प्रजातन्त्रका अग्राख र वामपन्थीका सतीसाल
विश्वेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको जन्मजयन्ती साउन ६ र ७ गते पर्छ । प्रजातन्त्रका अग्राख र कम्युनिस्टका सतीसाल भनिने यी दुवै नेताहरू देशलाई नेतृत्व गरिरहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सभापति र महासचिव हुन् ।
भनिरहन पर्दैन, पार्टीको शीर्ष पदलाई कांग्रेसले सभापति र कम्युनिस्टले महासचिवलाई मान्ने गर्छन् । त्यस अर्थमा बीपी कोइराला कांग्रेसका संस्थापक सभापति र पीएल श्रेष्ठ कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुन् ।
२००५ सालमा नेपाली कांग्रेस र २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएका हुन् । संयोग नै भनौं नेपालका यी दुवै पार्टी भारतमा स्थापना भएका थिए । जबकि नेपालमा स्थापना भएको नेपाल प्रजापरिषद् यी दुवै पार्टी भन्दा तेह्र वर्ष जेठो थियो र यसका चार सदस्य दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गंगालाल विसं १९९७ सालमा सहिद बनिसकेका थिए ।
अरू नेताहरू टंकप्रसाद, रामहरि शर्मा, चूडाराजहरू जन्मकैदको सजाय राणाशासनको कारागारको गोलघर र पिंजडामा बिताइरहेका थिए । चार सहिदमध्ये गंगालालका भाइ थिए, पुष्पलाल । बीपी भने, राणा प्राइममिनिस्टर श्री ३ चन्द्रशमशेरलाई ‘तिमी च्यातिएको टोपी र कछाड लगाउने गरिब जनताका राजा हौ' भन्ने नबिर्स भन्दै धुजाधुजा भएको साधारण नेपालीको कपडा हुलाकमार्फत पठाएर राजद्रोह गरेको आरोपमा पक्राउ परेर जेलमै मरेका कृष्णप्रसाद कोइरालाका छोरा थिए । यसरी यी दुवै नेताको नेपालको केन्द्रीय राजनीतिमा पहुँच थियो ।
कांग्रेस र कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू बीपी र पुष्पलालको जन्मजयन्ती भोलि बिहीबार र पर्सी शुक्रबार नेपालभर मनाइएका खबर आउने छन् । हाल कांग्रेस एउटै पार्टी रहे पनि विभिन्न गुटहरूले र अनेक पार्टीमा छिन्नभिन्न नेपाल कम्युनिस्ट पार्टीका गुट÷उपगुटहरूले पनि पुष्पलाल जन्मजयन्ती छुट्टाछुट्टै रूपमा मनाउने छन् ।
केही वर्षदेखि यो यस्तो श्राद्धे भएको छ, जुनदिन कोइराला र श्रेष्ठको पिण्ड लडाएर जौ तिल अक्षता छर्किएपछि आफ्नो गुटबन्दीलाई पवित्र पारिएको ठानिने छ, र यो वर्ष भरिका लागि बीपी र पुष्पलालको सान्दर्भिकता सकिनेछ । तर के नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्राख र कम्युनिस्ट आन्दोलनका सतीसालरुपी बीपी र पीएलको सान्दर्भिकता उनीहरूको महिमा गाएर पूरा हुन्छ ? उनीहरूले दिएका योगदान र सिकाएका शिक्षालाई कांग्रेस र कम्युनिस्ट नामका पार्टीका नेता र कार्यकर्ताले जीवनमा उतार्नु पर्दैन ?
