कांग्रेस महामन्त्री कोइराला हात हल्लाउदै अस्पतालबाट बाहिरिए
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला बुधबार घर फर्किएका छन् । डा कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी घर फर्किएका हुन् ।
सयौँ कार्यकर्ता र शभेच्छुबीचमा कार्यकर्तालाई हात उठाई अभिवादन गर्दै उनी अस्पतालबाट बाहिरिएका छन् ।
उनलाई डा भोला रिजाल, डा हरिश जोशी, पत्नी डा सुपात्रा कोइरालाले समाएर बाहिर गाडीसम्म ल्याएका थिए ।
असार २१ गते स्वास्थ्य अचानक गम्भीर भएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका कोइरालालाई एक हप्तापछि फ्लोअप जाँचका लागि बोलाइएको डा रिजालले जानकारी दिए ।
महामन्त्री कोइरालाले आफ्नो उपचारमा खटिएका सबै चिकित्सकलाई धन्यवाद दिएको पनि डा रिजालले जानकारी दिए ।
‘अहिले उहाँ पूर्णरुपमा निको हुनुभएको छ । उहाँलाई एक महिला जति आरामको आवश्यकता छ । अझै केही दिन औषधि पनि खानुपर्ने भएकाले धेरै धपडी हुने काम नगर्न सल्लाह दिएका छौँ,’ डा. रिजालले भने ।
महामन्त्री कोइरालालाई टोखास्थित निवासमा लगिएको छ । उनलाई लिन केन्द्रीय सदस्या डा मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायत सयौँ कार्यकर्ता ओम अस्पतालमा पुगेका थिए ।
महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्था आइसकेको डा जोशीले बताए ।
उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सकको टोली खटिएको थियो । डा कोइरालाको उपचारमा उहाँकी पत्नी डा सुपात्रा कोइराला, डा अर्जुन कार्की, डा भगवान कोइराला, डा युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठ, डा हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको थियो ।
चिकित्सकले महामन्त्री कोइरालालाई एक हप्तापछि फलोअपका लागि अस्पताल उपस्थित हुन आग्रह गरेको कोइरालाका सहयोगी अतुल कोइरालले जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । हप्तादिनपछि अफलोअपका लागि अस्पताल आउन चिकित्सकले सल्लाह दिएका छन्,’ उनले भने । रासस