सर्वोच्च अदालतभित्र पनि अन्याय ! १३ वर्षको करार, अवकाश र थुना

सर्वोच्च अदालतभित्र पनि अन्याय ! १३ वर्षको करार, अवकाश र थुना

काठमाडौं: सर्वोच्च अदालतमा १३ वर्ष सेवा गरेकी एक महिलाले बुधबार एकाएक न्याय पाएकी छिन्— अवकाश र लगत्तै प्रहरी हिरासत । मुलुकमा पहिलोपटक महिला प्रधानन्यायाधीशले कार्यभार समालेको १० दिन नबित्दै सर्वोच्चमा अविछिन्न करारमा कार्यालय सहायकका रूपमा कार्यरत सरिता गौलीलाई रजिस्टार श्रीकान्त पौडेलले बुधबार बिहान अवकाशपत्र थमाए । गौलीको अनुनयविनय र विरोधपछि उनी प्रहरी हिरासतमा पुगिन् ।

झापा घर भई कपन बस्दै आएकी गौली सदाझै बुधबार बिहान हाजिर गर्न फाँट पुगिन् । त्यहाँका फाँटवालाले ‘आजदेखि तिमीहरूको जागिर गइसक्यो, हाजिर गर्न पाउँदैनौ' भन्दै हाजिर गर्न दिएनन् । त्यसपछि गौली रजिस्टार पौडेलकहाँ पुगिन् र सोधिन्, ‘मलाई किन हाजिर गर्न दिइएन ? मैले के गल्ती गरें ? अब मैले परिवार कसरी पालुँ ? ' रजिस्टार पौडेलले भने, ‘तिमीलाई मात्र होइन, सातजना अन्य महिलालाई मैले निकालेको छु, मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ ।'

गौलीले आफन्तलाई दिएको जानकारीअनुसार पौडेलको आदेशलगत्तै रजिस्टारको टेबुलमा रहेको पेपर कटर उठाउँदै उनले भनिन्, ‘यो जागिरबाहेक मेरो अरू बाँच्ने आधार केही छैन, त्यसो भए म यही ब्लेडले चिरेर आत्महत्या गरिदिऊँ त ? ' पौडेलले गौलीलाई बाहिर जान आदेश दिए । गौली मानिनन् र त्यहीं बसिरहिन् । त्यसपछि पौडेलले कक्ष बाहिर रहेका प्रहरीलाई बोलाई गौलीलाई लैजान आदेश दिए ।

रजिस्टारको कोठामा आइपुगेका प्रहरी र गौलीबीच तानातान भएपछि गौलीको हातमा रहेको पेपर कटरले एकजना प्रहरीको हातमा समेत चोट लागेको बताइएको छ । घटनापछि गौलीकी दिदी मनमायाले बहिनीलाई ‘न्याय दिलाउन' दौडधुप सुरु गरेकी छन् । ‘पूर्वजानकारी नदिई बहिनीलाई जागिरको म्याद सकियो भनेर हाजिर गर्न दिइएन । रजिस्टारसँग गुनासो गर्न पाउनु कर्मचारीको नाताले अधिकार पनि हो तर न्यायकै घरमा त्यो शोभनीय काम भएन,' मनमायाले भनिन् ।

 

गौलीलाई प्रहरीले सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत सिंहदरबार वृत्तमा लगी तत्कालै सात दिन म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय लगेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले भने तीन दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिए । सुवेदीले अन्नपूर्णसँग बुधबार भने, ‘म्याद थप्न धेरैका फाइल आउँछन्, हरेक केसबारे हेक्का राख्न सहज हुँदैन ।'

सर्वोच्चले प्रहरीले वृत्तमा पठाएको पत्रमा ‘गौलीले रजिस्ट्रारसँग वादविवाद र हातपात गर्न खोजेको र चक्कु प्रहार गर्दा प्रहरी हबलदार घाइते भएको' उल्लेख गरेको छ । वृत्तका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले गौलीलाई सर्वोच्च प्रहरीको जाहेरीअनुसार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको बताए । उनले भने, ‘यो विषयमा रजिस्टारज्यू र उपस्थित प्रहरीसँग पनि घटनाबारे जानकारी माग्छौं । गौलीसँग बयान लिएर अनुसन्धान गरिरहेका छौं ।'

रजिस्ट्रार पौडेलले भने ‘यो सामान्य कुरा हो, कार्यालयको कुरा बाहिर ल्याउनु आवश्यक छैन' भन्दै फोन काटे । सर्वोच्चको अधिकारिक ट्रेड युनियनका सचिव हरिप्रसाद भट्टराईले आफ्ना मान्छेलाई करारमा नियुक्त गर्न गौलीसहित सर्वोच्चका सात महिलालाई बर्खात गरिएको आरोप लगाए । सर्वोच्चमा कार्यरत एक महिला कर्मचारीले आफ्नो नाम नछापिदिन आग्रह गर्दै अन्नपूर्णसँग भनिन्, ‘यत्रो वर्ष सेवा गरेकी एक महिला कर्मचारीलाई हटाएर न्यायालय मै न्यायको खिल्ली उडाइएको छ ।'

युनियनका सचिव भट्टराईले सर्वोच्च प्रशासनका सहसचिव लालबहादुर कुँवरलाई घटनाबारे जानकारी गराउँदै तत्काल अन्याय सच्याउन आग्रह गरेको बताए । कुँवरले भने काम गर्न नसकेका कारण अवकाश दिएको जबाफ भट्टराईलाई दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.