सत्तामा रहेका एकथरि कम्युनिस्टहरूलाई सत्ताबाट गिराएर आफू सत्तामा जान चमचम गरिरहेका कांग्रेस र अर्काथरि कम्युनिस्टहरूले मुखैमा रहेको आफ्ना संस्थापकहरूको जन्मजयन्तीलाई के भनेर यसपाली मनाउँछन् होला ? के शिक्षा लेलान् उनीहरूले आफ्ना अग्रजहरूबाट ? समयले के माग गरिरहेको छ र कांग्रेस–कम्युनिस्टहरू के गरिरहेका छन् ? यसैको लेखाजोखा आजको आलेखमा पर्गेल्ने प्रयत्न गरिएको छ ।
बीपी कोइराला
बीपी कोइराला नेपाली इतिहासका त्यस्ता आइकन हुन् जसले नेपाली जनतालाई राज्यसत्ताको स्रोत मान्यो । जनतालाई मालिक मान्दै राज्यको शासकीय स्रोत जनतामा आउनुपर्छ र नेपाल उदार प्रजातान्त्रिक पद्धतिबाट सञ्चालित हुनुपर्छ भनेर नेपाली आकाशमा उद्घोष गर्ने बीपी कोइराला हुन् । घरानिया–जहानियाको दरबार र महाराजको पोल्टामा रहेको शासकीय अधिकार जनतामा ल्याउनुपर्छ भन्ने मात्र होइन, सात सालको सशस्त्र क्रान्तिमार्फत जनतालाई सर्वेसर्वा घोषणा गराउने नेता र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री पनि हुन् बीपी ।
प्रजातात्रिक आदर्श, निष्ठा र अर्काको अस्तित्व स्वीकार गर्ने राजनेता हुन बीपी । यिनी निषेधको होइन, प्रजातान्त्रिक शासन व्यवस्थाको पक्षमा थिए । प्रजातन्त्र संसारभर चाहिने र सबै देशका जनतालाई सुखानुभूति गराउने जीवन पद्धति हो भन्ने अविचलित मान्यता राख्दथे बीपी । नागरिक स्वतन्त्रताको पक्षमा थिए उनी । उनी प्रजातान्त्रिक मूल्यमान्यताका कुरा गर्ने नेतामात्र थिएनन्, जहानिया राणाकालमा समेत हामी नै हौ राणाशासनको विकल्प दिने प्रजातन्त्रवादी शक्ति भनेर आफूलाई जवर्जस्त रूपमा प्रस्तुत गरिरहे । यो नै बीपी कोइरालाको राजनीतिको चुरो हो ।
बीपीले प्रधानमन्त्री भएको समयमै सरकारी कार्यालयमा गरिब नेपालीको तस्बिर राख्न लगाए । उनले भने, ‘देशको योजना बनाउँदा योजना आयोगका सदस्यले त्यही गरिब नेपालीको तस्बिर हेरेर उसको मुहार फेर्ने योजना बनाउन् । उनी आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई सम्झाइरहन्थे, हिमाल,पहाड र तराईका गाउँमा बस्ने गरिब नेपालीको अवस्थालाई बिर्सेर शासनसत्ताको उन्माद र मोजमस्तीमा रमायौ भने तिमीहरू पनि जनविरोधीमा रुपान्तरित हुन्छौ ।
बीपीले जीवनको अन्तिम समयसम्म पनि पार्टीका नेता कार्यकर्तालाई आर्थिक अनुशासनमा रहन जोड दिइरहे । उनी भनिरहे, तिमीहरू कुनै पनि बेला,के गर्ने भन्ने द्विविधामा पर्यौ भने देशको एक मुठी माटो हातमा लिएर छातीमा छुवाउँदै आँखा चिम्लिनु । त्यतिबेला मनमा जे आउँछ त्यही निर्णय गर्नु ।
पुष्पलाल श्रेष्ठ
पुष्पलालले नेपाली समाजमा रहेको विकृति–विसंगति, अन्याय र असमानताविरुद्ध परिवर्तनको आकृति पस्किए । नेपालमा रैतीको रूपमा रहेका सिमान्तकृत मानिसहरूलाई जाग्न अभिप्रेरित मात्र गरेनन् तिनलाई एकीकृत गरेर जीवन रहुन्जेल स्वाभिमानी मानिसको दर्जामा राख्न संघर्ष गरिरहे ।
