ‘रिदम' मिले बजेट कार्यान्वयन

आर्थिक वर्ष ०७३/७४ को बजेट कार्यान्वयन आरम्भ भएको छ । कार्यान्वयनको मार्ग ‘स्टिप' र ‘स्टोनी' हुन्छ । सक्षम टिम चाहिन्छ । टिममा रहनेलाई रोल, रेस्पोन्सिविलिटी, रिसोर्स र रुटिन दिएर कार्यान्वयनको व्यवस्था मिलाउनुपर्छ । अनि मात्र रिजल्ट निस्कन्छ । अर्थ मन्त्रालयबाट जारी हुने अख्तियारी पत्र विषयगत मन्त्रालयमा असारमा नै गइसकेको छ ।

विषयगत मन्त्रालयहरूले अब उक्त प्राप्त अख्तियारीलाई मातहतका विभाग तथा कार्यालयमा खर्च शीर्षकगत बाँडफाँटसहित पठाउनुपर्ने हुन्छ । यसरी मातहतमा अख्तियारी पठाउँदा वार्षिक विकास कार्यक्रम समेत साथैमा संलग्न राखी पठाउनुपर्छ । यहींनेर राष्ट्रिय योजना आयोगको भूमिका जोडिन्छ, जुन अति महत्त्वपूर्ण हुन्छ ।

धेरै समय लाग्ने पनि यही विन्दु उप्रान्तका काममा हो । यस सिलसिलामा विषयगत मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच ‘रुटिन' मिल्नुपर्छ । तयारी र ताकेताको ‘रिदम' पनि मिल्नुपर्छ । राष्ट्रिय योजना आयोगले विषयगत मन्त्रालयलाई ‘रुटिन' दिएर ताकेता गर्नु पर्दछ । विषयगत मन्त्रालयले ‘रुटिन' भित्र कार्यक्रम तयार गरेर राष्ट्रिय योजना आयोगमा पेश गर्नुपर्छ ।

यो विन्दुमा सबै विषयगत मन्त्रालयले साउन १५ भित्र वार्षिक कार्यक्रम तर्जुमा–प्रस्तुति–स्वीकृतिको व्यवस्था गर्न सक्नुपर्छ । विषयगत मन्त्रालयबाट प्रेषित हुने अख्तियारीमा विभाग हुँदै जिल्ला पठाउने अभ्यास रहेको छ । मन्त्रालयबाट अख्तियारी प्राप्त गरेको सात दिनभित्र विभागबाट मातहतमा अख्तियारी पठाइसक्ने हो भने अर्थ मन्त्रालयबाट आरम्भ भएको अख्तियारीको यात्रा साउन २५ सम्ममा सम्पन गर्न सकिन्छ ।

अख्तियारीको अर्को पाटो पनि छ । स्थानीय निकायहरू जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिमा निःशर्त अनुदान र सशर्त अनुदान गरी दुई किसिमको बजेट जाने गर्दछ । निःशर्त अनुदानको अख्तियारी अर्थ मन्त्रालयबाट सिधै स्थानीय निकायमा जान्छ ।

सशर्त अनुदानतर्फ ठूलो हिस्सा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट र फुटकर रूपमा कृषि, पशु विकास, शिक्षा , स्वास्थ्य, संस्कृति, पर्यटन, पुनर्निर्माण, जनसंख्या तथा वातावरण मन्त्रालयबाट जाने गर्छ । अनुदान बजेटको हकमा जिल्लामा जाने बजेटका लागि जिल्ला विकास समितिले वार्षिक विकास कार्यक्रम स्वीकृत गरी जिल्लास्तरीय कार्यालयलाई वा जिविस भित्रका इकाइहरूलाई अख्तियारी दिनुपर्छ ।

 

नगरपालिकाको हकमा पनि उक्त सात दिनमा कार्यक्रम स्वीकृत गरी सक्नुपर्छ । यहाँनेर पनि केन्द्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालय बीचको ‘रुटिन' र ‘रिदम' मिलेजस्तै मिल्नुपर्छ । जिल्लाले प्राप्त गरेका सबै अख्तियारीको उक्त अख्तियारी प्राप्त मितिले सात दिनभित्र वार्षिक विकास कार्यक्रम स्वीकृत गर्ने समय तालिका मिलाएर जिविस र विषयगत निकायबीच तालमेलका साथ काम गर्ने हो भने साउन मसान्तभित्र मुलुकभरका कार्यालयहरूको अख्तियारी ठाउँमा पुग्ने र वार्षिक कार्यक्रम स्वीकृत हुने काम सम्पन्न हुन्छ ।

