एमालेले संसद् अवरुद्ध पार्ने संकेत

एमालेले संसद् अवरुद्ध पार्ने संकेत

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको संसद् बैठक सञ्चालन हुने कि नहुनेमा सभामुखको भूमिकामा निर्भर हुने बताएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आर्थिक विधेयक अविश्वास प्रस्तावमा छलफल हुनुअघि संसद्मा प्रस्तुत नभए संसद्को कारबाही अवरुद्ध हुने संकेत गरे ।

उनले असार २९ गते ११ बजेका लागि तय भएको आर्थिक आर्थिक आश्रत विधेयकलाई सभामुखले सूचीबाट हटाएर सात दिनपछि परिपक्व हुने अविश्वास प्रस्तावलाई प्राथमिकता दिएकोमा समेत असन्तुष्टि प्रकट गरे । ‘संसद्मा भोलि सभामुखले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ, त्यसैअनुसार तपार्इंहरू तयार हुनुहोस्, उहाँबाट जस्तो धुन बज्छ त्योअनुसार नाच्नुपर्छ', प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक सांसदले जानकारी दिए ।

उनले असार २९ गतेका लागि तय भएको आर्थिक विधेयकको कार्यसूची अविश्वासको प्रस्तावभन्दा अगाडि पेस नभए संसद्को कारबाही अवरुद्ध गर्ने संकेत गरे । ‘संविधानसभाको दोस्रो निर्वाचनपछि एमालेका तर्फबाट संसद्को कामकारबाही अवरुद्ध भएको छैन । तर सभामुखबाट सहज भूमिका निर्वाह नगरे त्यो गर्न बाध्य हुन सक्छ', प्रधानमन्त्रीले भने ।

उनले एमालेको नेतृत्वमा सरकार बनेदेखि नै कांग्रेस सरकारविरुद्धको षड्यन्त्रमा लागेको र अहिले आएर त्यसमा माओवादी केन्द्र प्रयोग भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आवश्यक तयारी गरेर संसद्मा आउन र परिस्थितिअनुसार भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।

बैठकमा पूर्वसभामुख सुवास नेम्बाङले संसद्मा पेस भएको आर्थिक आश्रित विधेयक कार्यसूचीबाट हटाएर अविश्वास प्रस्तावलाई पहिलो सूचीमा ल्याउनु संसद् नियमावलीविपरीत भएको दाबी गरे ।

बैठकले अविश्वासको प्रस्तावमा छलफल गर्नुअघि यसअघि कार्यसूचीमा रहेको आर्थिक आश्रित विधेयक संसद्मा पेस गर्न सभामुखसँग माग गर्ने निर्णय गरेको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

आर्थिक विधेयक पारित गरेपछि मात्र सदनले अविश्वासको प्रस्तावमा छलफल गर्नुपर्ने पनि बैठकको निर्णय छ । बैठकले संविधान कार्यान्वयनलगायतका विषयमा राजनीतिक सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सबै राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको संविधानसम्मत तरिकाले सामना गर्ने पनि निर्णय गरेको छ ।

 

‘सभामुखले पदको मर्यादा राख्नुपर्छ'

कानुनमन्त्री अग्नि खरेलले सभामुख ओनसरी घर्तीमगरले आर्थिकलगायत विधेयक संसद्मा छलफल नगरी अलपत्र पार्न भूमिका खलेको आरोप लगाएका छन् । खरेलले सभामुख घर्तीबाट पदीय मर्यादाअनुरूपको काम नभएको जिकिर गरे ।

‘सरकारसँग सल्लाह नगरी संसद्बाटै विधेयक हराएको छ । यस विषयमा प्रधानमन्त्रीले पनि सभामुखलाई डाकेर कुरा गर्नुभएको छ', कानुन निर्माण र संविधान कार्यान्वयन प्रगतिबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले भने, ‘सभामुखले पदको मर्यादाअनुरूप काम गर्नुपर्ने हुन्छ । यस विषयमा सरकार गम्भीर छ । भोलिको बैठकमा सभामुखले गम्भीर भएर निकास दिनुहुनेछ ।'

मन्त्री खरेलले आममाफी, यातना, सत्य निरूपण तथा मेलमिलाप, निर्वाचनजस्ता विधेयकको मस्यौदा गृह मन्त्रालयमा पुगेर रोकिएको पनि बताए । यस विषयमा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग पटकपटक छलफल पनि भएको जानकारी उनले दिए ।

‘शान्ति प्रक्रिया सही ढंगले टुंगो लगाउन माओवादी केन्द्र तयार छ कि छैन ? ' उनले भने, ‘एक महिना छलफलपछि माओवादी साथी भाग्नुभयो । फेरि पनि भर्‌याङ बनाउनलाई यो विषय टुंगो लगाउन उहाँहरू तयार हुनुहुन्छ जस्तो लाग्दैन ।' तर अन्तर्राष्ट्रिय मान्यताअनुरूप पीडित मैत्री कानुन बनी पीडिकलाई उन्मुक्ति नहुने विश्वास उनको थियो ।

अर्को प्रसंगमा उनले सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल हुने दाबी गरे । ‘हामीले संसद्को फेस गर्छौं । अविश्वास प्रस्ताव पारित हुँदैन', खरेलले भने । अविश्वास प्रस्ताव पास भए पनि संविधानको धारा २९८ को प्रावधानअनुरूप अर्को सरकार कसरी बन्छ भन्ने कुरा प्रमुख रहेको भनाइ उनको थियो ।

कानुनसचिव टेकप्रसाद ढुंगानाले संविधानमा अन्योल देखिए रिटमार्फत सर्वोच्च अदालतको संवैधानिक इजलासले समाधान गर्ने बताए । सचिव ढुंगानाले सर्वोच्चको व्याख्याअनुरूप सत्य निरूपण र बेपत्ता ऐनमा संशोधन आवश्यक रहेको पनि औंल्याए ।

माफी मिनाहालगायत द्वन्द्वसँग सम्बन्धित सबै कानुनमा पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित हुने दाबी ढुंगानाको थियो । कानुन मन्त्रालयले कानुन आयोगलाई असहयोग गरेको आरोप निराधार रहेको बताउँदै पहिलो ड्राफ्ट निर्माण गर्ने सन्दर्भमा आयोगलाई पूर्ण सहयोग र साथ रहने प्रतिबद्धता ढुंगानाको थियो ।

‘नौ महिना अवधिमा कानुन मन्त्रालयले ३५ कानुनको ‘ड्राफ्ट' तय गरिसकेको छ,' सचिव ढुंगानाले भने, ‘संविधान कार्यान्वयनका लागि एक सय ३८ वटा विषयमा कानुन निर्माण आवश्यक छ ।'

यसैबीच मन्त्रालयले हालसम्म १२ वटा विधेयक संसद्बाट पारित भएको, आठवटा पेस भएको, आठवटामा मन्त्रिपरिषद्बाट स्वीकृति भएको, सातवटा स्वीकृतिका लागि पेस भएको र सरकारको सहमतिमा नौवटा विधेयक मस्यौदा तयार भएको र ३८ वटा मस्यौदा तयारीका क्रममा रहेको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.