हुनेखानेको अधिकारको मात्र होइन, हुँदा खानेको अधिकारको लागि लागिरहे । सामन्त राणा–शाहको विपक्षमा जनमत सिर्जना गर्ने र कार्लमाक्र्सले देखेको समानता र समतामूलक समाजवादी समाजको सपना सुदूर नेपाली गाउँवस्तीसम्म पुर्याउँदै राष्ट्रलाई स्वतन्त्र र स्वाभिमानयुक्त राख्न तल्लो तप्काका मान्छेहरूको जमातको सिर्जना गर्ने नयाँ विचारधारा मात्र नेपालमा शुत्रपात गरेनन्, तिनलाई राज्यका अंगअंगमा पुर्याएर देखाई नै दिए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल जीवनपर्यन्त कम्युनिस्ट आदर्शको जीवनशैलीमा रहिरहे । सादगी नै उनको बल थियो । कम्युनिस्ट दर्शन–आदर्श र निष्ठामै आफूलाई समर्पित गरिरहे । खाना, नाना र छानाको दुःख आमनागरिकले सहन नपर्ने गरी उठाइरहे । तल्लो वर्गका जनताको कुरालाई उनले त्यसरी नै उठाए, जसरी साहित्य र संगीतानुरागी लय र तालमा आफूलाई हिँडाउँछन् ।
नेपालमा जति पनि कम्युनिस्ट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संसद्का सभामुख र जनताका नेता बनेका छन्, त्यो सबको जस पुष्पलालमा जान्छ । कम्युनिस्ट मात्र होइन, जनताका नेताका रूपमा उनी त्यस्ता आइकन हुन् जो जन्ममै अर्काको कमारो भएर जन्मिएकोलाई शासक बनाउन सफल भए ।
युगौंयुगदेखि असंगठित, अव्यवस्थित र अवहेलित रूपमा रहेको जमातलाई पुष्पलालले दृष्टिकोण मात्र दिएनन्, तिनलाई संगठित गर्दै अभ्यास गराए र सत्तामा पुर्याउने श्रीगणेश नेपालमा गरे । उनको यो जवर्जस्त कार्यको विरुद्ध कम्युनिस्ट पार्टी बाहिर मात्रै होइन, पार्टीभित्रबाट पनि जेहाद गरियो तर पुष्पलाल फिलिंगो बनेर जीवन पर्यन्त भर्भराइरहेका छन् ।
उनका सहयोद्धा अरविन्द रिमाल, जो हाल ८३ वर्षका छन् पुष्पलाललाई सम्झँदै एक भेटमा भने,‘काठमाडौंमा एसएलसी पास गरेर कलकत्तामा कविराज पढ्न गएँ, तर कविराज होइन, कम्युनिस्ट बनेर फर्किएँ ।' नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं जिल्ला सचिव मात्र होइन, दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका उनले भने, जीवनमा माओत्सेतुङ, चाउएनलाई लगायत संसारका धेरै कम्युनिस्ट नेताहरूसँग हात मिलाइयो तर नेपालमा पुष्पलाल जस्तो नेपाली मुक्ति आन्दोलनको प्रवाहयुक्त नदी अरू भेटेको छैन ।
सत्तामा रहेका एकथरि कम्युनिस्टहरूलाई सत्ताबाट गिराएर आफू सत्तामा जान चमचम गरिरहेका कांग्रेस र अर्काथरि कम्युनिस्टहरूले मुखैमा रहेको आफ्ना संस्थापकहरूको जन्मजयन्तीलाई के भनेर यसपाली मनाउँछन् होला ? के शिक्षा लेलान् उनीहरूले आफ्ना अग्रजहरूबाट ?
कम्युनिस्ट पार्टी बनाएको दुई वर्षमै षडयन्त्रकारीहरूले पीएललाई वामपन्थी भड्काउ गरेको आरोप लगाएर भारतमा बीटी रणद्विवेलाई गरेजस्तै नेतृत्वमा रहन त दिएनन् तर उनले जीवनभर मौरीको रानो जसरी कार्यकर्तामा रहेर कम्युनिस्ट आदर्शका साथ जीवन बिताए, आफूमा विचलन कहिल्यै आउन दिएनन् । निर्वासनमा १७ सालपछि फाटेको चप्पल र ठाउँठाउँमा च्यातिएको कमिज लगाएर कम्युनिस्ट आन्दोलनमार्फत सर्वसाधारण जनताको एजेन्डालाई उठाइरहे ।