साउन महिनाको अर्को पाटो पनि छ । साउन महिना सामान्य प्रशासन मन्त्रालयले अन्तर मन्त्रालय सरुवा गर्ने महिना हो । नेपाल प्रशासन सेवाका रा.प. द्वितीय श्रेणीका अधिकृतसम्मका लागि निर्धारित समय तालिकाअनुसार एउटा मन्त्रालयमा दुई वर्ष सेवावधि पुगेकालाई साउन महिनामा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्न सक्छ ।

त्यसैले साउन महिनामा अधिकांश कर्मचारीलाई सरुवा ‘फोविया' हुन्छ । यो अवस्थमा मानसिक रूपले काम गर्ने रहर, जाँगर र उत्साह शिथिल हुन्छ । यसको लगतै भाद्र महिना विषयगत मन्त्रालयले सरुवा गर्ने महिना हो । यो महिनामा पनि कर्मचारीहरूको दौडधुप मन्त्रालयकेन्द्रित हुन्छ । यसरी एकातिर वार्षिक कार्यक्रम तथा बजेटको चटारो अर्कोतिर आ–आफ्नो सरुवालाई रोजेको ठाउँमा पार्न दौडधुपको हतारोले गर्दा यहाँनेर ‘रेस्पोन्सीविलिटी' लाई रुटिन र रिदममा मिलाउन कठिन छ । यो विषय राजनीतिक तहमै सरकारले मनन गर्नुपर्छ ।

वार्षिक कार्यक्रमको स्वीकृति र अख्तियारी प्राप्त भएपछि कार्यान्वयनको खास चरण सुरु हुन्छ । इन्जिनियरिङ डिजाइन–लगत इस्टिमेट– टेन्डरिङ–सम्झौता– कार्यादेशबाट वा डिजाइन–लगत इस्टिमेट–उपभोक्ता समिति गठन–सम्झौता– कार्यादेशबाट–बाट कार्यान्वयन अघि बढ्छ । उपभोक्ता समितिबाट हुने कार्यलाई खेतीपाती थन्क्याएर मात्र जनता विकासको काममा जुट्ने गरेको पाइएको छ ।

टेन्डर प्रक्रियाबाट हुने काममा खास फरक नपरेर पनि मौसम, चाडबाड आदिको प्रभाव पर्ने गरेको छ । यो चरणमा डिजाइन इस्टिमेट र टेन्डरिङलाई बढी कुशलतापूर्वक सिक्वेन्स मिलाएर रुटिन सेट गर्नुपर्छ । निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत निर्माणका कार्यहरू हुन्छन् र ठूलो हिस्सामा बजेट खर्च हुन्छ ।

यसरी हुने निर्माण कार्यमा ‘विलम्बता' मुख्य समस्याको रूपमा देखिएको छ । संघीय ममिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत हुँदा असोजभित्रमा अख्तियारी र स्वीकृत कार्यक्रम पठाइसकेको कार्यक्रमको पनि असारमै गएर चाप पर्ने गरेको अनुभव छ । त्यसैले सरकारी निकायको रुटिन र रिदममा निर्माण व्यवसायी र उपभोक्ता समितिको इमान्दार सहयोगको खाँचो पर्छ ।

विकास व्यवस्थापनको अग्रसरता, अगुवाइ र समन्वय गर्ने मुख्य जिम्मेवारी सरकारको हो । अरू साझेदारहरूले सहयोग पुर्‌याउने हो । सबै निकाय र साझेदारले सम्पादन गर्ने समयतालिका र अन्तरनिकाय तालमेल अर्थात रुटिन र रिदम मिलाउन प्रधानमन्त्रीको तहदेखि नै नियमित सुपरिवेक्षण र अनुगमन हुन पर्दछ । ‘टिम' र ‘टास्क' तोकिने तर ‘टाइम' नतोक्ने, तोकेमा पनि ताकेता नहुने र ताकेता गर्दा नतर्सने बानी परेको कर्मचारीतन्त्र छ । त्यसैले राजनीतिक नेतृत्व यसमा मिसिनुपर्छ ।

