सम्बन्ध सुधार्न योजना बाँड्दैछन् भारतीय राजदूत

सम्बन्ध सुधार्न योजना बाँड्दैछन् भारतीय राजदूत

मकवानपुर: नाकाबन्दीका कारण भरत र नेपालबीच बिग्रिएको सम्बन्ध जनस्तरबाट सुधार गर्न भन्दै भारतीय राजदूत रञ्जित रे विकासे योजना बाँढ्दै राजधानीबाहिर घुम्न थालेका छन् । प्रशासनलाई जानकारी नदिई राजधानी काठमाडौंबाट घुमफिरका लागि मकवानपुरको पर्यटकीय क्षेत्र दामन पुगेका राजदूत रेले यस क्षेत्रको विकासमा सहयोग गर्ने आश्वासन दिए ।

यहाँका उद्योगी, व्यवसायी र स्थानीयसँगको छलफलका क्रममा उनले जनस्तरमा सम्बन्ध बिस्तार गर्न चाहेको बताउँदै आधा दर्जन विकासका योजनामा सहयोग गर्न आतुर रहेको बताए ।

थाहा नगर उद्योग वाणिज्य संघले गरेको छलफल कार्यक्रममा राजदूत रेले तरकारीको पकेट क्षेत्र दामनमा कोल्ड स्टोर निर्माण गरिदिने बताए । ‘तपाईंहरू प्रस्ताव लिएर आउनुहोस्, हामी सहयोग गर्न तयार छौं', उनले भने । कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई बिऊ जोगाउन समस्या पर्नुका साथै सस्तो मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता छ । साथै उनले थाहा नगर क्षेत्रमा अर्गानिक तरकारी उत्पादन बढाउन सहयोग गर्ने आश्वासन दिए ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न प्रचार प्रसारसँगै भारतीय पर्यटक भित्र्याउन सहयोग गर्ने उनको भनाइ छ । दामनबाट विश्वका १४ मध्ये आठ वटा हिमशृंखला हेर्न सकिन्छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल ऋषेश्वर मन्दिर र पाण्डुकेश्वर मन्दिर यहाँ रहेका छन् । राजदूत रेले अहिलेको चुनौती जनस्तरको सम्बन्ध मजबुत बनाउनु रहेको भन्दै यसलाई विकासको माध्यमबाट मजबुत बनाउनुपर्नेमा जोड दिए ।

भारत सरकारको सहयोगमा हेटौँडामा निर्माण हुन लागेको बहुप्राविधिक विश्वविद्यालयका लागि बजेट विनियोजन भइसकेको उनले जानकारी दिए । टेन्डर प्रक्रियाबाट निर्माणकार्य अघि बढाउने तयारी थालिएको रेले बताए ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महाणिज्यदूत अञ्जु रञ्जनले यस क्षेत्रका एक सय विद्यार्थीलाई कृषिसम्बन्धी उच्च शिक्षाका लागि वार्षिक छात्रवृत्ति दिइने आश्वासन दिइन् । भारतले सन् १९५३ मा तराईलाई कठमाडौंसँग जोड्ने त्रिभुवन राजपथ बनाएर यस क्षेत्रको विकासमा सहयोग गरेको बताउँदै उनले भनिन्, ‘अझै पनि कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्याकेज बनाई सहयोग गर्ने हाम्रो चहाना छ ।'

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतले यस क्षेत्रको सम्भावना र चुनौतीका बारेमा राजदूत रेलाई अवगत गराएका थिए । सोमबार दिउँसो दामन पुगेका राजदूत रेको टोली यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्दै मंगलबार बिहान काठमाडौं फर्किएको थियो ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.