उनको त्यो रूप र गतिशीलता देख्दा हामी उनलाई चेगुबारा जस्तै सशक्त क्रान्तिकारी देख्दथ्यौं । तर त्यस्ता भर्भराउँदा पीएलको सालिक पुष्पलाल प्रतिष्ठानमा ख्याउटे पुष्पलालका रूपमा देख्दा उनको अवमूल्यन गरेको लाग्यो मलाई ! रिमालले भने,‘पुष्पलाल त नेपाली वाम र प्रजातान्त्रिक आन्दोलनका त्यस्ता नक्षत्र हुन्, जसको गुन युगौंयुगसम्म पनि परिवर्तनकामीहरूले बिर्सन सक्दैनन् ।
पुष्पलाल नै त्यस्ता कम्युनिस्ट हुन्, जसले राजा महेन्द्रले सैनिक कु गरेपछि नै कांग्रेस र कम्युनिस्टको संयुक्त आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । उनी बनारसको दशपुत्र गल्ली र बीपी सारनाथमा बसे पनि पीएल हरेक नेपालीलाई बीपी भेट्न पठाउँथे । तर बीपीले कम्युनिस्टसँग एकता नगर्ने अडान लिइरहे र ०३३ सालमा राजासँग मेलमिलाप गर्न चाहे ।
बीपीको मृत्युपश्चात गणेशमान सिंहको नेतृत्वमा भएको ०४२ को सत्याग्रह र ०४६ को संयुक्त जनआन्दोलनबाट मात्र राजाको फुटाउ र शासन गर भन्ने राजको अन्त्य सम्भव भयो र प्रजातन्त्रको पुनस्र्थापना भयो । रिमालले दुःख व्यक्त गर्दै भने, ‘नेपालका राजनीति र समाजशास्त्रीहरू यसबारे न लेख्छन् न त बोल्छन् नै ।
तर पुष्पलालको यो योगदान बिर्सिनसक्नुको रहेको छ । नयाँ पुस्ताले यसको खोजी गर्नैपर्छ । जे होस, कम्युनिस्ट आन्दोलन टुक्राटुक्रा बनेर फुटे पनि, कसैकसैले पुष्पलाललाई गद्दार भने पनि अहिले सबैका कोठा र पार्टी अफिसमा पुष्पलालको फोटो झुन्डिएको फोटो देखेको छु । यसबाट फेरि पनि सावित भएको छ, पीएल नेपाली कम्युनिस्ट आन्दोलनका आइकन थिए ।
बीपी र पीएलका अनुयायी
बीपी र पीएल जन्मजयन्ती मनाउन जम्जमाएकाहरूलाई वाम र प्रजातान्त्रिक आन्दोलनलाई नजिकबाट नियालिरहेका एक प्राध्यापकले भने, ‘अरविन्द रिमाल जीवितमध्ये नेपाल कम्युनिस्ट पार्टीका एक त्यस्ता विरलाकोटीका नेता हुन् जो ब्राकेटका कम्युनिस्ट पार्टीमा लागेनन् ।' उनले भने, ‘खासमा अहिले कम्युनिस्ट पार्टी प्रा लि बनेका छन् । फरक यत्ति हो कि यी कम्पनी रजिस्ट्रारको कार्यालयमा होइन, निर्वाचन आयोगमा दर्ता भएका छन् ।
हरेक पार्टीका नेतृत्वमा रहनेहरू आफूलाई त्यो कम्पनीको बोर्ड अफ डाइरेक्टर्स ठान्छन् । राजकीय सत्ताको लाभ, कम्पनीको संस्थापक भएकाले मुनाफा जति हामीले नै खानुपर्छ भनेर राजनीतिक भागबन्डा र पदमा हाँपझाँप गरिरहेका छन् । तर पुष्पलाल राजनीतिलाई सार्वजनिक विषय मान्दथे । उनी एजेन्डा लिएर नेतृत्व जनता कहाँ जानुपर्ने र राजनीतिको लाभ जनतामा जानैपर्छ भन्नेमा अडिग थिए ।
कांग्रेस होस् वा कम्युनिस्ट अहिले गुट गुटमा विभाजित छन् र अप्राकृतिक साँठगाँठ गरेर पार्टीभित्र र बाहिर भागबन्डा गरिरहेछन् । सत्ता हत्याउन वा पद पाउन तस्कर माफिया र डनबाट सञ्चालित छन् । कम्युनिस्ट होस् वा प्रजातन्त्र खासमा विचारकै हाइज्याक भएको छ । सिद्धान्तअनुरुप पार्टीहरू चलिरहेका छैनन् । त्यसैले बीपी र पीएलले स्थापना गरेका कांग्रेस–कम्युनिष्ट पार्टीमा विकृति विसंगति चरमचुलीमा छ । बर्खाका झारपातले झै यी पार्टीहरू ढाकिएकाले बिखालु काँडे झारले लहलह हुनुपर्ने धानका बालाहरू लुप्त भैरहेछन् ।