नेतृत्वले जगाएर, सिकाएर र डोर्‌याएर मात्र कर्मचारीतन्त्रलाई उत्प्रेरित,सुसजित र व्यस्त बनाउन सकिन्छ भन्ने कुराको हेक्का राखेर आफ्नो आचरण, व्यवहार र कार्यसम्पादनलाई चुस्त–दुरुस्त र मजवुत बनाउन सक्दा रुटिन र रिदमको सबैबाट पालना भई विकास बजेट कार्यान्वयन हुन्छ ।

अनुहारका लागि ऐना अनिवार्य हुन्छ । अनिमात्र अनुहारलाई सुन्दर, आकर्षक र प्रिय बनाउन सकिन्छ । अनुहाररुपी वार्षिक बजेटलाई पनि ऐनारुपी अनुगमनको खाँचो छ । यसलाई राजनीतिक, कर्मचारी, निर्माण व्यवसायी र उपभोक्ता तहबाट आ–आफ्नो लाइन अफ कमान्डमा क्रियाशील बनाउनुपर्छ । राजनीतिक तहमा प्रधानमन्त्रीले र कर्मचारी तहमा मुख्य सचिवले जिम्मेवारी र जवाफदेहिता वहन गर्नुपर्छ ।

वार्षिक बजेट कार्यान्वयन समयमा हुन्छ, सही तरिकाले हुन्छ र समग्रतामा हुन्छ भनेर काम गर्दै विश्वास दिलाउँदै जानुपर्छ । यसका लागि अहिले भइराखेको मन्त्रालयस्तर विकास समस्या समाधान समिति र राष्ट्रिय विकास समस्या समाधान समितिको परिचालनले पुग्दैन । यी दुवै ‘रिच्युअल' मात्र भएका छन् । प्रधानमन्त्री स्वयंले विभागीय मन्त्री र मुख्य सचिवसँग पन्ध्र पन्ध्र्र दिनमा समीक्षा गर्नुपर्छ ।

अनुगमनको अध्यावधिक अवस्था संकलन, विश्लेषण र पृष्ठपोषण गर्ने सहयोगीहरूको समूह प्रधानमन्त्रीसँग रहनुपर्छ । मुख्य सचिवले पनि सचिवहरूलाई निरन्तर सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमार्फत हुने कार्यको जिम्मेवारी र जवाफदेहितालाई रचनात्मक रूपले पालना गर्न लगाउनुपर्छ । उभोक्ता समितिको हकमा राजनीतिक तहको सहजीकरणबाट पालना गर्न लगाउनुपर्छ ।

विकासको विषयलाई सर्वोपरी प्राथमिकतामा राखी सञ्चार क्षेत्रले निरन्तर सूचना सम्प्रेषण गरेर नागरिकलाई सुसूचित गर्ने र सरकारलाई जिम्मेवार बनाउने रचनात्मक कार्य गरी रहनुपर्छ ।

निष्कर्षमा रोल, रेस्पोन्सिबिलिटी र रिसोर्समा समस्या छैन । रुटिन बनाएर त्यसमा हिँड्न नसक्नु नै रिजल्टका लागि मुख्य समस्या हो । अन्तरनिकाय समन्वय र सहयोग हुन नसक्नु अर्को समस्या हो । राजनीतिक तहको उत्प्रेरणा–निगरानी– नियन्त्रणबाट राज्य संयन्त्र सही बाटोमा तालिका र ताल मिलाएर हिँड्न सक्छ भन्ने विश्वास हो । कार्यान्वयन पक्षमा राजनीतिक तहले प्राथमिकता नदिने तर प्रश्न गर्न रमाउने अहिलेसम्मको चरित्र हो ।

यसमा सुधार गर्दै कोशेढुंगा थप्नै पर्दछ । तसर्थ प्रधानमन्त्री स्वयंले आफ्नो तहबाट विभागीय मन्त्रीलाई र मुख्य सचिव स्वयले सचिवलगायत कर्मचारी तहलाई बजेट कार्यान्वयनको रुटिन र रिदममा हिँडाउन सक्नुपर्छ । नेतृत्वले जगाएर, सिकाएर र डोर्‌याएर मात्र कर्मचारीतन्त्रलाई उत्प्रेरित,सुसजित र व्यस्त बनाउन सकिन्छ भन्ने कुराको हेक्का राखेर आफ्नो आचरण, व्यवहार र कार्यसम्पादनलाई चुस्त–दुरुस्त र मजवुत बनाउन सक्दा त्यस्तो रुटिन र रिदमको सबैबाट पालना हुन्छ र विकास बजेट कार्यान्वयन हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.