आँखा चिम्लेर उर्लंदो भेलसँग यात्रा गर्दा...

आँखा चिम्लेर उर्लंदो भेलसँग यात्रा गर्दा...

सुर्खेत: सुर्खेतस्थित भेरी नदीमा आएको बाढीले झोलुंगे पुल बगाएको दुई वर्ष बितिसक्दा पनि पुल निर्माण नभएपछि स्थानीय बासिन्दाले नदी तर्दा आँखा चिम्लेर जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्ने बाध्यता छ । पुल नहुँदा बर्खाको उर्लंदो भेलमा काठको डुंगाबाट डराउँदै यात्रा गर्नुपर्ने अवस्था छ ।

बर्खामा त्यस क्षेत्रका विद्यालय जाने बालबालिकाको अवस्थालाई ध्यानमा राखेर नदीमा भेल आउने समयभरिका लागि पठनपाठन बन्द गरिएको छ । दुई वर्षअघि हरिहरपुरस्थित भेरीमा आएको बाढीले झोलुंगे पुल नै बगाएको थियो । पुल बगाएपछि स्थानीय बासिन्दाले नदी तर्न काठको डुंगा प्रयोग गर्दै आएका छन् । नदी तर्ने अर्को विकल्प नहुँदा साउनको उर्लिंदो भेलमा पनि त्यही काठको डुंगा खियाउँदै भेरी वारपार गर्नुपर्ने बाध्यता छ ।

‘विभिन्न काम परेर सदरमुकाम वीरेन्द्रनगर आइरहनुपर्छ,' भेरी माध्यमिक विद्यालय हरिहरपुरका प्रधानाध्यापक रत्नबहादुर बुढाले अन्नपूर्णसँग भने, ‘नदी तर्नका लागि एउटा झेलुंगे पुल थियो, त्यो पनि बाढीले लगिदियो । त्रासले गर्दा डुंगामा आँखा चिम्लेर यात्रा गरिरहेका छौं । ज्यान नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ ।'

उक्त स्थानमा अर्को झोलुंगे पुल निर्माणका लागि काम सुरु भए पनि निर्माण कार्य अत्यन्त सुस्त भएको स्थानीय बासिन्दाको गुनासो छ । उनीहरूका अनुसार गत माघदेखि नै पुल निर्माणको काम सुरु भएको थियो तर कामदारले समयमा पैसा नपाएको भन्दै काम अवरुद्ध पारे । त्यसपछि लामो समयसम्म निर्माणको काम अघि बढ्न सकेन ।

 

स्थानीय बासिन्दाले पटकपटक सम्बन्धित निकाय र हेलो सरकारमा समेत यसबारे जानकारी गराएपछि ठेकेदारले निर्माण कार्य थालेका थिए तर अहिले फेरि काम रोकिएको छ । भेरी नदीमा हाल र्‌याफ्टिङमा प्रयोग हुने डुंगा पनि सञ्चालन गरिएको छ । नदी तर्न उक्त डुंगामा प्रतिव्यक्ति ४० रुपैयाँ तिर्नुपर्छ । यो शुल्क पनि अत्यन्त महँगो भएको स्थानीय बासिन्दाको गुनासो छ ।

‘विभिन्न काममा वारपार गरिरहनुपर्नेका लागि प्रत्येकपटक ४० रुपैयाँ तिर्नु अत्यन्तै महँगो हो,' प्रधानाध्यापक बुढाले भने । उनका अनुसार भेरीमा पुल नभएकै कारण विद्यालयले यसपटक लामो बर्र्खेबिदा गर्नुपरेको छ । असार २६ गतेदेखि भदौ १२ गतेसम्मका लागि बिदा दिइएको उनले बताए ।

अहिलेको लामो बिदालाई समायोजन गर्न दसैं र तिहारको बिदामा विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । ‘भेरीमा पुल बनेको भए यति लामो बर्खेबिदा गर्नु पर्दैन थियो', उनले भने, ‘वर्षाको समयमा नदीमा ठूलो भेल आउने हुनाले बालबालिकालाई जोखिममा पारेर विद्यालय सञ्चालन गर्न नसकिएको हो ।'

बाढीले पुल बगाएदेखि त्यस क्षेत्रका विद्यार्थी आफ्नो ज्यान नै जोखिममा राखेर हरेक दिन स्कुल आउनेजाने गरिरहेका छन् । स्कुलसम्म पुग्नका लागि उनीहरूलाई डुंगा चढ्नुबाहेक अर्को कुनै विकल्प छैन । असारभरि विद्यार्थीहरू यस्तै जोखिम मोलेर विद्यालय गए ।

हरिहरपुरको डोप्का, सिस्नेरी, थापाडेरा र गिरीघाटमा रहेको विस्थापित शिविरका विद्यार्थीलाई भेरी माध्यमिक विद्यालयमा जान नदी तर्नैपर्ने बाध्यता छ । अहिले भेरीमा पानीको सतह पनि बढ्न थालेको छ । ‘नदीमा पुल नहुँदा विद्यार्थीको पढाइ बिग्रिने भयो, असारदेखि असोजसम्म विद्यार्थी स्कुलमा आउन सक्ने सम्भावना छैन,' प्रधानाध्यापक बुढाले भने ।

विद्यार्थी र शिक्षकले ज्यान जोखिममा राखेर विद्यालय पुग्नुपर्ने बाध्यता रहे पनि कसैले यसतर्फ चासो नदिएको बुढाको गुनासो छ । उनले भने, ‘त्यति धेरै विद्यार्थीलाई छात्रवासमा राख्ने सम्भावना छैन, भेरीमा पानी बढेपछि विद्यार्थी घरबाट आउन सक्ने अवस्था हुँदैन । तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्छ, यसो गर्दा विद्यार्थीको पढाइमा बाधा पर्छ ।' दुई वर्षअघि साउनमै बाढीले भेरी नदीका आधा दर्जन झोलुंगे पुल बगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.