जयन्तीबाट सिक
त्यसैले बीपी र पीएलको ०७३ सालको जयन्तीबाट दश कुरा सिक्न सके भने त्यो प्रजातन्त्रका अग्राख र कम्युनिस्टका सतीसालप्रति पनि सच्चा श्रद्धान्जली हुनेछ साथै यसवाट देश, जनता र पार्टीको पनि कल्याण हुने छलफलमा सहभागी प्राध्यापकहरूले बताए, जो संक्षेपमा यसप्रकार छन्—
१.राष्ट्र र राष्ट्रियता पहिला—राष्ट्रलाई माया नगर्ने व्यक्ति राजनेता बन्न सक्दैन । राष्ट्रमाथि नै चलखेल भइरहेको बेलामा सत्ताको लोभमा विदेशी चलखेलको गोटी बन्नु हुँदैन ।
२. नेता भन्दा जनता पहिला —लोकतन्त्रमा सधै नेता भन्दा जनता पहिलो हुन्छ । तर हामी कहाँ अहिले नेताका लागि सत्ता चाहिएको छ । उसलाई शासक हुनुपरेको छ । नेता जनताको मालिक हुन खोजिरहेको छ । यो गलत हो । कोड्याक रक्सी, महलको बास, महंगा गाडी, बहुमूल्य आभूषण लगाउनाले अपराधिक मानसिकता र डनबाद हावी हुने हुनाले जनताका नेता सामान्य जीवनशैलीमा रहनुपर्छ ।
३. नेता भन्दा नीति पहिला—कस्तो नीति कार्यक्रम र बजेट आयो ? त्यो पास गर्नुको बदला त्यसलाई टुस पार्न राजनीतिक संयन्त्रका प्रमुख प्रचण्ड प्रतिपक्षका नेता देउवा नै लाग्नुले नीति होइन, नेता पहिलो बन्न लालायित देखिए ।
४. रूप भन्दा सार पहिला—कुनै पनि काम के मनशाय, मनोवृत्ति र आशयले गर्न खोजिएको हो, परिणाम र उपलब्धि पहिल्यै थाहा हुनुपर्छ । नतिजामुखी नीति कार्यक्रम र योजना कार्यान्वयन हुनुपर्छ ।
५.संविधानभन्दा संविधानवाद पहिला—संवैधानिक सर्वोच्चताको हल्ला होइन, संविधानवादले के भन्छ, राजनेता त्यता लाग्नुपर्छ तर ज्यामी वकिलहरू सरकार परिवर्तनलाई गोठैपिच्छे फरक घाँस बोकेर खुवाउन हिँडिरहेछन् । यसले संविधानवादलाई समाप्त पार्छ ।
६. संसदीय व्यवस्थामा संसदीय मूल्य र मान्यता पहिला—खेलको नियमअनुसार खेल खेलिनुपर्छ । फुटबलमा भलिबलको नियम लगाइयो भने तुलेगाँडो व्याख्या मात्र हुन जान्छ ।
७. गणितीय खेलभन्दा सहमतीय कर्म पहिला—सहमतीय र सहकार्यले मात्र नेपालका परिवर्तन सम्भव भएकाले साझा कार्यक्रम साथ अगाडि बढ्दा संविधानको कार्यान्वयन, राष्ट्रियताको संकट समाधान र ०७४ माघ ८ अघि निर्वाचन हुन सक्छ ।
८.प्रक्रिया भन्दा प्रजातान्त्रिक अभ्यास र आचरण पहिला—प्रणालीको राग अलापी रहनुभन्दा लोकतान्त्रिक अभ्यास र आचरणले निकास दिन सक्छ ।
९.शासकीय स्वरूप र मूल्यमान्यता पहिला— शासक को भन्दा शासकीय स्वरूप, मूल्यमान्यता र संरचना पहिला हो ।
१०. सत्ताभन्दा जनता, लोकतन्त्र पहिला—सत्तामा तातै खाउँ जल्दी मरौं भन्दा जनता र लोकतन्त्रलाई प्राथमिकता दिइयो भने भोलि तिनै सत्तामा पुग्छन् जो जनताको पक्षमा छ र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण गर्छ ।